Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > ‘चिसोले सुत्नै सकिन्न’

‘चिसोले सुत्नै सकिन्न’

पुस ७, २०७३- लक्ष्मी दुवालको भक्तपुर २ मा रहेको ५ तले घर २०७२ वैशाखको भूकम्पले भत्कियो । त्यसयता उनको ५ जनाको परिवार ताहामला गल्लीस्थित अस्थायी टहरोमा बसिरहेको छ ।

बढदै गएको चिसोका कारण ९ महिने छोरीलाई च्यापेर निदाउन सक्ने अवस्था नभएको उनी बताउँछिन् । ‘जस्ताको टहराबाट शीत चुहिन्छ,’ उनले भनिन्, ‘बालबच्चा र वृद्धवृद्धालाई अस्थायी टहरोमा जोगाउनै मुस्किल छ ।’

भक्तपुर २, जेलांकी ६७ वर्षीया लालमाया साँयजूको पीडा पनि उस्तै छ । ‘बेलुका ओभानै सुते पनि रातभर चुहिएको शीतले कपडा भिजेको हुन्छ,’ उनले भनिन्, ‘कोइला बालेर रात कटाउँछु ।’ निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भइसक्यो । तर, समयमा वितरण नहुँदा घर बनाउन नपाएको उनी बताउँछिन् । पुनर्निर्माण प्राधिकरणले पहिचान गरिएका भूकम्पपीडितलाई अनुदान रकम वितरणमा गरेको ढिलाइले यस वर्षको हिउँद पनि चिसोमै बिताउनुपर्ने बाध्यता थपिएको छ । भूकम्प प्रभावित १४ मध्ये १३ जिल्लामा पहिलो किस्ताको रकम वितरण भएको छ, तर, भक्तपुरमा भने हालसम्म पहिलो किस्ताको पनि वितरण हुन सकेको छैन ।

जिल्लामा भूकम्पपीडित ३३ हजार ६ सय ९६ रहेको पछिल्लो तथ्यांक भए पनि २६ हजार १६ लाभग्राही परिवारको विवरण प्राधिकरणले जिल्लामा पठाएको छ । गत कात्तिक २५ बाट सुरु भएको अनुदान सम्झौता बुधबारसम्ममा १८ हजार ९ सय ८४ लाभग्राहीको सम्झौता भएको जिविस भक्तपुरले जनाएको छ ।

जिविसका अनुसार भक्तपुर नगरपालिकामा ६८ सय ८८, मध्यपुरथिमीमा २२ सय ५४, सूर्यविनायकमा ३६ सय १७, अनन्तलिंगेश्वरमा ३ हजार ५४, चाँगुनारायणम ५२ सय ८४ र नगरकोट नगरपालिकामा ४९ सय १९ लाभग्राहीको विवरण प्राप्त भएको छ । जसमध्ये बुधबारसम्ममा भक्तपुरमा ४७ सय १२, अनन्तलिंगेश्वरमा ३ हजार ५४, चाँगुनारायणमा ५२ सय ८४, नगरकोटमा ४९ सय १९, सूर्यविनायकमा ३६ सय १७ र मध्यपुरथिमीमा ९ सय ७ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । हालसम्म जिल्लामा ६५ सय ८८ ले लाभग्राहीको नामावलीमा नाम छुटेको, जग्गामा समस्या आएकोलगायत गुनासो टिपाएको स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले बताए ।

लाभग्राहीलाई अनुदान रकम वितरण गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट अख्तियारी प्राप्त भए पनि रकम फुकुवाको निकासा नहुँदा भुक्तानीमा ढिलाइ भएको जिविसले जनाएको छ । ‘केन्द्रबाटै अनुदान रकम फुकुवा भएको छैन,’ स्थानीय विकास अधिकारी कोइरालाले भने, ‘कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम फुकुवा भएलगत्तै अनुदान वितरण सुरु हुन्छ ।’

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: