Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > थ्री स्टारले एन्फासँग माग्यो ६ करोड क्षतिपूर्ति

थ्री स्टारले एन्फासँग माग्यो ६ करोड क्षतिपूर्ति

अखिल नेपाल फुटबल संघको लापरवाहीका कारण ठूलो क्षति व्यहोर्नु परेको भन्दै थ्री स्टार क्लबले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंगोलियामा भएको एएफसी कपको समूह चरण पार गरेर पनि प्ले अफ खेल्नबाट बन्चित हुनुपरेको भन्दै क्लबले त्यसको क्षतिपूर्ति एन्फाले व्यहोर्नुपर्ने दाबी गरेको हो। एएफसीले बारम्बार एएफसी कप प्ले अफको सहभागिताका लागि क्लब दर्ता गर्न पत्राचार गर्दा पनि एन्फाले त्यसलाई पूर्णरुपमा वेवास्ता गरेका कारण आफुहरु प्ले अफ खेल्नबाट बञ्चित हुनुपरेको दाबी थ्री स्टारले गरेको छ।

एएफसीमा दर्ता नगरेको कारण आम नेपाली फुटबलप्रेमीलाई दुखी बनाएको भन्दै उसले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्न नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसंग आग्रह गरेको छ। छनौट चरणदेखि अहिलेसम्मको तयारीका लागि आर्थिक रुपमा करोडांै घाटा बेहोर्नु परेको, खेलाडीलाई अनुबन्धन गर्दा क्लबले लाखौं रुपैयाँ लगानी गर्नुपरेको भन्दै सो बापतको रकम एन्फाले उपलब्ध गराउनुपर्ने दाबी गरेको छ।

क्लब दर्ता गर्न गरेको ढिलाई माथिको सत्य तथ्य बाहिर नआएसम्म क्लबले कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा पनि गरेको छ। त्यसैगरी एन्फाले गठन गरेको उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठन गरेको छानविन समितिले गर्ने कामप्रति पनि विश्वास गर्न नसकिने जनाएको छ।

Comments

comments

Leave a Reply

%d bloggers like this: