Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाएको भए पञ्चायत आउने थिएन !

सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाएको भए पञ्चायत आउने थिएन !

वीपी र महेन्द्र एउटै वनका दुई बाघः ङ्यारङ्यार गरिहाल्ने

 

विश्वबन्धु थापा, बरिष्ठ राजनीतिज्ञ


त्यो पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको जननिर्वाचित सरकारलाई ‘कु’ नगरेको भए नेपालको अवस्था के हुन्थ्यो ? यो प्रश्न मलाई अहिले धेरैले सोध्ने गर्छन्, तर यसमा कुनै जवाफ छैन । ०१७ साल पुस १ गतेको त्यो ‘कु’ ले मेरो राजनीतिक जीवनले कहिल्यै नफर्किने गरी नयाँ मोड लियो ।

वास्तवमा राजा महेन्द्र वीपीसँग यसरी आत्तिए, उनले केही दिन कुर्ने धैर्य पनि राख्न सकेनन् । वीपीले त राजीनामा दिएर सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाउने सहमति सुशीला भाउजूकै मध्यस्थतामा भइसकेको थियो । म त ती सबै घटनाक्रमको साक्षी थिएँ । मैले नगर्नुस् भन्दाभन्दै राजा महेन्द्रले गरिहाले । सायद सुवर्णलाई प्रधानमन्त्री बनाएको भए पुस १ को घटना हुने थिएन ।

म वीपीको भाइः मन्त्रीहरुको गोठालो

त्योबेला वीपी कोइराला कांग्रेसको दुई तिहाइ बहुमतको सरकारको प्रधानमन्त्री । अनि मचाहिँ संसदीय दलको प्रमुख सचेतक । प्रमुख सचेतक भनेको मन्त्रीहरुको गोठालोजस्तै पद हो । सायद मलाई विश्वास गरेर वीपीले त्यो जिम्मेवारी दिनुभयो । किनकि म कोइरालानिवासमै हुर्किएकाले भाइसरह व्यवहार गर्नुहुन्थ्यो ।

मलाई लागिसकेको थियो, एउटै जंगलमा दुईवटा बाघ अट्न सक्दैनन्, वीपी र महेन्द्र दुबै बाघ हुन् भन्ने मेरो बुझाइ थियो, राजाले कुनै पनि बेला गडबडी गर्न सक्छन् भन्ने संकेत पनि पाइसकेको थिएँ

मैले ०१५ सालको आम चुनावमा चितवन निर्वाचन क्षेत्रबाट जितेको थिएँ । सत्तारुढ दलको प्रमुख सचेतकका हैसियतमा सान्दाजु (वीपी) सँग त सधैं नजिकमै हुने नै भएँ । राजा महेन्द्रसँग पनि मेरो बारम्बार भेटघाट र छलफल भइरहन्थ्यो । उनले त्योबेला मलाई किन नजिक बनाउन खोजे भन्ने चाहिँ पछि थाहा भयो ।

तर, पनि मलाई लागिसकेको थियो, एउटै जंगलमा दुईवटा बाघ अट्न सक्दैनन् । वीपी र महेन्द्र दुबै बाघ हुन् भन्ने मेरो बुझाइ भइसकेको थियो । राजाले कुनै पनि बेला गडबडी गर्न सक्छन् भन्ने संकेत पनि पाइसकेको थिएँ । तर, त्यो ढंगले ‘कु’ गर्लान् भन्ने लागेको थिएन । किनकि वीपीले छाडेर सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाउने जानकारी पनि मैले राजालाई दिइसकेको थिएँ । उनले चाहेको पनि त्यही थियो, वीपी प्रम नहून् भन्ने ।

पुस १ को पृष्ठभूमि

पुस १ को ‘कु’ को घटना गर्नुअघि नेताहरुलाई एक वचन सोध्ने महेन्द्रसँग तागत नै थिएन । किनकि यिनीहरु (राजाहरु) अगाडि बोल्ने मान्छे हैनन्, फ्याट्ट गर्ने हुन् । सामन्तीहरु साह्रै बोल्ड (साहसी) हुँदैनन्, कायर हुन्छन् । तर, बिगार्ने बेला बिगारिहाल्छन् । उल्टो काम गर्दिहाल्ने ।

तर, पुस १ गतेको घटना हुनेबेला चाहिँ म नेपालमा थिइनँ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएको थिएँ । जानुभन्दा अगाडि मैले महेन्द्रलाई भनेको थिएँ, ‘म नआउन्जेल केही पनि नगर्नुहोला ।’ किनकि उनले केही गर्दै छु भनेर पहिल्यै भनिसकेका थिए । पछि म फर्केर आएपछि एक भेटमा महेन्द्रले भने पनि, ‘तिमीले भनेको कुरा मैले बुझे पनि बाध्यताले तत्कालै यो कदम लिनुपर्‍यो ।’

वीपीले राजालाई आदर गर्न जानेनन्

पावरमा बस्नेहरुको झगडा हुनु स्वाभाविकै हो । अहिले दलहरुमा मेल नभएजस्तै हो । सत्ताका लागि पार्टीका नेताहरु त झगडा गर्छन् भने राजा त झनै बानी बिग्रेका मान्छे हुन् ।

 

गाउँका जिम्मावाल, मुखियाहरु हामी पढेलेखेका ठिटाहरु गएर नमस्ते गरिदियो भने दंग पर्थे । खानदानी केटो हो, बडो नम्र छ भन्थे । नमस्ते नगर्नुस्, ठूलो भएर हिँड्यो, बाउचाहिँ आएर मकहाँ दिनभरि बस्थ्यो, आज छोरो चाहिँ काठमाडौं गएर बिग्रेछ भन्थे । यो सामन्ती तरिका हो ।

हामी बिराटनगरको मान्छेलाई जी-हजुरी थाहा नै थिएन । कसैले बोलायो भने ‘हजुर’ भन्नुपर्छ भन्ने मात्रै जान्दथ्यौं । घरमा नेपाली बोलिन्थ्यो, गाउँघरतिर गयौं भने मैथिली बोल्थ्यौं, स्कूलमा गए हिन्दी र पढ्न बनारसमा बस्दा अंग्रेजी बोल्थ्यौं । चारवटा भाषा हामी बिराटनगरमा बस्नेले बोल्नैपथ्र्यो । वीपीलाई आदरभाव के हो भन्ने थाहा थिएन ।

वीपी त मभन्दा पनि बिग्रेको मान्छे

बिराटनगरबाट काठमाडौं आउँदा त सबै हजुर र बक्सियोस् मात्र भन्छन् । सुन्नै र बुझ्नै पनि गाह्रो, यो के भाषा हो भनेजस्तो । म थापा परिवारको भएकाले मेरो परिवारमा चाहिँ हजुर सम्बोधन पहिल्यैदेखि थियो । तर, बनारसमा बस्दासम्म पनि मलाई त्यसबारे थाहा थिएन ।

जी-हजुरीका यी भाषा वास्तवमा वीपीलाई थाहा थिएन । वीपी त मभन्दा पनि बिग्रिएका मान्छे ! किनभने भारतमै बढ्ता बसे, उतै पढे । यसैले उनी सामन्ती भाषासँग अभ्यस्त थिएनन् ।

राणा-ठकुरीहरूलाई त ‘हजुर’ र ‘सरकार’ भन्नैपर्थ्यो । ठकुरीलाई राजा नभन्दा मन पर्दैन । पहाडतिर ठकुरी जातका भरियाहरु समेत राजा नभनिकन भारी नबोक्ने मैले देखेको छु । सामान्यतया मान्छेलाई चाकडीको भाषा मन पर्छ ।

खासमा राजा र वीपीको साह्रै मेल थियो । मान्छे मन पर्ने, व्यवहार भने मन नपर्ने । वीपीले राजालाई कहिल्यै पनि चाकडीको भाषा प्रयोग गरेनन् । राजाले चाकडी गर चाहिँ नभन्ने, तर अपेक्षा चाहिँ राख्ने । कुरो यहीँबाट रड्कियो ।

महेन्द्रलाई सोधेँ- सरकार देवता हो ?

पुस १ गतेको काण्डबाट म पञ्चायतमा लागेपछि एकचोटि मैले महेन्द्रलाई भनेँ, ‘सरकार देवता हो ? हामीले पो देवता मान्दिएको त ! राजालाई विष्णुको अवतार भनिदिएको हामी नेपालीले हो । सरकारले आफूलाई विष्णु भगवान् ठान्नुहुँदैन । सरकारलाई मेरो मनको कुरा के थाहा छ ? मान्छे कति फटाहा हुन्छन्, उल्लु हुन्छन्, के थाहा हुन्छ !’

म अलि मुफट खालको थिएँ, बिराटनगरमा हुर्किएकाले चिल्लो बोल्न आउँदैनथ्यो । राजाले मलाई जे पायो त्यही बोल्ने ‘प्यारप्यारे मन्त्री’ भन्थे ।

प्रधानमन्त्री भएपछि वीपीलाई महेन्द्रले साह्रै मन पराएको हो । यद्यपि वीपी प्रधानमन्त्री नबनून् भन्ने उनको जोडबल त छँदै थियो । राजाले भन्ठाने, यो मान्छे कन्ट्रोलमा आउँदैन । तेज त तेज छ, तर म सधैं सावधान हुनुपर्छ यसबाट । प्रतिस्पर्धीको भावना थियो दुवैमा ।

म भन्थेँ पनि, वनका दुइटा बाघ हुन् यिनीहरु । ङ्यारङ्यार गरिहाल्छन् । एउटाको जनतासँग बल थियो, अर्कोको सत्ताको बल थियो ।

वीपी त त्यसबेला जनताबाट चुनिएका प्रधानमन्त्री थिए, राजाप्रति ‘लोयल’ पनि थिए । नभए त राजा चाहिन्छ भन्ने नै थिएनन् । उनको व्यवहार चाहिँ प्रजातान्त्रिक थियो । जुन व्यवहार दरबारमा त्यति सह्य थिएन ।

सुशीला भाउजूले वीपीलाई प्रम नबन्नुस् भनिन्

त्योबेलामा वीपी प्रधानमन्त्री नभएका भए पुस १ को घटना हुने थिएन त भन्ने हाइपोथेटिकल प्रश्न पनि गरिन्छ । यथार्थ के हो भने त्यसबेला सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाएको भए पञ्चायत आउने थिएन होला । अलिपछि आउँथ्यो होला ।

खासमा वीपीलाई प्रधानमन्त्री हुन दिन्नँ भनेर सुशीला भाउजूले भनेकी थिइन् ।

अब पुग्यो, कैले मातृकाप्रसादसँग झगडा, कहिले कोसँग झगडा, सत्तामा नबस्नुस् भनेर भाउजूले भन्थिन् । मेरो त उनीसँग देवर-भाउजूको रुपमा नजिकैको सम्बन्ध थियो ।

राजालाई भनेँ- सुवर्ण प्रम हुन्छन्, चिन्ता नलिबक्स्योस्

हाम्रो पार्टी नेपाली कांग्रेसको कार्यसमितिको बैठक थियो, त्योबेलामा सुशीला भाउजूले भन्नुभएको थियो, ‘एक वर्षजति वीपी प्रम हुने भनेर । त्यसपछि सुवर्णलाई जिम्मा लगाउने कुरा भएको हो । त्यसमा वीपी सहमत भइसकेका थिए ।

मैले राजालाई पनि यो कुरा सुनाएको थिएँ । राजासँग मेरो राम्रै थियो, मूल घर गोरखा भएको नाताले । म त भीमसेन थापाको खलकको मान्छे ।

मैले राजाको मनोदशा बुझेरै भनेको थिएँ, ‘सुवर्णजी आफैं हुन्छन् प्रधानमन्त्री, चिन्ता नगरिबक्सियोस् । वीपी नेता भएर बस्छन् । सुवर्ण र विपीको मेल पनि छ । गाह्रो पर्दैन ।’

वीपीले पनि मलाई भन्नुभएको थियो, सुवर्णलाई छोड्दिन्छु भनेर ।

तर, त्यहीबीचमा म राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जानुपर्‍यो । पुस १ को परिवर्तन हुँदा म नेपालमा थिइनँ भनेर माथि नै भनिसकेँ । मैले वीपी र राजा दुबैलाई भनेको थिएँ, ‘मलाई पर्खिनुस् है, म नआउन्जेल केही नगर्नुस् है ।’

वीपी पनि महासभामा गएर एक महिनामा फर्किए । मैले तीन महिना बस्नुपर्‍यो ।

वीपीलाई न्यूयोर्कमै भनेको थिएँ, ‘सान्दाजु, तपाईँसित राजा रिसाएका छन् । विचार गर्नुहोला ।’

पछि मलाई वीपीले भने, ‘तैंले मलाई भनेको थिइस् । म रामेछाप जान थालेको थिएँ, उताबाट आएर (राजीनामा) गर्छु भन्ने ठानेको थिएँ, टाइमिङ मिलेन । राजाले आत्तिएर चेन्ज गरिहाले ।’

महेन्द्रलाई मनको बाघले खायो

बाह्य परिस्थितिले भन्दा पनि मान्छेलाई सोचाइले असर गर्छ । राजालाई त्यसैले काम गर्‍यो ।

वीपीको भारत र चीनसँगै राम्रो सम्बन्ध छ, आर्मीमा पनि यसको राम्रै छ, त्यस कारण यो मान्छेले भोलि मलाई फाल्दिने पो हो कि ? अथवा केही न कामको पङ्गु बनाएर पो राख्दिने हो कि ? महेन्द्रको मनमा यस्तै सोच आएछ त्यसबेला । त्यही भएर उनी सत्ता आफ्नो हातमा लिन चाहन्थे ।

वीपीको यस्तो व्यक्तित्व थियो, राजालाई डर लाग्ने । उनलाई मनको बाघले खायो ।

राजाले मसित भन्थे, ‘मेरो देखाउन लायक प्रम वीपी हो’ भनेर । तर, लायक भनेर के गर्नु, उनलाई मन परेन ।

त्यतिखेर नेपाल विकासको दृष्टिले आजभन्दा निकै गएगुज्रेको अवस्थामा थियो । यसमा केही परिवर्तन ००७ सालपछि भयो । तर, जति तीव्र रुपमा हुनुपर्ने हो, त्यो पटक्कै भएन । म ००७ सालमा गोरखाको बडाहाकिम भएर गएँ, त्योबेलामा जे अवस्था थियो, ०१७ सालमा पनि त्यस्तै थियो । १० वर्षको अवधिमा केही चेन्ज भएन । त्यतिखेर पैसा पनि कम थियो । अर्थमन्त्री रहेका सुवर्ण शमशेरले जम्मा पाँच करोड बजेट छुट्याउँथे । त्यसमा पनि दुई करोड त ऋण नै हुन्थ्यो ।

विकासका लागि प्रजातन्त्र हरण

महेन्द्रले परिवर्तन गरेको खासमा सत्ता लिनलाई मात्र हो । पूर्वाधार विकास लगायतका काम त जुन कुरा वीपीले गर्न खोजेका थिए, त्यही कुरा पछि महेन्द्रले गरेका हुन् । वीपीले गर्न खोज्दाचाहिँ पार्टीमा पनि र बाहिर पनि झगडा भो ।

महेन्द्रले ती काम वीपीबाट गराउन खोजेको भए पनि हुन्थ्यो होला । तर, वीपीको त्यति ठूलो व्यक्तित्व थिएन कि राष्ट्र नै बोकेर हिँडून् । बढ्ता व्यक्तित्व र जनतामा प्रभाव राजाकै थियो । महेन्द्रमा विकास र सबै कामको श्रेय आफैं लिऊँ भन्ने चाहना थियो ।

थुनिनेको लिष्टमा मेरो नाम १६ औं नम्बरमा

म न्यूयोर्कबाट फर्केर आउँदा राजाले ‘टेकओभर’ गरिसकेका थिए । ‘कु’ भएको चार दिन भइसकेको थियो । म एअरपोर्टमा ओर्लिने वित्तिकै सिंहदरबारमा लगियो ।

म सुवर्णलाई भेट्न कोलकाता नगई दिल्लीबाट सीधै काठमाडौं आएको थिएँ । मलाई थुन्न गोलघरमा लैजाने क्रममा जर्नेललाई सोधेँ, यहाँ को-को छ ? ।

उसले भन्यो, ‘वीपीलाई यहीँ राखेको छ ।’

मैले भनेँ, ‘हेर्नुस् जर्साब, म जेलमा गएपछि चाहिँ बाहिर आउँदिनँ फेरि । म न्यूयोर्कबाट यहाँ आएको हो । म थुनिन आएको होइन । त्यसकारण तपाईं राजासँग कुरा गर्नुस् । मलाई थुन्नू भन्ने कुरा आयो भने थुन्नुस्, नभए म भित्र गइसकेपछि आउँदिनँ ।’

भन्नुको मतलब म जेलमा थुनिने हो भने वीपीसँगै हुन्छु, राजाको हुन सक्दिनँ ।

उसले भन्यो, ‘हजुरको नाम त थुन्नुपर्ने लिस्टमा छ ।’

लिस्टमा जम्मा १७ जनाको नाम थियो । मेरो नाम १६ औं नम्बरमा थियो ।

डम्म कुहिरो लागेको बिहानको समय थियो । मैले लङकोट लगाएको थिएँ ।

मलाई न्यूयोर्कमै हुँदा अलिअलि आइडिया थियो, कू हुने सम्भावना छ भनेर । त्यहाँ एउडा म्याडमले खबर गरिन्, तिम्रो देशमा कू भयो भनेर । अमेरिकामा उसकै साथी थिए राजदूत ऋषिकेश शाह । मैले उनलाई फोन गरेर सोधेँ ।

उनले भने, ‘केही न केही त भएको छ । मैले खबर पाएको छैन, आएपछि तपाईंलाई भन्छु ।’

हामी त होटलमा बस्थ्यौं । एकछिनपछि ऋषिकेशले फोन गरे, ‘तपाईं र अच्युतराज रेग्मीलाई चाहिँ हाउस भंग भयो, तुरुन्तै त्यहाँ -अमेरिका) बाट निकालेर पठाइदिनू भन्ने खबर आएको छ ।’

म त सांसदको हैसियतमा गएको थिएँ महासभामा । हाउस नै भंग भइसकेपछि त हामी संसद सदस्य रहेनौं । त्यतिबेला यदुनाथ खनाल पनि सँगै हुनुहुन्थ्यो ।

कहाँको टिकट काट्दिऊँ भन्ने कुरा सोधियो, अच्युतराजले म त कोलकाता जान्छु भने । मैले सोचेर मात्रै जवाफ दिन्छु भनेँ । पछि काठमाडौं जान्छु भनेँ । अच्युतराज र म दिल्लीसम्म सँगै आयौं । उनी कोलकातातिर लागे ।

म काठमाडौं आउनुको कारण, राजासँग कुरा गर्न चाहन्थेँ । मलाई थाहा थियो, राजाले मलाई थुन्दैनन् । राजासँग मेरो राम्रै सम्बन्ध थियो ।

तुलसी गिरीले भने- नाटक गर्छन् राजा

मैले दरबारमा राजालाई फोन गर भनेपछि जर्नेल हच्कियो । दरबारमा हामीले कहाँ फोन गर्नु भन्यो । उसले डर र संकोच मान्यो ।

त्यसपछि मैले भनेँ, ‘तपाईंको चिफसा’बलाई फोन गर्नुस् ।’

चिफले फोनमा भनेछ, ‘त्यसो भन्छ भने एकछिन पख है ।’

हामी दरबारबाट के कुरा आउँछ भनेर बसिरहेका थियौं । एकछिनपछि खबर आयो, ‘ल, हजुर घर गए हुन्छ, छोड्दिनु भन्या छ ।’ चिफसा’बले दरबारमा फोन गरेर उताको खबर सुनाएछन् ।

मैले भनेँ, ‘तपाईंले मलाई एअरपोर्टबाट सोझै यहाँ गाडीमा ल्याउनुभो, मेरो बाकस छ । अब के म यो बाकस बोकेर घर जानु ?’ त्यतिखेर त काठमाडौंमा त्यति गाडी चल्दैनथे ।

त्यसो भनेपछि जर्नेलले मलाई घर पुर्‍याइदियो ।

घर पुगेर ल्यान्डलाइनबाट (त्यसबेला मोबाइल फोन हुने कुरै भएन) डा. तुलसी गिरीलाई फोन गरेँ ।

डा. गिरीले खिन्न स्वरमा भने, ‘मलाई पनि चार दिन थुन्दियो, भर्खर मात्रै घर आएको ।’

मैले भनेँ, ‘किन थुनेछन् त तपाईंलाई ? थुन्नुपर्ने काम त केही थिएन ।’

गिरीले भने, ‘नाटक गर्छन् राजाले । के गर्छन् के गर्छन् !’

उनले दरबारमा सम्पर्क गर्छु, दुवैजना जाऔं भन्ने कुरा गरे । उनैले भेट्ने समय मिलाए ।

भोलिपल्ट राजाले हामीलाई बोलाए ।

भेट हुनासाथै मैले राजालाई सोधेँ, ‘के काम गरिबक्सेको यो ?

राजासँग कुनै प्लान थिएन

मेरो प्रश्नमा राजाले जवाफ दिए, ‘अब मैले गरिसकेँ विश्ववन्धु । तिमीले मलाई म नआई केही नगर्नू त भन्या थियौ । तर, यहाँको अवस्था हेर्दा गर्नैपर्‍यो । नपत्याए डा. गिरीलाई पनि सोध । अब तिमीहरु नै गर, जे गर्छौ ।’

मैले डा. गिरीलाई भनेँ, ‘गजबका राजा रैछन् बा ! प्लान र प्रोग्राम केही

पनि छैन । यत्तिकै चेन्ज गरिदिए ।’

उनको त एउटै प्लान थियो, पावर लिने । पावर लिइहाले ।

त्यसपछि हामीले गर्नुपर्छ भनेर काम अघि बढायौं । राजाले व्यवस्था परिवर्तन गरे पनि पञ्चायती व्यवस्थामा नामदेखि लिएर सबै कामकाज हामीले नै गरिदिएका हौं ।

राजाको कुनै योजना थिएन, तर उनमा तागत त थियो । राजाकै नाममा सबै काम भएको हो ।

राजाको नाम, हाम्रो काम

पञ्चायत व्यवस्थामा हेर्दा सुरुको पाँच वर्षमा बडो छिटो विकासका कामहरु भएका छन् । पछि त हामीलाई नै निकाले । पञ्चायतमा झगडा बढ्दै गयो । जागिर खाने मान्छे बढ्ता हुन थाले ।

पञ्चायत व्यवस्थामा सबै कुराको जग सुरुको पाँच वर्षमै बसेको हो ।

बिर्ता खोस्ने, जग्गा बाँड्ने, बाटो बनाउने, स्कूल खोल्ने लगायतका कुरामा आधारतभूत तहको काम त्यहीबेलामा भएको हो ।

त्योबेलामा हामीलाई भारतले सहयोग गरेन । बाहिरका मुलुकहरुले पनि कुनै सपोर्ट नगरुन् भनेर सकेसम्म कोसिस गर्‍यो ।

पछि महेन्द्रको चीनसँग बढ्ता दोस्ती थियो । उनी अलिकति एन्टी इन्डियन थिए ।

म उनलाई भन्थेँ, ‘चाइनासँग दोस्ती त्यति निको हुँदैन । हाम्लाई छिमेकीका रुपमा चाहिँ ठीक हो । दुवै छिमेकी हुन् । चाइना भनेको बाघ हो । हेर्दा राम्रो छ । संगत पनि राम्रो देखिन्छ । राजाले बाघ पाल्नुपर्छ भनिन्छ । तर, त्यो बाघ पाल्न गाह्रो भो । त्यो रिसायो भने मालिकलाई मार्दिन्छ । इन्डिया भनेको चाहिँ गाई हो । त्यो पनि दुहुना गाई । घाँस खान्छ, रिसाए पनि केही हुँदैन, सिङले हान्छ र दूध दिन छोड्यो भने पनि फेरि ब्याउँछ, दूध दिन्छ ।’

पुस १ पछि भारतको रोल

भारतसँग त हाम्रो झगडै पर्‍यो । कांग्रेसका मान्छेहरु पनि भागेर उतै बसे । मचाहिँ वास्तवमा एन्टी इन्डियन छैन । म मात्र हैन, धेरै नेपालीहरु एन्टी इन्डियन छैनन् । इन्डियाको छुच्चो व्यवहारले एन्टी इन्डियन भएका हौं वास्तवमा । व्यवहारले नै सबै कुरा फरक पार्छ ।

भारतलाई घमण्ड छ, हामी ठूलो हौं भन्ने । आफूलाई बडे भाइ ठान्छ । यहाँ मात्र होइन, छिमेकी मुलुकहरुमा सबैतिर यस्तो पाइन्छ । युएन महासभामा जाँदा मेक्सिको र क्यानडाका मान्छेहरु मसँग भन्थे, ‘हामी तिमीहरुको मर्म बुझ्छौं । हामीलाई युएसएले बिग बोसको व्यवहार देखाउँछ ।’

क्यानडा र मेक्सिकोले त युएसएको व्यवहार सहन गाह्रो छ भने हामी त साना छौं नि !

(पुस १ को घटनाका एक प्रभावशाली पात्र ९० वर्षीय पाका राजनीतिज्ञ विश्वबन्धु थापासँग अनलाइनखबरकर्मी मात्रिका पौडेलजोतारे धाइबाले गरेको कुराकानीमा आधारित ।)

 

स्रोत: अनलाइन खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: