Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > सूचना प्रविधि > भेटिन्छन् स्मार्टफोन !

भेटिन्छन् स्मार्टफोन !

चोरिएका, हराएका मोबाइल आईएमईआई नम्बरमार्फत फेला पर्न थाले

 

चार महिनाअघि ठमेलको एउटा बारमा एक जनाले आफ्नी महिला साथीसहित केहीसँग मदिरापान गरे । पैसा तिर्ने बेलामा पर्स हराएको भन्दै मोबाइल धरौटी राखे । पछि आएर पैसा तिर्ने कबुल गरे । ६० हजार रुपियाँ बराबरको स्मार्टफोन देखेपछि बार मालिकले कुनै आपत्ति जनाएनन् । तर, ती ग्राहक कहिल्यै बार फर्केनन् । बरू, महानगरीय प्रहरी कार्यालय हनुमानढोकाबाट एक दिन प्रहरीले बार मालिकलाई उक्त मोबाइल फिर्ता गर्न बोलायो । मोबाइल बारमा रहेको पत्ता लाग्नुको मुख्य कारक थियो, उक्त स्मार्टफोनको आईएमईआई (इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी) नम्बर ।

पूर्वपत्रकार तथा ब्लगर दिनेश वाग्लेले तीन वर्षअघि विराटनगरबाट इलाम जाँदा बाटोमा आफ्नो स्मार्टफोन हराए । एक दिन उनले घरमा आईएमईआई नम्बरसहितको ‘बक्स प्याक’ भेट्टाए र फोन भेटिएला भन्ने विश्वास नहुँदा नहुँदै फोन हराएको घटना प्रहरीमा टिपाए । मोबाइल हराएको चार महिनामा प्रहरीले उनको मोबाइल भेट्टाइदियो । उनको मोबाइल झापाका एक व्यक्तिले प्लास्टिकको कभर हालेर झनै सुरक्षित रूपमा चलाइरहेका पो रहेछन् ।

काठमाडौँ, ज्ञानेश्वरकी तारा मल्ल गत वर्ष चैतमा कमलादीस्थित सिटी सेन्टरको रेस्टुराँमा साथीहरूसँग थिइन् । खाजा खाने बेला झोलाबाट फोन निकाल्न खोज्दा झस्किइन् । भर्खरै पतिले दुबईबाट पठाएको आइफोन ब्यागमा थिएन, ब्यागको जिपर खुलै थियो । कसैले भीडभाडमा उनको मोबाइल झिक्न भ्याइसकेछ । लगत्तै महानगरीय प्रहरी परिसर, हनुमानढोकाको खोजतलास शाखामा मोबाइल चोरीको उजुरी दिइन् ।

महानगरीय प्रहरी परिसरको फेरिएको कार्यालय टेकुमा माघको अन्तिम साता त्यो फोन हात पारेपछि उनी फुरुंग देखिएकी थिइन् । तर, प्रहरी फोन चोर्ने व्यक्तिसम्म पुग्न बाँकी नै थियो । मोबाइल चोरले केही साताअघि मात्रै आफ्नै जानपहिचानको साथी अनिश खड्कालाई ‘श्रीमती बिरामी भएर अस्पताल भर्ना गरेकाले १० हजार रुपियाँ लिएर धरौटी स्वरूप’ भन्दै उक्त फोन राख्न दिएका रहेछन् । प्रहरीले आईएमईआई ट्रयाक गर्दै प्रहरी कार्यालयमा बोलायो । अनिश कार्यालय परिसरमा प्रहरीसँग भन्दै थिए, “ऊ मेरो साथी हो । घरसमेत देखेको छु । साथीले मोबाइल चोरेको कुराले अचम्म लागेको छ ।”

एमाले नेता घनश्याम भुुसालको आइफोन गत साल काठमाडौँ, बानेश्वरबाट पुतलीसडकतर्फ आउँदै गर्दा ट्याक्सीमा छुट्यो । मोबाइल पाएका ट्याक्सी ड्राइभर मोबाइल बेच्न सीधै कालीमाटीको एक पसलमा गए । संयोगले उक्त पसल एमाले कार्यकर्ताकै रहेछ र मोबाइलमा रहेका तस्बिर देखेपछि यो फोन आफ्नो नेताको हो भन्ने थाहा पाए र भुसाललाई फोन दिलाइछाडे ।

वाग्ले, मल्ल र भुसालजस्ता भाग्यमानी सबै हुन्नन् । बडो दु:खले किनेको स्मार्टफोन हराउँदा ज्यामी काम गर्ने काठमाडौँ, रामकोटका पदम श्रेष्ठलाई कति दिन त राम्रोसँग निद्रा नै परेन । गत चैतमा १२ हजार रुपियाँ पर्नेे स्मार्टफोन हराएका उनले माघको अन्तिम साता काठमाडौँ प्रहरी परिसरमा कतै आफ्नो मोबाइलको आईएमईआई ट्रयाक भयो कि भन्दै विवरण माग्दै थिए ।

पदम अहिले पनि बाटो पर्दा आफ्नो मोबाइल पत्ता लाग्छ कि भन्दै महानगरीय प्रहरी परिसर, टेकु धाइरहेका छन् । उनी भन्दै थिए, “मोबाइल चोर्ने को हो भनेर शंका त छ तर प्रमाणबिना बोल्न नमिलेर यहाँ धाइरहेछु । खाइनखाइ किनेको मोबाइल भेटिन्न कि क्या हो ?”

प्रहरी परिसर, काठमाडौँको खोजतलास शाखामै छोरीको मोबाइल हराएको उजुरी टिपाउन आइपुगेका थिए अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी । उनकी २२ वर्षीया छोरीले केही दिनअघि बंगलामुखी मन्दिरमा पूजा गर्न जाँदा ८० हजार रुपियाँ मूल्य पर्ने मोबाइल हराएकी रहिछन् । केसी भन्दै थिए, “छोरी घरमा रोइरहेकी छ । फोन भेटिएला त ?”

लोभलाग्दा, महँगा र बहुउपयोगी स्मार्टफोनको बढ्दो प्रयोगसँगै चोरिने, हराउने र अवैध बिक्री हुने क्रम उत्तिकै बढ्दो छ । अन्तर्राष्ट्रिय मोबाइल सुरक्षा संस्था ‘ लुकआउट’का अनुसार संसारभर ३० अर्ब डलर बराबरको अबैध र चोरी भएका मोबाइलको व्यापार हुने गरेको छ । “फोनको बहुउपयोगी चरित्रका कारण ऋण नै काढेर वा किस्ताबन्दीमा महँगा सेट किन्ने आमप्रवृत्ति छ । त्यसरी किनेको मोबाइल चोरिँदा कस्तो होला भन्नूस् त ?”

फोन नै कति हराउँछन् भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन । चोरीको अभियोगमा मुद्दा दर्ता भएकाको मात्रै औपचारिक तथ्यांक रहन्छ । उजुरी नगर्ने कति छन् कति ? सबैभन्दा बढी मोबाइलचाहिँ
उपत्यकामै हराउँछन् ।

महानगरीय प्रहरी परिसरको खोजतलास शाखामा दैनिक सालाखाला ३० हाराहारीमा मोबाइल हराएको या चोरिएकाबारे रिपोर्ट पर्छ । त्यो संख्या ललितपुर र भक्तपुरमा सालाखाला क्रमश: १५ र १० छ । महानगरीय प्रहरी परिसरका डीएसपी दिनेशकुमार आचार्य भन्छन्, “खोजीका क्रममा अनुमानित ७५ प्रतिशत मोबाइल भेटिने गरेका छन् ।”

यसरी खोजिन्छ मोबाइल
आईएमईआई नम्बरसहित मोबाइल हराएको रिपोर्ट परेपछि प्रहरीले मोबाइलको आईएमईआई नम्बर ट्रयाक गर्न, प्रयोगकर्ताको व्यक्तिगत विवरण माग्न तथा आवश्यक पर्दा सीडीआर (कल डिटेल रेकर्ड) अर्थात् सम्पूर्ण कल विवरणका लागि प्रहरीले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गर्छ ।

नेपालमा नेपाल टेलिकम र एनसेलले प्रहरीले मागेको बखतमा यस्तो विवरण दिने गरेका छन् तर युनाइटेड टेलिकम, एसटीमएम टेलिकम, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइटले भने प्रहरीलाई फोन कल तथा सन्देश विवरण उपलब्ध गराउँदैनन् । त्यसैले यी सम्पूर्ण विवरण खोज्ने काम ढिलो हुने गरेको एक प्रहरी अधिकृतको गुनासो छ । भन्छन्, “कतिपय देशमा टेलिकम्युनिकेसनको ‘मिररिङ’मा प्रहरी प्रत्यक्ष संलग्न गराउने प्रचलन छ । हाम्रोमा भने फोन–ग्राहकको गोप्यता भंग हुन सक्ने खतरा औँल्याउँदै प्रहरीलाई यस्तो अधिकार दिइएको छैन । त्यो दिनुपर्छ ।”

भेटिएको या चोरिएको मोबाइलमा नयाँ नम्बर प्रयोग भयो भने आईएमईआई नम्बरका आधारमा त्यस नम्बरमा सम्पर्क गरेर या त्यस नम्बरबाट फोन गरिएका या त्यस नम्बरमा फोन गर्नेहरूलाई फोन गरेर उक्त फोनसम्म पुग्ने गरिन्छ । कतिपय अवस्थामा प्रहरीको फोन उठाएर पछि फोन स्विचअफ गरेर भाग्ने चोरहरू पनि प्रशस्तै छन् तर त्यसो हुँदा पनि प्रहरीले सर्वसाधारणको फोन भेट्टाइदिने गरेको छ । हराएका या चोरिएका मोबाइल पाएर फिर्ता नगर्नेलाई चोरीको अभियोगमा मुद्दा चलाउने या हिरासतमा राखेर अनुसन्धान गरिन्छ ।

के हो आईएमईआई नम्बर ?

आईएमईआईको पूरा अर्थ हो, ‘ इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी ।’ यो प्रत्येक मोबाइलको निजी परिचय हो । प्रत्येक मोबाइलमा भिन्नाभिन्नै परिचय हुन्छ । मोबाइल किन्दा आउने मोबाइल बक्समा या मोबाइलको ब्याट्री राख्ने भागमा यो परिचय प्रिन्ट गरिएको हुन सक्छ । र, यदि त्यहाँ उपलब्ध छैन भने पनि आफ्नै फोनबाट ८३ण्ट३ नम्बर डायल गर्दा उक्त नम्बर देखिन्छ । दुईवटा सिम लाग्ने मोबाइलमा दुईवटै आईएमईआई नम्बर हुने गर्छन् । आफ्नो मोबाइल सुरक्षाका लागि जो कसैका निम्ति यो नम्बर नोट गरेर राख्नु बुद्धिमानी हुन्छ ।

 

स्रोत: नेपाल

 

 

 

 

Comments

comments

Leave a Reply

%d bloggers like this: