Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > घर बनाउन बिदेसिए युवा

घर बनाउन बिदेसिए युवा

भूकम्पमा घर बस्नै नमिल्ने गरी भत्केपछि कोलडाँडा ७ का पीताम्बर सुनार १ लाख ६० हजार रुपैयाँ खर्चेर दुबई गए । त्यो रकम उनले सयकडा तीन ३ रुपैयाँ ब्याजमा ऋण खोजेर जोहो गरेका हुन् । भूकम्पअघिसम्म गाउँमै डकर्मी–सिकर्मी काम गरेर परिवारको गुजारा चलाउँथे उनी ।

‘घर ढलेपछि फेरि बनाउन यहाँको कमाइले पुगेन,’ उनकी पत्नी खिनीले भनिन्, ‘बाध्यता भएपछि विदेश पठाएकी हुँ ।’ गाउँमा समूह गठन गर्दै आउने लघुवित्तको चर्को ब्याज, माइती पक्ष र गाउँमै ऋण खोजेर विदेश पठाएको उनले बताइन् । सरकारले विदेश जान सहुलियत दिएको भन्ने सुनेकी उनले यति धेरै खर्च लाग्ला भन्ने सोचेकी थिइनन् । हाँसखेल गर्दै सबै परिवार एकै ठाउँ बसिरहेका उनीहरूलाई विपत्तिले विछोड गराइदियो । पति विदेश गएको १५ महिनापछि बल्लतल्ल पठाउँदा लागेको ऋण तिरेको खिनीले बताइन् ।

उनकै देवर राजकुमार पनि गर्भवती पत्नी छाडेर विदेश हान्निएका छन् । ‘ओत लाग्ने ठाउँ भएन, यहाँको कमाइले कहिले घर बन्नु ?’ पत्नी कुमारीले भनिन्, ‘के गर्ने, दु:ख सहेर भए पनि विदेश पठाएकी छु ।’ उनले पनि पतिलाई विदेश पठाउन १ लाख ६० हजार रुपैयाँ खर्चिइन् । सयकडा २/३ ब्याजमा पैसा खोजेको उनको भनाइ छ । भूकम्पले भत्किएको घर बनाउने पैसा जोहो गर्नकै लागि कोलडाँडा ७ को बिस्कुनडाँडा र माझगाउँका अधिकांश युवा बिदेसिएका छन् । यहाँ बस्दा उनीहरूको कमाइ माध्यम ज्याला मजदुरी थियो । यहाँका ३९ घर पूर्ण क्षतिग्रस्त छन् । भूकम्पअघि यो गाउँका दुई/चार जना मात्रै वैदेशिक रोजगारीमा गएका थिए । ‘घर बनाउन ४–५ लाखले पुग्दैन,’ ७२ वर्षीया धनीसरा सुनारले भनिन्, ‘विदेश नगए नेपालमा त्यति पैसा कमाउन वर्षौं लाग्छ ।’ माझगाउँका मात्रै ३५ जनाभन्दा बढी युवा विदेशमा छन् ।

उनीहरू श्रमिकका रूपमा दुबई, मलेसिया, कतार, साउदी अरब गएका हुन् । भूकम्पपछि गाउँमा विदेश पठाउन दलालको सक्रियता निकै बढेको थियो । कोलडाँडाबाट भूकम्पयता सयभन्दा बढी युवा बिदेसिएको स्थानीय मुक्तबहादुर सुनारले बताए । उनका अनुसार सबै घरबाट कम्तीमा एक जना बिदेसिएका छन् । सहलकोट, गल्धा, मित्याल, गोठादी, झडेवा, सिलुवा, जल्पालगायतका गाविसबाट पनि उस्तै संख्यामा विदेश गएका छन् । ‘भूकम्पपछि गाउँमा सामान्य काम गरेर बस्नेले घर बनाउने आँट नै गर्न सकेनन्,’ उनले भने, ‘त्यसपछि गतिलो उपाय भनेको विदेश जाने नै भयो ।’

सरकारले घर बनाउन रकम दिन ढिलाइ गर्दा स्थानीय झन् समस्यामा छन् । सहलकोट ९ सुकेकोटका धनबहादुर रानाका अनुसार गाउँका युवाले स्वदेशमा केही काम नपाएपछि बिदेसिनु बाध्यता भएको बताए । ‘घर बनाउन ठूलो खर्च लाग्छ,’ उनले भने, ‘त्यसैले पनि उनीहरू विदेश गएका हुन् ।’ जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्पयता ३९ हजार ८ सय युवा बाहिर गएका छन् ।

‘भूकम्पपछि अलि बढी राहदानी बनाएको हुन सक्छ,’ प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले भने, ‘घर बनाउन युवा कामका लागि विदेश जाने क्रम बढेको हुन सक्छ ।’ प्रशासनले अघिल्लो वर्ष राहदानी दस्तुरबाट ३ करोड १८ लाख ३५ हजार राजस्व संकलन गरेको थियो । गत वर्ष ११ हजार ६ सय ८३ जनाले राहदानी सिफारिस लिएका थिए । त्यसबाट ३ करोड ७७ लाख ५५ हजार राजस्व संकलन भएको प्रशासनले जनाएको छ ।

साभार: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: