Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समाचार > रुपन्देही गोलीकाण्ड: राजनीतिक कि अराजनीतिक ?

रुपन्देही गोलीकाण्ड: राजनीतिक कि अराजनीतिक ?

आन्दोलन र अस्थिरताले बढाउँदैछ अपराधीकरण

४ पुस, काठमाडौं । स्याङजाबाट रुपन्देहीको खैरेनीमा बसाइँ झरेर अल्पायुमै उद्यमी युवकको छवि बनाएका युवा संघका जिल्ला अध्यक्ष दूर्गा तिवारीको सोमबार गोली हानी हत्या भयो । यसअघि मंसिर २३ गते भैरहवा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार भए पनि न्यौपाने बच्न सफल भएका थिए ।

सरकारले संसदमा दर्ता गरेको ५ नम्बर प्रदेशको सीमांकनको विरोधमा बुटवलमा आन्दोलन चर्किएको छ । र, यहीबेला आन्दोलनमा सक्रिय रहेकाले तिवारी तथा न्यौपाने दुबैमाथि निशाना बनाइएको छ । तथापि प्रहरी सूत्रले तिवारीको हत्या राजनीतिक कारणले नभई व्यक्तिगत लेनदेनका कारणबाट भएको हुन सक्ने प्रारम्भिक एवं अनौपचारिक प्रतिक्रिया दिएको छ । यसबारे थप सूचनाहरु आउन बाँकी नै छन् ।

विगतमा कहिलेकाँही युवाहरु राजनीति र अपराधसँग सँगै जोडिएर प्रकट हुने गरेका तिक्त उदाहरण पनि हामीकहाँ नभएका होइनन् । चरी र घैंटेजस्ता युवाहरु राजनीतिमै जोडिए पनि उनीहरुको मृत्यु राजनीतिक हुन सकेन । यतिबेला कतिपय लेनदेन र ठेक्कापट्टामा नाम जोडिए पनि तिवारीको मृत्यु त्यस्तो अराजनीतिक प्रकारको नहुन सक्छ ।

तिवारीको हत्या जसले, जुन उद्देश्यले गरेको भए पनि यो निन्दनीय एवं मानवताविरोधी अपराध हो । राज्यले चाँडोभन्दा चाँडो अपराधीलाई कानूनको कठघरामा उभ्याउनुपर्छ र कारवाही गर्न सक्नुपर्छ । जनतालाई शान्ति सुरक्षा दिन सरकार सक्षम छ भन्ने विश्वास दिलाउन अपरिहार्य छ । अन्यथा सरकारमाथि जनताले प्रश्न उठाउनु स्वाभाविक हुन्छ । जनताको सुरक्षामा लाचारी प्रकट गरेर सरकारले उम्कन मिल्दैन ।

प्रारम्भिक सूचनाहरुको सामान्य विश्लेषण

आजभन्दा करिब ६ महिना पहिले पनि तिवारीमाथि उनले सञ्चालन गरिरहेको ईंटा उद्योगमै गोली प्रहारको प्रयास भएको र सो घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिहरु अझैसम्म थुनामै रहेको परिघटनाले यो हत्या प्रकरण अहिलेको आन्दोलनसँग भन्दा पनि विगतकै निरन्तरता हो कि भन्ने आशंका गर्ने ठाउँ छ ।

सुरक्षा स्रोतका अनुसार यो घटनामा आपराधिक समूहको संलग्नता रहेको र उनीहरु घटनापछि सीमा पारि भागेको हुन सक्ने अनुमान गरिएको छ । सुरुमा सोमबार अपराहृन हामीले युवा संघीकी बरिष्ठ उपाध्यक्ष दिलु पन्तलाई फोन गर्दा उनले गोली प्रहार गर्ने एक व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेको सूचना दिइन् ।

तर, पछि त्यसलाई सच्याउँदै उनले भारतबाट रुपेन्देहीमा फोन आएको र एक व्यक्तिले हत्याको जिम्मेवारी लिएको अर्को सूचना दिइन् ।

प्रहरी स्रोतले पनि टेलिफोनमार्फत एक व्यक्तिले हत्याको जिम्मा लिएको र यो हत्या राजनीतिक उद्देश्यले नभई व्यत्तिलगत रीस ईवी र लेनदेनका आधारमा भएको दाबी गरेको सूचना बाहिर आएको छ ।

तिवारीको हत्याको घटनामा मनोज पुन रानाको हात रहेको समाचार पनि प्रहरी स्रोतबाट आएको छ । सुरुमा उनी पक्राउ परेको प्रहरी स्रोतबाटै सूचना आएको थियो, पछि उनी फरार रहेको र उनी पहिलेदेखि नै आपराधिक क्रियाकलापमा संलग्न रहेको बताइएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

उद्योगी व्यवसायी युवासमेत रहेका तिवारीको हत्याका लागि पहिले पनि प्रयास हुनु र अहिले बुटवलमा आन्दोलन चर्किइरहेका बेला उनको हत्या हुनुले यो घटना अहिलेको राजनीतिसँगमात्रै सम्बन्धित छ भनेर ढुक्क हुने ठाउँ देखिँदैन ।
तर, उद्योग वाणिज्य महासंघका न्यौपानेमाथि किन गोली प्रहारको प्रयास भयो ? त्यसको पनि उद्देश्य अराजनीतिक नै थियो ? या राजनीतिक उद्देश्यले त्यो आक्रमण गरिएको थियो ? यो अझैसम्म अन्यौलमै छ ।

जहाँ अस्थिरता र अराजकता हुन्छ, त्यही अपराध मौलाउँछ

हत्याकाण्डका बारेमा थप सूचनाहरु खुल्दै जालान्, तर यो कुरा चाँहि अहिल्यै बताउन सकिन्छ कि जहाँ अराजकता र अशान्ति हुन्छ, अपराधीहरुले सोही ठाउँमा खेल्ने प्रयास गर्नेछन् । केही समयदेखि अशान्त बन्न थालेको रुपन्देही अपराधीहरुका लागि निकै सुरक्षित स्थल बन्न थालेको कुरा न्यौपाने र तिवारीमाथि भएको गोली प्रहारको घटनाले स्पष्ट पारेको छ ।

आन्दोलनको घोषणा गर्न र बन्द हडताल लगायतका कार्यक्रमहरु गर्न सजिलो छ, तर, त्यसबाट खेल्न खोज्ने र समाजमा अराजकता फैलाउने तत्वहरुलाई यसबाट फाइदा लिन नदिनेतर्फ आन्दोलनकारी दल र समूहले पहलकदमी लिन सकेन भने यस्ता दुखद घटनाहरु दोहोरिन सक्ने मंसिर २३ यताका दुईवटा घटनाले पुष्टि गरेका छन् ।

रुपन्देहीका जनताले अहिलेसम्म गरेको आन्दोलन शान्तिपूर्ण छ र लोकतन्त्रमा यो उनीहरुको नैसर्गिक एवं संवैधानिक अधिकार पनि हो । तर, आन्दोलनकारी दलले आफ्ना कार्यकर्ताको सुरक्षा र सामाजिक सदभावलाई बिग्रन नदिन ध्यान दिनैपर्ने हुन्छ । र, यो भन्दा बढी राज्यले शान्ति सुरक्षाको दायित्वलाई गम्भीरतापूर्वक पालना गर्नुपर्ने हुन्छ ।

दिनदहाडै गोली प्रहार गरी अपराधीहरुले सीमा पार गर्दा पनि उनीहरुलाई समात्न नसक्नु प्रहरी प्रशासनको कमजोरी हो । तिवारी हत्या प्रकरणमा सम्बन्धित पार्टीको सुरक्षा कमजोरी पनि देखिएको छ । ६ महिना पहिल्यै गोली प्रहारको प्रयास भइसकेपछि युवासंघले तिवारीको सुरक्षामा पर्याप्त ध्यान दिनुपर्दथ्यो, दिन सकेन ।

विगतमा जतिबेला मधेस अशान्त थियो, त्यसबेला विभिन्न सशस्त्र समूहका नाममा हत्या र आतंकका घटनाहरु थिए । सिंगै देशको कुरा गर्दा ००७ सालपछिको संक्रमणकाल, ०४६ सालको संक्रमण काल र सशस्त्र द्वन्द्वकालमा विभिन्न प्रकृतिका अपराधको जन्म भएको पाइन्छ । अहिले पनि हामीले देशमा राजनीतिक स्थिरता र शान्ति कायम गर्न सकेनौं भने अपराधीहरुले यसैगरी खेलिरहने छन् । किनभने राजनीतिको स्थायित्व र शान्ति सुरक्षाको अन्योन्याश्रति सम्बन्ध हुने गर्छ ।

यतिबेला देशमा अतिवादी समूहहरु कतिबेला आगो बल्छ र पेट्रोल खन्याउँ भनेर धूप हालेर बसेका छन् । यस्तो बेलामा मधेसवादी र एमाले जसले आन्दोलन सुरु गरे पनि त्यो आयोजकहरुको नियन्त्रणभन्दा बाहिर ‘भूमिगत गिरोह’को हातमा जान सक्छ । रुपन्देहीका जनता जागिरहेका बेला दिनदहाडै तिवारीको तिवारीको हत्या हुनुले यही अनिष्टको संकेत गरेको छ ।

दलहरुमा धैर्य र संयम आवश्यक

मुलुकको अवस्था ‘अत्यधिक ज्वलनशील’ बन्दै गइरहेको अहिलेको अवस्थामा राजनीतिक दलहरुले धैर्यता एवं संयममतापूर्वक अघि बढ्न जरुरी छ ।

आवेश र आवेगको रथ चढेर देशलाई त्राण दिन सकिँदैन । त्यसैले यस्ता आपराधिक घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो देशलाई शान्ति र विकासको बाटोमा अघि बढाउन जरुरी छ । आन्दोलनले कहीँ पनि पुगिँदैन, अपराधीहरुलाई मात्रै जमीन तयार हुन्छ ।

 

श्रोत: अनलाइनखबर

Comments

comments

Leave a Reply

%d bloggers like this: