Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > स्वास्थ्य > बढ्दै वायु प्रदूषणको जोखीम, ४५ वर्षमा २० करोड मानिसको मृत्यु हुने

बढ्दै वायु प्रदूषणको जोखीम, ४५ वर्षमा २० करोड मानिसको मृत्यु हुने

काठमाडौँ, २ पुष । वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वमा बर्सेनी ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्नको लागि अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात प्रत्येक चार–पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । ‘दि इकोनोमिक कन्सेक्वेन्सिज अभ् आउटडोर एयर पोलुसन’ नामक आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओइसीडी) २०१६ को प्रतिवेदनमा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसको मृत्यु हुनेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले नै विश्वका ९० प्रतिशत जनसंख्या विषाक्त हावामा श्वास फेर्न बाध्य छन् । दक्षिण पूर्वी एसियाका ११ मुलुकमा विषाक्त हावाका कारण बर्सेनि तीन लाख चार हजार ३६५ जनाको विभिन्न मुटुको रोगबाट मृत्यु हुने गरेको छ । युनिसेफको हालै सार्वजनिक भएको रिपोर्टलाई उल्लेख गर्दै सिएनएनले भनेको छ–पाँच वर्षमुनिका करिब छ लाख बालबालिका घरभित्र र बाहिरको वायु प्रदूषणबाट मर्ने गरेका छन् । प्रदूषणले उनीहरुके फोक्सोकाृ वृद्धिमा असर गर्ने मात्र होइन, मस्तिष्को विकासमा पनि प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ ।

दक्षिण एसियाको वायु प्रदूषणले बर्सेनी १७ लाख मानिसलाई अकालमै ज्यान लिने गरेको छ । यो संख्या विश्वका वायु प्रदूषणबाट मर्नेको ३० प्रतिशत हो । विषाक्त हावाका कारण हुने मुटु रोगले यो क्षेत्रमा सबैभन्दा बढी भारतमा बर्सेनी दुई लाख ४९ हजार ३८८ जनाको मृत्यु हुन्छ । प्रदूषणजन्य अन्य रोगबाट ६ देखि १२ वर्ष उमेरका बालबालिकामा ब्रोङकाइटिसको नयाँ समस्या अहिलेको एक करोड २० लाखबाट बढेर सन् २०६० सम्ममा प्रतिवर्ष तीन करोड ६० लाख पुग्ने अनुमान गरिएको छ । वयस्कका सन्दर्भमा भने अहिलेको ३५ लाखबाट बढेर सन् २०६० सम्ममा उक्त खालका समस्या प्रतिवर्ष १० करोड पुग्ने अनुमान गरिएको छ ।

शहरी क्षेत्रमा वासोवास गर्ने विशवका करिब ८० प्रतिशत मानिसहरु विश्व स्वास्थ्य सङ्गठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदूषणको सिकार बनिरहेका छन् । खासगरी कम आयस्तर भएका शहरी क्षेत्रका वासिन्दा बढी प्रभावित छन् । पछिल्लो शहरी वायु गुणस्तर तथ्यांकअनुसार गरिब र तीब्र आर्थिक विकासको क्रममा रहेको मध्यपूर्व र दक्षिणपूर्वी एसियाका मध्यमस्तरका मुलुकमा ९८ प्रतिशत शहरहरुमा वायुको गुणस्तर मापदण्डअनुसार छैन । युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब ४ लाख ६७ हजार मानिसले अल्प आयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था (इइए) ले सार्वजनिक गरेको प्रतिवेदनलाई उदृत गर्दै एएफपीले जनाइएको छ ।

वायु प्रदूषणको प्रभाव कुनै एक देशमा मात्र सीति रहँदैन, त्यसले छिमेकी देशहरुमा पनि उत्तिकै प्रभाव पार्ने भइकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास र प्रतिवद्धता जरुरत पर्दछ । जस्तो कि इन्डोनेसियाको जंगलमा लागेको आगोको धुवाँबाट सिर्जित तुवाँलोका कारण गत वर्ष दक्षिणपूर्वी एसियामा एक लाखभन्दा बढीको ज्यान गएको त्यतिबेला एक अध्ययनले देखाएको थियो । अमेरिकाको हार्वर्ड तथा कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार सो तुवाँलोका कारण इन्डोनेसियामा मात्र ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको थियो ।

इन्डोनेसिया सरकारले यसअघि धुवाँका कारण सिर्जित तुवाँलोका कारण १९ जनाको मात्र मृत्यु भएको जनाएको थियो । धुवाँले गर्दा छिमेकी मुलुकहरू सिंगापुर र मलेसियामा पनि हजारौंको मृत्यु भएको घटनाप्रति वातावरणविद्हरुले गम्भीर घटनाको रुपमा लिएका छन् । अध्ययनअनुसार गत वर्षको तुवाँलोका कारण इन्डोनेसियामा ९१ हजार ६ सय, मलेसियामा ६ हजार तथा सिंगापुरमा २ हजारभन्दा बढीको ज्यान गएको बिबिसीको समाचार रिपोर्टमा बताइएको छ ।

वायु प्रदूषणले अनेक रोगको खतरालाई उच्च गर्ने हुँदा उत्पादनशील जनशक्तिलाई विरामी गराउने मात्र नभई उपचारका लागि अतिरिक्त खर्च वृद्धिले गर्दा आर्थिक वृद्धिमा नकारात्मक असर गर्ने र यसले विश्व अर्थव्यवस्थालाई नै प्रभावित पार्नसक्ने अर्थशास्त्रीहरुको तर्क छ । सन् २०६० सम्ममा प्रदूषित वायुका कारण हुने स्वास्थ्य समस्याका कारण ३ अर्ब ७५ करोड काम गर्ने दिन गुम्नेछ र त्यसबाट कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतभन्दा बढीको ह्रास आउने अर्थात् सन् २०६० सम्ममा वार्षिक २६ खर्बबराबरको क्षति हुने देखिन्छ । औसतमा एक व्यक्तिले वायु प्रदूषणबाट प्रति १ लाखमा प्रत्येक वर्ष आफ्नो असामयिक मृत्युको सम्भावनामा रहेको जोखिम टार्न ३० डलरजति तिर्न तयार हुनुपर्ने देखिन्छ । वायु प्रदूषणका कारण हुने असामयिक मृत्युका कारण हुने क्षति सन् २०६० सम्ममा प्रतिवर्ष १८० देखि २५० खर्ब हुने उक्त प्रतिवेदनले संकेत गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गरेको पछिल्लो अनुसन्धानमा विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदूषण मुख्य समस्याका रुपमा देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा रहेका ती देशका ९८ प्रतिशत सहर प्रदूषित हावामा बाँचिरहेका देखिन्छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने ‘साइलेन्ट किलर’को रुपमा रहेको वायु प्रदूषणबाट विश्वका निम्न तथा मध्यम आय भएका देशका सहरहरुमा हिँड्ने बटुवा बढी प्रभावित हुने गरेको विषयलाई विश्वका विभिन्न सञ्चारमाध्यमले प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

घरभित्रको धुवाँको कारण विश्वमा बर्सेनी २० लाख मानिसले ज्यान गुमाइरहेका छन् । विश्वका मानव मृत्युका प्रमुख कारणमध्ये घरभित्रको धुवँँ चौथो स्थानमा रहेको छ । विश्वको जनसङ्ख्याको झण्डै आधाभन्दा बढी विशेषगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका मानिसले खाना पकाउन र तापका लागि जैविक ऊर्जाको प्रयोग गर्दछन् । यसले उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्नुको साथै वातावरणमा नकारात्मक प्रभाव पारेको छ । विश्वको आर्थिक विकासको मुख्य आधार खनिज तथा जैविक ऊर्जाको खपतलाई स्वच्छ तथा नवीकरणीय ऊर्जाले प्रतिस्थापित गर्न नसकिएसम्म वायु प्रदूषणलाई कम गर्न सकिंदैन । ऊर्जा सम्बद्ध उत्सर्जनलाई २०१० को तुलनाबाट करिब ७० प्रतिशतले कटौती गरी न्यून कार्बन ऊर्जा उत्पादनतर्फ वातावरणविद्को जोड रहेको छ ।

वायु प्रदूषण गर्ने प्रमुख पदार्थहरूमा सल्फर अक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, अर्गा्िनक पदार्थ, वायुमण्डलीय सुष्म कण, ओजोन ग्यास आदि हुन् । यस्ता पदार्थहरू श्वास फेर्दा श्वास नली हुँदै फोक्सो तथा रक्तसञ्चार प्रणालीसम्म पुग्न सक्छन् र मानव स्वास्थ्यमा प्रतिकूल असरहरू देखा पर्छन् । वायुमण्डलमा धुलो र धुवाँमा रहेने कण श्वास नली हुँदै फोक्सोमा पुगेपछि श्वासप्रश्वाससम्बन्धी रोग, दम, निमोनिया, खोकी, ब्रोङ्काइटिस, एलर्जीदेखि क्यान्सरसम्मका रोगहरुको सङ्क्रमणलाई बढाएको छ । डब्लुएचओको क्यान्सरसम्बन्धी अन्तर्रा्ष्ट्रिय अध्ययन समितिले गरेको एक अध्ययनले वायु प्रदूषण फोक्सो क्यान्सरको प्रमुख कारण भएको जनाएको छ । युरोप, दक्षिण र उत्तरअमेरिका तथा एशियामा गरिएको अध्ययनमा बढ्दो वायु प्रदूषणसँगै विभिन्न नसर्ने रोगको खतरा बढिरहेको समेत देखाएको छ । वायु प्रदूषणले श्वासप्रश्वास प्रणाली र मुटुमा सबैभन्दा बढी असर गर्ने सो अध्ययनको आधारमा आगामी दिनमा यो विश्वका मृत्युको मुख्य कारण बन्नसक्ने समाचार एजेन्सीहरुले औँल्याएका छन् ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा मात्र नभई कृषि क्षेत्रमा पनि नकारात्मक असर गर्दछ । वायु प्रदूषणका कारण ओजोन तहमा विनास भई वर्सेनी ११ करोड मेट्रिक टन बालीनाली नोक्सान गरेको विश्व खाद्य सङ्गठनको एक प्रतिवेदनलाई अमेरिकी समाचार संस्था एपीले आफ्नो समाचारमा उल्लेख गरेको छ । वायु प्रदूषणको समस्यालाई न्यूनीकरण गर्न सवारी साधनको संख्या घटाउनुपर्ने तथा फोहर व्यवस्थापनमा जोड दिनुपर्ने डब्लुएचओले आह्वान गरेको छ । यसका साथै खाना पकाउन स्वस्थ्य र सफा इन्धन प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ । वातावरण स्वच्छ र स्वस्थ राख्न स्वच्छ ऊर्जा प्रविधिमा जोड, दाउरा या कोइलाको प्रयोगलाई निरुत्साहित तथा सवारी साधनको प्रदूषण मापदण्ड, औद्योगिकीकरणलाई वातावरणमैत्री तथा हरियाली सडकजस्ता कार्यक्रहरुमा जोड दिन सकिएमा सुरक्षित पृथ्वीको निर्माण गर्न सकिन्छ र भावी पुस्ताले स्वस्थ जीवनको सुनिश्चितता पाउन सक्छन् ।

विश्वका विकसित मुलुकको तुलनामा अविकसित देशहरुमा दुषित हावा पाइने गरेको डब्लुएचओको रिपोर्टमा उल्लेख छ । औद्योगिकीकरणमा पछाडि रहेपनि वायु प्रदूषणको उच्च जोखिममा रहेका चीन र भारतको बीचमा रहेको कारण नेपाल प्रदूषणको उच्च जोखिममा रहेको छ । वायु प्रदूषणले नेपालमा वर्सेनी झण्डै १० हजार मानिसको अकालमै ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मुटुसम्बन्धी रोगबाट करिब ३३ सय, फोक्सो क्यान्सरबाट करिब एक हजार, दमबाट करिब एक हजार ८००, स्ट्रोकले करिब तीन हजार २००, करिब ८०० जना तल्लो श्वास नलीको संक्रमणबाट अकालमा मृत्यु हुने गर्दछ । विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरुले नेपालको राजधानी काठमाडौँं विश्वकै प्रदूषित शहरहरुको सूचीमा अग्रस्थानमा रहेको जनाएका छन् । उपत्यकामा सडकको धुलो, सवारी साधनले निकाल्ने धुवाँ र इँटाभट्टाबाट निस्कने धुवाँले गर्दा प्रदूषणको मात्रा उच्च बनाएको छ ।

रासस (विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Comments

comments

Leave a Reply

%d bloggers like this: