Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समाचार > भारतमा माछा मार्दामार्दै पाकिस्तान पुगेपछि…

भारतमा माछा मार्दामार्दै पाकिस्तान पुगेपछि…

पुस ३, २०७३- भारत–पाकिस्तान सीमावर्ती पन्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ ।

माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन् । तर, मछुवारको भरिया मात्रै बनेर काममा गएका ३३ वर्षे यमबहादुर सार्की भने ‘आफू नेपाली भएको’ पहिचान जुटाउनै नसकेर महिनौंदेखि जेलमा थन्किएका छन् । दैनिक बढीमा ५ सय भारु कमाउने लोभमा मछुवारको साथ लागेर जहाज (सी–मरिन) मा माछाका भरिया काम गरिरहेका सार्कीसहितको ८० जनाको टोलीलाई पाकिस्तानी सीमाको सामुद्रिक सुरक्षा प्रहरीले गत फागुन दोस्रो साता द्विदेशीय सीमावर्ती ‘डिउ’ भन्ने स्थानबाट पक्राउ गरेको थियो ।

 

‘छोरो भारतको पन्जाबतिर बनिबुतो गर्न गइरहन्थ्यो, होटलमा काम गर्छु भन्थ्यो,’ यमबहादुरका बाबु अमरबहादुरले गुल्मीको बडागाउँबाट फोनमा भने, ‘ऊ पाकिस्तानको कराँचीमा जेलमा परेको रहेछ भन्ने त उसैले जेलभित्रबाट लेखेको पत्र पढेर पो थाहा पाइयो ।’

यमबहादुर जेलमा परेको भन्नासाथै गुल्मी जिल्लाका राजनीतिक नेताका पहुँचसम्म पुगेर सिंहदरबार र परराष्ट्र मन्त्रालय धाउने काम सुरु भएको थियो । एउटै गाउँका चिनारु श्याम राकसकोटी मगरले दर्जनौं पटक सिंहदरबार धाउने काममा सघाए पनि ‘यमबहादुर कराँची जेलमा थुनिएको पुष्टि फेला नपरेको’ भन्दै जवाफ पाएका थिए । ‘पछि यमबहादुरले जेलको ठेगानासहित पठाएको पत्रको प्रति राखेर परराष्ट्रमा निवेदन दिएपछि मात्रै उनलाई राखिएको कराँचीको ल्यान्डी जेलमा खोजखबर भएको थियो,’ श्यामले भने, ‘त्यसपछि इस्लामाबादस्थित नेपाली दूतावासका कूटनीतिक अधिकारी तीर्थराज अर्यालले ल्यान्डी जेलमै गएर यमबहादुरलाई भेटेको जानकारी पाएका हौं ।’ अवैध रूपमा सीमा वारपारको घटना र अभियोग आफैंमा गम्भीर भए पनि अहिले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासहितका मुलुकका जेलमा एकअर्काको सामुद्रिक सीमा उल्लंघन गरेको अभियोगमा हजारौं नागरिक थुनामा छन् । सन् २०१२ सेप्टेम्बरमा गुल्मी बडागाउँकै २५ वर्षे मीनबहादुर सर्तुङगे मगर माछाका भरिया बनेकै हैसियतमा कराँचीको मलिर जेलमा २९ महिना थुनामा बसेका थिए ।
अन्तर्राष्ट्रिय कानुनमा समेत सीमाक्षेत्र उल्लंघनलाई गम्भीर अपराध मानिने गरेको र यस्तो अभियोगमा आजीवन कारावास सजाय हुने स्थिति रहेकामा ‘नियतवश नभएको गल्ती र माछा मार्नेभन्दा पनि भरिया काम गर्ने यामबहादुरको बाध्यकारी हैसियत’ बारे खुलाएर इस्लामबादस्थित नेपाली दूतावासले पाकिस्तान सरकारसँग उनको रिहाइका लागि आग्रह गरिसकेको छ ।

गाउँकै विपन्न परिवार
यामबहादुरका ६४ वर्षीय बाबु अमरबहादुर अझै पनि गाउँमा ज्यालादारी गरेर परिवार धान्छन् । आफ्ना स–साना दुई छोरी र एक छोरालाई श्रीमतीको काखमा छाडेर भारतमा होटलधन्दाको कमाइ गर्न निस्केका यामले ८ कक्षा मात्रै पढेका छन् । उनले कराँची जेलबाट पठाएको पत्रमा लेखेका छन्, ‘यो सबै मेरो किस्मतले भएको हो, अब यहाँबाट निस्कन एम्बेसीले पहल गर्‍यो भने मात्रै सकिन्छ । सँगै थुनिएका भारतीय मछुवारहरू धेरैअघि जेल बाहिर गइसके ।’

यामकी श्रीमती कल्पनाका अनुसार ९ वर्षयता माछा मार्ने र माछाका भरिया बन्ने काममा लागेका उनका श्रीमान् (यामबहादुर) पछिल्लो पटक झन्डै २ वर्षअघि घरबाट निस्किएका थिए । ‘पन्जाबतिर माछा मार्ने काममा गएका अरू साथीभाइले यामबहादुर पाकिस्तानमा थुनिएका छन् भनेर खबर गरेपछि मात्रै मैले यो घटनाबारे सुनेकी हुँ,’ उनले फोनमा भनिन् ।
परराष्ट्र मन्त्रालयले यामबहादुरको उद्धार समन्वयका लागि एकसाथ पाकिस्तानको इस्लामाबाद र भारतको दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो । अरू प्रक्रिया सकिए पनि घरफिर्तीका लागि हवाई टिकट उपलब्ध हुन नसक्दा उनी फर्कने टुंगो लागेको छैन । ‘यामबहादुरलाई घर फर्काउन हवाई टिकट खोज्ने काममा लागेका छौं तर सफल हुन सकिएको छैन,’ गाउँले सहयोगी श्यामले भने ।

वैदेशिक रोजगारीमा गएर अलपत्र पर्दा उद्धार समन्वयमा सरकारी संयन्त्र कायम रहे पनि दक्षिण एसियाली मुलुकमा यस्ता श्रमिक बिचल्लीका घटना आइपरे कहींकतैबाट आर्थिक सहयोग/समन्वय लिन सकिने नियम छैन ।

श्रोत: कान्तिपुर

 

Comments

comments

Leave a Reply

%d bloggers like this: