Monday, July 24, 2017
Home > नेपाली समाचारहरु > समाचार > पुगिएला त थानकोटबाट नौबिसे पाँच मिनेटमै ! कसरी बन्दैछ थानकोट–नौबिसे टनेल ?

पुगिएला त थानकोटबाट नौबिसे पाँच मिनेटमै ! कसरी बन्दैछ थानकोट–नौबिसे टनेल ?

जापान सरकारले थानकोट–नौबिसे सुरुङमार्ग सडकमा १७ अर्ब रुपैयाँ दिने भएपछि नेपाली नागरिकमा फेरि सुरुङमार्गबारे चर्चा परिचर्चा भएको छ । जापानले दिने १७ अर्ब सफ्ट लोन ४० वर्षमा तिर्नुपर्ने छ । सडकले थानकोटको पेट्रोलपम्पदेखि नौबिसेको सिस्नेखोला जोड्नेछ । कुल लम्बाइ ४ दशमलव ७ किलोमिटर सडकको टनेल २ दशमलव ५ किलोमिटर रहेको छ । यो सडक निर्माण पूरा भए थानकोटबाट पाँच मिनेटमै नौबिसे पुगिने बताइएको छ ।

जापान सरकारबाट ठेकेदार नियुक्त भएपछि यो परियोजनाको वातावरण प्रभाव मूल्यांकन, डिपिआर, जग्गा अधिग्रहणका काम सुरू हुनेछ । जापान सरकारले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक पनि ६ लेनको बनाइदिने र त्यसमा सुरुङमार्ग बन्ने सम्झौता भएकाले विकासका पूर्वाधार बढ्ने नेपाली जनतामा आशा पलाएको छ ।

राजधानी भित्रिन र बाहिरिन निकै कठिन रहँदै आएको नागढुंगा क्षेत्रका लागि वैकल्पिक सडक निर्माण गर्न वैदेशिक सहायता जुटेका कारण निर्माण छिट्टै सुरु हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बताएका छन् । उनले फास्ट ट्रयाकभन्दा पनि बढी थानकोट–नौबिसे सुरुङमाग निर्माणलाई प्राथमिकता दिएका छन् ।

बाहिरी जिल्लाबाट राजधानी प्रवेश गर्न र राजधानीबाट बाहिर जान नागढुंगा सडकखण्डमा निकै समय लाग्न थालेपछि सरकारले त्यसको विकल्पको खोजी सुरु गरेको थियो । नौबिसेबाट थानकोटसम्म आइपुग्न एकदेखि डेढ घन्टासम्म लाग्दै आएको छ ।

जापान सरकारले दिने भनेको १७ अर्ब रुपैयाँको सस्तो ब्याज दरको ऋण लिन मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि धादिङको सिस्नेखोलाबाट काठमाडौंको सीतापाइलासम्म सुरुङमार्ग निर्माण गरेर सवारी आवागमनलाई सहज बनाउने योजना साकार हुन लागेको अधिकारीहरूले बताएका छन् । ‘चाँडोभन्दा चाँडो सम्झौता गरेर अगाडि बढ्ने भन्ने भएको छ । जापानका राजदूतसँग यो विषयमा पटक पटक कुरा भएको छ । छिट्टै निर्माण अघि बढ्छ,’ भौतिक पूर्वाधार लेखकले भने ।

Comments

comments

Leave a Reply

%d bloggers like this: