Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > पुसभित्रै सबैका घरमा पानी

पुसभित्रै सबैका घरमा पानी

पुस ७, २०७३- पुसभित्रै सदरमुकामका सबै घरमा खानेपानी पुर्‍याइने भएको छ । दोस्रो साना सहरी खानेपानी योजनाअन्तर्गत बागलुङ बजारका सबै घरमा पुसभित्रै पानी वितरण गरिने ठेकेदार कम्पनी टापिया टुम्बी ज्वाइन्टभेन्चरले जनाएको छ ।

करिब १४ किमि पश्चिममा पर्ने रेश खोलाको पाइप मर्मत र भुदी खोलाबाट नयाँ पाइप लाइन विस्तार गरी बागलुङ बजारमा खानेपानी विस्तार कार्य अन्तिम चरणमा पुगेको इन्जिनियर प्रमोद शर्माले बताए । २०१२ जनवरीबाट बागलुङ नगर खानेपानी तथा सरसफाइ आयोजनाका नाममा योजना अघि बढेको थियो । ‘काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘चालु महिनाभित्रै सदरमुकामका सबै घरमा खानेपानी पुर्‍याउँछौं ।’ हाल बागलुङ बजारको उपल्लोचौरमा रहेका ४ सय घरधुरीमा खानेपानी वितरण भइरहेको छ । शर्माका अनुसार बागलुङ र रामरेखा बजारमा पाइप लाइन विस्तारसँगै परीक्षणको काम भइरहेको छ ।

आयोजनाबाट बागलुङ बजारका ३२ सय ५० घरधुरीसहित ५० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछ । बागलुङ ४, रातामाटामा ५ लाख लिटर क्षमता र रेश खोलानजिकै अर्को टयांकी बनाएर बागलुङ बजारमा वितरण गर्ने योजना बनाइएको छ ।

‘खानेपानीको निकै दु:ख थियो,’ बागलुङ बजारको उपल्लोचौरमा होटल सञ्चालन गरेकी मीनकुमारी थापाले भनिन्, ‘अब घरमै पानी नियमित आएपछि सजिलो हुन्छ ।’ यसअघि बागलुङ बजारका बासिन्दालाई खानेपानीको दु:ख थियो । खानेपानी वितरणलाई नमुना बनाउने तयारी गरेको टुम्बी ज्वाइन्टभेन्चरका प्रतिनिधि यादव सुवेदीले बताए ।

आयोजनाले नगरभित्रको सफाइलाई समेत सकारात्मक प्रभाव पार्ने बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताए । आयोजनाबाट ल्याइएको खानेपानी प्रतिसेकेन्ड १८ लिटर झर्ने र उक्त पानीले बागलुङ बजारको तत्कालको माग पूरा हुने उनले बताए । १८ करोड ५३ लाख ३३ हजार ९ सय २९ रुपैयाँ लागतमा निर्माण थालिएको आयोजनाको हालको लागत मूल्य २१ करोड १४ लाख ५४ हजार ६ सय ९० रुपैयाँ पुगेको उनको भनाइ छ ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: