Saturday, December 16, 2017
Home > नेपाली समाचारहरु > समाचार > सुनको डल्ला जस्ता सुन्तला

सुनको डल्ला जस्ता सुन्तला

मंसिर २७, २०७३- बगानभित्र चिटिक्क परेको परम्परागत ढुङ्गेघर, झ्याल, छाना र आगनबाट सजिलै टिप्न सकिने पहेँलपुर लटरम्मै सुन्तला । घामको प्रकाशले पाकेका सुन्तला टल्कँदा घरको भित्तापनि सुन्तला रङगले रङ्गाए जस्तो । हात–हातमा पैसा बोकेर दैलोमा आएका व्यापारीबाट खनखनी रुपैयाँ बुझ्दा कृषकको मन फुरुङ्ग बनेको छ ।

 

स्वादमा कहलिएको म्याग्दीका सुन्तलाको माग राजधानी काठमाडौंसहित बाग्लुङ, पोखरा र नारायणगढ जस्ता सहरमा ह्वात्तै बढेपछि कृषक उत्साही छन् । धान नफल्ने बारीमा ७ वर्षअघि सुरु गरेको सन्तला खेतीबाट उत्पादन सुरु भएपछि भकिम्ली गाविस-५ राखुका खिमबहादुर पुन अहिले दंङ्ग छन् । पुनले राखुका ३५ घरबाट २४ मेट्रिक टन सुन्तला कालीमाटी फलफूल बजारमा पुर्‍याउँदैछन् । सुन्तलातको बोट नै बेचेर भकिम्ली राखुका जगबहादुर रानाले पहिलो खेपमै एक लाख नगद बुझेका छन् । अहिले सुन्तला टिप्ने सिजन सुरु भएको छ ।

ग्रामीण वस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले सुरु गरेको व्यवसायिक सुन्तला तथा तरकारी खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । भनिन्छ, सडक पुग्न गाह्रो, पुगेपछि अन्य विकासका पूर्वाधार पछ्याउँदै आउँछन् । यहाँका ग्रामीण वस्तीमा सडकले स–सानो कृषि क्रान्ति गरिरहेछ ।

‘कोदोको परम्परागत खेतीको सट्टा कृषकले सुन्तलाको बोटमा सुनका दाना फलाउन थालेका छन । दैलोमै पैसा फलेको देखेपछि हौसिएका कृषकले सुन्तला बगैंचा नै बनाएका छन’ कृषि विकास कार्यालयका वागवानी प्राविधिक भोजबहादुर थापा मगरले भने, ‘सुन्तलाको खेती बर्षेनी बढेको छ ।

सुन्तला खेतीको अनुकुल वातावरण भएकोले कृषि विकास कार्यालयले दाना, घारपोखरे, दोसल्ले, पिप्ले, महभिर, काउलेगौंडा, पाल्लेखेत, तातोपानी, राखु, सुर्केमेला, मरेक, बरंजा, फुलवारी, बिम, ताम्ला, दोवा, भगवती, देविस्थान, ओखरबोटलाई सुन्तलाको पकेट क्षेत्र र बरंजा, दोसल्ले र बास्कुनालाई ‘सुन्तलाबगैंचा’ घोषणा गरेको छ । बरंजाको भोर्लेनी, भकिम्लीको राखु, सिङ्गाको बाँसकुना, ताकमको खारा, ओखरबोटको फुलबारी क्षेत्रबाट पोखरा, नारायणगढ र काठमाडौंका व्यापारीले बारीबाटै सुन्तला उठाउने गरेका छन् । पर्यटकीय वस्ती तातोपानी क्षेत्रका सुन्तला भने फागुन नलागी टिपिदैन ।

‘यहाँका कृषकलाई न्यूनतम २० हजारदेखि एक लाखसम्म पेश्की बुझाएको छु । स्थानीय बजारमा डोकेर व्यापारले काम नचल्ने देखेपछि सुन्तला खेतीको भविश्य सुनिश्चित गर्न काठमाण्डौ छिरेका हौं,’ अगुवा कृषक खिमबहादुरले भने, ‘हाम्रा सुन्तला आर्गनिक तथा स्वादिलो भएकोले विदेश तार्गेटगरी उत्पादन गरिरहेका छौं ।’

म्याग्दीमा तीन सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । तथ्याड्ढ अनुसार यो बर्ष ३३ हजार ब्यवसायीक बोटबाट तीन हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान छ । थप २० हजार सुन्तलाका बोट उत्पादन तयारीमा छन । १६ हजार विरुवा नर्सरीमा छन् ।

मूलुकमा उत्पादन हुने फलफूल मध्ये एक तिहाई बजार सुन्तला तथा जुनारको रहेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आवमा २ लाख ३० हजार १ सय ७३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला फ्रेसभन्दा बढी जुसको रुपमा चीन तथा भारतमा बिक्रीहुने हुँदा व्यापारी झोलामा पैसा बोकेर कृषकको बारीमै पुग्ने गरेका छन् । भारत र चीन नेपाली सुन्तला जुसका मुख्य बजार हुन् ।

सरकारले सुन्तला जातका बिरुवामा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । ठूला व्यापारीले यहाँका सुन्तलालाई ए, वि र सी ग्रेडमा बाँडेर खरिद गरेका छन । म्याग्दीका सुन्तला काठमाण्डौको कालीमाटी फलफुल बजारले सुन्तलाको आकारको आधारमा ए ग्रेडलाई ६२, वीलाई ३८ र सी ग्रेडलाई २० रुपैयाँमा खदिर गरेको छ ।

पहाडी क्षेत्रमा उपयोगमा नआएको सरकारी जग्ग्गा भाडामा लिएर सहकारी र किसानलाई सुन्तला खेतीका लागि दिने नीति ल्याएमा यसको उत्पादन अझै बढाउन सकिने सम्बद्ध विज्ञको भनाइ छ

स्रोत: कान्तिपुर 

 

Comments

comments

Leave a Reply

%d bloggers like this: