Saturday, December 16, 2017
Home > नेपाली समाचारहरु > प्रचण्डको एमालेलाई प्रश्न : मेरो पुत्ला किन जलाउनु हुन्छ ?

प्रचण्डको एमालेलाई प्रश्न : मेरो पुत्ला किन जलाउनु हुन्छ ?

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहमतिमा संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरिएको दाबी गर्दै अहिले सो पार्टीले विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।

शनिबार पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीकै सहमतिमा आएको प्रस्तावमा ओलीकै कार्यकर्ताले सरकारको विरोध गर्दै पुत्ला जलाएको भन्दै आक्रोश व्यक्त गरे ।
‘संसदमा सरकारले दर्ता गरेको प्रस्ताव केपी ओलीजीले नै राखेको प्रस्ताव हो । अहिले उहाँकै पार्टीको अगुवाइमा मेरो पुत्ला किन जलाउनु हुन्छ ?’, ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने, ‘एमालेले दिउँसै रात पार्ने काम कति पटक गर्छ? सडकमा प्रदर्शन गर्नुभएको छ तर संसद अवरोध गर्न भएन ।’
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा उनले संविधान संशोधनको प्रस्ताव संसदमा लैजानुअघि पाँच नम्बर प्रदेशका सबै इन्चार्जलाई बोलाएर अन्तरक्रिया गरेको समेत बताएका थिए ।
उनले सरकारका बारेमा भ्रम गर्ने काम मिडियाबाट समेत भएको गुनासो गर्दै भने, ‘संशोधन प्रस्ताव दर्ता गर्नुअघि नै वास्तविक धरातल बाहिर गएर काल्पनिक र मनोगत प्रचार गरियो ।’
संविधान संशोधनको मुख्य उद्देश्य संविधानको स्वीकारोक्ति र मुलुकलाई निर्वाचित तिर लैजाने हो भन्दै संशोधन पास नभएपनि निर्वाचन गराउने सरकारको कार्यनीति रहेको बताए ।

स्थानीय तह पुर्नसंरचना आयोगले चाँडै आफ्नो प्रतिवेदन पेश गर्ने र सोलगत्तै सरकार स्थानीय तहको निर्वाचनका लागि गम्भीर गृहकार्यमा लाग्ने उनको भनाई थियो ।

प्रचण्डले बैठकमा भने, ‘ एमालेलाई कन्भिन्स गरेर सबैको सहमतिमा प्रस्ताव पारित गराउने हो र संविधान कार्यान्वयन र चुनाव गराउने हाम्रो टार्गेट हो ।’

प्रचण्डले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका जनताको आन्दोलनको बलबाट प्राप्त उपलब्धिहरुलाई मास्न प्रतिगामी तत्तहरु लागि परेको समेत बताए ।
‘अरुको कुरा परै जाओस् ओली नै भन्नुहुन्छ हामी संघीयताको पक्षधर होइनौं’, प्रचण्डले भने, ‘ अहिले यहि मौका छापेर बुटलमा प्रदर्शन भइरहेको छ, सहिद स्तम्भ तोड्ने, माओवादीको कार्यालय जलाउने, घरमा ढुंगा हान्नेजस्ता अस्वाभाविक घटना हुनु सिंगो परिवर्तनलाई ध्वस्त बनाउने डिजाइनमना प्रतिगामी तत्तहरु अहिले पनि घुँडा धसेर लागेका हुन् भन्ने बुझ्न कठीन छैन ।
पार्टी र सरकारले यी सबै प्रयत्नहरु असफल बनाएर अगाडि बढ्ने भन्दै प्रचण्डले भने, ‘हाम्रो रणनीति र कार्यनीति भनेनको मधेस पहाड र हिमाललाई एक सूत्रमा बाँधेर परिवर्तनलाई संस्थागत गर्दै देशलाई निर्वाचनतर्फ लानु हो ।’
बैठक भोलि एक बजे पुन बस्नेछ भने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक विषयमा नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूचि रहेको छ ।

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: