Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > श्राद्ध यसकारण वैज्ञानिक

श्राद्ध यसकारण वैज्ञानिक

श्राद्धमा प्रयोग हुने जौ, तिल, कुश, तामाका भाँडा, पहेँला–सेता फूल, शुद्ध जल आदि विशिष्ट गुण भएका प्राकृतिक पदार्थ हुन्, जसको अन्तरक्रियाले त्यो सूक्ष्म कण र मानव मनलाई जोड्छ ।

 

शरद् ऋतुमा सोह्रश्राद्ध चलिरहेको छ । आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना समस्त पितृहरूको श्राद्ध गर्नाले मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । श्राद्ध गर्नाले पितृको कल्याण मात्र होइन, उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण हुन्छ, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ । श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ । यो लौकिक चलन होइन ।

पितृयज्ञ शास्त्रसम्मत त छ नै तर विज्ञानसम्मत होला कि नहोला ? मान्छे जन्मेपछि प्रकृतिसँग अनेक प्रकारका कार्यव्यवहार गर्छ । सामाजिक कार्यव्यवहार गर्छ । कहिले खुसी हुन्छ, कहिले रिसाउँछ । कहिले केही प्राप्ति गरेर मनलाई गद्गद् बनाउँछ र गुमाउँदा मन खिन्न बनाउँछ । यस्तै अनेकानेक कार्यव्यवहार गर्ने, सोच्ने, योजना बनाउने कामको सिलसिला जीवनभर चलिरहन्छ ।

जब मान्छे मर्छ, जिउँदो छँदा सोचिएका, गरिएका कामको प्रभाव सपनामा परेजस्तै मृत्युपछिको आत्मासँग सँगै जान्छ र तिनै काम अनुसार सूक्ष्म शरीर बन्न जान्छ । यो कुरा गीताको चौधौँ अध्यायमा यसरी भनिएको छ : रजसि प्रलयं गत्वा कर्मसंगिषु जायते । तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ।। अर्थात्, मृत्युपछि मान्छेको सूक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पुग्छ, जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ ।

मध्यम खालको अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ भने यदि प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ अर्थात् तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । त्यस्तो मूढ विचारसहितको आत्मा जीवनमा लामो समय माया र भरोसा गरेका सन्तानको नजिक आइरहन्छ । यो स्वाभाविक र विज्ञानसम्मत छ ।

मान्छे दिनभरि जस्तो काम गर्छ, पहिलेदेखि जस्तो चाहना राखेको छ, त्यस्तै सपना देख्छ । त्यो भड्किरहेको अतृप्त आत्मालाई वैदिक विधि अनुसार गरिने तर्पण, पिण्डदानद्वारा तृप्त पार्न सकिन्छ । यो वैदिक मान्यता हो ।

मान्छे मरिसके, शरीर डढिसके । अहिले पानी र अन्नका डल्ला पल्टाएर कसरी पाउँछन् उनीहरूले ? प्राणीमध्ये मान्छेको मानसशक्ति अत्यन्तै शक्तिशाली हुन्छ । मान्छेले आफ्नो मनलाई एकतृत गरी ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ भन्ने कुरा प्राचीन वा आधुनिक ऋषिमुनि र महात्माहरूले प्रमाणित गरेका छन् । ओमकारको जप, ध्यानमा अपार शक्ति हुन्छ भन्ने कुरा पश्चिमा वैज्ञानिकहरूले पनि स्वीकारेकै छन् । टाढाका बिरामीलाई शुभचिन्तकले सन्चो होस् भनेर कामना गर्दा उसलाई आराम भएको कुरा पश्चिमा अध्ययनले पनि पुष्टि गरेको छ । आधुनिक वैकल्पिक उपचार पद्धति ‘रेकी’ पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो ।

केही वर्ष पहिले युरोपका वैज्ञानिकहरूले ‘हिग्सबोसोन’ (गड पर्टिकल) ईश्वरीय कण पत्ता लगाए । जुन कण अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्वपूर्ण बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि छ । यसले पनि भड्किरहेको अति सूक्ष्म शरीर प्राप्त आत्मालाई पनि प्रमाणित गर्छ ।

श्राद्धमा प्रयोग हुने जौ, तिल, कुश, तामाका भाँडा, पहेँला–सेता फूल, शुद्ध जल आदि विशिष्ट गुण भएका प्राकृतिक पदार्थ हुन्, जसको अन्तरक्रियाले त्यो सूक्ष्म कण र मानव मनलाई जोड्छ । तिल र कुशसहित जलले तर्पण गर्दा ‘तृपतामिदं तिलोदकं तस्मैस्वधा’ भनेर दायाँ हातको बूढी औँलाबाट जल दिइन्छ । त्यस्तै पिण्ड दिँदा ‘यस पिण्डो अमृतस्वरूपो अक्षयतृप्ति हेतोस्ते स्वधा’ भनेर दिइन्छ ।

पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न । सकारात्मक अवस्थामा छ भने झन् विकृत हुन सक्छ ।

हाम्रा धर्मग्रन्थले ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया’ भनेका छन् । पितृ यज्ञ गर्दा पनि आफ्ना मातापिता मात्र नभएर समस्त पृथ्वीका पितृको कल्याण होस् भनेर जल अर्पण गरिन्छ । ‘अतीत कुलकोटिनाम् सप्त द्वीप निवासनाम् । आब्रह्म भुवना ल्लोकाद् इदमस्तु तिलोदकम्’ अर्थात् धेरै पहिलेदेखि करोडौँ कुलका, जो सातै द्विपमा बस्थे, तिनीहरूलाई पनि मैले तिलसहितको जल अर्पण गरेको छु । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रह् माण्डको देवत्व शक्तिको एउटा अंश भएको वेदले बताएको छ । त्यसलाई तृप्त, स्थिर र प्रफुल्लित रूपमा राखे सबैको कल्याण हुन्छ भन्ने वैदिक मान्यता छ । अतृप्त र विकृत शक्ति ब्रह्माण्डमा रहँदा सबैलाई सधैँ दु:ख दिइरहन्छ । यो विज्ञानसम्मत कुरा नै हो ।

स्रोत: नेपाल

Comments

comments

Leave a Reply

%d bloggers like this: