Saturday, October 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > कहाँ हरायो काठमाडौंको कुहिरो?

कहाँ हरायो काठमाडौंको कुहिरो?

एकपटक स्वर्गका राजा इन्द्र काठमाडौंमा पक्राउ परे। पारिजातका फूलमा मन्त्रमुग्ध भएका इन्द्रलाई फूल चोर्न लाग्दा मालीहरुले पक्राउ गरेका थिए। मालीहरुले इन्द्रलाई हातखुट्टा बाँधेर बीच सडकमा राखे।

धेरै दिनसम्म छोरा  स्वर्ग नफर्किएपछि इन्द्रकी आमा सुर्तामा परिन्। छोरा खोज्दै उनी मत्र्यलोक आइन्। चोरी आरोपमा इन्द्र काठमाडौंमा बन्धक भएको थाहा पाएपछि छोडिदिन आग्रह गरिन्। काठमाडौंवासीले आमासामू सर्त राखे– इन्द्र वर्षा र सहकालका देवता हुन् तर हाम्रो धान राम्ररी पाक्दैन, पोटिलो हुँदैन। धान राम्ररी पाक्न कुहिरो चाहिन्छ। तर काठमाडौंमा कुहिरो लाग्दैन। इन्द्रले धान रोप्ने बेलामा पानी दिएजस्तै पाक्ने बेलामा कुहिरो दिन मन्जुर भए मात्रै उनलाई छोड्छौं।

आमाले सर्त मन्जुर गरिन्। काठमाडौंवासीले बन्धक बनाइएका इन्द्रलाई छोडिदिए। अर्को वर्षदेखि काठमाडौंमा धान पाक्ने बेला कुहिरो लाग्न थाल्यो।

काठमाडौंको कुहिरोबारेको यो किवंदन्ती वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले सुनाएका हुन्। विस १९९४ मा महाबौद्धमा जन्मेका श्रेष्ठ आफैं पनि कात्तिक मंसिरमा हल्का कुहिरो हुँदै पुस-माघमा बाक्लो कुहिरो देखेर हुर्किएका हुन्। उनका अनुसार त्यतिबेला काठमाडौंमा कुहिरो मात्र होइन पुसमाघतिर बाक्लो तुसारो पनि पथ्र्यो।

‘कात्तिक मंसिरमा लाग्ने कुहिरो पातलो हुन्थ्यो। बिहान केहीबेर लागेर फाट्थ्यो, त्यो काठमाडौंको को मौसमको आफ्नै चक्र थियो’, श्रेष्ठले भने, ‘पुस महिनापछि आधा दिनसम्म नै कुहिरो लाग्थ्यो। त्यै भएर पुसलाई नेवारीमा बान्ही खसू (आधा दिन कुहिरो) को महिना भनिन्छ।’

त्यतिबेला काँठबाट बिहान सबेरै शहर आउनेहरु भन्थे – हाम्रो घरतिर त बिहानै झलमल घाम लागिसक्यो। तिमीहरुकातिर त अझैं घाम लागेको रहेनछ। ‘हामीहरु नाकको टुप्पो रातो बनाउँदै बसेका हुन्थ्यौं’, श्रेष्ठले भने, ‘बाहिर निस्के कौशीमै सेताम्य तुसारो हुन्थ्यो। मिनपचासमा नाकको टुप्पोबाट पानी नै चुहिन्थ्यो।’

केही वर्षअघिसम्म पनि नागार्जुन वा ककनीतिरबाट नियाल्दा डम्म कुहिरो लागेको बिहानीमा काठमाडौं उपत्यका दूधपोखरीजस्तै देखिन्थ्यो। घाम तातो हुँदै जान थालेपछि, कुहिरो बिस्तारै माथि उठेर चारै भञ्ज्याङबाट उम्लेको दूध पोखिएझैं पोखिन थाल्थ्यो।

त्यो नाकको टुप्पो रातो पार्ने तर रोमान्मचक कुहिरो अचेल श्रेष्ठको स्मृतिमा मात्र आउँछ। झण्डै दशक भयो, काठमाडौंमा बिहानै झलमल घाम लाग्छ। कात्तिक मंसिरको त कुरै छोडौं पुसमा पनि कहिँकतै कुहिरो देखिदैन। काठमाडौंको नयाँ पुस्ताले अव प्रकृतिको  अनुपम छटा त्यो कुहिरो देख्न पाउने छैन। जाडो महिना सम्झिँदा कुहिरो र तुसारोको चित्र उनीहरुको दिमागमा आउने छैन।

कँहा गयो होला काठमाडौंवासीले ‘स्वर्गका राजासँग मागेको’ त्यो कुहिरो?

विज्ञानको आजको युगमा त्यो प्रश्नको उत्तर हामीले ‘स्वर्गका राजासँग’ होइन जल तथा मौसम विज्ञान विभागकी बरिष्ठ मौसमविद् अर्चना श्रेष्ठ सँग खोज्यौं। उनले सरल हिसाबले कुहिरो किन लाग्छ र अहिले कुहिरो किन हराउदै गयो भन्ने ब्याख्या गरिन्।

 

उनका अनुसार कुहिरो लाग्न दुइटा कुरा चाहिन्छ। एक, जमीनको सहतसँगको तापक्रम एकदमै न्यून हुनपर्छ। जसले गर्दा पानी सानो सानो कणमा जम्छ। अर्को, सतहमा चिस्यान (सापेक्षिक आद्रता) बढी हुनुपर्छ। त्यसले हावामा पानीको मात्रा बढाउँछ। चिसोले हावामा बढी भएको पानीको मात्रा सानो सानो कणमा जम्छ। यी कण यति साना हुन्छन्, पृथ्वीको गुरुत्व बलले तल तिर तान्न सक्दैन, त्यसैले ति  कण सतहसँगैको वायुमण्डलमा घुमी बस्छन्। त्यसैलाई हामी कुहिरो भन्छौं। घाम लागेर तापक्रम बढेपछि ती कण उडेर आकाशतिर जान्छन् र कुहिरो फाट्छ।

तर पछिल्लो समय एकातिर सहरीकरणले काठमाडौंमा तापक्रम दिनदिनै बढिरहेको छ भने अर्कातिर जंगलको अभावले चिस्यान कम हुँदै गएको छ।

काठमाडौंमा पछिल्ला वर्षहरूमा घरहरु बन्ने र सडक बिस्तार हुने रफ्तार बढेको छ।

काठमाडौं महानगरपालिकाको भवन निर्माण इजाजत विभागका प्रमुख रवीन्द्र पौडेलका अनुसार पछिल्लो १५ वर्षमा महानगरमा चालिस हजार घर थपिएका छन्। अहिले महानगरभित्र नक्सा पास भएका एक लाख घर छन्। यसको अर्थ  पछिल्लो १५ वर्षमा काठमाडौंमा चालिस प्रतिशत घर थपिएका छन्।

त्यस्तै ललितपुर उपहानगरपालिकामा पछिल्लो  १५ वर्षमा १८ हजार घर थपिएका छन्। उपमहानगरपालिको तथ्यांक अनुसार अहिले  यहाँ करिब ६८ हजार घर छन्। त्यसको अर्थ १५ वर्षमा यहाँ २६ प्रतिशत घरको संख्या थपियो।

यी तथ्यांकले काठमाडौं महानगर र ललितपुर उपमहानगर वरिपरिका क्षेत्रमा बनेका घरहरुको संख्या समेटेको छैन। ती क्षेत्र झनै तीव्र गतिमा शहरीकरण भइरहेको छ।

घर आफैं ‘हिट आईल्यण्ड’ हुन्। यीनले दिउँसो सूर्यको ताप पनि सोसेर राख्छन्। साथै घर भित्र मानिस बस्ने, खाना पकाउने लगायतका गतिबिधिले पनि ताप उत्पन्न गर्छ। यसले घर बरिपरिको तापक्रम बढाउँछ। अर्को तिर सडकले पनि सूर्यको ताप सोस्छ, सवारी साधनले त ताप उत्पन्ननै गर्छन्।

अर्कातिर जंगल र बिरुवाको मासिदै गएकाले काठमाडौंको चिस्यान घट्दै गयो। चिस्यान कम भएपछि कुहिरो लाग्न आवश्यक पानीको मात्रा कम भयो। ‘कुहिरो लाग्न यति नै चिस्यान चाहिन्छ भन्ने त छैन तर त्यो पानी जम्ने तापक्रम हुनुपर्छ’, श्रेष्ठले भनिन् ‘चिस्यान कति घट्यो भन्ने विभागले अध्ययन गरेका छैन तर तापक्रम र ताप भने बढेको छ।’

यसले गर्दा काठमाडौंको समग्र तापक्रम बढेको छ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पछिल्लो दशकमा काठमाडौंमा हिउँदको औसत तापक्रम निरन्तर बढिरहेको देखाउँछ। विभागले सन् १९६८ देखि काठमाडौंको तापक्रमको रेकर्ड राख्न सुरु गरेको हो।

१९६८ को हिउँद (डिसेम्बर, जनवरी र फेब्रुअरी)को औसत न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो। सन् २०१५ मा भने हिउँदको औसत तापक्रम ५.५ डिग्री सेल्सियस पुगेको छ। १९६८ को हिउँदमा –१.५ डिग्री सेल्सियससम्म झरेको काठमाडौंको तापक्रम २०१५ को हिउँदमा  २.२ डिग्री सेल्सियससम्म मात्र पुगेको छ।

‘यसरी बढेको तापक्रमले काठमाडौंको सतहसँगैको हावालाई चिसो हुन दिँदैन, पानी सानो सानो कणमा जम्न दिदैन जसले गर्दा कुहिरो लाग्न छोडेको हो’, श्रेष्ठले भनिन्।

वायूमा चिस्यानको मात्रा कम हुँदै जाँदा मानिसहरुको स्वासथमा त्यसको प्रभाव देखिदै जाने श्रेष्ठ बताउछिन्।

‘टाउको दुख्ने लगायतका समस्या देखिन्छन्,’ श्रेष्ठले भनिन्, ‘काठमाडौंमा अहिले नै त त्यो समस्या आइसकेको छैन विस्तारै त्यो समस्या पनि नआउला भन्न सकिन्न।’

स्वास्थ्यका साथै प्रकृतिको एक फेनोमेना नै हराएर जान्छ कि भन्ने श्रेष्ठको चिन्ता छ। ‘अहिले सूर्योदय हेर्न नगरकोट गएजस्तै पछिल्लो पुस्ताले कुहिरो हेर्न कुनै अर्कै ठाउँ जानुपर्ने दिन पनि आउन सक्छ’, श्रेष्ठले भनिन्।

वनस्पतिविद् श्रेष्ठ भने काठमाडौंमा तापक्रम र ताप बढेकाले उष्ण हावापानीमा पाइने फलफूल काठमाडौंमै खान पाइने भएको बताउँछन्। ‘४० सालतिर काठमाडौंमा आँप पाक्दैनथ्यो,’ श्रेष्ठले भने, ‘अहिले आँप मात्र होइन लिची पनि काठमाडौंमा पाक्न थालेको छ। बरु सुन्तला भने पहिलाको जस्तो रसिलो हुन छाडेको छ।’

पछिल्लो समय काठमाडौंको मौसममा आँप, लिची, भूँइकटहर, उखु, आभोकाडो, बेगनबेलीजस्ता फलफूल प्रसस्तै फल्न थालेका छन् भने हलुवावेद, नास्पाती, सुन्तला र स्थानीय अम्बा राम्ररी पाक्दैनन्। ‘उसो त यहाँको काउली  घिरौंला पनि हराएर गयो’, श्रेष्ठले भने, ‘त्यो तापक्रमकै कारणले मात्र हरायो भन्न सकिन्नँ, किनकि चक्रपथ भित्र खेती गर्ने जग्गा नै अब बाँकी रहेन्।’

अहिले पातलो कुहिरो (मिस्ट) र पुस माघमा लाग्ने बाक्लो कुहिरो (फग) हराएर स्मग (धुँवाधुलोसँग मिसिएर बनेको कुहिरो) मात्र बाँकी रहेको श्रेष्ठ बताउँछन्। यस्तो विषाक्त वायुका कारण बेलायतमा सन् १९५२ डिसेम्बरको ५ देखि ९ तारिखसम्ममा १२ हजार मानिसको ज्यान गएको घटनालाई ‘ग्रेट स्मग अफ लन्डन’ भनी स्मरण गरिन्छ। त्यहीबेलादेखि धुवाँ (स्मोक) र कुहिरो (फग) को मिश्रण हुस्सुलाई स्मग भन्न थालिएको हो।

अहिले काठमाडौंमा शुद्ध कुहिरो हराएर स्मग बढन थलेको श्रेष्ठ बताउँछन्।

‘अचेल पुसतिर काठमाडौं  त्यही स्मगले ढाक्छ’, उनले  भने, ‘हामी सबैले सोच्नु पर्ने कुरा लण्डनको जस्तो दुदर्शा हामीले भोग्नु नपरोस् भन्ने हो।’

Comments

comments

Leave a Reply

%d bloggers like this: