Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > १३ औं साग २०१९ मा हुने

१३ औं साग २०१९ मा हुने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) एक वर्ष ढिलो

 

मंसिर १९, २०७३- दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले शनिबार नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) एक वर्ष ढिलो गरी सन् २०१९ मा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित कार्यालयमा सम्पन्न बैठकले १३ औं साग २०१९ मार्च ९ देखि १८ सम्म आयोजना गर्ने निर्णय गरेको हो । यसअघि गत वर्ष १२ औं सागका बेला भएको बैठकले १३ औं संस्करण सन् २०१८ मा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भुटानबाहेक दक्षिण एसियाली देशहरूले दुई–दुई वर्षमा पालैपालो आयोजना गर्ने गरी क्षेत्रीय खेलकुदको कुम्भ सन् १९८४ मा काठमाडौंबाट सुरु भएको थियो । काठमाडौंमा दोस्रोपल्ट १९९९ मा भएको थियो र पालो पद्धतिअनुसार नै नेपाललाई १३ औं सागको आयोजक घोषणा गरिएको थियो । तर, वैशाख, २०७३ को महाभूकम्पयता तयार नभएको भन्दै श्रीलंकाले पनि १३ औं साग आयोजना गर्ने माग गर्दै आएको थियो । तर, श्रीलंकाली प्रतिनिधिले बुधबारको बैठकमा त्यसलाई मुद्दाका रूपमा अघि सारेनन् ।

‘१३ औं साग नेपालले गर्न सक्ने र यसमा सहयोग गर्ने श्रीलंकाली प्रतिनिधिले बताएका छन् । आयोजनाको काम अघि बढाउने कामबारे निरीक्षण गर्ने औपचारिक कमिटी बनाउने कुरा पनि उठेको छ,’ बैठकपछि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘हामीले सरकार (नेपाल) को सहमतिमा साग आयोजनाको कुरा अघि बढाइरहेका छौं ।’

फेब्रुअरी, २०१६ मा गुवाहाटी–सिलोङ (भारत) मा भएको १२ औं सागमा २२ खेलमा प्रतिस्पर्धा भएको थियो । सागमा आयोजकले दुई खेल समावेश गर्न पाउँछ । ‘आयोजकले राख्ने दुईसहित कम्तीमा २२ बढीमा २५ खेल १३ औं सागमा समावेश गर्ने सैद्धान्तिक सहमति भएको छ । आगामी बैठकले खेलबारे निर्णय गर्नेछ । त्यसका लागि पूर्वाधारबारे सरकारसँग कुरा गर्नेछौं,’ श्रेष्ठले भने ।

काउन्सिलको अर्को बैठक ६ महिनाभित्र भुटानले आयोजना गर्ने निर्णय पनि भयो । त्यसैले अफगानिस्तान मध्यएसियामा सर्नेबारे पनि निर्णय गर्ने उल्लेख गर्दै उनले भने, ‘काउन्सिलको विधान परिमार्जन पनि अर्को बैठकले गर्नेछ ।’ दक्षिण एसियाली सात देशमध्ये बैठकमा भारत र माल्दिभ्स अनुपस्थित रहे । नेपालसहित पाकिस्तान, श्रीलंका, भुटान र बंगलादेशका प्रतिनिधि सहभागी भएका थिए ।

सरकारको प्राथमिकतामा साग
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले १३ औं सागको आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

‘दक्षिण एसियाली खेलकुदको आयोजना सबै नेपाली र खेल क्षेत्रका लागि ठूलो महत्त्वको कुरा हो । त्यसैले सागको आयोजना सरकारको प्राथमिकतामा छ । जसरी पनि साग नेपालमै आयोजना गर्नेछौं । बजेटको समस्या हुँदैन,’ काउन्सिल बैठकको उद्घाटनमा मन्त्री श्रीपाइलीले भने ।

मुख्यालय नेपालमा राख्ने
दक्षिण एसिया ओलम्पिक काउन्सिलको मुख्यालय स्थायी रूपमा नेपालमा राख्ने निर्णय पनि बैठकले गर्‍यो । यसअघि नै विधानमा व्यवस्था भए पनि काउन्सिलको मुख्यालय स्थापना भएको थिएन । ‘एनओसी कार्यालयभित्रै काउन्सिलको मुख्यालय स्थापना गर्नेछौं,’ श्रेष्ठले भने । काउन्सिलको विधानअनुसार साग आयोजक ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव स्वत: काउन्सिलको पनि अध्यक्ष र महासचिव हुनेछन् । त्यसको जिम्मेवारी बैठकले एनओसी अध्यक्ष श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पालाई दियो । बुधबारको बैठकको अध्यक्षता पनि श्रेष्ठले नै गरेका थिए ।

स्रोत: कान्तिपुर दैनिक

Comments

comments

Leave a Reply

%d bloggers like this: