Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > पहिलो पटक भारतबाट काठमाडौंमा ९० मेगावाट बिजुली ल्याइँदै

पहिलो पटक भारतबाट काठमाडौंमा ९० मेगावाट बिजुली ल्याइँदै

ढल्केवरमा निर्माणाधीन सव-स्टेसनको बुधबार स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर सौजन्य: प्रकाश दाहाल


पुस मसान्तसम्म लोडसेडिङ नहुने

 

नेपाल विद्युत प्राधिकरणले पहिलो पटक भारतको बिजुली काठमाडौं ल्याउने भएको छ। काठमाडौं उपत्यकासहित १० जिल्लामा हिउँदमा पनि लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतको बिजुली काठमाडौं ल्याउन लागेको हो।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले केही दिनभित्र मुजफ्पुर– ढल्केबर प्रसारण लाइनबाट आउने १ सय ६० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याइने बताए। ‘पहिलो पटक भारतको बिजुली काठमाडौं ल्याउन लागेका हौं’, अधिकारीले भने, ‘पहिला बिजुली ल्याउने बाटो एउटै थियो, विकल्प नभएकाले ल्याउन सकिएको थिएन।’

उनका अनुसार काठमाडौं र तराई क्षेत्रमा मातातिर्थ–हेटौंडा प्रसारण लाइनबाट मात्र बिजुली आवातजावत हुन्थ्यो। अहिले ढल्केबर–खिम्ती प्रसारण लाइन बनेपछि काठमाडौंमा तराईबाट बिजुली आउने दुई बाटा बनेका हुन्। ‘खिम्ती–ढल्केबर प्रसारण लाइनमा एउटा टावरको काम अन्तिम चरणमा पुगेको छ। त्यो सकिनासाथ काठमाडौंमा बिजुली ल्याउन बैकल्पिक बाटो बन्छ’, अधिकारीले भने, ‘हामीले भारतबाट आएको बिजुली ल्याउन दुबै प्रसारण लाइन प्रयोग गर्ने सोचेका छौं।’

यसअघि एउटामात्र प्रसारण लाइन (मातातिर्थ–हेटौंडा) हुँदा ठूलो लोडमा बिजुली ल्याउन प्राधिकरणले सकेको थिएन। खिम्ती–ढल्केबर प्रसारण लाइन सकिने निश्चित नहुँदा भारतबाट आयातित बिजुली काठमाडौं ल्याउने वा अन्त पठाउनेबारे अन्यौल थियो।

ढल्केबर सवस्टेशन नबनेपनि केही दिनमै थप ८० मेगावाट बिजुली आउने

ढल्केबरमा सवस्टेशन बनाउने काम नसकिए पनि ढल्केबर मुजफ्पुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली केही दिनमै नेपाल आउने भएको छ। मुजफ्पुरमा २२०÷१३२ केभीको ट्रान्सफर्मर राखेर थप बिजुली नेपाल ल्याउन लागिएको हो। ‘ढल्केबरमा सवस्टेशन बन्न केही ढिला हुने तर भारतबाट थप बिजुली ल्याउने विकल्प तयार भइसक्यो’, प्राधिकरण प्रमुख कुलमान घिसिङले भने।

मुजफ्पुरमा नयाँ ट्रान्सफर्मर राख्न लागेको भारतको पावर ग्रिड कम्पनीले काम अन्तिम चरणमा पुगेको बताएको छ। ‘मंसिर २८ र ३० गते परिक्षणका लागि पावर सट डाउन गर्न अनुमति मागेको छ’, प्रवक्ता अधिकारीले भने, ‘ट्रान्सफर्मर राखेपछि ढल्केबर सवस्टेशन नबनेपनि थप बिजुली ल्याउन सकिन्छ।’

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले ढल्केबर सवस्टेशन निर्माणको निरीक्षण गरेको छ। ‘प्रधानमन्त्रीले काम राम्ररी भइरहेको भन्दै छिटो सक्न निर्देशन दिनुभयो’, प्रधानमन्त्रीको टोलीमा रहेका प्राधिकरण घिसिङले टेलिफोनमा भने, ‘डिसेम्बर मसान्तमा सक्ने लक्ष्य राखिए पनि सवस्टेशनको काम सक्ने केही बढी समय लाग्ने भयो।’

पुस मसान्तसम्म लोडसेडिङ नहुने
भारतबाट केही दिनमै थप ९० मेगावाट बिजुली ल्याउन सकिने भएपछि प्राधिकरणले उपत्यकासहितका १० जिल्लामा पुस मसान्तसम्म लोडसेडिङ नहुने बताएको छ। ‘मुजफ्पुरबाट थप असी मेगावाट र टनकपुरबाट थप १० मेगावाट बिजुली केही दिनमै आउने भएपछि अब पुस मसान्तसम्म लोडसेडिङ नहुने अवस्था बन्यो’, अधिकारीले भने ‘भारतबाट थप १ सय १० मेगावाट बिजुली ल्याएर यो हिउँदभरि पनि लोडसेडिङ नगर्ने हाम्रो योजना छ।’

टनकपुरमा ओभर करेन्ट सेटिङ गरेर थप १० मेगावाट बिजुली केही दिनमै नेपाल ल्याउने तयारी भइरहेको छ।
सोही ठाउँमा ५० एमभिएको ट्रान्सफर्मर राख्ने प्रक्रिया चलिरहेको छ। प्राधिकरणले ५० एमभिएको ट्रान्सफर्मर राखेर यही हिउँदमा टनकपुरबाट थप बिजुली ल्याउने तयारी गरिरहेको छ।

यसअघि प्राधिकरणले भारतबाट बिजुली नआए पनि देशभित्रका आयोजनाबाट ७५ मेगावाट बिजुली थपिने भएकाले पुस दोस्रो सातासम्म लोडसेडिङ नहुने बताएको थियो।

‘हामी हिउँदभरि नै लोडसेडिङ हुन नदिने अभियानमा छौं, तर यो परीक्षण हो’, अधिकारीले भने, ‘जनताले पनि यसमा साथ दिई बिहान र बेलुकाको समयमा अनावश्यक बिजुली खपत नगरिदिए अभियान सफल हुन्छ।’

 

स्रोत: सेतोपाटी

 

 

 

Comments

comments

Leave a Reply

%d bloggers like this: