Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > स्वास्थ्य > जाडो महिनामा छालामा के-कस्ता समस्या देखापर्छन् ?

जाडो महिनामा छालामा के-कस्ता समस्या देखापर्छन् ?

जाडो महिनामा छालामा के-कस्ता समस्या देखापर्छन् ?

जाडो महिनामा छाला बढी कोमल हुने भएकाले घाम तथा वातावरणका कारण सुख्खापन देखिन्छ । हातखुट्टाका औंला चिलाउने समस्या पनि धेरैलाई हुन्छ जसलाई चिल ब्लेन भनिन्छ । यसैगरी कतिपयको अनुहारमा सेतो फुस्रो दाग आउने, ओठ फुट्ने, हातखट्टा फुट्ने आदि समस्या देखा पर्छन् ।

जाडो महिनामा नुहाउनु कत्तिको उचित छ ?

जाडो महिना भनेर लामो समयसम्म ननुहाउँदा शरीर चिलाउँछ । जाडो भयो भनेर तातोपानीले नुहाउने चलन छ जुन गलत हो । नियमित रूपमा मनतातो पानीले नुहाउनुपर्छ ।

 

उमेरअनुसार छालामा समस्या देखा पर्छन् ?

उमेरका हिसाबले छालामा समस्या देखापर्छ । बाल्यावस्थामा छालामा खासै समस्या देखा नपरे पनि उमेर वृद्धिसँगै डन्डिफोर तथा दाद आएर अनुहार फुस्रो हुन्छ ।

यो मौसममा खानपानमा कत्तिको ध्यान दिनुपर्छ ?

जाडो मौसममा पानी कम पिइन्छ । जब कि स्वास्थ्यका हिसाबले तातो सुप, पानी बारम्बार पिइरहनुपर्छ । सागपात र फलफूल पनि प्रशस्त खानुपर्छ जुन छालाका लागि पनि लाभदायक हुन्छ ।

जाडोमा छालामा देखिने समस्याबाट छुटकारा प्राप्त गर्न के गर्नुपर्छ ?

जाडो भयो भनेर ननुहाउने पारिपाटी गलत हो । जाडोमा नियमित रूपमा मन तातोपानीले नुहाउनुपर्छ । यसैगरी नुहाइसकेपछि ओइली मोइस्चराइजर लगाउनुपर्छ । सीधै हिटर ताप्नुभन्दा पनि हिटरमाथि पानी राखेर वा अलि टाढै बसेर हिटर ताप्नुपर्छ । चिल ब्लेन भएको छ भने हातखुट्टा चिसो हुन दिनुहुँदैन । हातखुट्टालाई न्यानो बनाउन पन्जा-मोजा आदि लगाउनुपर्छ । यसैगरी ओठ फुट्न नदिन लिप बाम लगाउनुपर्छ ।

 

इन्टेरियर

तेजिता अमात्य वैद्य, इन्टेरियर डिजाइनर

इन्टेरियर डिजाइन गर्दा के-कस्ता कुरामा ध्यान दिनुपर्छ ?

स्पेस म्यानेजमेन्ट राम्रोसँग गर्ने, हेर्दा राम्रो, बस्दा सजिलो, मेन्टेन गर्न सजिलो तथा लामो समय टिक्ने हिसाबले योजना बनाउनुपर्छ । स्पेस हेरेपछि लाइट, फर्निचर, फर्निसिङ (पर्दा, कार्पेट) आदिको कलर तथा मटेरियल छनोट गर्नुपर्छ ।

इन्टेरियर राम्रो देखिनमा लाइटको कस्तो भूमिका हुन्छ ?

इन्टेरियरमा लाइटकै मुख्य भूमिका हुन्छ । लाइटलाई ठीक ठाउँमा राखिएन भने जति राम्रो डिजाइन पनि फिक्का हुन्छ ।

लाइट कति प्रकारका हुन्छन् र ती लाइटको काम कस्तो हुन्छ ?

लाइट ३ प्रकारका हुन्छन् । जेनरल लाइटिङ, टास्क लाइटिङ तथा एसेन्ट लाइटिङ । जेनरल लाइटले कुनै पनि एरियालाई एक लेबलसम्मको उज्यालो दिने काम गर्छ । टास्क लाइटले कुनै पनि कामलाई हाइलाइट गर्छ भने एसेन्सले फोकस गर्छ ।

टास्क लाइटिङले कस्तो हाइलाइट गर्छ ?

बाथरुमको सिलिङमा मिररको माथि टास्क लाइट राख्नुपर्छ । स्टडी टेबुलमा, किचेनको कटिङ टेबुलमा राखिने लाइटले कामलाई हाइलाइट गर्ने काम गर्छ ।

एसेन्ट लाइटिङको काम के हो ?

यो लाइटको मुख्य काम पेन्टिङ आदिलाई फोकस गर्नु हो । यो लाइट बढी उज्यालो हुने भएकाले आँखामा नपर्ने गरी राख्नुपर्छ । यो लाइटको ग्लेयर आँखामा पर्नु हुँदैन । जेमा फोकस गर्ने हो त्यसमा मात्र फोकस हुनुपर्छ ।

स्पेस हेरेर लाइटको एरेन्ज कसरी गर्ने ?

एरिया हेरेर क्याल्कुलेट गर्ने, फर्निचर तथा मान्छे कत्तिको हुन्छन् त्यसअनुसार लाइट राख्नुपर्छ । भर्‍याङमा भुइँतिर लाइट दिने । अफिसमा सेतो लाइट तथा बेडरुममा इन्सेन्ट एल्लो लाइट दिनुपर्छ । बिजुली जोगाउन लिड चिम राख्नुपर्छ ।

इन्टेरियर डिजाइनरका हिसाबमा लाइट फिक्सरलाई कसरी म्यानेज गर्ने ?

अहिले धेरैले हिडेन लाइट मन पराउँछन्, डोमो लाइट सिलिङमा राख्ने । यो सिसा तथा मेटल दुवैको हुन्छ । त्यसको सेटमा वाल लाइट, हिडेन लाइटका लागि रोप लाइट, फल्स सिलिङका लागि कोनसिल लाइट चलाउन सकिन्छ । लाइटको फिक्सरलाई आफ्नो कोठाको थिमअनुसार राख्नुपर्छ । अहिले पेपर ल्याम्प पनि लोकप्रिय छ ।

 

सौन्दर्य

पवी गुरुङ, इब्ज कोरियन स्किन केयर एण्ड क्लिनिक

राति सुत्ने बेलामा कसरी मेकअप सफा गर्ने ?

राति सुत्नुभन्दा पहिले राम्रोसँग मेकअप सफा गर्नुपर्छ । अनुहारको मेकअपका कारण छालामा राम्रोसँग हावा संचार हुन पाउँदैन । रातभरिको मेकअपले अनुहार ओइलाएजस्तो देखिन्छ । मेकअप उतार्दा अनुहारको छाला नोक्सानीबाट जोगिन्छ । मेकअप उतार्नुभन्दा पहिले मेकअप रिमुभर लोसन प्रयोग गर्नुपर्छ । कटन बलमा मेकअप रिमुभर लोसन लगाएर अनुहारको मेकअप हटाउनुपर्छ । मेकअप हटाउन नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । मेकअप उतारेपछि अनुहारमा कोल्ड क्रिम लगाउनुपर्छ ।

सुत्नुअघि नुहाउनु आवश्यक छ ?

स्वस्थ रहन राति नुहाउनु आवश्यक छ । राति नुहाउँदा शरीरमा रहेको फोहोर सफा हुन्छ अनि छालामा भएका रोमछिद्र खुल्छन् । त्यसपछि शरीरको छाला स्वस्थ एवं चम्किलो हुन्छ ।

सुत्नुअघि अनुहारमा के-कस्तो उपचार गर्नुपर्छ ?

सुत्नुअघि अनुहार सफा राख्नु आवश्यक छ । सुत्नुअघि अनुहार सफा गर्दा छाला सफा तथा चम्किलो हुन्छ । अनुहारको फोहोर सफा गर्न अनुहार धोएर क्लिजिङ, ट्रोनिङ तथा मोस्चराइजिङ गर्नुपर्छ ।

राति अनुहार सफा गर्दा साबुनको प्रयोग कति उपयोगी छ ?

राति अनुहार सफा गर्न साबुन होइन राम्रो ब्रान्डको फेसवास प्रयोग गर्नुपर्छ । साबुनले छाला रुखो बनाउँछ । फेसवासले अनुहारको छालालाई नरम राख्छ । राम्रो परिणामका लागि आफ्नो छालाअनुरूप फेसवास छनोट गर्नुपर्छ ।

शरीरको छालाका लागि के प्रयोग गर्नुपर्छ ?

शरीरका लागि बडिलोसन प्रयोग गर्नुपर्छ । लोसन लगाउँदा हलुका हातले हातखुट्टामा मालिस गर्नुपर्छ । लोसन शरीरको भित्री भागसम्म पुगे छाला कोमल हुन्छ । यसले छालालाई चाउरीपनबाट छुटकारा दिलाउँछ । मौसम तथा छालाको प्रकृति हेरी लोसन लगाउनुपर्छ ।

फेसवास दिउँसो भन्दा राति लगाउँदा प्रभावकारी हुन्छ किन ?

फेसवासको शतप्रतिशत प्रभाव प्राप्त गर्नु छ भने राति प्रयोग गर्नुपर्छ । फेसवासले अनुहारमा भएको फोहोर हटाउँछ तथा रातभरमा त्यसको पोषणलाई छालाले सोस्न पाउँछ । फेसवासले राति ताजा अनुभव गराउँछ भने अनुहार पनि चम्किलो हुन्छ ।

केशको हेरचाह कसरी गर्न सकिन्छ ?

बलियो तथा चम्किलो केशका लागि दिनहुँ सुत्नुभन्दा पहिले काइँयोले कोर्नुपर्छ । कोर्दा केशको धूलो-मैलो निस्कनुका साथै केशको जरा पनि बलियो हुन्छ । राति सुत्नुभन्दा पहिले केशमा तेल पनि लगाउन सकिन्छ ।

राति सुत्दा कस्तो घरायसी प्याक लगाउनु उपयुक्त हुन्छ ?

राति चन्दन पाउडरमा केही गुलाब जल मिसाएर लगाउन सकिन्छ । बदामको पेस्ट दूधमा मिसाएर अनुहारमा दल्नुपर्छ । पछि त्यसलाई मनतातो पानीले धुनुपर्छ । बेसनमा बेसारको पाउडर मिसाएर अनुहारमा लगाई सुकेपछि सफा पानीले पखाल्नुपर्छ । सुत्नुभन्दा पहिले अनुहारमा मुल्तानी माटोको लेप पनि लगाउन सकिन्छ ।

 

स्वास्थ्य

डा. विष्णु शर्मा, वरिष्ठ नाक, कान एवं घाँटी रोग विशेषज्ञ

लुम्बिनी अञ्चल अस्पताल, बुटवल

कानमा कसरी संक्रमण हुन्छ ?

नाकको पछाडितिर रहेको तालुमाथि कान र नाकलाई जोड्ने नली हुन्छ । जसलाई स्टाचियन ट्युब भनिन्छ । उक्त ट्युबले मध्यकान र नाकलाई जोडेको हुन्छ । यही नलीबाट कीटाणु शरीरभित्र प्रवेश गर्छन् र कान संक्रमित हुन्छ । रुघाखोकीका कारण  पनि संक्रमण हुन्छ ।

कुन उमेर समूहका मानिसमा यो रोगको संक्रमण बढी हुन्छ ?

विशेषगरी १ वर्षदेखि १५ वर्षमुनिका बालबालिकामा यो रोगको संक्रमण बढी हुन्छ । कारण बालबालिकाले कति खाने भन्ने कुरा अनुमान गर्न सक्दैनन् । बालबालिकाले आमाको दूधलगायतका खानेकुराहरू बढी खाँदा बान्ता गर्ने भएकाले बान्तामा हुने कीटाणु नाकको नलीमार्फत मध्यकानसम्म पुग्छन् । यो सानो उमेरका बालबालिकामा बढी हुन्छ । यदाकदा युवा तथा वृद्धवृद्धाहरू पनि कानको रोगबाट पीडित हुन्छन् ।

संक्रमित कानको उपचारका उपायहरू के हुन् ?

सामान्यतया शिशुहरूको कान वर्षमा एकपटक परीक्षण गराउनुपर्छ । कानमा कुनै फोहोर भए पनि पत्ता लगाउन सकिँदैन । त्यसैले चिकित्सककहाँ गएर देखाउनु जरुरी हुन्छ । समयमै कानको संक्रमणमा ध्यान दिइएन भने बिस्तारै त्यसले जटिलता निम्त्याउने भएकाले कान नसुन्ने, बहिरोपन ल्याउने एवं दिमागका नसाहरूमा असर पुर्‍याई मुख बाङ्गएिर मृत्युको मुखसम्म पुर्‍याउने हुन्छ । त्यसैले रोग लागेको थाहा हुनासाथ तुरुन्त चिकित्सककहाँ गएर उपचार गराउनुपर्छ ।

कानका रोगीहरूले के-कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

मुख्यतया कानमा  तेल तथा तुलसीको पातको झोल हाल्ने हाम्रो परम्परागत चलन छ । त्यसले कानको संक्रमण बढाउने भएकाले कहिल्यै कानमा त्यस्ता वस्तु हाल्नु हुँदैन । बेलाबेलामा कान जँचाइरहनुपर्छ ।

 

स्रोत: नारी

Comments

comments

Leave a Reply

%d bloggers like this: