Monday, July 24, 2017
Home > नेपाली समाचारहरु > समाचार > ‘लेखकको लिङ्ग हुँदैन, लैङ्गिक संवेदनशीलता हुन्छ’

‘लेखकको लिङ्ग हुँदैन, लैङ्गिक संवेदनशीलता हुन्छ’

मंसिर ३०, २०७३ साहित्यकार शारदा शर्मा वर्तमानको नेपाली साहित्य, विशेषगरी आख्यानमा अत्यन्तै लोकप्रिय स्रष्टा हुन्।

कविता, निबन्ध, आख्यानलगायत साहित्यका विविध विधामा सशक्त कलम चलाउने शर्माका विभिन्न विधाका कृति प्रकाशित छन्। नेपाली साहित्य लेखन र नारी स्रष्टाबारे थाहा खबरका लागि घनेन्द्र ओझा ओझाले गरेको सम्वाद :

एउटी नारी स्रष्टाले साहित्यमा लाग्दा भोग्नुपर्ने अप्ठ्यारा/सजिला पक्ष बताइदिनुस् न!

नारी लेखकलाई सजिलो भन्दा आप्ठ्यारो नै धेरै छ। तिनको जीववैज्ञानिक सामर्थ्यलाई हाम्रो समाज-व्यवस्थाले कमजोरी बनाइदिएको छ। अध्ययन र लेखनको निम्ति समय व्यवस्थापन, सामग्री संकलन, अनुसन्धानलगायत विषयहरूको निर्वाध प्रस्तुति गर्नसम्म तिनलाई अनेक भौतिक, नैतिक दवाव र छेकबार छन्। घरैभित्र पनि संघर्ष गर्नुपर्ने अवस्था छ। तर यो अवस्थालाई साहित्य लेखनको विषय-सामग्रीका रूपमा लिन सकियो भने त्यो एउटा मौका पनि बन्न सक्छ, नारी स्रष्टाका निम्ति। मेरो आफ्नो कुरा गर्ने हो भने तुलनात्मक रूपमा मैले कम अप्ठेराहरूको सामना गरेकी छु जस्तो लाग्छ।

महिलावाद भन्ने कुरासंग हामी आवश्यकता भन्दा बढी डराउँछौं। मैले बुझेसम्म महिलावादी हुनु भनेको मान्छेवादी हुनु हो। महिलालाई मान्छेको मान्यता चाहिन्छ भन्नु गलत हो र?

महिलाले लेखेका साहित्यलाई हाम्रो समाजले उति महत्त्व किन नदिएको होला?

संसार नै पुरुषप्रधान छ। नेपाली समाजको संरचना पनि त्यस्तै छ। हरक्षेत्रमा महिलालाई कम महत्त्व दिने परिपाटी छ। यो पृष्ठभूमिमा साहित्यमा मात्र महिलालाई बढी महत्त्व दिनुपर्छ, दिएको छ भन्न त सकिन्न तैपनि नेपाली समाजले महिलाको साहित्यलाई महत्त्व नै नदिएको पनि हैन कि जस्तो लाग्छ।

मेरो आफ्नो कुरा गर्दा- गाउँ कन्दरासम्म मलाई मेरो लेखनकै कारण चिन्ने र माया गर्ने प्रशस्त हुनुहुन्छ। मलाई जहाँसम्म लाग्छ, समाजले महत्त्व नदिएको भन्दा पनि महिलाको साहित्यले प्रचार प्रसारमा कम महत्त्व पाएको चाहिँ हो। यसो हुनुमा साहित्यको गुणस्तर भन्दा पनि महिला लेखकको शक्ति, प्रचार माध्यमहरूसँगको पहुँच र सम्बन्ध, प्रचारवाजीमा उतिसारो नजुट्नुलगायत समालोचकहरूको उदासीनताले पनि काम गरेको हुन सक्छ।

साहित्यिक कृतिको सतही अध्ययन गरेर सतही समीक्षा गर्ने चलन पनि धेरै छ। हुनत यतिखेर प्रविधिका कारण स्थिति बदलिएको पनि छ। चलेका सञ्चार माध्यमले महत्त्व नदिए पनि सामाजिक सञ्जालको पहुँचका कारण रचना देख्दै नदेखिने अवस्था पनि छैन। यद्यपि, राम्रा रचनाहरू तत्कालै प्रचार प्रसारमा नआए पनि अलि लामो समय बाँच्छन् नै, पर्खन सक्नुपर्छ।

पछिल्लो नारी साहित्यलेखनको दिशा कता गइरहेको छ?

मैले त राम्रो देखिरहेकी छु। पछिल्लो समय त सिर्जनामा पुरुषहरू बरु पछि परेका छन्, महिलाहरू अघि छन्, स्तरीय पनि लेखिरहेका छन्। नीलम कार्की निहारिका, उमा सुवेदी, सरस्वती प्रतीक्षा, सरिता तिवारी, सीमा आभासका रचनाहरू बलिया छन्। फुटकर रचनाहरू पनि बडो राम्रो लेखिरहेका छन् महिलाहरू। सरिता गौतम, रामेश्वरी पन्त, सावित्री गौतम, कल्पना वान्तवा, शोभा शर्मा नयाँ पुस्ताका केही रहरलाग्दा नामहरू हुन्।

रजनी ढकाल, गीता त्रिपाठी, लीला लुइँटेल जस्ता दह्रा महिला समालोचक पनि छन्। केही पुरुषका रचना पनि पढेँ मैले यो समय। मोहन मैनाली, हरिहर विरही, जगत नेपाल, फूलमान बलका रचना पनि राम्रा छन्। यतिखेर किन हो पत्रकारहरूले राम्रो साहित्य लेखिरहेको स्थिति छ। तर नि:सन्देह महिलाहरू सिर्जनात्मक लेखनमा मात्र होइन, समीक्षा समालोचनाका क्षेत्रमा पनि यतिखेर अगाडि छन्- पुरुष लेखक भन्दा।

महिला लेखकहरू बढी नै महिलावादी हुँदै गइरहेका भन्ने कुरा साँचो हो?

लेखकको लिङ्ग हुँदैन तर लैङ्गिक संवेदनशीलता हुन्छ। महिला, पुरुष लेखकका आ-आफ्ना विशेष अधिकार-क्षेत्र र रुचिका कुराचाहिँ हुन्छन्, लेखनमा ती आउँछन् पनि। घरीघरी लाग्छ, महिलावाद भन्ने कुरासंग हामी आवश्यकता भन्दा बढी डराउँछौं। मैले बुझेसम्म महिलावादी हुनु भनेको मान्छेवादी हुनु हो। महिलालाई मान्छेको मान्यता चाहिन्छ भन्नु गलत हो र? मैले बुझेको महिलावाद यही हो। यतिखेर पुरुष लेखककले नै महिलाका विषय पनि लेखिदिनुपर्ने अवस्था पनि रहेन। महिलाका कुरा महिला लेखक आफैँले लेख्न भन्न सक्ने स्थितिमा छन्।

त्यसैले तिनले आफ्ना नलेखिएका, नदेखिएका, उपेक्षा गरिएका विषयलाई केन्द्रमा राखेर लेख्छन् भने त्यसमा अन्यथा के भो? साहित्यमा विषय त जेसुकै पनि हुन सक्छ। यद्यपि, साहित्यमा महिला, पुरुष र तेस्रो लिङ्गीका विषय सम्बन्धित लिङ्गले नै उठाउनुपर्छ भन्नु पनि अर्को अतिवाद हो। विषयमा डुबेर, बुझेर, संवेदनशील रहेर लेखिएको छ भने जुनसुकै लिङ्गका मान्छेले जुनसुकै लिङ्गका विषयमा कलम चलाए पनि त्यो प्रभावकारी हुन्छ।

साहित्यमा गरिएका प्रयोगहरू जीवनसँग जोडिएनन्, पाठकले त्यसमा आफूलाई भेट्न सकेनन् भने ती हराएर बिलाएर जान्छन् भन्ने कुराको हेक्का राख्न जरुरी छ।

व्यक्तिगत लेखन सन्दर्भमा थोरै कुरा गरौँ, यहाँका लेखनले समाजलाई के दिन चाहेको छ?

जीवन र जगतमा मैले बुझेका, अनुभव गरेका, घत परेका कुराहरू नै लेख्छु म। समाजलाई दिन भनेरै त म लेख्न बस्दिनँ। तर लेखिसकेपछि छापिसकेपछि त्यो समाजको हुन्छ नै। मैले लेखेका कुरामा पाठकले पनि आफूलाई भेट्न सकून्। त्यसले उनीहरूलाई पनि आनन्दित र आन्दोलित बनाउन सकोस्।। केही न केही जीवनोपयोगी कुरा मेरो लेखनबाट पाठकले प्राप्त गरून् भन्ने पनि मेरो ध्येय हुन्छ। त्यसैले पनि लेखिसकेपछि परिष्कार परिमार्जनमा प्रशस्त समय लगाउँछु। आफ्नो लेखनबाट मैले आफैँलाई सन्तुष्ट बनाउन सकेँ भने त्यो अरूका निम्ति पनि सन्तुष्टिको विषय बन्न सक्छ भन्ने मेरो मान्यता हो।

के साहित्यले सामाजिक-राजनीतिक-साँस्कृतिक रूपान्तरण गर्न सक्छ र?

लेखनले सोझै समाज रूपान्तरण गर्ने होइन। तर यसको परोक्ष प्रभाव हुन्छ। लेखन मानव-मनको खुराक हो। लेखन प्रभावशाली छ भने त्यसले मान्छेको सोचाइ, बुझाइलाई रूपान्तरण गर्छ। चेतनालाई उन्नत बनाउँछ। मान्छेलाई सन्तुष्ट बनाउँछ। संसारका, समाजका अरू किसिमका परिवर्तन त मान्छेले गर्ने हो। उन्नत परिष्कृत चेतना भएका आनन्दित मान्छेले नै समाजमा सकारात्मक रूपान्तरण ल्याउन सक्छन्। अथवा त्यसमा सहयोगी बन्न सक्छन्। यो प्रक्रिया अलि ढिलो प्रक्रिया हो।

पछिल्लो नेपाली साहित्य, विशेषगरी आख्यान बढी उडन्ते वा स्वैरकाल्पनिक भएको भन्ने आलोचना आइरहेका छन् नि!

साहित्य मान्छेको आनन्दको र मनोरञ्जनको साधन पनि हो। त्यसैले यसमा विविधता आवश्यक छ। सधैँ सबैले गुरुप्रसाद मैनाली शैलीका सामाजिक यथार्थवादी आख्यान मात्रै लेख्नुपर्छ र तिनको पुछारमा कुनै न कुनै उपदेश दिनै पर्छ भन्ने होइन। आजका मान्छेका रुचि र कल्पनाशीलतालाई मलजल गर्ने किसिमका नयाँ प्रयोग पनि आवश्यक छन्, साहित्यमा। पाठकको कल्पनाशीलतालाई बढाउन सक्नु, पाठकलाई आनन्दित तुल्याउन सक्नु कम महत्त्वपूर्ण कुरा हो र? कल्पनाशीलताले नै हो हामीलाई जीवन्त बनाउने। मैले त आजको नेपाली आख्यानमा कल्पनाशीलताको कमी भयो, नयाँ प्रयोगहरू भएनन् भन्ने गुनासो पो सुनेकी थिएँ।

अचेल नेपाली साहित्यमा कल्पनाशीलताको यो पक्ष पनि जमेर आएको छ। स्वैरकल्पना कल्पनाशीलताकै उच्च उडान हो। म यसलाई हावादारी भन्दिन, सकारात्मक ठान्छु। कुरा केवल यत्ति हो- साहित्यमा गरिएका प्रयोगहरू जीवनसँग जोडिएनन्, पाठकले त्यसमा आफूलाई भेट्न सकेनन् भने ती हराएर बिलाएर जान्छन् भन्ने कुराको हेक्का राख्न जरुरी छ। जतिसुकै उडान भरे पनि जमिनमा सुरक्षित अवतरण गर्न सकिएन भने दुर्घटित हुने सम्भावना पनि हुन्छ।

अबको साहित्य लेखककेन्द्रित कि पाठककेन्द्रित भन्ने बहस कति सान्दर्भिक छ ?

साहित्य सधैँ सबै कालमा लेखककेन्द्रित भएर जन्मन्छ र फैलिएर पाठकसम्म पुग्छ। मैले बुझेको कुरा यत्ति हो।

अन्तमा केही भन्नुपर्ने छ कि!

महिला लेखकहरूले जतिखेर पनि म महिला भएका कारणले उपेक्षित भएँ कि भन्ने सोचाइ राख्न जरुरी छैन। अभ्यास गरिरहँदा लेखन माझिन्छ। प्रशस्त पढ्नुपर्छ। महिलाले सधैँ महिलाको मात्रै विषय लेख्ने भन्ने पनि सोच्छन् मान्छे। विषयगत जानकारी र लेखनको विषय-वृत्तलाई फराकिलो पार्दा हामी यस मान्यताबाट बाहिर निस्कन सक्छौँ। हामीले आफ्नो लेखनलाई परिपक्व र प्रभावकारी बनाउन सक्यौँ भने यसलाई महत्त्व नदिई धरै हुँदैन।

प्रविधिले साहित्यको पनि अन्तर्राष्ट्रियकरण गरेको छ। साहित्यमा स्थानीय, क्षेत्रीय, केन्द्रीय भन्ने कुरा पनि रहेन। यतिखेरको लेखकले एक्कैपल्ट संसारकै साहित्यसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ। पाठकहरु अत्यन्त सचेत छन्। यो अवस्था लेखकहरूका निम्ति, अझ महिला लेखकहरुका लागि झनै चुनौतीपूर्ण छ। तर यसले नेपाली साहित्यलाई समृद्ध र स्तरीय बनाउन मद्दत नै पुर्याउँछ जस्तो लाग्छ।

 

स्रोत: थाहा खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: