Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > बस व्यवसायीको सिन्डिकेटले यात्रुलाई सकस

बस व्यवसायीको सिन्डिकेटले यात्रुलाई सकस

मिनीबस व्यवसायी संघको मनपरिका कारण बिहान र साँझको समयमा यात्रुले सास्ती भोग्दै आएका छन्

 

मंसिर १९, २०७३- बस व्यवसायीको सिन्डिकेटका कारण गोदामचौर र विशंखुनारायणका यात्रुले सास्ती खेप्नुपरेको छ । यहाँको मिनीबस व्यवसायी संघद्वारा सञ्चालित सार्वजनिक यातायातका साधन तोकिएको समयमा सञ्चालन नहुँदा यात्रु मर्कामा परेका हुन् ।

संघले बिहान ५ देखि बेलुका ८ बजेसम्म बस सञ्चालनको समय तोकेको छ । तर, बेलुका ६ बजेपछि लगनखेल बसपार्कमा सवारीसाधन भेटन मुस्किल हुन्छ । चापागाउँ प्याङगाउँकी सुनीता तामाङको अफिस बेलुका ५ बजे बिदा हुन्छ । ‘काठमाडौंदेखि लगनखेल पुग्दा झन्डै ६ बज्छ,’ उनले भनिन्, ‘त्यसपछि त माइक्रो बस छुटिसकेको हुन्छ ।’

बेलुका लगनखेलबाट गोदामचौर र विंशखुनारायणका लागि छुट्ने गाडी गन्तव्यमै नपुगी ठैब चोकबाटै फर्किन्छन् । तामाङ भन्छिन्, ‘भेटिएका थोत्रा बसमा कोचिएर यात्रा गर्न बाध्य छु । संघमा पटकपटक गुनासो गरें । सुनुवाइ भएन ।’ गाडी गन्तव्यमा नपुगी फर्किंदा बेलुकाको समयमा विंशखुनारायण र गोदामचौरका यात्रु घण्टौं हिँडेर घर पुग्न बाध्य छन् । ‘मैले यो समस्या धेरैपटक भोगेको छु,’ गोदामचौरका राजु आर्चायले भने, ‘बस कुन समयमा आउने/जाने ठेगानै हुँदैन ।’

मिनीबस व्यवसायी संघ ललितपुरका कार्यालय प्रमुख केदारनाथ तिमल्सिनाले तोकेको समयसम्म बस सञ्चालन गर्न लगनखेल, लेले, चापागाउँ, लुभु, बुंगमतीलगायत क्षेत्रका बसपार्कमा ३४ कर्मचारी खटाइएको बताउँछन् । ‘कर्मचारीहरूले बस समयमा आउजाउ गरेको छ/छैन, समयावधिसम्म बसेको छ/छैन निगरानी गर्छन्,’ उनले भने ।

समयमा बस छुट्दैनन्
संघका अनुसार लगनखेल–चापागाउँ, लगनखेल–चक्रपथ रुटमा चल्ने बस प्रत्येक ७/७ मिनेटको अन्तरमा छुट्नुपर्छ । तर १०/१५ मिनेटमा पनि गाडी नछुट्ने यात्रुको गुनासो छ । साँझ चल्ने गाडीहरू भने झन्डै आधा घण्टासम्म रोकिन्छन् । कसैले ढिलो भयो भन्दा चालकहरूले बसबाट झरेर जान धम्की दिने गरेको यात्रुहरूको अनुभव छ ।

लगनखेल–धापाखेलमा कार्यालय समयमा ७ मिनेट, लगनखेल–दक्षिणकालीमा ४०, लगनखेल–कीर्तिपुर र लगनखेल–लुभु मानेदोभानमा १०/१०, नखिपोट–रत्नपार्कमा ७, ढोलाहिटी–रत्नपार्क २०, हात्तीवन खरिबोट–रत्नपार्क ५, गोदावरी–लगनखेल १० मिनेटको अन्तरालमा बस छुट्ने कार्यतालिका भए पनि चालकको मनपरि गर्ने गरेका छन् ।

waiting_long_route_bus

बस सीमित, कोच्चिएर यात्रा
ललितपुरमा बस अपुग भएका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको संघको दाबी छ । संघले वार्षिक साधारणसभामा बस थप गर्ने योजना रहेको घोषणा गर्छन् । तर, बस थप्दैनन् । बस अपुग हुँदा यात्रु कोचिएर र झुन्डिएर यात्रा गर्न बाध्य छन् । केही यात्रु दूध, तरकारी बोक्ने गाडीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

संघका अनुसार लगनखेल–चापागाउँ–चन्दनपुर–ठूलादुर्लुङ रुटमा ७८ बस सञ्चालनमा रहेको संघको दाबी छ । लगनखेल–धापाखेलमा ३२, लगनखेल–दक्षिणकाली ४, लगनखेल–कीर्तिपुर ७, लगनखेल–लुभु ७२, नखिपोट–रत्नपार्क २०, ढोलाहिटी–रत्नपार्क १०, हात्तीवन खरिबोट–रत्नपार्क २०, गोदावरी–लगनखेल ८० र लगनखेल–रत्नपार्क ६८ र लगनखेल–बुंगमती–फर्सिडोल–टीकाभैरव रुटमा ६५ बस सञ्चालनमा छन् ।

यात्रुसँग बढी भाडा
खोकना–भैंसेपाटी आवास गेटसम्म १३ रुपैयाँ भाडादर तोकिएको छ । खोकना–एकान्तकुना जावलाखेलसम्म १५, कुमारीपाटीसम्म १७ र लगनखेलसम्म १८ रुपैयाँ छ । तर, बसले यात्रुसँग एकान्तकुनासम्म चढे १५, कुमारीपाटी, लगनखेलसम्म २० रुपैयाँ लिने गरेका छन् । बुंगमती–आवासगेटसम्म १३, एकान्तकुना १५, मानभवन १६, कुमारीपाटी १७, लगनखेल १८ रुपैयाँ सरकारी भाडादर तोकिएको छ । यात्रुसँग भने २० रुपैयाँसम्म असुल्ने गरेको बुंगमतीका सम्पूर्ण तुलाधरले बताए ।

स्रोत: कान्तिपुर दैनिक

Comments

comments

Leave a Reply

%d bloggers like this: