Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > राजा वीरेन्द्र परिवार हत्याकाण्डको छानविन गरिने !

राजा वीरेन्द्र परिवार हत्याकाण्डको छानविन गरिने !

काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकामा दुई वटा विषयले प्रमुखताका साथ स्थान पाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री विमलेन्द्र निधीले दरबार हत्याकाण्ड सम्बन्धी छानविन गर्न राखेको प्रस्ताव र निलम्बित अवस्थामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको योग्यता मुद्दामा भएको बहस सम्बन्धी ।
बाह्रखरी समीक्षित पत्र पत्रिकाले यी दुवै विषयलाई आज प्रमुखताका साथ प्रकाशित गरेका छन् ।
डेढ दशक अर्थात् २०५८ साल जेठ १९ गतेको ऐतिहासिक दरबार हत्याकाण्ड पुनः छानबिन गर्नुपर्ने विषय मन्त्रिपरिषद्मै चर्को रुपमा उठेको छ । त्यो पनि गृहमन्त्रीबाटै प्रस्ताव गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक परिस्थितिबारे बुधबार विज्ञप्तिमार्फत दिएको सार्वजनिक अभिव्यक्तिको सन्दर्भले बिहीबार मन्त्रिपरिषद् बैठकमा प्रवेश पाउनासाथ मन्त्रीहरुले दरबार हत्याकाण्डको सत्यतथ्य अझै सार्वजनिक नभएकाले पुुनः छानबिन गर्नुपर्ने भन्दै लामो छलफल गरेको सहभागी मन्त्रीहरुले बताएको आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेको समाचारमा उल्लेख छ । बैठकमा गृहमन्त्री निधीले छानबिन गरिनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए ।
आजको नागरिक दैनिकले यो समाचारलाई डबल डेक हेडलाइनमा तीन कोलममा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिरसहित प्रकाशित गरेको छ ।
आजको अन्नपूर्ण पोष्टले पनि ‘सरकार आक्रोशित’ भन्ने हेडलाइन राखेर यो समाचार प्रकाशित गरेको छ ।
दरबार हत्याकाण्डको प्रतिवेदन खोजियो भन्ने सवहेड राखेर अन्नपूर्ण पोष्टमा रेवती सापकोटाले समाचार लेखेका छन् ।
तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्डको १५ वर्षपछि छानविन प्रतिवेदन खोजि भएको उल्लेख छ ।
आजको नयाँ पत्रिका दैनिकले पनि यो समाचारलाई विशेष स्थानका साथ प्रकाशित गरेको छ ।
दरबार हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल भन्ने शीर्षकमा नयाँ पत्रिकामा सागर पण्डितले लेखेको समाचारमा मन्त्रिपरिषद बैठकमा कसले के भने ? तत्कालित छानविन समितिले के भनेको थियो ? दरबार हत्याकाण्डकी साक्षी प्रेक्षा रारा तालमै हराएको लगायतका विषय समावेश गरेर नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको छ ।

लोकमान सिंह कार्की सम्बन्धी मुद्दा 
निलम्बित अवस्थामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको सुनुवाई सर्वोच्च अदालतमा बिहीबारबाट सुरु भएको छ ।
बिहीबार उनी सर्वोच्च अदालतमा पेसी बुझ्न जाँदा उनीमाथि दलिएको कालोमोसो र त्यसको केही मिनेटभित्रै उनले जारी गरेको विज्ञप्ति र सुनुवाई सम्बन्धी समाचार सबैजसो पत्रिकामा प्रकाशित भए पनि आ–आफ्नै तरिकाले प्रकाशित गरिएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिक, नयाँ पत्रिका दैनिकमा उनीमाथि सर्वोच्च परिसरमा माओवादी कार्यकर्ताले भ्रष्टाचारी भन्दै लगाएको कालोमोसोलाई प्राथमिकता दिँदै समाचार प्रकाशित गरेका छन् ।
‘लोकमान सिंह कार्कीमाथि सर्वोच्चभित्रै दुव्र्यवहार’ नयाँ पत्रिका दैनिकले आफ्नो समाचारको शीर्षक राखेको छ ।
नयाँ पत्रिकाले समाचारको सुरुवात नै कार्कीमाथि अदालत परिसरभित्रै दुुव्र्यवहार भएको भनेर गरेको छ ।
अन्नपूर्ण पोष्टले यही विषयलाई लिएर विशेष सम्पादकीय समेत लेखेको छ । विशेष सम्पादकीयमा भनिएको छ,‘बिहीबार सर्वोच्चमा भएको लज्जाजनक घटना सर्वोच्चको जीवनमा कलंक मानिनेछ, तत्काल त्यहाँ सुरक्षाको प्रत्याभूति सुनिश्चित गरिएन भने ।’
अन्नपूर्ण पोष्टले पनि पहिलो पृष्ठमा प्रकाशित समाचारमा लोकमान सिंह कार्कीलाई कालोमोसो दलेर दुव्र्यवहार गरिएको भन्दै समाचारको सुरुवात गरेको छ ।
तर कान्तिपुर, नागरिक र राजधानीले कार्कीको योग्यतामा बहस सुरु भएको विषयलाई प्राथमिकतामा राख्दै समाचारको सुरुवात गरेका छन् ।
कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेको समाचारमा कार्कीको योग्यताको कानुनी प्रश्नमाथि सर्वोच्च अदालतमा बहस सुरु भएको उल्लेख छ । आजको कान्तिपुरले यो समाचारलाई विशेष स्थान दिएको छ भने कार्कीलाई कालोमोसो दलिएपछि कान्तिपुरका अंगद ढकालले खिचेको तस्बिर पहिलो पृष्ठमा प्रकाशित गरिएको छ ।
आजको राजधानी दैनिकले पनि समाचारको सुरुवात सर्वोच्चमा अन्तिम सुनुवाई सुरु भएको भन्दै समाचार लेखेको छ । राजधानीमा पहिलो पृष्ठमै कार्कीर्लाइ अदालतभित्रै कालोमोसो दलिएको र कार्कीले जारी गरेको अपील सम्बन्धी समाचार पनि प्रकाशित छ ।
नागरिक दैनिकमा कार्कीको योग्यतामा बहस सुरु भनेर दुर्गा दुलाले समाचार लेखेका छन् ।
कार्कीलाई कालोमोसो लगाइएपछिको तस्बिर पनि नागरिक दैनिकले पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।

आफू मातहत शान्तिसेना पठाउन भारतको पहल 
भारतले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लविइङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।
सम्पादकीय 
कान्तिपुर दैनिकले ‘उपकुलपतिको नियुक्ति तत्काल गर’ भन्ने शीर्षकमा सम्पादकीय लेखेको छ । राजनीतिक खिचातानीका कारण काठमाडौं विश्वविद्यालय २५ वर्षपछि पहिलोपटक दुई साता उपकुलपतिबिहीन भएको भन्दै सम्पादकीयमा स्वार्थमुक्त र विश्वविद्यालयको बृहत्तर हित हुने किसिमले तत्काल उपकुलपतिको नियुक्ति गर्न भनिएको छ ।
नागरिक दैनिकले पुनःनिर्माणमा खटिएका प्राविधिकले सामूहिक राजीनामा दिनु गैर जिम्मेवारी भन्दै सम्पादकीय लेखेको छ ।
राजधानी दैनिकले तातोपानी नाका खोल्न पूर्वाधार तयार गर्न भन्दै सरकारको ध्यानाकर्षण गराउँदै सम्पादकीय लेखेको छ ।
अन्नपूर्ण पोष्टले अमानवीय उदासीनता भन्दै सम्पादकीय लेखेको छ । नयाँ पत्रिका दैनिकले जलवायु परिवर्तन र सकर्तता शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ,‘जलवायु परिवर्तनको कारक नेपाल होइन, तर यसका प्रभावबाट सबैभन्दा जोखिममा रहेको देशमध्ये नेपाल पनि एउटा हो ।

यसले स्थानीय इकोसिस्टममा पार्ने प्रभाव त्यहाँका रैथाने बासिन्दाका लागि भयावह हुन सक्छ ।’
गोरखापत्र दैनिकले ‘अनुगमनमा ध्यान जान जरुरी’ भन्ने शीर्षकमा सम्पादकीय लेखेको छ ।

 

स्रोत: १२ खरी

Comments

comments

Leave a Reply

%d bloggers like this: