Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > अस्पतालका १०% शय्या नि:शुल्क

अस्पतालका १०% शय्या नि:शुल्क

hospital nepal

पुस १ देखि लागू गर्न परिपत्र

निजी र सरकारी स्वास्थ्य निकायले पुस १ देखि १० प्रतिशत शय्या नि:शुल्क गर्नुपर्ने भएको छ । विपन्न, असहाय र बेवारिसेका लागि शय्या छुट्याएर नि:शुल्क उपचार गर्नुपर्ने परिपत्र जारी गरिएको स्वास्थ्यमन्त्री गगन थापाले सोमबार पत्रकार सम्मेलनमा बताए । उनका अनुसार यो सेवा निजी, सामुदायिक, शिक्षण, गैरसरकारी र सहकारी अस्पतालसँगै नर्सिङहोम सबैले दिनुपर्ने छ । शय्यासँगै चिकित्सक परामर्श, प्रयोगशाला शुल्क, नर्सिङ शुल्क, डाइग्नोस्टिक, अक्सिजन सेवा नि:शुल्क उपलब्ध हुनेछन् ।

सुशासन ऐन २०६४ को दफा ४५ बमोजिम स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार सबै स्वास्थ्य संस्थाले १० प्रतिशत नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरिएको हो । निजी अस्पताल सञ्चालकसँगको विचारविमर्शपछि यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको मन्त्री थापाले बताए ।

यसबाट विपन्न, असहाय र बेवारिससँगै ज्येष्ठ नागरिक, एकल महिला, अपांगसमेतले सेवा पाउने उनले बताए । यस्तो सेवाका लागि गाविस/नगरपालिका, जिविस, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र वीर अस्पतालसमेतले निजी स्वास्थ्य निकायलाई नि:शुल्क उपचार सेवाका लागि सिफारिस गर्न सक्छन् ।

सेवा दिने अस्पतालले बिरामीहरूलाई स्वयं घोषणा फारम भराई त्यसको तथ्यांक सम्बन्धित निकायमा पठाउनुपर्ने छ । बिरामी भर्ना हुनासाथ ‘विपन्न/बेवारिस र असहाय बिरामीका लागि नि:शुल्क शय्या’ लेखेको स्टिकर शय्यामा झुन्ड्याइएको हुनुपर्छ ।

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: