Tuesday, June 27, 2017
Home > नेपाली समाचारहरु > समाचार > बाजुरामा एक किलो नुनको सय रुपैयाँ

बाजुरामा एक किलो नुनको सय रुपैयाँ

Salt-line-Kolti-Bajura

विकट गाविसका बासिन्दालाई आयोडिनयुक्त नुन पाउनै सास्ती छ । बाजुराका रुगिन र बिच्छ्या गाविसका बासिन्दाले प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्म तिरेर नुन किन्नुपर्ने बाध्यता छ ।
सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पाेरेसनले सदरमुकाम मार्तडी र कोल्टीमा प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने भए पनि विकट बस्तीकाले भने सोही मूल्यमा नुन पाउन सकेका छैनन् ।  रुगिन बिच्छ्याका बासिन्दाले आयोडिनयुक्त नुन प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्म तिर्न बाध्य छन् ।

पूर्वोत्तर क्षेत्रका लागि कोल्टीमा नुन डिपो छ । बिच्छया गाविस सदरमुकाम मार्तडीबाट ३ देखि ५ दिनसम्मको पैदल दूरीमा पर्छ । बिच्छ्यासहित रुगिन, बाँधु गाविसका बासिन्दालाई कोल्टीमा आउजाउ गर्न २ देखि ६ दिन हिँड्नुपर्ने हुन्छ । यी गाविसको नजिकमा नुन डिपो नभएकाले व्यापारीहरूले गाउँघरमै बिक्री वितरण गर्ने गरेकाले नुन महँगोमा किन्नुपरेको रुगिन ५ कि रूपा बुढथापाले बताइन् । ‘रुगिनमा एउटा पोका नुनको ५० तिर्छौं,’ महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी बुढथापाले भनिन्, ‘सदरमुकाममा ९ रुपैयाँ पर्ने नुनको हामीले ५० तिर्नुपर्छ ।’

रुगिन र बिच्छ्याका बासिन्दालाई लक्षित गरी दुई वर्षअघि कवाडी र धुलाचौरमा पहिलोपटक बिक्री केन्द्र राखिएको थियो । त्यहाँबाट एकपटक बिक्री गरिएको भए पनि नुन नभएकाले गत वर्षदेखि बिक्री केन्द्र बन्द छ ।

स्थानीय व्यापारीहरूले भने कोल्टी डिपोबाट खरिद गरी गाउँमा चर्को मूल्यमा बिक्री वितरण गर्ने गरेका छन् । आयोडिनयुक्त नुन महँगो पर्ने भएकाले धेरैजसो परिवारले सस्तो मूल्यमा पाइने ढिके नुनकै प्रयोग गर्दै आएका छन् । ‘आयोडिनयुक्त पोका नुन सबैले किन्न नसक्ने भएकाले सस्तो मूल्यमा पाइने ढिकेनुन खानुपर्ने बाध्यता छ,’ बिच्छ्याका प्रेमबहादुर रोकायाले भने ।

रुगिन बिच्छ्याका बासिन्दाहरू आफूहरूलाई सरकारले विभेद गरेको गुनासो गरेका छन् । हुनखाने परिवारहरूको बसोवास रहेको ठाउँमा सरकारले अनुदानको नुन बाँडछ तर अति विकटमा बस्नेहरूलाई भने सकस छ । ‘सदरमुकाम मार्तडी र कोल्टीमा ९ रुपैयाँमा नुन पाइन्छ,’ रुगिनकै वनकला बुढथापाले भनिन्, ‘हाम्रो जस्तो विकट बस्तीका बासिन्दाले भने पाँच गुणा महँगो तिर्नुपर्ने बाध्यता छ । सरकारले अनुदानमा नुन उपलब्ध गराएको हामीलाई के काम ?’ साल्ट ट्रेडिङ मार्तडी डिपोका प्रमुख नरबहादुर भाटले भने सरकारी अनुदानमा उपलब्ध हुने नुन बढी मूल्य लिएर बेच्न नपाइने बताए ।

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: