Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > कथा: मेरी श्रीमती कमाउने हुनुपर्छ

कथा: मेरी श्रीमती कमाउने हुनुपर्छ

मंसिर सकियो । अब घर बाट बिहेको लागि दवाब आउदैन ।

हुन त माघ महिना सुरु भएपछि फेरि किचकिच सुरु भैहाल्छ । उमेर पुगेपछि शान्तले बस्ने भनेको त बर्षमा चार महिना मात्र रहेछ । उमेर भर्खर २५ बर्ष भयो । सबैले बिहे गर्ने उमेर पुग्यो भनेर कर गर्दैछन् । बिहेको महिना आउनै नहुने, घरमा किचकिच सुरु भैहाल्ने । कि तेरो छ भने भन्, नत्र फलानो ठाउँबाट केटीको कुरा आएको छ । कुरो अघि बढाउनु पर्यो ! शिरस्वभाव राम्रो छ ।

घरधन्दा लगायत सबै काम जानेकी छ । राम्री पनि उक्तिकै छे । त्यस्ती केटी अरु पाईन्न हेर बाबु…! यो जमानामा । दुई बर्ष भयो बिहेको लागि यस्तै कुराले मलाई हैरान पारेको छ । गाऊमा गयो बिहेको कुरा । अझ बुढापाकाहरु बिहेको कुरा लाई लिएर बढो मज्जाले जिस्क्याऊछन् । यता छाम्यो रित्तो उता छाम्यो भित्तो ! हेर हेर यस्तो जाडोमा नि एक्लै…! छोरो मान्छे भएर यत्रो उमेर हुदा पनि आफै लुगा धुने, भाडा माझ्ने गरेर बसेको छ । यसरी भएन बिहे गर्नुपर्यो कान्छा । साथी भाई भेट्यो स्टमित्र भेट्यो, सबैले एउटै प्रश्न गर्छन् । भोज कहिले खुवाउने कान्छा ?

परिवारको कान्छो छोरा भएको हुनाले सबैले कान्छा भनेर बोलाउछन् । सधै घरबाट बिहेको लागि दवाब आउछ । अहिलेसम्म आफूले सोचेस्तो केटीको कुरा आएको छैन । त्यसैले खासै बिहे गर्नेमन छैन । एक्लो ज्यान जहाँ मर्यो त्यहि चिहान ! एतिकै ठिक छ । यस्तै लाग्छ कहिलेकाहीँ । मनमनै यसै भन्छु । तर बिहे नगरी पनि त जीवन चल्दैन नि।

लामो समय काठमाडौंमा एक्लै डेरा गरेर बसेको हुनाले । सबै काम आफै गर्नुपर्छ । ओल्लो पल्लो डेरामा बस्नेहरु साथी र आफन्त आँउदा सबैले भन्छन् । जे होस् केटो जागरिलो छ । अरु केटाहरुको कोठा कस्तो बिजोग हुन्छ । यसले सफा राखेको हुन्छ । जागिर खाएकै छ । क्याम्पस जान भ्याएकै छ । चट्ट परेर हिडेकै छ । कस्ती केटी आउने हो यसको जीवनमा । सबै काम यसले नै गर्छ । जे होस् भाग्यमानी हुन्छे यो सँग बिहे गर्ने केटी ।

मंसिर २२ जन्मदिन परेको थियो । साथीहरु भेटघाट गरौ र जन्मदिन पनि मनाऔ भनेर केहि साथीहरुलाई बोलाएको थिए । बोलाएको जति सबै साथी आए । केहि केटी साथी पनि थिए । खाना मिठो पकाउछ भनेर मलाई नै पकाउन लगाए । खाना म आफैले पकाएं । केक काटियो रमाईलो गरियो । खाना खाने बेला भयो ।

सबैले मिठो मानेर खादै थिए । त्यस बीचमा एकजना केटी साथीले प्वाक्क भनि, निश्चल खाना चै मिठो बनाउछौ । म फिस्स हाँसे । खै, सबैले त्यसै भन्छन् ! आफ्नो प्रसंसा आफै गर्ने कुरो नि आएन, मनमनै सोचे । त्यति मात्र बोले । जे होस् श्रीमतिलाई सुख कटाउने भयौ । उसले भनि । अँ, सुख त तिमिलाई कटाउन मन थियो । तर के गर्नु ! तिमिले पत्याएनौ मलाई । हा… हा… हा… हा…. एकछिन हास्यौ सबैजना….. सबैको हाँसो लामै थियो
। खाना खाईसकेर एकछिन गफ गर्यौ, त्यसपछि सबै साथी बिदा भए ।

दुई बर्षको बीचमा धेरै ठाउँबाट बिहेको कुरा आयो तर चित्त बुझ्दो कुनै लागेन । खै किन हो चित्त बुझेको थिएन मलाई । सिङ्गो जीवनको सवाल छ । जीवन उसैसँग बिताउनु पर्छ । चित्त बुझोस् पनि कसरी आफूले भनेजस्तो भए पो चित्त बूझ्नु ! मेरो मनले भन्छ । मेरो जीवनमा आऊने केटी आटिली होस् ।

जागिर खाएर दुईचार पैसा कमाउने होस् । सायद त्यस्ती पाए यहि बर्ष बिहे गर्छु । घरायसी सबै काम अहिले म आफैले धानेको छु । बिहेपछि किन धान्न नसक्नु ? उसले कमाउने भई भने मैले घरधन्दा किन गर्न नहुने ? उनि कमाउने हुनुपर्छ । घरायसी काम म आफै गर्छु । मेरो मनले यहि भन्छ । तर घरमा भन्न सकेको थिईँन । उसले कमाई भने मैले घरधन्दा गरेर उनलाई किन सहयोग गर्न नहुने ?

अहिलेको समय जागिर होस् वा व्यापार जे गरेनी दुई जनाले कमाउने भयो भने जिन्दगी पनि सहजै चल्छ । सहर होस् या गाउँ महङ्गी बढ्ने नै त हो घट्ने कहिलै होइन । दुईले कमाए एकको बच्छ । भबिष्य पनि त सोच्नै पर्यो । आखिर छोराछोरी पनि त जन्मिन्छन् ।

देशमा समानता र अधिकारको बहस चलिरहदा महिलाले कमाउने र पुरुषले घरधन्दा गर्न किन नहुने ? महिलाले कमाउने धनी पुरुष खोज्ने पुरुषले चाहिँ जागिरे श्रीमती खोज्न नहुने ? मेरो मनले यहि प्रश्न गर्छ । महिलाले कमाएर ल्याउने पुरुषले घरधन्दा गर्दा किन पुरुषलाई जोईटिङ्ग्रे भनेर तल्लो स्तरले सम्बोधन गरिन्छ ? महिलालाई चुलोचौकामा मात्र सुहाउँछ भन्ने सामाजीक संस्कारमा परिवर्तन ल्याउन चाहान्छु । त्यहि कारण पनि मेरो श्रीमती कमाउने हुनुपर्छ । उनि कमाउने भईन् भने घरधन्दा म आफै गर्छु ।

श्रीमती कमाउने र श्रीमान् घरमै बसेर खाने भयो भने नामर्दा भन्छन् । काठमाडौंमा एकजनाको कमाईले कसरी चल्छ ? त्यसैले मलाई कमाउने केटी चाहिन्छ । पहिले जस्तो छैन, अब जमाना बद्लिसक्यो ! श्रीमान-श्रीमती समान हुनुपर्छ । दुबैले कमाए पो जीवन सहज चल्छ नत्र कसरी चल्छ ? बिहे अघि एक्लै सारा काम भ्याउने बिहे गरेपछी श्रीमतिलाई खाना पकाएर खुवाउन नसक्ने पनि हुन्छ ?

दुई दिन अघि मात्र मेरो एकजना गाउँको काकाले बिहेको कुरा लिएर आउनुभयो । माघमा त बिहे गर्नु पर्छ कान्छा । उहाँसँग अलि खुलेर कुरा गर्छु । काका भएपनि साथी जस्तै लाग्छ । सबै तिरबाट बिहेका प्रस्तावहरु आईरहेका थिए । मनले पो कमाउने केटि चाहिन्छ भनेको थियो मुखले भन्न नसकेपछि मनको कुरा कसले बुझ्नु ? तर यस पटक काकालाई सबै कुरा बताए ।

रुपमा म सँग सुहाउने होस् । ति कुरो काकालाई भनेपछि काकाले त्यहि अनुसारको कुरा आए अघि बढाउछु भन्नु भयो । त्यसपछि काका जानु भयो । त्यती भनेपछि अलि ढुक्क पनि भए अब आफुले सोचे जस्तै केटीको मात्र कुरा आऊने भयो भनेर मख्ख पनि परे । त्यसपछि बिहेको प्रस्ताव आएको छैन । यदी आयो भने मेरो त्यही सर्त हुनेछ केटी कमाउने हुनुपर्छ बरु खाना म आफै पकाएर खुवाउछु ।

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: