Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > बाहिरी चक्रपथको डीपीआर तयार

बाहिरी चक्रपथको डीपीआर तयार

उपत्यका विकास प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । सरकारले निर्णय गरेको ११ वर्षपछि प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को डीपीआर तयार पारेको हो । ‘प्राविधिकद्वारा डीपीआर तयार गरिसकेका छौं,’ प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले भने, ‘अब सरकारले स्वीकृत गर्नेबित्तिकै चक्रपथ निर्माण प्रक्रिया धमाधम अघि बढ्छ ।’

 

पाँच वर्षभित्र निर्माण सम्पन्न गछौं : प्राधिकरण

 

तिहारलगत्तै बाह्य चक्रपथको सम्पूर्ण खाका सार्वजनिक गरेर भौतिक संरचना निर्माण गरिने उनले बताए । निर्माणका क्रममा जग्गा परे स्थानीयवासीले दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारि गरिसकेको उनले बताए । ‘दाबी विरोध पनि आएन,’ उनले भने, ‘सरकारले निर्देशन दिनेबित्तिकै प्रक्रिया अघि बढ्छ ।’ प्राधिकरणका अनुसार ३५ दिनको अवधिमा ५० जनाले मात्र चक्रपथ निर्माण गर्न नहुने भन्दै उजुरी दर्ता गरेका छन । निर्माणका क्रममा ७० हजार रोपनी जग्गा अधिग्रहण गरिने उनले बताए ।

‘अधिग्रहण गरेको क्षेत्रमा व्यवस्थित सहर निर्माण गरिन्छ,’ उनले भने, ‘कोही विस्थापित हुनु पर्दैन ।’ प्राधिकरणको मापदण्डअनुसार बाह्य चक्रपथ क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपर्ने उनले बताए । ‘केही काम गरिराखेका छौं,’ उनले भने, ‘सहरी विकास मन्त्रालयले पहिलो चरणको काम अघि बढाउन निर्देशन दिएकाले प्रक्रिया अघि बढेको हो ।’

आर्थिक वर्ष ०५६/५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो । व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्त्वाकांक्षी योजनाका रूपमा बाहिरी चक्रपथलाई अघि सारिएको थियो । बाहिरी चक्रपथ वरिपरि वातावरणमैत्री, आधुनिक, प्रविधियुक्त र सुविधासम्पन्न बस्ती निर्माण गर्ने लक्ष्यसहित आयोजनाले काम थालेको तिवारीले बताए ।

बाह्य चक्रपथको सामाजिक तथा वातावरणीय अध्ययन पूरा भएको उनले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लाका ४० गाविस र ३ नगरपालिका छोएर ७१ दशमलव १० किमि लामो चक्रपथ प्रस्ताव गरिएको छ । उपत्यकाको दक्षिण र पूर्वी भूभागमा आवागमन सुविधा बढाउने र व्यवस्थित बस्ती विकास गर्ने उद्देश्यले आयोजना ल्याइएको हो । सम्पूर्ण चक्रपथ ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

 

सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्नेबारे तयारी पूरा भएको समेत उनले बताए । ७ वर्षअघि अर्थ मन्त्रालयले आयोजनाका लागि करिब १० करोड र क्षतिपूर्तिमा खर्च गर्न ३ करोड रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये ९ करोड रुपैयाँ कार्यालय सञ्चालनमै सकिएको छ भने मुआब्जाका लागि छुट्याएको रकम खर्च गर्न नसकेर प्रत्येक वर्ष ‘फ्रिज’ हुँदै आएको छ ।
बाहिरी चक्रपथ काठमाडांै, ललितपुर र भक्तपुरमा क्रमश: ३५.८, १५.८० र २१.०५ किमि रहने अनुमान छ । सडक खण्डका विभिन्न स्थान गरी १ दशमलव ५ किमि सुरुङमार्गसमेत रहनेछ । चक्रपथको चौडाइ ५० मिटर रहनेछ जसमा ८ लेन हुनेछ । यसले उपत्यकाभित्रको ठूलो भूभागलाई ओगट्नुका साथै तीव्र गतिमा बस्ती विकास हुने तथा सहरीकरणको चापमा परेका अधिकांश क्षेत्रलाई समेट्ने छ । सडकखण्डमा पर्ने स्थानीय बासिन्दालाई जग्गाको मुआब्जा नदिई उनीहरूको सट्टा भर्ना प्रक्रियाबाट पुन:स्थापना गरिने बताइएको छ । यसका लागि सडकको दायाँबायाँ दुवैतिर २ सय ५० मिटरका दरले जग्गा अधिग्रहण गरिनेछ । नेपालकै पहिलो काठमाडौं–निजगढ फास्ट ट्रयाकसमेत चक्रपथको सानो खोकनाखण्डमा जोडिनेछ ।

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: