Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > यस्तो फ्रि भिसा/टिकट ?

यस्तो फ्रि भिसा/टिकट ?

मंसिर २७, २०७३

दृश्य १– मलेसियाबाट गत नोभेम्बर १७ मा एउटा एसएमएस आयो । त्यसमा लेखिएको थियो– ‘मलेसियाको एएसई इलेक्ट्रोनिक्स कम्पनीले ७० जना नेपाली कामदार मागेको मोन्टेज म्यानपावरले विज्ञापन छाप्यो । त्यसमा फ्रि भिसा, फ्रि टिकट र अन्य खर्च दिइने भनिएको थियो । हामी धेरै जनाले अन्तर्वार्ता दिए पनि १८ जना पास भयौं । उड्ने बेला त्यसका सञ्चालकले छुट्टाछुट्टै भेटी पैसाबिना टिकट र पासपोर्ट नदिने भन्न थाले । उनले एक लाख रुपैयाँसम्म उठाएको पाइयो । मैले पनि धेरै बार्गेनिङ गरेर ४० हजार रुपैयाँ तिरें । जब हामी कम्पनीमा आयौं, यहाँ कति–कति पैसा तिरेर आयौ भनी सोधियो । ढाँटे जागिरबाट हटाइदिने र साँचो कुरा भने तिरेको पैसा फिर्ता गराइदिने जानकारी दिइयो ।

खासमा कम्पनीले हाम्रा लागि टिकट, भिसा मात्र होइन, घरबाट काठमाडौं आउने, होटलमा बस्ने, मेडिकल, ओरियन्टेसन र किनमेलको खर्चसमेत पठाएको रहेछ । म्यानपावरलाई सेवा शुल्क छुट्टै दिएको रहेछ । त्यो सम्झौता देखाएपछि हामीले नढाँटी सबै कुरा भन्यौं । कागजमा नाम र तिरेको रकमको सूची लेखी हस्ताक्षर गर्न लगाए । त्यसको भोलिपल्टै म्यानपावरका दुई जना यहाँ आइपुगे । तिनले हामीलाई पैसा फिर्ता पाइसक्यौं भन्ने कागजमा हस्ताक्षर गर्न दबाब दिए । हामी १८ रै जनाले मानेनौं । अनेक धम्की दिए । केही नलागेपछि नेपाल फर्किएका छन् ।’

दृश्य २– मैले नेपालमा मोन्टेजका सञ्चालक भोजराज पहाडीलाई फोन गरें । उनले भने, ‘एजेन्टले उठाएछन् । हामीले मलेसिया गएर सबै कुरा मिलाइसक्यौं । हामीले पठाएका सबैजनाका अभिभावकलाई बोलाएर रकम फिर्ता दिइरहेका छौं । तपाईंलाई सम्पर्क गर्ने कोही बाँकी छन् भने जान भनिदिनु, हामी फिर्ता दिन्छौं ।’ मैले सोधें, ‘फिर्ता दिनुहुन्छ कि फिर्ता पाएको कागजमा हस्ताक्षर मात्र गराउनुहुन्छ ?’ उनले प्रहरी–पत्रकार र नागरिक समुदायका व्यक्तिहरूलाई बोलाएर फिर्ता दिने घोषणा गरे । मैले केही कामदारका आफन्तलाई सम्पर्क गरें, तर पाएको जानकारी पाउन सकिनँ ।
दृश्य ३– मोन्टेजका भोजराज र मलेसियामा पठाइएका कामदार जीवनबीच टेलिफोनमा भएको कुराकानीको अडियो रेकर्ड आइपुग्यो । संवाद यस्तो छ–
भोजराज– हलो जीवन दाइ ।
कामदार : हजुर, को बोल्नुभएको ?
‘म भोजराज भाइ हो ।’
‘ए, भन्नुहोस् न ।’
‘पछि कम्पनीमा केही कुरा भयो तपाईंहरूको ?’
‘भएकै छैन ।’
‘कुरा भयो भने भनेको जस्तै गर्नुहोला है दाइ ।’
‘खोइ, कुरा मिल्लाजस्तो छैन । सबैलाई ४० हजार भन्नुहुन्थ्यो, कोही १० हजारमा पनि आएका रहेछन् । कसैले एक लाख पनि तिरेका रहेछन् ।’
‘दस हजारमा को आएको रहेछ दाइ ?’
‘दुई–तीन जना आएका रहेछन् १० हजारमा पनि । हेरिहालियो, थाहा पाइयो ।’
‘होइन, तपाईंहरू दुनियाँको ठेक्का लिएर किन हिँड्नुहुन्छ हँ ? तपाईंहरूलाई हामी चाहिन्छ कि चाहिँदैन भोलि ?’
‘तपाईंहरूले गर्न खोजेकोचाहिँ के नि ?’
‘तपाईंहरूलाई कम्पनीमा वा मलेसियामा कुनै अप्ठ्यारो पर्‍यो भने, हामी नाटक हेर्छौं नि त्यहाँ ?’
‘कम्पनीले पैसा फिर्ता दिन्छु भन्दैमा तपाईंहरू ल्याङल्याङ गर्दै हिँड्नुहुन्छ । एकपटक भनेर हुँदैन, बारम्बार भनिरहनुहुन्छ, गर्न खोजेको के ?’
‘(कडा स्वरमा) कस्तो ल्याङल्याङ भन्नु त तपाईंहरू ? पैसा दिनु परेपछि तपाईंहरूको पिँध (यसको सट्टा अश्लील शब्द प्रयोग गरिएको) बाट पसिना चुहिरहेछ ? हँ ? काम गर्नेले पैसा खाँदैन ?’
‘अलि विचार गरेर बोल्नुहोस् । के थर्काएर ठीक पार्न खोज्नुभएको ?’
‘तपाईं बुझ्नेले नै यस्तो कुरा गर्ने ? अरू बच्चाले त बुझेन । तपाईं बुझ्ने मान्छेले त बुझ्नुपर्‍यो नि ।’
‘मलाई फ्रिमा पठाउनुभएको छ र ? बारम्बार धम्याउने, कहिले रुममा आएर धम्क्याउने, एकपटक भनेर हुँदैन ?
‘तपाईंलाई हामीले धम्क्याएका छौं ?’
‘हामीले पैसा नतिरी आएको भन्दाभन्दै किन आएर कराउनु परेको नि ?’
‘होइन, तपाईंहरूलाई धम्क्याएको छ भन्या ?’
‘धम्क्याई त राखिराख्नुभा छ नि त अनि ।’
‘तपाईंहरूको मात्र परिवार होइन, हाम्रो पनि परिवार छ नि यार । तपाईंहरूलाई ठाउँमा पुर्‍याउनेको पनि परिवार छ । उनीहरूले पैसाका लागि काम गरेको होइन ? नाथे १०–२० हजार खायो भन्दैमा किन यस्तो नाटक यार ?’
‘तपाईंहरूले निहुँ खोजिराख्नुभएको छ । हामीले मागेका छौं पैसा ? हामीले खुरुक्क तिरेरै आएको होइन ? मैले बारम्बार माग्दैनौं, चाहिँदैन भन्दा पनि तपाईंहरू बारम्बार कराएको करायै गर्नुहुन्छ ।’
‘तपाईंहरू बुझ्नुहुन्न हाम्रो कुरा । यत्रो दिन भइसक्यो, तपाईंहरू एउडा कुरा सुन्दिनुहुन्न । के गर्ने भन्या ?’
‘तपाईंले चाहिँ हाम्रो कुरा सुन्नुभयो ? मैले कतिपल्ट भनिसकें, माग्दैनौं, मागेको छैन भन्दा पनि बारम्बार किन कराउनुहुन्छ ?’
‘कसैले कति तिरेको छ, कसैले कति तिरेको छ भन्नुहुन्छ । अरूको कति ठेक्का लिनुहुन्छ भन्या ? आफ्नो निर्णय आफैं गरेर टुंग्याइदिए भइहाल्यो नि ।’
‘चाहिँदैन भनेपछि किन बेकारमा निहुँ खोज्नुहुन्छ ?’
‘कसले निहुँ खोज्यो ? निहुँ खोज्यो भन्ने थाहा छ, त्यसको भाषा ?’
‘घर पठाइदिन्छु रे । होस्टल इन्चार्जलाई समेत लगाएर कराउन लगाउनुभयो ।’
‘हामी नेपालबाट आएर तपाईंलाई भेट्न खोज्दा तपाईं भात खान लागेको भनेर बस्ने ?’
‘भात पस्केको पनि छोडेर आएँ । उल्टै होस्टल इन्चार्जले घर पठाइदिन्छु भन्दै थर्काउँछ ।’
‘हो, अब के हुन्छ हेर्नुहोस् । विचार गर्नुहोस्, अरू भाइहरूलाई पनि भन्दिनुहोस्– धेरै हिरो भएर विदेश पुगें भन्दैमा जान्नेसुन्ने भएर बसेका छन् ठिटाहरू हैन ? भोलिको दिनमा मलेसियामा केही पर्दा अनि हामीलाई सम्झेलान् ।’
०००
पैसा तिर्दा पनि शान्ति छैन, नतिर्दा पनि शान्ति छैन । श्रममन्त्रीज्यू भन्नुहोस्– कसरी/कहिले लागू गर्नुहुन्छ यो फ्रि भिसा/टिकट ?

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: