Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > ६क्का पञ्जा गुडाउने पूर्व-पश्चिम रेल

६क्का पञ्जा गुडाउने पूर्व-पश्चिम रेल

६क्का पञ्जाको सय दिन : ‘पूर्व–पश्चिम रेल’को कथा

तित्तिरी तिरिरी तित् तिरिरी …
काकाकुलझैं भाको छ जिन्दगी
मनको तिर्खा मनैको बन्धकी
१, २, ३, ४, ५
२, ३, ४, ५, ६
गन्दै हिसाब गरेको सपना देखेँ मायालु, मैले तिम्रो सिउँदो भरेको…
तित्तिरीको ठाउँमा पहिले अर्कै शब्द थियो। केटाले गाउने १, २, ३, ४, ५ र केटीले गाउने पूर्व–पश्चिम रेलको ठाउँमा पहिले ‘मेलम्चीको पानी’ थियो।
म सानो छँदा गाउँमै सुनेको थिएँ, काठमाडौंमा अब मेलम्चीको पानी आउने भयो। अब पानीको हाहाकार हट्छ।
सोच्थेँ, काठमाडौंमा जस्तो ठाउँमा पनि पानीको दुःख? मेलम्ची भनेको कहाँ हो, थाहा थिएन। त्यसैले के भनेको, उति बुझिन।
जब काठमाडौं आएँ, बल्ल बुझेँ। त्यतिबेला मैले सुनेको कुरा निकै पुरानो भइसकेको थियो, तर पनि मेलम्चीको पानी अझै सपनाजस्तै थियो। मेरा लागि छेलोखेलो पानी चलाउन पाए पुग्थ्यो। मेलम्ची आइदियोस् भन्ने कामना गर्थें। तर, केही समयमै मलाई काठमाडौंमा कहिल्यै पनि मेलम्चीको पानी आउँछ भन्ने आस मारेँ।
संगीतमा लागेपछि गीत रच्ने, संगीत भर्ने, गाउने गर्न थालेँ। म पहिले दिमागमा के विषयमाथि गीत बनाउने हो, त्यो पुरै सोचेर मात्र गीत बनाउने गर्छु। यस्तैमा एकदिन फ्याट्ट मेलम्चीको पानी आयो। त्यसलाई प्रेमसँग जोडेँ।
पहिलो लाइन फु¥यो–लै बरी लै
त्यसपछि विस्तारै शब्द जोडिन थाले
काकाकुलझैं भाको छ जिन्दगी
मनको तिर्खा मनैको बन्धकी
मेलम्चीको पानी
मेलम्चीको पानी सुन्धारामा झरेको सपना देखेँ मायालु
मैले तिम्रो सिउँदो भरेको।
यो गीत मैले चार वर्षअघि नै सोचेको थिएँ। जतिबेला ‘सुर्केथैली’ चर्चित बनिसकेको थिएन। गीतको दुई लाइन तयार हुँदा मीतज्यू अर्थात् संगीतकार तथा एरेन्जर राजन इशान अमेरिका जाने तरखरमा हुनुहुन्थ्यो। मीतज्यूलाई भनेँ, ‘मसँग एउटा गीत तयार छ, तपाईं उता जानुअघि नै एउटा गीत बनाउँ न।’ ‘हुन्छ,’ मीतज्यूले भन्नुभयो।
हामी दुवैको स्वभाव कस्तो भने, मुड नबनेसम्म हामी कामका लागि भनेर बस्दैनौं। जस्तो कि, आज दुवैको काम गर्ने मुड छ भने एकैछिनमा काम थाल्न पनि सक्छौं। एकदिन बेलुका फोन गरेँ, ‘भोलि बसुँ। तपाईंको मुड छ त मीतज्यू?’ ‘छ मीतज्यू,’ मीतज्यूले भन्नुभयो।
भोलिपल्ट बिहान आठ बजे बागबाजरस्थित स्टुडियोमा भेटियौं। चिया खाइवरी नौ बजे एरेन्जको काम सुरु भयो।
जसरी होस्, गीत मौलिकता भन्दा पर हुनुहुँदैन भन्ने थियो। अर्थात्, लोक। किनकि, मान्छे जुनसुकै कुनामा पुगे पनि ऊसँग गर्व गर्न लायक चिजमध्ये एक हो, लोक संगीत। नेपालीहरुको जरा हो, लोक। मैले यसमा प्रशस्त लोकबाजा राख्नुपर्छ भनेँ। मीतज्यूले पनि ‘राम्रो आइडिया’ भन्नुभयो।
सँगै, आधुनिकता पनि जोडिनुपर्छ भन्ने मेरो मान्यता थियो। किनकि, आधुनिक गीतसँग पनि मान्छे अभ्यस्त भइसकेको छ। नेपालीले आधुनिकतालाई पनि उत्तिकै मन पराउँछन्। मलाई हरेक गीतमा केही न केही प्रयोग गर्न मन लाग्छ। यसमा पनि अलि फरक प्रयोग गर्नुपर्छ भन्ने लागेको थियो। पहिलेका गीतहरुमा मैले सहनाई प्रयोग गरेको थिएँ। तर, धित मर्ने गरी सहनाई बजेको गीत थिएन। मलाई यो गीतमा टन्नै सहनाईको धुन राख्न मन लाग्यो।

सहनाईले मलाई मेरो बाल्यकाल सम्झाउँछ। कतै सहनाईको धुन सुन्ने बित्तिकै म मेरो गाउँ सम्झिन्छु। ममा लोक संगीत जगाउने काम पनि यस्तै लोकबाजाले गरेका हुन् जस्तो लाग्छ। त्यसो त, मेरो संगीत सुनाइ भने लोकबाट होइन, आधुनिकबाट भएको हो। म नारायणगोपाललगायत गायकको गीत सुनेर हुर्केको हुँ।

काठमाडौं आएपछि भने पप संगीतकर्मीहरुसँग नजिक भएँ। पप संगीतप्रति मेरो लगाव बन्यो। पप संगीतमा पनि काम गरेँ। आधुनिक सुन्दै हुर्केको भएर आधुनिक संगीत मनमा गडेकाले आधुनिक गीतसंगीतमा पनि काम गर्नु मेरो रुची बन्यो। सुन्छु नै भनेर नसुने पनि गाउँमा हुर्केकाले भित्री मनमा लोक संगीत झनै गडेर बस्दो रहेछ। लोक, पप र आधुनिक यी सबैमा मेरो मन जाने भएकाले म सबैखाले गीतमा प्रयोग गर्न रुचाउँदो रहेछु भन्ने लाग्छ।

वडा नम्बर ६ को सुर्केथैलीमा पनि त्यस्तै प्रयोग गरेको थिएँ। त्यसो त, सुर्केथैलीभन्दा अघि मेरा थुप्रै गीत चर्चित छन्। सुर्केथैलीचाहीँ फिल्ममा राखिएका कारण धेरैले सुने। युट्युबमा करोडभन्दा बढीपटक हेरियो। अझै पनि उत्तिकै हेरिँदैछ। मलाई लाग्छ, मान्छेले सुर्केथैलीलाई लोक फ्लेभर भएका कारणले मन पराएका हुन्।

सुर्केथैली हिट भएपछि मैले के बुझेँ भने, एउटा गीत हिट हुनुको ठ्याक्कै कारण हुँदैन। शब्द, संगीत, एरेन्ज, स्वर सबै सशक्त भइकन पनि थुप्रै गीत छायाँमा परेका छन्। गीत हिट हुन भिडियोले पनि काम गर्छ। तर, मुल कारण भने यो मात्र होइन।

कुनै गीत एल्बममा हुँदा र फिल्ममा हुँदा फिल्मको प्रचार, भिडियो बनाउन गरिनेलगायत कारणले प्रभाव पार्दा रहेछन्। गीतले कलाकार चिनाउन पनि मद्दत गर्छ, कलाकारले गीत चिनाउन पनि मद्दत गर्छ। यी दुवै एकअर्काका लागि राम्रा माध्यम हुन्। सुर्केथैलीको हकमा, चिनिएका कलाकार र प्रचारले ठूलो भूमिका खेलेको छ।

सुर्केथैली हिट भएपछि मलाई त्योभन्दा फरक गीत बनाउन दबाब थियो। वास्तवमा भन्दा, मलाई कुनै गीत हिट भएकै कारण सिर्जनामा त्यति दबाबचाहीँ पर्दैन। मेरो स्वभाव कस्तो छ भने, मेरो दिमागमा विषयवस्तु, शब्दहरु खेलिरहेका हुन्छन्। धुन पनि तयार पारिराखेको हुन्छु। जब अहिले कुनै विषयले छुन्छ, पहिल्यै सोचिसकेका गीत समयसान्दर्भिक छन् भन्ने लागेपछि तिनै गीत चलाउँछु।

त्यसैले पहिलेका गीतले सिर्जनाम उति दबाब दिएको अनुभव छैन।

दबाब कस्तोचाहीँ पर्दो रहेछ भने, स्रोताको दिमागमा पहिलेको हिट गीत सेट भएको हुन्छ। स्रोताहरुले त्यो व्यक्तिबाट पहिलेको भन्दा राम्रो गीतको अपेक्षा गरिरहेका हुन्छन्। जब नयाँ गीत आउँछ तुरुन्तै स्रोताहरुले स्वीकार्न सक्दैनन्। किनकि, पहिलेको गीतले दिमाग यसरी कब्जा गरेको हुन्छ, नयाँ गीतले त्यसलाई विस्थापन गर्न ठूलै कसरत गर्नुपर्छ। पूर्व–पश्चिम रेल बनाइसकेपछि मलाई यस्तै दबाब थियो।

वडा नम्बर ६ हिट भइसकेपछि दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले फिल्म बनाउने कुरा त गरेको थियो तर मलाई गीत बनाउनुपर्छ भनेको थिएन। दीपक दाइले कतैबाट सुन्नुभएको रहेछ, हामीले एउटा गीत धुन तयार पारेर राखेका छौं भनेर। एक भेटमा सोध्नुभयो, हामीले हो भन्यौं।

यसपछि नयाँ फिल्मका लागि पनि गीत तयार पार्ने जिम्मा दिनुभयो।

पहिलको गीतलाई लम्ब्याउने बेला मेलम्चीको पानीको चर्चाभन्दा पूर्व–पश्चिम रेलको चर्चा बढी थियो। जसरी मान्छेले मेलम्चीको पानी काठमाडौंमा आएको सपना देखे, त्यसरी नै  पूर्व–पश्चिम रेल पनि सपनामा मात्र सीमित हुन्छ भन्ने लागेपछि मैले मेलम्चीको पानीको सट्टा पूर्व पश्चिम रेल राखेँ।

त्यतिबेला सांकेतिक रुपमा गीतको आसय थियो, जसरी मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सपना देखे, मैले त्यस्तै सपना तिम्रो सिउँदो भर्ने देखेको छु। पछि समकालिन राजनीतिलाई समेत छुन मन लाग्यो। र, केटाले गाउने मेलम्चीको पानीको ठाउँमा १, २, ३, ४, ५ राखेँ र केटीले गाउने ठाउँमा पूर्वपश्चिम रेल राखेँ।

मलाई गीत लेख्न रातिको समय मन पर्छ। पूर्व पश्चिम रेल पनि राति नै तयार पारेँ। मलाई लाग्छ, प्रकृति, समय र मानिसबीच निकै बलियो सम्बन्ध हुन्छ। सबैका लागि सबै समय ठिक हुन्छन् भन्ने छैनन्।

मैले यो कसरी फिल गरेँ भने, जतिबेला म आफैंलाई मन परेका आफ्ना गीतहरु सफल हुन्थेनन्, त्यतिबेला म निकै तनावमा हुन्थेँ। आफूलाई सम्हाल्ने उपाय खोज्दै जाँदा थाहा पाएँ, हामी प्रकृतिका औजार मात्र हौं। प्रकृतिलाई चाहिएको चिज मानिसबाट निकाल्ने हुन्। त्यसैले कोही वैज्ञानिक हुन्छन्, कोही किसान त कोही कलाकार। संगीतप्रति मेरो रुची बुझेर प्रकृतिले मबाट संगीत निकाल्न खोजेको हो भन्ने बुझाइ छ। तर, राम्रो गीत निकाल्न प्रकृतिले मलाई अझै अभ्यास गराउन चाहन्थ्यो।

त्यसो त, संगीत राम्रो नराम्रो भन्ने हुँदैन भन्ने मेरो मान्यता हो। धेरैलाई मन नपर्दैमा त्यो संगीत नराम्रो भन्ने हुँदैन। त्यसमा केही न केही राम्रो पक्कै हुन्छ। प्रयास मात्र भए पनि राम्रो हुन्छ। पूर्व–पश्चिम रेल हामीलाई चाहीँ पहिल्यै राम्रो लागिसकेको थियो। तर, धेरैथोक राम्रो थियो, थिएन पत्ता लगाउन अरुलाई सुनाउन जरुरी हुन्थ्यो। दीपक दाइलाई सुनायौं।

उहाँले अरु सबै राम्रो तर पहिलो लाइन ‘लै बरीको ठाउँमा अरु केही राख्न सकिँदैन?’ भन्नुभयो। दीपक दाइमा संगीत खुट्याउन सक्ने खुबी छ। कस्तो फिल्ममा कस्तो संगीत चाहिन्छ, धेरैभन्दा धेरै स्रोताले कसरी मन पराउँछन् भनेर छुट्याउन सक्ने खुबी। यहाँ पनि उहाँको खुबीले काम ग¥यो। यसो सोच्दै जाँदा फ्याट्ट तित्तिरी आयो। गीत पहिलेभन्दा झन् सुहाउँदिलो सुनियो। दीपक दाइले पनि मन पराउनुभयो।

अञ्जु पन्तको स्वर सबैखाले गीत सुहाउँदो र मेरो स्वरसँग पनि मिल्ने भएकाले पहिल्यै भनिसकेको थिएँ। सबै कुरा पक्का भइसकेपछि अनामनगरस्थित एक स्टुडियोमा रेकर्डिङ गर्ने दिन तोकियो।

शिवरात्रीको दिन, रेकर्डिङका लागि टुँडिखेलको बाटो भएर जाँदा सेनाको कार्यक्रममा सुर्केथैली बजिरहेको थियो। प्रधानसेनापतीलाई सुर्केथैली निकै मन पर्ने गीत रहेछ। त्यसले मलाई निकै ऊर्जा दिइरहेको थियो।

रेकर्डिङ सकिँदासम्म मलाई खासै डर थिएन। चल्छ भन्ने विश्वास त थियो तर, अहिले जत्ति चल्ला भन्ने लागेको थिएन। सुर्केथैली एक करोड पुगेजस्तै यो पनि केही दिनमै एक करोड भ्युज पक्का पुग्छ।

जब फिल्म टोलीले यो दिन गीत रिलिज गर्ने भन्ने कुरा ग¥यो। एक्कासी, मलाई सुर्केथैलीले गाँज्न थाल्यो। मलाई लागेको थियो, कसैले सुर्केथैली जस्तो भनिदियो भने मेरो असफलता हो। किनकि, मैले सुर्केथैली बनाएको थिइनँ। तर, के थाहा धेरैलाई त्यसो पो लागिदिन्छ कि!
तीन बजेतिर युट्युबमा गीतको भिडियो रिलिज भयो। मान्छेले कत्तिको हेरेछन् त भनेर तीन घन्टापछि युट्युब खोल्दा त जम्मा ६ सयले मात्र हेरेका रहेछन्। कमेन्टमा स्रोताहरुले सुर्केथैली जस्तो लागेन भनेर लेखेका थिए। मैले पुरै आस मारेँ, गीत फ्लप भयो भनेर। सम्हाल्ने सुत्र थियो, प्रकृतिले मबाट अझै अभ्यासको खोजी गरिरहेको छ। मैले अर्को गीत राम्रो बनाउनुपर्छ भन्ने सोचेर सुतेँ।

भोलिपल्ट बिहानै एकपल्ट फेरि हेरेँ, ३० हजार कटिसकेछ। एक्कासी, फुरुंग भएँ। त्यसपछि ढुक्क भएँ, मान्छेले गीत रुचाएछन्। दिउँसो चिया खान पुतलीसडकको एउटा रेस्टुरेन्ट पुग्दा केहीले सुर्केथैली बनाउने मान्छेको अर्को गीत भन्दै हेरिरहेका थिए।

यो गीतबाट मेरो एउटै सपना र अपेक्षा थियो, सुर्केथैलीजस्तो भन्ने प्रतिक्रिया नआओस्। नभन्दै त्यस्तै भयो। रमाइलो कुरा के भने, धेरैले सुर्केथैलीभन्दा राम्रो भन्छन्। तर, मलाई लाग्छ, स्रोताहरुको दिमागमा सुर्केथैलीको सट्टा पूर्वपश्चिम रेल गुडिरहेकाले यसो भएको हो।

(समुन्द्र राज घिमिरेसँग कुराकानीमा आधारित)

स्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: