Tuesday, June 27, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > मैत्रीपूर्ण महिला फुटबल : नेपाली राष्ट्रिय टोलीद्वारा मलेसिया १–० ले पराजित

मैत्रीपूर्ण महिला फुटबल : नेपाली राष्ट्रिय टोलीद्वारा मलेसिया १–० ले पराजित

पुस २, २०७३- सावित्रा भण्डारीले लोभलाग्दो गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियालाई १–० ले पराजित गरेको छ ।

फिफा वरीयतामा २६ स्थानमाथिको पाहुना टिमले त्यसअनुसार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बलियो खेल प्रदर्शन गर्न सकेन । पूरा समय नेपाली टिम हावी रह्यो । मलेसियाले विरलै मात्र विपक्षी पेनाल्टी क्षेत्रमा बल पुर्‍याएको देखियो । नेपाली टिम मलेसियाकै पेनाल्टी क्षेत्र वरिपरि व्यस्त भएपनि सावित्रा भण्डारीको एक गोलमै सीमित रह्यो ।

हिरा कुमारी भुजेलले उपलब्ध गराएको बललाई पेनाल्टी क्षेत्रमा नियन्त्रण गर्दै सावित्राले २७ औं मिनेटमा लोभलाग्दो गोलमा परिणत गरेकी थिइन् । दुई बर्षयता राष्ट्रिय टिममा निरन्तर रहेकी उनको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । यसअघि उनले साफ वुमेन्स च्याम्पियनसिप (सन् २०१४) मा एक र १२ औं दक्षिण एसियाली खेलकुद (साग/२०१६) मा दुई गोल गरेकी थिइन् ।

यसअघि २१ औं मिनेटमा शर्मिला थापाले ‘सिक्स यार्ड बक्स’बा प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । सरु लिम्बुले ३६ औं मिनेटमा प्रहार गरेको बल पनि पोष्टनजिकबाट बाहिरिएको थियो । दोस्रो हाफमा अनिता बस्नेत, सावित्रा र मान्जली कुमारी योन्जनले प्रहार गरेको बलमा मलेसियाकी १७ बर्षीय गोलकिपर नुरुल अजुरिनले उत्कृष्ट बचाउ गरिन् । ‘उनले एकदम राम्रो खेले,’ नेपालका मुख्य प्रशिक्षक कुमार थापाले भने ।

नुरुलले पहिलोपल्ट गोलपोष्ट सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरेको मलेसियाका प्रशिक्षक असिराफ अब्दुल्लाहले बताए । ‘नेपाली टिमले संगठित रुपमा राम्रो प्रदर्शन गर्‍यो । आक्रमणमा राम्रो देखियो । शारीरिक रुपमा पनि फिट,’ प्रतिद्वन्द्वीबारे उनले भने, ‘हाम्रो लागि धेरै राम्रो अनुभव भयो । यसअघि थाई र भियतनामी टिमको मात्र सामना गरेका थियौं ।’ मौसमले पनि खेलमा प्रभाव पारेको उनले दाबी गरे ।

 

६ खेलाडीको डेब्यू

चौथो साफ वुमेन्स च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमको लागि मलेसियासँगको मैत्रीपूर्ण खेललाई मुख्य प्रशिक्षक कुमार थापाले परीक्षणको रुपमा लिएका थिए । उनले नयाँ सातमध्ये ६ खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गराए ।

डिफेन्डर गीता राना, मिडफिल्डर मन्जली कुमारी योन्जन र फरवार्ड शर्मिला थापाले पहिलो रोजाईमै खेलेका थिए । १६ बर्षीय गोलकिपर अन्जना रानामगर, फरवार्डद्वय सरु लिम्बु र निर्मला बिकले दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । मैत्रीपूर्ण खेलमा अधिकतम ६ खेलाडी परिवर्तन गर्न पाउने प्रावधानलाई प्रशिक्षक थापाले पूरा उपयोग गरे ।

‘नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक रह्यो,’ प्रशिक्षक थापाले भने, ‘अनुभवको लागि धेरै खेलाडीलाई ट्रायल गर्न पाएकोमा खुशी छु । तर, गोल अन्तरमा भने सन्तुष्ट छैन, अझै बढी हुनुपर्ने थियो । गोल गर्ने धेरै अवसरलाई उपयोग गर्न सकेन ।’ प्रतिद्वन्द्वीबारे उनले भने, ‘मलेसिया त्यति बलियो भएन । वरीयतामा माथि उसका खेलाडी खासै देखिएनन् । शारीरिक रुपमा पनि हाम्रै वर्चस्व रह्यो ।’ मिडफिल्ड र फरवार्ड तथा गोलकिपर र डिफेन्सवीच ‘ग्याप’ देखिएको र त्यसलार्य सुधार गर्नुपर्ने पनि उनले बताए ।

दक्षिण एसियाली खेलकुद (साग) मा दुई र साफ च्याम्पियनसिपमा लगातार तीनपल्ट उपविजेता रहेको नेपाली टिमले घरेलु मैदानमा पहिलोपल्ट खेल्ने अवसर पाएको हो । यसअघि पहिलो पाइला (एसियन कप/१९८६) देखि नै नेपाली महिला टिमले देशबारि मात्र खेलेको थियो ।

 

स्रोत: कान्तिपुर

 

Comments

comments

Leave a Reply

%d bloggers like this: