Tuesday, August 22, 2017
Home > नेपाली समाचारहरु > क्लासिक मःमः – नेपाली मःमःलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने योजना

क्लासिक मःमः – नेपाली मःमःलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने योजना

काठमाडौँ – नेपालका पूर्व तेक्वान्दो खेलाडीसमेत रहेका हरिश्वर पोखरेल जब विदेशमा थिए, उनले केएफसी, सबवेजस्ता अन्तर्राष्ट्रिय फ्रान्चाइजहरु सफलतापूर्वक सञ्चालन भएको देखे । त्यतिबेला नै उनले मनमा नेपाललाई विदेशमा चिनाउन यस्तै फ्रान्चाइज खोल्ने योजना बुने ।

classic-momo

हाल आमा भेन्चर्स प्रालिका अध्यक्ष रहेका पोखरेलले नेपाल फर्केर आफ्नो सपना साकार पार्न योजना तुर्जमा गर्न थाले । ‘नेपाललाई चिनाउन र अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन के सजिलो हुन्छ भनेर हामीले अध्ययन गर्यौँ,’ पोखरेलले भने, ‘यसका लागि नेपालीहरुको जनजिब्रोमा खाजाको रुपमा सुपरिचत मःमलाई आफ्नै ब्राण्डको रुपमा स्थापित गरी संसार भर फैलाउने निक्र्यौल गर्यौँ ।’

त्यही योजना अनुरुप राजधानीको नारायणचौर नक्सालमा अन्तर्राष्ट्रियस्तरको क्लासिक मःमको उत्पादन तथा बिक्री शुरु गरिएको छ । विदेशका फ्रान्चाइज रेष्टुरेण्टलाई नेपालमा भित्र्याउने मात्र नभई नेपालीको चर्चित खाजाको रुपमा रहेको मःमलाई यसको ओरिजिनल स्वादमा अन्यत्र फैलाउने क्लासिक मःमको उद्धेश्य कम्पनीको रहेको छ ।

पहिलो चरणमा नारायणचौर नक्सालबाट शुरु गरि अर्काे महिनाभित्र क्रमशः काठमाडौको न्यूरोड, नयाँबानेश्वर, कोटेश्वर, महाराजगञ्ज हुँदै ललितपुरको झम्सिखेलमा पनि क्लासिक ममःको आउटलेट खोलिने छ भने भारतको बैंगलोरमा यसको आउटलेट खोलिसकिएको छ ।

momo-2

सन् २०१७ भित्र नयाँदिल्ली लगायत अन्य १० वटा प्रमुख शहरमा चरणवद्ध रुपमा र त्यसलगत्तै संयुक्त राज्य अमेरिकाको शिकागोमा पनि क्लासिक ममःको शाखा खोलिने तयारी रहेको छ ।

यो सपनालाई साकार पार्न अमेरिकामा कम्प्युटर इन्जिनियर रहेर काम गरिरहेका कम्पनीका प्रमुख कार्यकारी निर्देशक योगेश पोखरेल त्यहाँको काम छाडेर नेपाल फर्किएका छन् । यसो त आमा भेन्चर्सका अन्य उद्योगहरुमा आमा ट्राभल एण्ड टुर्स, अर्जुन फिटनेश क्लव र मार्शल आर्ट, अनलाइन बिजनेस मेरोस्टोर डटकम र विर्तामोड टायर रिसोलिङ्ग विर्तामोड रहेको छ । पोखरेलले नेपालको उदाउँदो बजारमा समेत लगानी गर्ने कम्पनीले योजना बनाएको बताए ।
कम्पनीले नारायणचौर नक्साल र न्यूरोडमा क्लासिक मोःमोमा करीव ३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

अरुभन्दा पृथक

अध्यक्ष पोखरेलले क्लासिक मोःमोलाई अरुभन्दा पृथक बनाउने प्रयास गरिएको जानकारी दिए । चीनको तिब्बतबाट खाजाको रुपमा आयातित मःमको रैथाने (ओरिजिनल) स्वादमा बनाउने क्लासिक मःमको उद्देश्य रहेको छ ।

momo-3

त्यसैका लागि बोसो रहित स्वस्थ मासुको प्रयोग गर्दै ताजा मासु खरीद गरि आफैंले किमा बनाएर, अजिनोमोटा रहित, ओलिभ आयलको प्रयोग गरेर जनजिब्रोको चाहनाअनुसारको आफ्नै स्वाद (रेसिपी) मा मःमको उत्पादन तथा विक्री शुरु गरिएको छ ।

स्वस्थ्य खाना पहिलो प्राथमिकता

क्लासिक मःमका परिकार खाने कुनैपनि उपभोक्ताको स्वास्थयमा कुनैपनि खरावी (फुड प्वाइजनिंग ) भएमा चिकित्सिकको सिफारिसमा कम्पनीले क्षतिपूर्ति दिने समेत दावी गर्दै क्लासिक मःमको गुणस्तर बारे ग्यारेन्टी गरेको छ । अध्यक्ष पोखरेल भन्छन्, ‘जिउनका लागि होइन, शरीरका लागि खाने हो ।’ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि पनि स्वस्थ्य खानेकुरा पस्कन अनिवार्य रहेको उनको जिकिर थियो । तर, कुन मापदण्ड अनुसार खानेकुराको जाँच गर्नेमा पनि नेपालमा समस्या रहेको बताए । कार्यकारी अधिकृत योगेशले भने, ‘नेपालमा त खानाको स्वास्थ्यबारे कुनै निश्चित मापदण्ड नै हामीले पाएनौँ । त्यही भएर अमेरिकाको फुड एण्ड ड्रगले दिएको मापदण्डलाई हामीले यहाँ लागु गरिरहेका छौँ । खाना बनाउनेदेखि भान्सालगायत सबैमा यही मापदण्डअनुसार हामीले पालना गरिरहेका छौँ ।’

मःममा भेराइटी

क्लासिक मःम हाल क्लासिक स्पेशल, स्टिम, कोथे, फ्राइड, छोयला मःम, साँधेको मःम, पिज्जा मःम, वर्गर मःम, सेजुवान मःम, चिल्ली मःम, सुप मःम, नेवारी मःम (ममचा),फिस मःम,मटन मःम, चिकेन मःम, हाँसको मःम, बनाना मःम, चिज मःम, पनिर मःम, बफ मःम, पोर्क मःम, मिक्स भेज मःम लगायत दुईदर्जन भन्दा बढीको स्वादमा उपलब्ध छ । उपभोक्तालाई मःमका कुनैपनि भेराइटी खाँदा त्यसमा सेवा शुल्क र मूल्य अभिवृद्धि कर नलिइने कम्पनीले जनाएको छ । क्लासिक मःमको आउटलेट रहेको कुनैपनि ठाउँबाट उपभोक्ताको माग अनुसार रिंगरोडभित्रका घरदैलोसम्म डेलिभरी गरिने पनि व्यवस्था मिलाइएको छ । क्लासिक मःम राजधानीलगायत मुलुकका विभिन्न सुपरस्टोरबाट फ्रोजन मःमको विक्री वितरण पनि गरिने बताइएको छ ।

chicken-momos-with-tomato-achar

दक्ष कर्मचारी
कम्पनीमा ३ र ४ तारे होटेलमा काम गरेको अनुभव बटुलिसकेका २५ जना कर्मचारी (सेफ, हेड कुक, कुक) र अन्य कर्मचारीहरु कार्यरत रहेका छन् । ती कर्मचारीलाई कम्पनीले सन्तोषजनक पारिश्रमिकका साथैे सञ्चयकोष, बोनस, उनीहरुका एकजना सन्तानलाई विद्यालयस्तरसम्म निःशुल्क पढाईको व्यवस्थासमेत निकट भविष्यमा मिलाउने योजना कम्पनीको छ ।

चुनौती पनि उत्तिकै

मःमलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने योजना अघि सारिराख्दा यसका चुनौती पनि त्यतिकै रहेका छन् । सबैभन्दा पहिले स्वस्थ्य मःम पस्कन सामान्य मःमभन्दा उत्तिकै खर्चिलो रहेको छ । यसरी नेपालको प्रतिस्पर्धी बजारमा यो मःम महंगो पर्ने त होइन भन्ने प्रश्न रहेको छ । तर, अध्यक्ष पोखरेल स्वास्थ खानेकुरामा कुनै सम्झौता नगरी नै लागत नियन्त्रणका उपायहरु पनि आफूहरुसँग रहेको बताउँछन् । ‘पहिला ओलिभको तेल प्रयोग गर्दा महंगो हुने बताउँथे तर हामीले सिधै स्पेनबाट यसलाई आयात गरेर रेस्टुरेन्टका साथै बजारमा बिक्रि बितरण गरेका छौँ । त्यस्तै अब आफ्नै कुखुरा फार्म, त्यस्तै किसानबाटै ताजा तरकारी उठाउने योजना रहेको बताए,’ उनले भने ।

classic-momo1

सेल्फ सर्भिस रहेको कारण त्यहाँ सर्भिस चार्ज नलिइने र अन्य अतिरिक्त कर नलगाइने हुँदा १ सय ८० रुपैयाँदेखि नै मःम पाइने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै बजार विस्तारका लागि लगानीको पनि कुनै समस्या नरहेको कम्पनीले जनाएको छ । ‘हामीलाई नयाँ दिल्ली र अस्ट्रेलियामा यसको फ्रान्चाइज खोल्न अफरहरु आइसकेका छन् । यसलाई स्थापित गर्न सके लगानी कुनै ठूलो कुरा होइन,’ अध्यक्ष पोखरेलले भने ।

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: