Tuesday, June 27, 2017
Home > नेपाली समाचारहरु > जसले भात पकाउने चुल्होबाट बिजुली निकाले

जसले भात पकाउने चुल्होबाट बिजुली निकाले

आवाजबाट बिजुली निकाल्ने परिकल्पनामाथि बनेको फिल्म ‘बिजुली मेसिन’ टोली मंगलबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका इन्जिनियरिङ विद्यार्थीमाझ थियो। यो टोली काठमाडौं विश्वविद्यालयमा हुनुको अर्थ अलि बेग्लै हुन्थ्यो। किनकि त्यहाँ थिए, प्राध्यापक तथा इन्जिनियर बिमप्रसाद श्रेष्ठ जसले तीन वर्षअघि नै आवाजबाट बिजुली निकाल्ने टोलीको नेतृत्व गरेका थिए।

काठमाडौं विश्वविद्यालयको उनको टोलीले करिब एक वर्ष अवधिमा खाना पकाउने चुल्होको आवाजबाट बिजुली निकालेर अनुसन्धान सफल तुल्याएको थियो। ठूलो मात्रामा प्रचलनमा नआए पनि संसारका धेरै विकसित देशका लागि यो निकै पुरानो प्रयोग हो।

आवाजबाट साँच्चिकै बिजुली निस्कन्छ त?

विश्वविद्यालयको कार्यक्रम हलमा आयोजित कार्यक्रमबीच श्रेष्ठले आफ्नो अनुसन्धानको भिडियो देखाए। आवाजबाट बिजुलीको सैद्धान्तिक ज्ञान भए पनि प्रयोगात्मक विधि नजानेका इन्जिनियरिङ विद्यार्थीका आँखामा बेग्लैखाले जिज्ञासु भाव देखिन्थ्यो।

bijuli-machine

हुन त बिमप्रसाद श्रेष्ठले नेतृत्व गरेको आवाजबाट बिजुली अनुसन्धान तथा परिक्षण उनको आफ्नै मौलिक भने होइन। ‘यो आइडिया मौलिक नभए पनि अरु देशको प्रयोगभन्दा हाम्रो मौलिक थियो,’ उनले कार्यक्रमपछि सेतोपाटीसँग भने, ‘यो प्रोजेक्ट हामीले हाम्रो माटो सुहाउँदो बनाएका थियौं। सरकारले त्यसलाई समुदायसम्म पु¥याएको भए हामीले १८ घन्टासम्म लोडसेडिङ भोग्नुपर्दैनथ्यो।’

वैकल्पिक ऊर्जाको यो विधि नेपालसम्म कसरी आइपुग्यो?

श्रेष्ठका भनाइमा निकै वर्षअघि नासाले कुन–कुन स्रोतबाट बिजुली निकालिन्छ भन्ने अनुसन्धानअन्तर्गत आवाजबाट पनि बिजुली निकाल्न सकिने पत्ता लगाएको थियो। तर, आवाजबाट सानो ‘भोल्युम’ मा मात्र बिजुली निस्कने भएपछि विकसित देशका लागि धान्न गाह्रै पथ्र्यो।

अर्को कुरा, त्यस्ता देशले त शक्तिशाली ऊर्जाको पहिचान गरिसकेका थिए। नासाको बुझाइमा आवाजबाट बिजुली विकासोन्मुख देशका लागि भरपर्दो विकल्प हुन सक्थ्यो। त्यसका लागि उसले नेपाललगायत मुलुकसँग दौत्य–सम्बन्ध भएको बेलायतका केही युनिभर्सिटीसँग समन्वय ग¥यो।

सन् २०१२ मा बेलायतका ‘लन्डन सिटी युनिभर्सिटी’ र ‘युनिभर्सिटी अफ नटिंघम’का इन्जिनियरिङ विभागले नेपाल र बंगलादेशसम्म यो विधि ल्याइपु¥याए। ती विश्वविद्यालयको अनुसन्धान तथा प्रयोगका विकल्पमध्ये पहिलो नम्बरमा खाना पकाउने चुल्होको आवाज थियो।

किन चुल्हो नै रोजिएको रहेछ?

सेतोपाटीको यो प्रश्नमा श्रेष्ठले भने, ‘खाना खानु र शौच गर्नु जीवित प्राणीको जीवनका नियमित र महत्वपूर्ण हिस्सा हुन्। चुल्होबाट आवाज र धुवाँ दुवै आउने भएकाले रोजिएको हो।’

बंगलादेशमा स्टोभ प्रयोगकर्ता बढी भएको र त्यसको आवाज राम्रो हुने भएकाले स्टोभ नै रोजियो। नेपालमा भने के रोज्ने? सोच्दै जाँदा श्रेष्ठले फ्याट्टै भने, ‘नेपालमा दाउराबाट खाना पकाउनेको संख्या धेरै छ र दाउरा चुल्होको आवाज क्वालिटीको पनि छ।’

क्वालिटीको भन्नाले?

‘पहिले यो कुरा बुझ्नुपर्छ, जस्तोसुकै आवाजबाट बिजुली निकाल्न सकिँदैन,’ श्रेष्ठले प्रस्ट्याउन थाले, ‘यसमा ठूलो आवाजको महत्व त्यति हुँदैन। सानै भए पनि क्वालिटी आवाज चाहिन्छ। त्यो भनेको कस्तो भने, आवाज निस्किएपछि एकैनास हुनुपर्छ। जुन चुल्होमा पाइन्छ।’

टोलीले दाउरा चुल्हो नै रोज्नुको अर्को कारण, गाउँकेन्द्रित बनाउनु पनि रहेछ। दाउरा चुल्हो छान्नुअघि श्रेष्ठको दिमागमा गाउँका बूढा बा–आमाको दैनिकी तस्बिर खिचिएछ। ‘हाम्रो लक्ष्य सामान्य आय भएका जनतासँग जोडिनु थियो,’ उनले भने, ‘हामीले त्यसैले गाउँ नै रोज्यौं।’

‘जहाँ बत्ती पनि पुगेको छैन, सोलार किन्न सक्ने सामर्थ्य छैन। मोबाइल त छ तर टाढा–टाढा पुगेर, त्यसमाथि महँगो मूल्य तिरेर चार्ज गर्नुपर्छ। आफन्तसँग बोल्ने मन हुँदा पनि बेलामा पाइँदैन,’ श्रेष्ठले कल्पना गरे, ‘बूढा बाआमा भात पकाउँदै, त्यसबाटै निस्केको बिजुलीको उज्यालोमा, फुल चार्ज भएको मोबाइलबाट बात मार्छन्।’

bijuli-machine1

टोली यसपछि अनुसन्धानमा लाग्यो। स्नातक र स्नातकोत्तरमा इलेक्ट्रिकल इन्जिनियरिङका करिब दर्जन विद्यार्थी श्रेष्ठको अघि–पछि लागे। विश्वविद्यालयकै एक कुनामा अनुसन्धान थालियो। करिब एक वर्ष अवधिमा टोलीले रातो माटोले लिपेर गाउँघरको झल्को दिने चुल्हो बनायो र बिजुली निकाल्यो। यो देखेपछि अनुसन्धान तथा परिक्षण नियाल्दै आएका बेलायती विश्वविद्यालयका प्रतिनिधिले परियोजना मौलिक भएको र अबका कार्यक्रम माटो सुहाउँदो हुनुपर्ने पाठ सिकेको भन्दै श्रेष्ठको टोलीको प्रशंसा गरेछन्।

परियोजना त्यसपछि बल्ल समुदायमा पुग्यो, काभ्रेको दाप्चा। त्यहाँ उनीहरूले एउटा चिटिक्कको घर बनाए, त्यसभित्र फलामको धुवाँरहित चुल्हो जडान गरे, गाउँका बासिन्दाका अगाडि बिजुली बाले।

मैले त्यतिबेलाको दृश्य हेर्न चाहेपछि श्रेष्ठले टेबुलमा थपक्क बसेको ल्यापटप उघारेर भिडियो देखाउन थाले।

चारैतिर पर्खालले बारिएको सानो घरभित्र चुल्हो छ। औसत वयस्क मानिसको कम्मर–कम्मर आउने उचाइको फेदमा दाउरा बालिएको छ। भाँडा बसाउने नजिकै ठिक्क आकारका पाइप जोडिएका छन् र ती दुई मिटर हाराहारीसम्म पर लगिएको छ। त्यसको नजिकै तार र चिम देखिन्छन्।

कसरी निस्कन्छ त आवाजबाट बिजुली? उनले ल्यापटपको स्क्रिनमा औंला पु¥याउँदै बुझाउन थाले, ‘चिम्नीबाट धुवाँसँगै एकनासको भ्यार्र आवाज निस्किन्छ। त्यसलाई निश्चित दुरीसम्म पाइपमा लगिन्छ। एकनासको आवाज बगिरह्यो भने त्यसबाट एकखाले शक्ति निस्कन्छ।’

‘यो शक्ति कस्तो हुँदो रहेछ भने,’ उनले अझै प्रस्ट पारे, ‘तपाईंले विज्ञानमा पढ्नुभएको होला, हात्तीका बथान पुलमाथि हिँड्दा पुल भाँचिदैन। तर हात्तीभन्दा निकै कम वजनका सैनिकले परेड खेले भाँचिन्छ।’

अझ सजिलो गरी बुझौं, स्थिर तलाउमा सानो ढुंगा हान्दा निकै पर–परसम्म नागबेली छाल देखिन्छन्। राति झ्याउँ–झ्याउँ गरेर कीरा कराएको पक्कै सुन्नुभएको छ। तर, किरा त्यसरी कराएको हुँदैन। एकनासले कराएको हुन्छ। हाम्रो कानसम्म आइपुग्दा त्यो एकनासको नभइ बीचमा शुन्यता भरिएका हुन्छन्। एउटा तरंगले अर्को तरंगलाई हान्दै यात्रा गर्ने आवाज हाम्रा कानसम्म आइपुग्दा अर्कै बन्दा रहेछन्। जस्तो, तलाउमा ढुंगा खसाल्दा वरका पानीले परकोलाई ठोक्छ, परकोले झन् परको हुँदै कतै खाल्डो त कतै डाँडो परेको स्वरुपमा देखिन्छ।

चुल्होबाट धुवाँसँगै निस्किएको आवाजलाई पाइपमा राखेर यात्रा गराउँदा भने नरसिंहा आवाजसँग तुलना गर्न सकिन्छ। फुक्दा श्वास जान्छ तर निस्कँदा अर्कै ध्वनी बन्छ। यसरी निस्कने शक्तिलाई ‘एकस्टिक इनर्जी’ भनिँदो रहेछ। त्यही ऊर्जालाई विद्युतीय ऊर्जामा परिणत गरिन्छ। यसरी श्रेष्ठको टोलीले ३५ वाट क्षमताको विद्युतीय ऊर्जा निकालेको थियो।

bijuli-machine2

यति ऊर्जाले सामान्य घरायसी कामकाजका लागि चारवटा बत्ती बाल्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न पुग्छ। गाउँघरका बासिन्दालाई यति सुविधाले त पुग्ला, तर आगो नै नबालेको बेला के गर्ने त?

‘यति परियोजनाले मात्र जीवन सहज बनाउँदैन,’ उनले भने, ‘आवाजबाट बिजुली अन्तिम विकल्प हो भन्न खोजेका पनि होइनौं। विश्वविद्यालयका आफ्ना सीमितता छन्, जसकारण त्यही परियोजनामा थप प्रयोग गर्दै जान सकिँदैन। जलस्रोतको धनी देश भएर पनि १८ घन्टासम्म लोडसेडिङ खेप्नुपर्ने ठाउँमा वैकल्पिक ऊर्जाका स्रोतहरूको पहिचान गर्नु नै एक हिसाबले महत्वपूर्ण काम हो। विश्वविद्यालयले स्रोत पहिचान गरेपछि सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाले समुदायमा लगेर परिक्षण गर्न सक्थे।’

परिक्षणका लागि खासै गाह्रो नहुने उनको भनाइ छ। उनको हिसाबमा, जम्मा तीन हजार खर्च गरे धुवाँरहित चुल्हो र बिजुली तयार हुन्छ। उनका अनुसार यो परियोजनालाई समाजमा स्थापित गर्न चाहने भरपर्दो संस्था अगाडि सरेको भए विश्वविद्यालय आफैं सरिक हुन्थ्यो।

‘कुनै पनि आविष्कार एकैचोटि पूर्ण हुँदैन,’ उनले भने, ‘एउटा आविष्कारपछि त्यसमा सुविधा थप्न थुप्रै प्रयोग चाहिन्छ। यसमा सौर्य ऊर्जा र ऊर्जा सञ्चयबारे हामीले सोचिसकेका थियौं। कोही अगाडि आएको भए, हाम्रा विद्यार्थी नै यो प्रयोगमा सामेल हुन्थे। यसले दुइटा फाइदा पनि हुन्थ्यो। पहिलो, विद्यार्थीले देशमै आफूले पढेअनुसारको रोजगारी पाउँथे। दोस्रो, हामीले एउटा गतिलो वैकल्पिक ऊर्जा स्थापित गर्न सक्थ्यौं।’

त्यसो त, यो चुल्होले ठाउँ पनि धेरै ओगट्छ। सानो घर भएकालाई त यो झन् खर्चिला भएन र?

‘यो पनि खासै ठूलो समस्या होइन,’ उनले अगाडिको ल्यापटप देखाउँदै भने, ‘पहिले कम्प्युटर भित्ताभरीको हुन्थ्यो, अहिले यत्रो आकारमा आएको छ। मैले भन्न खोजेको के भने, हामीले आवाजबाट बिजुली परिक्षण गरेर सफल पारेका मात्र हौं। निकै सस्तो र नेपालमा यसको सम्भावना राम्रो छ भन्ने देखाएका हौं। यसको अर्थ के भने, हाम्रै वरिपरि भएका स्रोतसाधनको परिचालनबाटै पनि हामी निर्भर हुन सक्छौं। जस्तो, हिजो भारतीय नाकाबन्दीका बेलाको हाहाकार कति थियो? फेरि पनि भन्छु, आवाजबाट बिजुली अन्तिम विकल्प होइन, परनिर्भरता हटाउन आफ्नै स्रोतसाधन खेर जान दिनुभएन। विश्वविद्यालयको परिक्षणलाई प्रयोग गरेर समुदायमा पुगिसकेको भए अहिलेसम्म यो पहिलेकै आकारका चुल्होबाटै घर झलमल्ल भइरहेका हुन्थे। तर, प्रयोग नै हुन पाएन। विकासको सबैभन्दा ठूलो बाधक नै प्रयोग नहुनु हो।’

स्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: