Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > नाम्चेका प्रहरीलाई सुरक्षाको भन्दा चिसोको चिन्ता

नाम्चेका प्रहरीलाई सुरक्षाको भन्दा चिसोको चिन्ता

-सन्तोष राउत
सोलुखुम्बु पुस २ गते । दिनप्रतिदिन बढिरहेको चिसोले सोलुखुम्बुको पर्यटकीय खुम्बुक्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिकको सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ताले दैनिक सताउँछ ।

गर्मी समयमै पनि ज्याकेट बिना बाहिर निस्कन र बाक्लो सिरक बिना रात बिताउन नसकिने नाम्चेका प्रहरीलाई आजभोलि दिन त घाममा बस्दा तथा बाहिर घुमफिर गर्दा जसोतसो बित्छ तर रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ । चारैतिर हिमालले घेरेको तीन हजार छ सय मिटर उचाइमा रहेको नाम्चेका प्रहरी पुसको कठाङ्ग्रििदो जाडोमा थरथर काँपेरै दिनरात बिताउनुपर्ने बाध्यता भएको प्रहरी बताउँछन् । प्रहरीको आफ्नो भवन नभएका कारण त्यस्तो सास्तीले बस्नुपरेको हो । ‘क’ वर्गको इलाका प्रहरी कार्यालय भनेर साइनबोर्डमा लेखिए पनि आफ्नो भवन नहुँदा त्यहाँका प्रहरी जस्ताको टहरामा बस्दै आएका छन् । भएको भवन पनि डेढ वर्षअघिको भूकम्पले भत्काएपछि उनीहरूको यस्तो बिजोग भएको हो ।

नाम्चेस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक तेजनारायण यादवले भन्नुभयो ‘कतिले त नेपालको पुलिसको हालत साह्रै खराब हुनेरहेछ पनि भन्छन् ।’ चिसोले धेरै समस्या भएको उहाँको भनाइ छ । सोलुखुम्बुको सबैभन्दा माथिको प्रहरी एकाइका रुपमा रहेको छ नाम्चे इलाका । सत्रजनाको दरबन्दी भएको कार्यालय वर्षौंदेखि राष्ट्रिय निकुञ्जको जग्गामा छ । तर आफ्नो जग्गा नभएको भने होइन ।
वि.सं.२०५४ सालमा स्थापना भएको प्रहरी चौकीका लागि नाम्चे–३ मा १४ आना क्षेत्रफलको जग्गा प्रहरीको नाममा छ तर उपयुक्त चाहिँ अहिले बसेको ठाउँमै छ ।’ निरीक्षक यादव भन्नुहुन्छ, जहाँ भए पनि आफ्नै भवन भएको भए बस्न सजिलो हुने थियो । अरूको सुरक्षाका लागि बस्ने प्रहरी आफैँ असुरक्षित छौँ, उहाँले गुनासो गर्नुभयो ।

सीमा प्रशासन, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको गुल्मलगायतका कार्यालय केही व्यवस्थित भए पनि प्रहरीको भने बेहाल छ । खासगरी वर्षको छ महिना पर्यटकको ठूलो भीड हुने खुम्बु क्षेत्रमा प्रहरी र सरकारी निकायको उपस्थिति कमजोर भएको गुनासो बारम्बार सुनिँदै आएको छ ।

सोलुखुम्बुका प्रायः सबै चौकीको हालत उस्तै भए पनि अत्यन्तै चिसो हुने नाम्चेका प्रहरीलाई भने रात बिताउनै मुस्किल पर्ने गरेको बताउँछन् । स्वास्थ्य संस्था, विद्यालयजस्ता अन्य निकायलाई विभिन्न देशी–विदेशी संस्थाले सहयोग गरे पनि प्रहरीलाई भने कसैले सहयोग नगर्ने हुँदा पनि सबैले उपेक्षा गरेजस्तो बनेको स्थानीयवासीको भनाइ छ ।

 

स्रोत: गोरखापत्र

Comments

comments

Leave a Reply

%d bloggers like this: