Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > धुवाँधुलोको राजधानी काठमाडौंः स्वास्थ्यका लागि घातक

धुवाँधुलोको राजधानी काठमाडौंः स्वास्थ्यका लागि घातक

काठमाडौः असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण दिक्कलाग्दो दैनिकी बनेको उपत्यकावासीको स्वास्थ्यमा समेत घातक असर पर्न थालेको छ । नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए उपत्यकावासीको मृत्युको पहिलो कारक प्रदूषित वायु नै बन्ने चेतावनी चिकित्सकले दिएका छन् ।

कठ्याङग्रिँदो मौसमसँगै अत्यधिक धुलोधुँवा सामान्य मास्क र चस्माले छेक्न नसक्ने भएको छ भने कपडा, अनुहार, शरीर र कपालसमेत कुरूप बन्दै गएको छ । धोएको कपडासमेत सफा लगाउने मौका कमैले पाउन थालेका छन् । धुवाँधुलोले अनावश्यक पानी र साबुनसमेत खर्च गर्न बाध्य अधिकांशको समय सडकमा पानी छ्याप्न, पसल वा घरका सामग्रीमा टाँसिएको धुलो पुछ्नै बित्न थालेको छ । महत्वपूर्ण काम गर्न नपाउँदा तनावग्रस्त बन्न थालेको छ उनीहरूको जीवन । तनावसँगै अनेकौं घातक रोग देखापर्न थालेका छन् ।

धुवाँधुलोका कारण अत्यधिक प्रदूषित कार्बनले बटुवामात्र होइन, घरमै बस्नेमा पनि रुघाखोकी, एलर्जी, दिक्दारी, कामको लगावमा कमी, थकाइ लाग्ने, अनुहारमा दाग आउने, कालोपोतो र डन्डीफोर आउने, कपाल सुक्खा हुने र झर्ने, छाला फुस्रो हुनेलगायत समस्याबाट ग्रसित हुनु नियति नै बनिसकेको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ प्राध्यापक डा.करवीरनाथ योगी उपत्यकाको धुवाँधुलोले मानिसको सौन्दर्यसँगै स्वास्थ्यमा समेत घातक असर पारेको र यसले धेरैको ज्यान लिने क्रम बढेको बताउँछन् ।

उनका अनुसार चिसोयाममा धुलोका कण वातावरणमै रहने र त्यो विभिन्न माध्यमबाट मानिसले खाँदा फोक्सोमा पुगी अनेकौं किमिसका असर उत्पन्न भएर जाँचका लागि आउने बिरामीको संख्या निकै बढेको छ ।

‘सडक चौडा गराउँदा, भूकम्पले घर भत्काउँदा तथा त्यसको उत्खनन गर्दा निस्किएको धुलो, थोत्रा सवारीसाधनले फालेको धुवाँले प्रदूषित बनेको हावा कुनैकुनै माध्यमबाट खाँदा उत्पन्न अनेक जटिलता लिएर अस्पताल आउने बिरामीको संख्या विकराल छ’, डा.योगीले भने, ‘धुलोधुवाँ नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन सकिएन भने यसैको जटिलताबाट ज्यान गुमाउनेको संख्या भयानक हुनेछ ।’

उनको अनुभवले धुलोधुवाँका कारण पछिल्लो पाँच वर्षयता श्वाप्रश्वासका बिरामी अत्यन्तै बढेको बताउँछ । श्वासप्रश्वासमध्ये पनि सबैभन्दा बढी र जीवनभर अपांगजस्तै बनाउने सीओपीडी (चुरोट र अन्य धुवाँले बनाउने दम) को अवस्था भयानक छ । निमोनिया, दम बिग्रिएर क्यान्सर भएका र मुटु सुन्निनेको संख्या पनि बढ्दो छ ।

भिडियाे हेर्नुहाेस्:

वीर अस्पतालका कन्सल्टेन्ट मेडिसिन प्राध्यापक डा. मनेन गोरखाली पनि धुवाँधुलोले उपत्यकावासीमा घातक असर पर्न थालेकोमा सहमति जनाउँछन् । ‘धुवाँधुलोले श्वासप्रश्वासँग सम्बन्धित बिरामीमात्र बढेका छैनन् यहाँ छाला र आँखामा गम्भीर समस्या लिएर आउने पनि बढेका छन्’, गोरखाली भन्छन्, ‘विकिरणसहितको धुवाँधुलोले कामकाजी महिलाको महिनाबारीमा गड्बडी हुने, बच्चा खेर जानेलगायत प्रजनन प्रणालीमै नकारात्मक असर पर्न थालेको छ ।’

पाटन अस्पताल मेडिसिन विभागका प्रमुख प्राध्यापक डा. ज्ञान कायस्थले पनि धुवाँधुलो सहरवासीको मृत्युको प्रमुख कारण बन्नसक्ने चेतावनी दिएका छन् । ‘जुन रूपमा शरीर नै ढाकिने गरी सहरमा धुलोधुवाँ बढेको छ त्यसले मानव स्वास्थ्यमा गम्भीर असर गरेको पाइन्छ’, उनले भने, ‘यसमा सबै सरोकारवाला सचेत हुनुपर्ने देखिन्छ ।’

सीओपीडी र निमोनियाका कारण भर्ना हुने बढी
धुलोधुवाँका कारण आजित भएका उपत्यकावासी श्वासप्रश्वाससँग सम्बन्धित रोगबाट ग्रसित भएर अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । विशेषगरी बाहिरबाट समेत बिरामी रिफरल भई आउने उपत्यकाका शिक्षण र पाटन अस्पतालको तथ्यांकले सीओपीडी, निमोनिया, आस्थामा (धुलोधुवाँका कारण उत्पन्न हुने एलर्जी), पिल्युरल इफुजन (छातीभित्र पानी र पीप जम्ने), छातीको संक्रमण हुने, फोक्सोको क्यान्सर, क्षयरोगलगायत भएपछि लामो समय अस्पतालमा भर्ना हुनेको संख्या बढेको देखाउँछ ।

प्रदूषित वायुले श्वासप्रश्वासमा पार्ने असरमा अध्ययन
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अघिल्लो वर्ष गरेको अध्ययनले वायुु प्रदूषणका मुख्य कारक तत्वमध्ये दुई दशमलव पाँच माइक्रो मिटरभन्दा कम आकारका धुलोका कण, कार्बोन मोनोअक्साइड र नाइट्रोजन अक्साइड मुख्य हुन् । यस्ता कण श्वासप्रश्वासमार्फत शरीरभित्र पस्दा बालबालिकाको श्वासनलीमा संक्रमण हुन्छ भने प्रौढ व्यक्तिमा दीर्घ स्वास्थ्य समस्या देखा पर्छ ।

अध्ययनले प्रयाजसो दिन (२०० दिनभन्दा बढी) मा काठमाडौं उपत्यकाको हावा राष्ट्रिय मापदण्ड (पीएम दुई दशमलव पाँचका लागि ४० माइक्रो मिटर प्रतिघनमिटर) भन्दा बढी प्रदूषित भएको देखाएको छ । यस्तै मध्यरातपछि र सूर्योदय हुनुअघि प्रदूषणको मात्रा सबैभन्दा कम थियो भने बिहान क्रमशः बढ्दै गएर आठनौ बजे सबैभन्दा बढी पाइएको छ । नाइट्रोजन अक्साइडको मात्र पनि पीएम दुई दशमलवको जस्तै गरी वृद्धि भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याले अस्पताल भर्ना हुने बिरामीमध्ये अधिकांश दीर्घ श्वासप्रश्वाससम्बन्धी समस्या (३९ दशमलव ४९ प्रतिशत) थिए भने दोस्रोमा न्युमोनिया (२९ दशमलब १३ प्रतिशत) भएको देखाएको छ । यस्तै अध्ययनले बालबालिका र वयस्क व्यक्ति वायु प्रदूषणको उच्च जोखिममा परेको देखाएको छ । १० माइक्रोमिटर प्रतिघनमिटर प्रदूषण बढ्दा एकदेखि पाँच प्रतिशतसम्म श्वासप्रश्वाससम्बन्धी समस्याबाट अस्पताल भर्नादर वृद्धि हुने अध्ययनले देखाएको हो ।

कोचिएर बस्दा स्वास्थ्य झन् जटिल
धुवाँधुलो र फोहोरका बीच अटसमटस घरमा कोचिएर बस्नुपर्ने बाध्यताले उपत्यकावासीको स्वास्थ्यमा झनै जटिलता निम्त्याएको छ । ‘विभिन्न अवसरले काठमाठौंमा बस्नेको संख्या बढ्दो छ । एउटै कोठामा पाँचजना बस्नुपर्ने बाध्यता छ । एकै ठाउँमा पकाउने, खाने र सुत्ने गरिन्छ । बाहिरको दूषित हावा खानुभन्दा झ्यालढोका नखोल्ने चलन छ ।

भित्रको अक्सिजनमात्र पर्याप्त नहुँदा फोक्सो कमजोर भई अनेकौं जटिलता उत्पन्न हुने गरेको समेत पाइएको छ’, डा. योगीले भने, ‘सामान्य रुघाखोकीसमेत एकअर्कामा छिट्टै सर्ने र निको हुन लामो समय लाग्ने गरेको छ ।’

मर्निङ र इभिनि­ङ वाकसमेत घातक
एक अध्ययनले उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ७ बजेदेखि ९ बजेसम्म शारीरिक अभ्यासका लागि घरबाहिर निस्कनु झन् घातक रहेको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले उपत्यकामा मर्निङ र इभिनिङ वाक गर्दा श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगको जोखिम देखाएको हो । उपत्यकाभित्र फोक्सोसम्म पस्नसक्ने धुलोका कणको मात्रा अत्यधिक छ ।

अध्ययनले उपत्यकाको वायुमा यस्ता कण बिहान ६ बजेदेखि ९ बजेसम्म नेपालको बाह्य वायुसम्बन्धी राष्ट्रिय मापदण्डभन्दा करिब दुई गुणा बढी पाइएको छ । बाह्य वायुमा पाइने २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण बिहान ५ बजेबाट लगातार बढ्दै जाने र ९ बजेसम्म अत्यधिक रहने, त्यसपछि बिस्तारै घट्दै गए पनि साँझ ६ देखि ९ बजेको समयमा फेरि बढ्दै जाने क्रम पाइएको छ ।

दुर्घटना र चोटपटकको जोखिम
सडक विस्तार गर्दा लापरबाहीपूर्ण तरिकाले घरहरू भत्काउने गरिएको छ । सडकमा हिँड्नेहरूलाई इँटका टुक्रा र ढुंगाले लाग्ने गरेको छ । असरल्ल छाडिने सामग्री र निर्माण नगरी भत्काएर छोडिने सडकका दुर्घटनासमेत बढेको छ । पछिल्लो वर्षमा त्यस्तो दुर्घटनामा परी चोटसहित अस्पताल जानेको संख्यामा समेत वृद्धि भएको चिकित्सक बताउँछन् ।

प्रदूषित सडकको खानाबाट बिरामी
सस्तोमा छिट्टै मीठो स्वादमा पाइने प्रदूषित सडकमा पकाएको खानेकुराले पनि बिरामी हुनेको संख्या बढ्दो छ । अव्यवस्थित रूपमा सञ्चालित पसलबाट स्वास्थ्यमा असर पर्ने खाना मानिसले किनेर घर लगी बालबालिकालाई समेत खुवाउने गरेका छन् । यसबाट फुड प्वाइजनिङ, झडापखाला, टाइफाइडलगायत समस्या उत्पन्न भई अस्पताल धाउनेको संख्या पनि बाक्लो छ ।

 

 

स्रोत: अन्नपुर्ण पोष्ट

Comments

comments

Leave a Reply

%d bloggers like this: