Wednesday, June 28, 2017
Home > नेपाली समाचारहरु > समाचार > मोर्चाद्वारा माइन्यूट नियन्त्रणमा

मोर्चाद्वारा माइन्यूट नियन्त्रणमा

मंसिर २७, २०७३- रूपन्देहीको स्थानीय तह पुन:संरचनाका लागि सोमबार जिविसमा बसेको बैठक विवादका कारण स्थगित भएको छ । संविधान संशोधन नभएसम्म पुन:संरचना गर्न नहुने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट बैठकमा सहभागीले पुस्तिका (माइन्युट) नियन्त्रणमा लिएका थिए ।

जिल्लाका विभिन्न राजनीतिक दलले आआफ्नै तरिकाबाट पेस गरेका चारवटा खाकासहितको स्थानीय तह पुन:संरचना जिविसले आयोगमा पठाएको थियो । आयोगले स्थानीय तहमा राजनीतिक सहमति गरी पठाउन पुन: पत्राचार गरेपछि रुपन्देहीमा पुन:संरचनाको विवाद थप जटिल बन्दै गएको छ ।

संविधान संशोधन नभएसम्म मोर्चाले स्थानीय तह पुन:संरचना विषयमा छलफल नै गर्न नदिने तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय बर्माले बताए । उनका अनुसार सोमबारको बैठकमा पुन:संरचनासम्बन्धी छलफल हुन थालेपछि मोर्चाले माइन्युट नियन्त्रणमा लिएको हो । विगतका दसवटा बैठकमा मधेसी मोर्चाले कुनै माइन्युटमा हस्ताक्षर नगरेको तमलोपा पार्टीका जिल्ला उपाध्यक्ष अजय गुप्ताले बताए ।

विवादपश्चात् आगामी दिनमा रुपन्देहीमा स्थानीय तह पुन:संरचनाको बैठक नबस्ने र पुन:संरचनाका विषयमा कुनै किसिमको निर्णय नगर्ने राजनीतिक दल र स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिबीच सहमति भएको छ । सहमतिपछि मोर्चाले माइन्युट फिर्ता गरेको जिविसका योजना अधिकृत विष्णुप्रसाद ढुंगानाले बताए ।

यसअघि स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिले कांग्रेससहित ११ वटा दलको सहमति जिल्लामा १६ वटा स्थानीय तहको खाकासहित विभिन्न ४ वटा खाका आयोगमा पठाएको थियो । आयोगले राजनीतिक दलहरूको सहमतिमा खाका पठाउन भनी खाकालाई जिल्लामा फिर्ता पठाएको थियो ।

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: