Monday, July 24, 2017
Home > नेपाली समाचारहरु > सहज छैन वैदेशिक रोजगारी

सहज छैन वैदेशिक रोजगारी

२३ फागुन २०७२ मा कञ्चनपुरका मोहनसिंह बुढापालले कम्पनीमै झुन्डिएर आत्महत्या गरे । त्यही दिन गुल्मीका विजय खत्रीले कोठामा गलबन्दीले पासो लगाएर प्राण त्यागे । बुढापाल नौ महिनाअघि तथा खत्री दुई वर्षअघि रोजगारीका लागि इपीएसमार्फत दक्षिण कोरिया पुगेका थिए ।
१२ वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्न सउदी अरेबिया पुगेका थिए— तेह्रथुमका द्रोणबहादुर भुजेल । बेला–बेलामा घर फर्किएर सुखी र समृद्ध जीवनको आशामा पटक–पटक सउदी अरेबिया धाउनु नै उनका लागि अभिशाप बन्यो । अन्तिम पटक गत वैशाखमा जब उनी घर फर्किए, त्यतिबेला उनीसँग न श्रीमती थिइन् न त उनले सउदी अरेबियामा परिश्रम गरेर कमाएको पैसा नै । सँगै जिउने सँगै मर्ने कसम खाएर १८ वर्षअघि सुरु गरेको दाम्पत्य जीवनले उनलाई त्यस्तो नियतिमा उभ्याउला भनेर सपनामा पनि सोचेका थिएनन् ।

गत वर्ष ८ फागुनमा अस्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थी राजु भण्डारीले झ्यालमा झुन्डिएर आत्महत्या गरे । दुई वर्षअघि अस्ट्रेलिया पुगेका भण्डारी स्नातक तहमा अध्ययनरत थिए ।

 

गत असारमा १३ नेपाली कामदारले आतंकवादी आक्रमणमा परेर अफगानिस्तानमा ज्यान गुमाए ।
२०७२ को जेठमा अमेरिकामा आफ्नै स्टोरमा बन्दुकधारीको निशाना बनेकी सुमित्रा शिवाकोटीका श्रीमान् नवराजले पत्नी वियोगमा एक वर्षपछि गत साउनमा आत्महत्या गरेपछि उनीहरूका दुई नाबालक सन्तान अहिले दाजुले हुर्काइरहेका छन् ।

 

यी केही प्रतिनिधिमूलक घटनामात्र हुन् । मलेसिया, कतार, सउदी अरेबिया आदि मुलुकमा वैदेशिक रोजगारीका लागि पुग्ने नेपालीहरूको निर्मम नियतिको कथा भनेर साध्य छैन । दैनिक छाक टार्न घरमा श्रीमती तथा बालबच्चा छाडेर वैदेशिक रोजगारमा जाने नेपालीका दु:खका अनेकानेक कथा छन् ।
परिवारको खुसीका लागि अथाह अवसर र सम्भावनाको देश पुग्ने नेपालीहरूले आर्थिक रूपमा समृद्धि हासिल गरे पनि मानसिक एवं पारिवारिक समस्याहरूले भने उनीहरूलाई थप आघात दिएको छ । यस्ता पीडाका दृश्य विकसित देशहरूमा भन्दा खाडी मुलुक, मलेसिया तथा प्रतिबन्धित देशहरूमा रोजगारीका लागि पुग्नेहरूका परिवारमा बढी देखिएका छन् । यसरी बिदेसिनेहरू दैनिकजसो लास बनेर फर्कने गरेका छन् । यसरी कफिनमा फर्कनेहरूको संख्या दैनिक तीनवटासम्म हुने वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमै रहेका बेला अंगभंग हुने, घर भाँडिने, जेल पर्ने, मानसिक स्वास्थ्य बिग्रने जस्ता समस्याहरूको लोखाजोखा नै छैन ।
वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भए पनि यसले विभिन्न किसिमका सामाजिक समस्याहरूसमेत सिर्जना गरेको बताउँछन् । सामाजिक मूल्य–मान्यता, पारिवारिक विखण्डन, दाम्पत्य जीवन एवं बालबालिकाहरूमा ठूलो समस्या देखा पर्न थालेको बताउँदै डा. गुरुङ भन्छन्, ‘वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरू सासू–ससुरालाई गाउँमै छाडेर सहर आइपुग्छन् । यसले पारिवारिक विखण्डन निम्त्याएको छ । पारपाचुकेको संख्या दिनप्रतिदिन बढिरहेको छ भने गर्भमा रहेको शिशु जन्मिएपछि पनि आफ्नो वुवाको अनुहार नै नदेखी हुर्कन्छ । श्रीमतीहरू पनि च्याट र फोनमा आफ्नो जवानीको मधुरता साट्न विवश छन् ।’
तैपनि विदेश उड्ने नेपालीहरूको संख्या लगातार बढिरहेकै छ । वैदेशिक रोजगार विभागका अनुसार अहिले दैनिक १ हजार ६ सयभन्दा बढी नेपाली कामको खोजीमा विदेश उड्छन् । देशभित्र रोजगारीको अभाव, गरिबी, राजनैतिक अस्थिरता, प्राकृतिक विपत्तिजस्ता कारणले नेपालीहरू वैदेशिक रोजगारीलाई आफ्नो पहिलो रोजाइ बनाउन बाध्य छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बेरोजगारीका कारण धेरै नेपालीका लागि वैदेशिक रोजगारीको विकल्प नभएको बताउँछन् । रोजगारी नभएपछि विकल्प खोज्न जाने बताउँदैं पाण्डेले साप्ताहिकसँग भने, ‘अहिले त अवस्था कस्तो आयो भने मुलुकको अर्थतन्त्रको झन्डै ३० प्रतिशत जीडीपी रेमिट्यान्समै निर्भर देखिएको छ ।’
वैदेशिक रोजगारीका कारण हाम्रा गाउँघरहरू रित्ता देखिएका छन् भने जमिन बाँझो हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । ‘पछिल्ला वर्षहरूमा कृषि उत्पादन घट्नुका कारणहरूमध्ये एउटा कारण जनशक्तिको अभाव पनि हो,’ कृषि मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटा भन्छन्, ‘अहिले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कम जनशक्तिमै काम गर्ने गरी ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको योजना अघि बढाइरहेको छ ।’
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जानेहरूको संख्या ह्वातै बढेको छ । हालै प्रकाशित राष्ट्र बैंकको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्ममा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ४३ लाख ५८ हजारभन्दा बढी पुगेको छ । वैदेशिक रोजगारीमा रहेको आकर्षणलाई कसरी हेर्न सकिन्छ ? वैदेशिक रोजगारविज्ञ डा. गुरुङका अनुसार यो आकर्षणभन्दा पनि आर्थिक उपार्जनको अर्को विकल्प नहुँदाको परिणाम हो ।

 

कहाँ कति छन् ?
सबैभन्दा बढी नेपाली कामदार मलेसिया र खाडी क्षेत्रका विभिन्न मुलुकमा छन् । खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको अंश ५६ दशमलव ९ प्रतिशत छ । त्यसैगरी मलेसियामा २६ दशमलव ६ प्रतिशत एवं बेलायत, इजरायल, जापान तथा सिंगापुरजस्ता अन्य विकसित मुलुकमा ८ दशमलव १ प्रतिशत नेपाली छन् ।
मलेसियाका लागि आर्थिक वर्ष ०७१/७२ मा २ लाख २ हजार ८ सय २८ जना नेपालीले श्रम स्वीकृती लिएका थिए । त्यसैगरी कतारका लागि १ लाख २४ हजार ३ सय ६८, सउदी अरेबियाका लागि ५८ हजार २ सय ४६, संयुक्त अरब इमिरेट्सका लागि ५३ हजार ६ सय ९९, कुवेतका लागि ९ हजार ६ सय ६८, बहराइनका लागि ४ हजार १ सय ६५, ओमानका लागि २ हजार ३ सय, दक्षिण कोरियाका लागि ५ हजार १ सय ५८ तथा अन्य गन्तव्यका लागि १२ हजार ४ सय ५५ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।
कम खर्चमा जान सकिने, अदक्ष र अर्धदक्ष मैत्री श्रमबजारजस्ता कारणले ती मुलुकमा बढी नेपाली पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे बताउँछन् । पाण्डे भन्छन्— जुन देशले जति र जस्तो जनशक्ति माग गर्छ त्यसले नै नेपाली कामदारहरूको संख्या निर्धारण गर्छ ।
यसबाहेक नेपालीहरूको गन्तब्य बनेका अन्य मुलुकमा कीर्गिस्तान, तुर्कमेनिस्तान, ताजकिस्तानसहित केही मध्यएसियाली देश पनि छन् । त्यस्ता मुलुक पुग्ने नेपाली कामदारहरूको संख्या अहिलेसम्म स्पष्ट छैन । खाडी मुलुकको तुलनामा आकर्षक मानिने ती मुलुकमा नेपाली कामदारको आर्थिक तथा श्रमिक अवस्था राम्रो भए पनि त्यहाँ जान दलालहरूलाई ठूलो रकम बुझाउनुपर्ने भएका कारण उनीहरूले लामो समयसम्म उतै हराउनुपर्ने अवस्था छ । त्यसै कारणले त्यस्ता मुलुकमा पुगेका कामदारहरूको परिवारमा अझ बढी समस्या देखिने डा. गुरुङ बताउँछन् ।
कुन उमेर समूहका जान्छन् ? 
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको औसत उमेर ३८ वर्षको हाराहारीमा छ । सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समूहका ४७ दशमलव १५ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समूहका २५ दशमलव ८५ प्रतिशत, १८ देखि २५ वर्ष उमेर समूहका २१ दशमलव १४ प्रतिशत, ४६ वर्षभन्दा माथिका ५ दशमलव ८६ प्रतिशत नेपाली वैदेशिक रोजगारीमा जाने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
पछाडि छैनन् महिलाहरू पनि 
वैदेशिक रोजगारीमा पुगेका नेपाली महिलाहरूको संख्या पनि निरन्तर बढिरहेको छ । वैदेशिक रोजगारी ताक्ने नेपाली महिलाहरूको प्रमुख गन्तव्य भनेको युनाइटेड अरब इमिरेट्स हो । त्यसबाहेक सउदी अरेबिया, कतार, ओमान, इजरायल, लेबनान, दक्षिण कोरिया र जापानमा समेत नेपाली महिलाहरू रोजगारी खोज्दै पुग्ने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्ल्ला ५ वर्षमा १ लाख ३६ हजार ५ सय ५१ जना महिलाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् ।
प्रभावकारी छैन प्रतिबन्ध 
अहिले नेपालले १ सय १० देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ । नेपाल सरकारले द्वन्द्वग्रस्त भनिएका सिरिया, इराक, लेबनान, अफगास्तिान, लिबिया आदि मुलुकमा नेपाली कामदारहरू पठाउन प्रतिबन्ध लगाएको छ । तैपनि ती मुलुकमा गैरकानुनी रूपमा नेपालीहरू पुग्ने गरेका छन् । १ हजार २ सयदेखि २ हजार ५ सय डलरसम्म कमाउने लोभमा अवैधानिक किसिमले भए पनि ठूलो जोखिम उठाएर ती मुलुकमा नेपालीहरू पुग्ने गरेका छन् ।

 

एक म्यानपावर व्यवसायीका अनुसार सरकारले प्रतिबन्ध लगाएका त्यस्ता मुलुकमा भारतको बाटो भएर दलालमार्फत नेपाली कामदार पठाउने गरिएको छ । त्यसरी पठाइएका कामदारको आधिकारिक तथ्यांक कुनै पनि सरकारी निकायसँग छैन । त्यसरी अवैधानिक रूपमा कामदारहरू पठाउने कथित दलालहरू सरकारको निगरानीमा पनि देखिँदैनन् ।
ह्याप्पी नेपाल इम्प्लोइमेन्टका सञ्चालक अमिर बाँस्तोला दलालहरूले सेक्युरिटी गार्डका रूपमा सरकारले प्रतिबन्ध लगाएका अफगानिस्तान, इराक, सिरिया, लिबिया आदि देशमा नेपाली कामदार पुर्‍याउने गरेको बताउँछन् । इराक र अफगानिस्तानमा अवैध रूपमा नेपाली कामदार लान दलालहरूले भारत, श्रीलंका तथा बंगलादेशको बाटो प्रयोग गर्ने बाँस्तोलाले बताए ।
कतिले ज्यान गुमाउँछन् ?
आर्थिक वर्ष ०७१/७२ को तथ्यांकअनुसार १ हजार ४ जना नेपाली कामदारको सम्बन्धित कार्यक्षेत्रमै मृत्यु भएको थियो । नेपाली कामदारले ज्यान गुमाउनुपर्ने मुलुकहरूमा मलेसिया (४ सय २७), सउदी अरेबिया (२ सय ७३), कतार (१ सय ७८), युनाइटेड अरब इमिरेट्स (५७), कुवेत (३३) तथा दक्षिण कोरिया र बहराइन क्रमश: (१२/१२) छन् । यसबाहेक अन्य मुलुकमा पनि नेपाली कामदारहरूले ज्यान गुमाइरहेका छन् ।
अपराधसँगको साइनो 
कतिपय अवस्थामा सम्बन्धित मुलुकको कानुन बुझ्न नसकेर, कतिपय अवस्थामा आवेशमा आएर तथा कतिपय अवस्थामा झूटो आरोपमा परेर वैदेशिक रोजगारीमा पुगेका नेपालीहरू अपराधको दलदलमा समेत पर्ने गरेका छन् । यसरी आपराधिक गतिविधिमा संलग्न भएकै कारण थुप्रै नेपाली सम्बन्धित मुलुकको जेलमा नारकीय जीवन बिताउन बाध्य छन् ।
यसरी जेलमा रहेका नेपालीहरू सबैभन्दा बढी सउदी अरेबिया (४ सय १३ जना) मा छन् भने मलेसिया–२ सय ७७, युनाइटेड अरब इमिरेट्स– १ सय, कतार– ४४, कुवेत– २५, अमेरिका– १ सयभन्दा बढी तथा बेलायतमा २० जना नेपाली जेलमा छन् ।
कति भित्रिन्छ रेमिट्यान्स ?
वैदेशिक रोजगारीमा गएका कामदारहरूले वार्षिक औसत ५ लाख ३२ हजार रुपैयाँ घरमा पठाउने गरेका छन् । रेमिट्यान्सका रूपमा पठाइने यो रकमले १८ दशमलव ८ प्रतिशत घरपरिवारको चुलो बल्ने गरेको छ । आर्थिक वर्ष ०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्सका रूपमा नेपाल भित्रिएको अर्थमन्त्रालयको आधिकारिक तथ्यांकमा उल्लेख छ, जुन वि.सं. २०५८ सालमा नेपाल भित्रिएको रेमिट्यान्सभन्दा १३ गुणाले बढी हो ।
कुन—कुन क्षेत्रमा काम गर्छन् नेपाली ? 
रोजगारीका लागि विदेश जाने धेरैजसो नेपाली केयर गिभर, वेटर, प्लम्बर, इलेक्ट्रिसियन, गार्डेनर, कुक, ड्राइभिङ, सेक्युरिटी गार्ड, सिकर्मी, डकर्मीजस्ता काममा संलग्न छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शारीरिक श्रम गर्नुपर्ने श्रमबजारमा नेपालीको माग सबैभन्दा बढी हुने गरेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ३३ दशमलव ५ प्रतिशत अदक्ष श्रमिकका रूपमा विदेश पुग्ने गरेका छन् । त्यसबाहेक १३ दशमलव ६ प्रतिशत सेक्युरिटी गार्ड, ९ दशमलव ५ प्रतिशत ड्राइभर, ६ दशमलव ४ प्रतिशत सिकर्मी/डकर्मी, ४ दशमलव ९ प्रतिशत कुक/वेटर, ३ दशमलव ८ प्रतिशत सेल्सम्यान, ३ दशमलव ५ प्रतिशत क्लिनर, २ दशमलव ३ प्रतिशत कृषि मजदुर तथा १ दशमलव ५ प्रतिशत घरेलु कामदारका रूपमा विदेश जाने गरेका छन् ।
यसरी विदेश जाने नेपालीमध्ये ७३ दशमलव १ प्रतिशत म्यानपावरमार्फत, १६ दशमलव ६ प्रतिशत आफन्त तथा साथीभाइमार्फत एवं १० दशमलव ३ प्रतिशत कामदार अन्य माध्यमबाट विदेश पुग्ने गरेका छन् । विदेशमा नेपाली कामदार पठाउन वैदेशिक रोजगार विभागबाट हालसम्म ७ सय ७२ म्यानपावर कम्पनीले अनुमति लिएका छन् ।
केयर गिभरका रूपमा विदेश पुग्ने धेरैजसो नेपालीको रोजाइ इजरायल र साइप्रस हो । ड्राइभरका लागि कतार, सउदी अरेबिया मुख्य गन्तव्य हो भने इलेक्ट्रिसियन, कार्पेन्टर, स्काई फोल्डर, प्लम्बरहरूको माग मलेसिया, कतार, सउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, ओमान र कुबेतजस्ता देशमा बढी हुने गरेको छ ।
उच्चस्तरको सीप तथा ज्ञान आवश्यक पर्ने प्राविधिक/मेकानिक्स, टेवल वर्क र सुपरभाइजरजस्ता कामका लागि विदेश जाने नेपालीको संख्या भने निकै कम छ । वैदेशिक रोजगारीमा गएका मध्ये १० दशमलव १ प्रतिशत प्राविधिक तथा मेकानिक्स, ४ दशमलव १ प्रतिशत सुपरभाइजर एवं ३ दशमलव २ प्रतिशत टेवल वर्करका रूपमा विदेशमा कार्यरत छन् । यसबाहेक अन्य विविध काममा शून्य दशमलव ९ प्रतिशत नेपाली विदेशमा छन् ।
त्यसैगरी प्रहरी तथा सिपाहीका रूपमा २ प्रतिशत विदेश गएका छन् भने वैदेशिक रोजगारीमा गै गन्तव्य मुलुकमा आफ्नै व्यवसाय सञ्चालन गर्नेहरूको संख्या शून्य दशमलव ९ प्रतिशत छ । विकसित देशहरूमा पुगेका नेपालीहरू भने विविध पेसा, व्यवसायमा आबद्ध छन् । नेपाली कामदारहरूका लागि अनुभवको कमी, भाषा समस्या, सीप अभावजस्ता कारण कमसल तथा जोखिमयुक्त काममा चित्त बुझाउनुपर्ने बाध्यता छ ।

 

म्यानपावर ब्यवसायी बाँस्तोला भन्छन्— राज्यले स्किल म्यानपावर र राम्रो श्रमबजार, कुस्त आम्दानी र सम्भावनायुक्त देशको वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्ने काममा ध्यान नै पुर्‍याएको छैन । राज्यको उदासीनताका कारण नेपाली कामदारको राम्रो गन्तव्य मानिएको मलेसियाको श्रमबजार पनि क्रमश: ओरालो लागिरहेको छ ।
बाँस्तोलाका अनुसार सरकारले राम्रो रोजगार गन्तव्यका रूपमा जापान, अफ्रिकाको सेसेल्स, पोल्यान्ड, अस्ट्रेलिया तथा माल्दिभ्सको प्रवद्र्धन गरे नेपालले पर्याप्त लाभ लिन सक्ने देखिन्छ । जापानमा नेपाली कामदारको राम्रो माग छ । माल्दिभ्सको गार्मेन्ट, अफ्रिकी देश सेसेल्समा सुरक्षा गार्ड, पोल्यान्ड र अस्ट्रेलियामा कृषि मजदुर तथा मकाउ र सिंगापुरमा होटल तथा पर्यटन क्षेत्रमा राम्रो अवसर भएको बाँस्तोलाले बताए ।

 

श्रीमतीहरू च्याट र फोनमा आफ्नो जवानीको मधुरता साट्न विवश छन्
डा. गणेश गुरुङ, वैदेशिक रोजगार विज्ञ

वैदेशिक रोजगारीको आकर्षणलाई कसरी हेर्न सकिन्छ ? 
गाउँमा आर्थिक उपार्जनको विकल्प नपाएको अवस्थामा वैदेशिक रोजगारीतिर तानिने हो । सरकारले ५० हजारभन्दा बढीलाई तत्काल रोजगारी दिन सक्ने अवस्था छैन । त्यसैले नेपालीहरू जीविकोपार्जनको अवसर खोज्दै बिदेसिन्छन् । तिनीहरू गइदिएर एकदिनमा १ अर्ब ८२ करोड रुपैयाँ मुलुक भित्रिने गरेको छ ।

 

यसमै हाम्रो अर्थतन्त्र टिकिरहेको छ । अहिले पर्यटनमा यति ठूलो लगानी छ, तर त्यसले अर्थतन्त्रमा ३ प्रतिशत मात्र योगदान गरेको छ । जबकि वैदेशिक रोजगारको योगदान २९ प्रतिशत छ । बजार खोजेर योजनाबद्ध रूपमा राज्यले पहल नगरे पनि, सीपमूलक तालिमको ब्यवस्था गरेर राम्रा गन्तव्यहरूको व्यवस्था नगरे पनि नेपाल सरकारका लागि वैदेशिक रोजगारी आम्दानीको प्रमुख स्रोत सावित भएको छ ।
वैदेशिक रोजागारीले निम्त्याएका प्रमुख समस्या के हुन् ?
गाउँघरहरू रित्ता र खेत बाँझा छन् । खेतीपातीमा ठूलो प्रभाव परेको छ, जसले हाम्रो उत्पादन घट्दैं गएको छ भने आयात बढ्दो छ । रामपुर क्याम्पस पढ्नेले मात्र खेतीपाती गरेर त हाम्रो उत्पादन बढ्दैन । कृषि उत्पादनको सीप पुस्तैनी हस्तान्तरण हुने हो । वैदेशिक रोजगारमा जानेहरूमा कृषिको ज्ञान घट्दै गएको छ । यसले भविष्यमा ठूलो समस्या निम्त्याउने देखिन्छ ।

 

अहिले वैदेशिक रोजगारीमा के समस्या छन् ?
अहिले वैदेशिक रोजगारीको गन्तव्य बनेका देशहरू कम लेबर राइट भएका देश हुन् । ती देशमा श्रमिकहरूको उचित व्यवस्थापन हुन सकेको छैन । अर्कातर्फ हामीले अदक्ष कामदारहरू जाने देशमा मानिसहरू पठाइरहेका छौं । सस्तो श्रम बजारमा नेपाली पसिना चुहिरहेको छ । हामीले श्रममैत्री ठाउँमा नेपाली कामदार पठाउन सकेका छैनौं । यो सबैभन्दा प्रमुख समस्या हो ।
भावी दिनमा यही गतिमा यो ट्रेन्ड विकास भयो भने कस्ता समस्या सिर्जना हुने सम्भावना देखिन्छ ? 
अहिले नै विभिन्न समस्या हाम्रो समाजमा देखिन थालिसकेको छ । सामाजिक मूल्य–मान्यता, पारिवारिक विखण्डन, दाम्पत्य जीवन एवं बालबालिकाहरूमा ठूलो समस्या देखा पर्न थालेको छ । वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरू सासू–ससुरा छाडेर सहर आइपुग्छन् । यसले पारिवारिक विखण्डन निम्त्याएको छ । डिभोर्सको संख्या दिनप्रतिदिन बढिरहेको छ भने गर्भमा रहेको शिशु आफ्नो वुवाको अनुहार नै नदेखी हुर्कन्छ । श्रीमतीहरू च्याट र फोनमा आफ्नो जवानीको मधुरता साट्न विवश छन् । उत्पादनमुखी होइन, उपभोगमुखी जीवनको विकास हुन थालेको छ ।
थप समस्या आउन नदिन के गर्नुपर्ला ?
सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई सीप सिकाउनुपर्छ र उनीहरू फर्केर उद्यमी बन्ने वातावरण सिर्जना गर्नुपर्छ । नेपालीहरू पाँच–छ वर्ष रोजगारी गरेर फर्कन्छन्, तर आफ्नै ठाउँमा बसेर गर्न सक्ने कामका लागि सीपको अभावमा उनीहरू पुन: बिदेसिन्छन् । यो क्रम रोक्न सरकारले उद्यमशीलताको विकास गर्नु आवश्यक भैसकेको छ । पाँच–छ वर्ष विदेशमा काम गरेर फर्किएपछि देशमै उद्यमशीलता र स्वरोजगार हुने अवस्था सिर्जना गर्नुपर्छ ।
 विकसित देशहरूमा कति नेपाली छन् ? 
बेलायत, अमेरिका, जापान, अस्ट्रेलियाजस्ता विकसित देशमा पनि धेरै नेपाली जाने गरेका छन् । बेलायतले पूर्व गोर्खा सैनिकका परिवारलाई आवासीय अधिकार दिएपछि तथा अध्ययन एवं व्यवसायका लागि बेलायत पुगेका नेपालीहरूको संख्या ठूलो छ । अहिले बेलायतमा झन्डै डेढ लाख नेपाली रहेको अनुमान छ । त्यसैगरी अस्ट्रेलियामा झन्डै ७० हजार नेपाली रहेको बताइन्छ ।
सन् २०१० को जनगणनाअनुसार अमेरिकामा झन्डै ६० हजार नेपाली छन् भने जापानमा ५५ हजार तथा क्यानाडा ५० हजार नेपाली रहेको अनुमान छ । यसबाहेक बेल्जियम, अस्ट्रिया, जर्मनी, रूस, पोर्चुगल, डेनमार्क आदि युरोपेली मुलुकमा ठूलो संख्यामा नेपालीहरू रहेको तथ्यांकले देखाउँछ ।
अध्ययनका लागि बाहिरिनेहरू पनि उत्तिकै छन् हैन ?
अध्ययनका लागि बिदेसिने नेपाली विद्यार्थीको संख्या पनि ठूलै छ । नेपाली विद्यार्थीहरू खासगरी अवसरको खोजी, राम्रो आम्दानी एवं राम्रो शैक्षिक डिग्रीका लागि विदेश जाने गरेका छन् ।
नेपाली विद्यार्थीहरूको छनोटमा बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापान आदि विकसित मुलुकहरू पहिलो प्राथमिकतामा पर्ने गरेका छन् । शिक्षा मन्त्रालयको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार अध्ययनका लागि बिदेसिने नेपाली विद्यार्थीको संख्या निरन्तर उकालो लागिरहेको छ ।

स्रोत: साप्ताहिक 

Comments

comments

Leave a Reply

%d bloggers like this: