Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > राजधानीमा छिनछिनमा किन हुन्छ जाम ?

राजधानीमा छिनछिनमा किन हुन्छ जाम ?

काठमाडौः यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. टोकराज पाण्डेलाई १० बजे कार्यालय पुग्न निकै मुस्किल पर्छ । उनी एक घन्टाको समय राखेर कार्यालय हिँड्छन् । पाण्डेमात्र होइन, उपत्यकावासीलाई तोकेको समयमा काम पूरा गर्न कठिन हुन्छ । चोकचोकमा आधा घन्टासम्म जाममा बस्नुपर्ने बाध्यता नै बनिसकेको छ ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार उपत्यकामा नौ लाख ६३ हजार पाँच सय आठवटा गाडी दर्ता छन् । बाहिर दर्ता भई प्रयोगमा आएकासमेत १० लाखभन्दा बढी गाडी यहाँ गुड्छन् । सडकको लम्बाइको तुलनामा सवारीसाधनको संख्या अत्यधिक हुनाले जाम बढी हुने विभागका सूचना अधिकारी पाण्डेले बताए ।

सवारीसाधनको अत्यधिक चाप बढ्नु, सवारीचाप नियन्त्रण गर्न नसक्नु र रुटको व्यवस्थापन नगर्नु नै जामको मुख्य कारक बनेको विभागकै मेकानिकल इन्जिनियर गगन हमालले बताए ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०४६/०४७ देखि २०५४/०५५ सम्ममा दर्ता भएका २० वर्ष पुराना गाडीको संख्या एक लाख पाँच हजार पाँच सय ६२ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना थोत्रा गाडीका कारण प्रदूषण र जाम बढेको भन्दै हटाउन निर्णयसमेत गरेको छ । सडक पूर्वाधारको अवस्था नाजुक हुनु, सवारीसाधन दर्ता, नवीकरण र नामसारीलाई वैज्ञानिक नबनाउनु, पुराना गाडीको व्यवस्थापन गर्न नसक्नु र सडकको क्षमताअनुसार सवारीचापलाई नियन्त्रण गर्न नसक्नु जामको मुख्य कारण भएको हमालले बताए ।

विभागले प्रदूषणयुक्त सवारीसाधनको परीक्षण मापन गर्ने भनी पाँच वर्षअघि स्थापना गरेको सवारीसाधन परीक्षण केन्द्रको जाँच मेसिन काम सञ्चालन नै नगरी थोत्रिएको छ । सार्वजनिक सवारीसाधनको छ महिनामा र अन्यको एक वर्षमा प्रदूषण परीक्षण गरी हरियो स्टिकर टाँस गर्नुपर्छ ।

थोत्रा गाडीले जाममात्र नभएर मानवस्वास्थ्यमा पनि उत्तिकै असर पार्छ । गाडीले अत्यधिक मात्रामा हानिकारक कार्बनडाइअक्साइड, मनोअक्साइड, सल्फरअक्साइड, नाइट्रोजनअक्साइड फाल्ने गरेको डाक्टर प्रवीण मि श्रले बताए ।

सवारी व्यवस्थापनका लागि काम गर्ने गरी स्थापना गरिएको मेसिन तत्काल सञ्चालन गरी प्रदूषित सवारीसाधन हटाएर जाम कम गर्न सकिने व्यवसायी सीताराम सापकोटाले बताए । २० वर्ष पुराना र प्रदूषित गाडी नहटाए जाम दिनानुदिन बढ्ने उनको भनाइ छ । जामकै कारण समयमै काम गर्न नसक्दा सर्वसाधारणदेखि उच्च तहका मानिसको दैनिकी असहज बन्ने गरेको छ ।

उपत्यकामा सबैभन्दा धेरै सात लाख ५२ हजार पाँच सय ८३ वटा मोटरसाइकल र एक लाख ३२ हजार छ सय १५ वटा जिप दर्ता भएका छन् । सडकमा बस, मिनीबस, टेम्पो, माइक्रो र ट्याक्सी छन् भने मालवाहक गाडीमा ट्र्याक्टर, पावरटिलर, पिकअप भ्यान, ट्रक, एम्बुलेन्स र भीआईपीका गाडी गुड्छन् ।

२० वर्ष पुराना गाडी खारेजीका लागि सूचना प्रकाशन गरेको र कार्यविधि बनाउने तयारीमा रहेको विभागका सूचना अधिकारी पाण्डेले बताए । रुटको व्यवस्थापन, गाडीको आयातलाई व्यवस्थित बनाउनेजस्ता कार्यविधिमा समेट्ने तयारी विभागले गरेको छ ।

२०७१ साल फागुन १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक सवारीसाधन, मालवाहक र यात्रुवाहक सवारीसाधन दर्ता र नवीकरणमा २० वर्ष आयु तोक्ने निर्णय गरिसकेको छ ।

लिलाम र नामसारीका लागि २१ दिने सूचना प्रकाशित गर्ने, सूचनाको म्याद सकिएपछि तीन महिनासम्ममा नामसारी गर्ने र त्यसपछि नगर्ने भने पनि कार्यान्वयन फितलो हुँदा जामको सास्ती खेप्नुपरेको छ । बागमतीमा दर्ता र नामसारी भएका ट्याक्सीबाहेकका सवारीसाधनलाई दुई वर्षभित्रमा स्क्र्याप (पत्रु) गर्ने, २० वर्ष पुराना ट्याक्सी दर्ता भएकै अञ्चलमा स्क्र्याप गर्ने, २० वर्ष पुराना पर्यटक गाडीलाई समेत नियमानुसार पत्रु गर्ने राजपत्रमा प्रकाशन गरिएको थियो ।

राज्यले सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियामवली २०५४ असार १२ गते राजपत्रमा प्रकाशित गरेर जारी गरिसकेको छ । २०६६ मा नियमावली तेस्रोपटक संशोधन गर्दा पनि सवारीसाधनको उचित र प्रभावकारी व्यवस्थापन उल्लेख गरिएको छ । नियमावलीको परिच्छेद ६ मा यातायात व्यवस्थापन महल उल्लेख भए पनि सवारीसाधनको नियन्त्रण र पत्रुका विषयमा उल्लेख छैन ।

 

स्रोत: अन्नपूर्ण पोष्ट

Comments

comments

Leave a Reply

%d bloggers like this: