Tuesday, June 27, 2017
Home > नेपाली समाचारहरु > समाचार > सुमनले लेस्लीलाई भनिन्- आऊ प्रिय, म तिमीबिना अधुरो हुन्छु

सुमनले लेस्लीलाई भनिन्- आऊ प्रिय, म तिमीबिना अधुरो हुन्छु

फोटोग्राफरले क्यामराको लेन्स सोझ्याउँदै भने, ‘तपाईंहरूको फोटो लिन्छु हुन्न?’   ‘स्योर,’ सुमन जुरुक्क उठिन्।

सोफामा सँगै बसिरहेकी लेस्ली पनि उठिन्। तर, फोटो खिचाउन अनकनाउँदै सुमनलाई सोधिन्, ‘म पनि खिच्नु र?’   ‘तपाईंहरू दुई जनै सँगै बसेको लिने,’ फोटोग्राफरले भने।   ‘आऊ प्रिय, म तिमीबिना अधुरो हुन्छु,’ सुमनले मुसुक्क हाँस्दै लेस्लीलाई आफूतिर तानिन्।

त्यसै त लजाइरहेकी लेस्लीको अनुहार रगत चुहिएलाझैं रातो भएर आयो। उनी धक मान्दै सुमनछेउ उभिइन्। दुवैले विभिन्न पोजमा फोटो खिचाए। लजाउँदै भए पनि लेस्लीले सुमनलाई साथ दिइन्।   एकछिनको फोटोसेसनपछि दुवै बाहिर निस्किए। कौसीमा एउटा घुम्ने कुर्सी थियो। सुमन थपक्क कुर्सीमा बस्न गइन्। उनलाई त्यस्तो घुम्ने कुर्सी खुबै मन पर्दो रहेछ। सुमनको मनसँग भलिभाँती परिचित लेस्लीले कुर्सी फननन घुमाइदिइन्।   दुवै खित्का छाडेर हाँसे।    र, लामो समयपछि भेटिएका बालसंगीझैं अलि बेरसम्मै कुर्सीसँग खेलिरहे।

सुमन र लेस्लीको जोडी यसैगरी काठमाडौंको खुला आँगनमा सपनाको संसार बुनिरहेको छ। उनीहरूले आफ्नो सम्बन्धको नाम पनि दिएका छन्। जुन नामसँग समाजको नजर के होला भन्ने उनीहरूलाई परवाह छैन। आखिर हृदयको सम्बन्धले अर्काको अनुमोदन कहिले पो खोजेको छ र!   सुमनलाई पछ्याउँदै सात समुद्रपारिबाट नेपाल आएकी लेस्ली पनि सुमनको साथ र यहाँको परिवेशसँग रत्तिसकेकी छन्।

‘यहाँका मान्छे एकदमै राम्रा छन्, सुमनका आफन्त, नेपाल, काठमाडौं, सबै राम्रा छन्, मलाई यी सबै आफ्नै जस्तो लाग्छ,’ लेस्लीले यस्तरी भनिन्, मानौं उनको जिन्दगी सुमनसँग अलग छँदै छैन।   माया भनेको यही हो सायद, आफूले माया गर्ने मान्छेसँग जोडिएका सबै चिजसँग उत्तिकै माया बस्ने!    सुमन र लेस्लीको सम्बन्ध सन् २०१२ मा सुरु भएको हो।   कञ्चनपुरकी सुमन विद्यावारिधि गर्न अमेरिका पुगेकी थिइन्। कुनै प्रोजेक्टमा काम गर्न नेपाल आएकी एक अमेरिकी महिलासँग उनको भेट भयो। सुमनका साथीहरू पनि ती महिलालाई चिन्थे।

एकदिन उनै महिलाले सुमनलाई एउटा पार्टीमा लगिन्। त्यहीँ सुमनको भेट भयो, लेस्लीसँग।   लेस्ली तिनै महिलाकी छोरी रहिछन्।   ‘पहिलोपटक भेट्दा कस्तो राम्री, ओहो भन्ने त लागेको थियो, म केही प्रभावित भएकी पनि थिएँ तर पूरै फसिसकेकी थिइन,’ सुमनले लेस्लीसँगको पहिलो भेट सम्झँदै भनिन्।   एकअर्कासँग हित्तचित्त मिलेपछि उनीहरू छोटो समयमै साथी बने। एकदिन लेस्लीले सुमनलाई ‘डेट’ जाने प्रस्ताव राखिन्। सुमनले पनि आनाकानी गरिनन्।    ‘डेट’ को सिलसिला बढ्दै गयो। उनीहरू झन् झन् घनिष्ठ हुँदै गए।

अनि एकदिन लेस्लीले खुलेरै भनिन्, ‘मसँग बिहे गछ्र्यौ सुमन?’   ‘त्यतिबेला त हुन्छ भनिहालेँ, तर गरिहाल्न चैँ मनले मानेन, आखिर बिहेको कुरा थियो, के हतार गर्नु?’ सुमनले भनिन्।   हुन त त्यसअघि पनि घरमा सुमनको बिहेको कुरा नचलेको होइन। आमाबाबु उनको बिहेलाई लिएर चिन्तित हुन थालिसकेका थिए। यता सुमन भने जति ठूली हुँदै गइन्, उति अलमलमा परिरहन्थिन्। घरिघरि एउटै कुरा सोच्थिन्, ‘म केटालाई मनपराउँछु कि केटीलाई?’   उनलाई केटाहरू देखेर ‘ओहो’ भन्ने कहिल्यै लागेन। केटीहरू नै असाध्यै मनपर्थ्यो।

यो भावना खुलेर अभिव्यक्त गर्न भने सकेकी थिइनन्। उनी आफैंलाई पनि चकचके मनको दशा बुझ्न गाह्रो भइरहेको थियो। मनको तराजुको एउटा पल्लामा केटा हुन्थ्यो, अर्कोमा केटी। मन घरि दायाँ ढल्कन्थ्यो, घरि बायाँ।

यसबीच एउटा केटासँग सम्बन्ध गाँसिए पनि उनी त्यसबाट कहिल्यै खुसी हुन सकिनन्। त्यो केटाभन्दा बरु केटीहरू नै उनलाई मनपथ्र्यो। उनले बल्ल मनको संकेत बुझिन्। र, केटा होइन, केटीसँगै जिन्दगी बिताउने निश्चय गरिन्।

त्यसपछि उनको एउटी केटीसँग सम्बन्ध पनि भयो। तर, उनीहरूको कुरा मिलेन। प्रेमी–प्रेमिकाको विछोड भएझैं उनीहरू एकअर्काबाट टाढिए।   यही घडीमा हो, सुमन विद्यावारिधि गर्न अमेरिका गएको।

अमेरिकामा लेस्लीसँग भेट भएपछि त सुमनलाई आफ्नो अधुरो मन पूर्ण भएजस्तै भयो।   ‘लेस्लीसँग नजिकिएपछि मलाई लाग्यो, हामी एकअर्काकै लागि बनेका हौं,’ सुमनले भनिन्, ‘मैले सजिलै बिहेका लागि हुन्छ भनिदिएको त्यही भएर हो।

उसँग नजिकिएपछि मलाई हामी बिहे गर्नकै लागि बनेका हौं भन्ने ढुक्क भइसकेको थियो।’   लेस्लीलाई त हुन्छ भनिन्, तर घरमा कसरी भन्नु? केही भाइबहिनी र साथीहरूले थाहा पाइसकेका थिए। आमाबालाई भने उनलाई केटी मनपर्छ भन्ने थाहा थिएन।

आमाबालाई आफ्नो मनको कुरा सुनाउन उनलाई सबभन्दा बढी गाह्रो भयो। घुमाउरो पाराले भनिन्, ‘म अलि उच्छृंखल कि के भन्छ रे त्यस्ती छु क्या!’   हुन पनि यो समाजमा आफ्नो मर्जी सुन्ने केटीहरूले उच्छृंखलको ‘ट्याग’ भिर्नुपर्छ। उनी पनि त्यस्तैमा दरिएकी थिइन्।

समाज र परिवारलाई बेवास्ता गर्दै आफ्नो मर्जी सुन्नु र चाहेअनुसार गर्न जति सजिलो छ, अरूलाई बुझाउन त्यत्तिकै गाह्रो।

लेस्लीले बिहेको प्रस्ताव राखेपछि सुमनले बाबालाई इमेल गरिन्– म त केटीसँगै बिहे गर्न चाहन्छु।   इमेलमा कुरा भएकाले उनलाई थाहा छैन, बुबाले त्यो पढेर कस्तो अनुहार बनाए? उनका आँखामा कस्तो भाव आयो? तर, उनले इमेलको जवाफ जसरी लेखे, त्यसले सुमनको मनबाट गह्रौं ढुंगा हटाएजस्तै भयो।   सन् २०१५ डिसेम्बर १८ मा उनीहरूले ‘कोर्ट–म्यारिज’ गरे।

अमेरिकी कानुनमै केटी–केटी या केटा–केटा बिहे गर्न पाउने व्यवस्था छ।   उनले बाबालाई फेरि अर्को इमेल पठाइन्, ‘मैले लेस्लीसँग बिहे गरेँ बाबा।’   परिवारको सहमतिपछि सुमनलाई अरू कसले के भन्लान् कुनै फिक्री भएन।

अमेरिकामा उनीहरूको जिन्दगी सहजै बित्यो। सुमनलाई भने नेपालमै बस्न मन थियो। आफूले चिनेको हावापानीमा जतिसुकै अप्ठेरो भए पनि सजिलै पन्छाउँछु भन्ने लाग्दोरहेछ उनलाई।   ‘जे भए पनि म नेपालमै बस्न सुरक्षित महसुस गर्छु,’ उनले भनिन्, ‘त्यही भएर मैले नेपाल फर्किने निधो गरेको हुँ।’   लेस्लीलाई पनि त अमेरिकै सहज हुँदो हो। तर, उनले पनि सुमनको इच्छा बुझिन्।

उनीहरू सँगै नेपाल फर्किए। लेस्ली ‘पर्यटक’ भिसामा आएकी थिइन्। उनलाई नेपालमै बस्न सजिलै भिसा पाइएला भन्ने सुमनलाई लागेको थिएन। यहाँको समाजमा आफ्नो विवाहले मान्यता पाउन निकै गाह्रो छ भन्ने उनलाई थाहा थियो। तर, समाजसँग लडेर–भिडेर भए पनि यहीँ बस्ने उनीहरूको उद्देश्य थियो।   ‘हामी त भिसा नपाए सर्वोच्च अदालतसम्म जाने योजना बनाएर आएका थियौं,’ उनले भनिन्, ‘नेपालमा समलिंगी विवाहको कानुन छैन। तर, संविधानले हामीलाई मान्यता दिएको छ।

सर्वोच्च अदालत गए हाम्रो हक पाइन्छ भन्ने कुराले मलाई आँट दिलाएको थियो।’   उनीहरूले अध्यागमन विभागमा भिसाको निम्ति आवेदन गरे। सुमनले अध्यागमनमा काम गर्ने एक जना साथीलाई यसबारे पहिल्यै कुरा गरेकी थिइन्। ‘एकैचोटि गएको भए हंगामा हुने थियो। तर, मेरो साथीले पहिल्यै मेराबारे कुरा गरेकाले सहज भयो,’ सुमनले भनिन्।   लेस्लीको सबै कागजपत्र हेरेपछि अध्यागमनका कर्मचारीले सोधे, ‘तिमीहरूमध्ये को श्रीमान हो को श्रीमती?’   उनीहरूले यसरी सोध्नुको कारण थियो।

फारममा श्रीमान, श्रीमती भनेर खुलाउनुपर्ने रहेछ।   जवाफमा सुमनले भनिन्, ‘हामी दुवै श्रीमती हौं।’   उनीहरूका कागजात हेरेपछि कर्मचारीले सजिलै भने, ‘भोलि आएर भिसा लैजानुस्।’   अदालतसम्म जाने तयारीका साथ आएका उनीहरू लेस्लीले ‘डिपेन्डेन्ट भिसा’ पाउने भएपछि फुरुङ्ग हुँदै फर्किए।   तर, भोलिपल्टै उनीहरूलाई पोखरा जानुपर्यो।

उनीहरू ‘हामी पछि आएर भिसा लिन्छौं है’ भन्दै पोखरा गए। अध्यागमनले पनि हुन्छ भनेर उनीहरूको बाटो खोलिदिएको थियो।   यसबीच गृह मन्त्रालयले थाहा पाएर फाइल तानेछ। यो विषयमा मन्त्रालयले अझै निर्णय गरिसकेको छैन।

गृहले अस्वीकार गर्यो भने सर्वोच्च अदालत गुहार्ने सुमनको योजना छ।   ‘सर्वोच्च अदालतले त यसअघि समलिंगीलाई सँगै बस्न दिनुपर्ने गरी फैसला गरेको छ,’ सुमनले भनिन्, ‘कानुन मात्र नबनेको हो, त्यसैले म ढुक्क छु।’

कानुनको झन्झट त छँदै छ, सँगसँगै यहाँको समाजसँगको संघर्ष पनि छ। यो संघर्ष डेराको खोजीबाटै सुरु होला भन्ने उनीहरूलाई लागेको थियो। तर, यसविपरीत कोठा पाउन कुनै गाह्रो नभएको सुमनले सुनाइन्।

भक्तपुरको गोठाटारमा कोठा खोज्न जाँदा उनले घरबेटीलाई भनेकी थिइन् ‘हामी दुई जना केटी बस्ने हो।’   घरबेटीले साथी–साथी ठान्लान् भनेर सुमनले बुझाइदिइन्, ‘हामी साथी मात्र होइनौं, हाम्रो बिहे भैसक्यो।’

उनीहरूले आफ्नो सम्बन्धबारे खुलस्त भन्दा पनि घरबेटीले आपत्ति जनाएनन्।   सुमन र लेस्लीको निम्ति सबभन्दा खुसीको क्षण त्यही थियो।   ‘सरकारले हामीलाई स्विकार्न आनाकानी गरिरहेको छ, तर हाम्रो समाज त सरकारभन्दा धेरै उदार भइसकेछ,’ सुमनले भनिन्।

उनी जहाँ गए पनि लेस्लीलाई ‘जीवनसाथी’ कै रूपमा परिचय गराउँछिन्। कोही कोही अप्ठ्यारो मान्छन्, धेरै त खुसी नै हुन्छन्।   ‘कम्तीमा अब हामीले सँगै बाँच्न अमेरिका फर्कन पर्दैन कि भन्ने लाग्न थालेको छ,’ सुमनले भनिन्।

स्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: