Saturday, December 16, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > ‘भैय्या छिटो आउ, यसलाई लैजाउ’

‘भैय्या छिटो आउ, यसलाई लैजाउ’

हाम्रोतिर बच्चालाई त्रास देखाउन भूत र पुलिस शब्द प्रयोग गरिन्छ, तर उपत्यकामा ‘भैय्या’

 

माघ १०, २०७३- गएको आइतवार म आफ्नै घरको बार्दलीमा घाम तापेर पत्रिका पढिरहेको थिएँ । त्यही बेला मेरी श्रीमती पनि बार्दलीमा आइपुगिन् । नजिकै छिमेकीको घरमा बहालमा बस्ने एउटी बहिनी पनि आफ्नी सानी छोरीसंगै उताको बार्दलीमा घाम तापेर बसिरहेकी थिइन् । ती सानी बालिका (उमेर अन्दाजी ३ वर्ष) ले मेरी पत्निलाई उतैबाट संधै सम्बोधन गर्ने शब्द, ‘आमा’ को सट्टा आज ‘माथि आमा’ भनिन् ।

‘माथि आमा’, यो शब्द उनको विवेकले अविष्कार गरेको होला, यसमा मौलिकता छ । ती अबोध बालिकाले यो शब्द किन रोजेकी होलान् हामीले छलफल गर्यौं । उनीहरुको बार्दली हाम्रोभन्दा तल छ, त्यसैले होला ती बालिकाले यसो भनेको । ठ्याक्कै यही कारण हो, भन्न नसकिएपछि अनुमान न हो ।

ती बालिकाको यो शब्द सुनेर मेरी पत्नि जोर–जोरले हाँसिन् । केही बेर ती अबोध, माया लाग्दो र ‘तिक्ष्ण माइन्ड’ भएकी बालिकासंग संवाद गरेपछि उनी भाञ्छातिर छिरिन् । म त्यही घाम तापिरहेको थिएँ । खासमा म चियाको प्रतिक्षामा थिएँ । बिहान दूध चिया नभई हुँदैन ।

यही बेला अघि उल्लेख गरिएको बहिनीको मुखबाट निस्केको एउटा बाक्यले मेरो ध्यान तान्यो । उनी भन्दै थिइन्, ‘ऐ भैय्या छिटो आउ त ।’ उनकी सानी छोरीले कोठामा केही बदमासी गरेकाले उनलाई तर्सान यसो भनिएको कुरामा म दुविधामा रहिन । यद्यपी अघि भरखर मात्र हामीसंगै बोली रहेको सानी नानीलाई तर्साउन ‘भैय्या’ शब्दको प्रयोगले मेरो दिमागलाई घुमाई रह्यो ।

हुन त, कीर्तिपुरमा बसोबास गरेको करिव १३ बर्षमा यस्ता वाक्यहरु बारम्बार नसुनिएको होइन । कीर्तिपुरमा बस्ने बेलातिर कोही बच्चाले केही बद्मासी गरेपछि ‘ए मर्सिया छिटो आउ’ भन्ने गरेको बारम्बार सुनिन्थ्यो । मर्सियाको प्रयोग कीर्तिपुरेहरुले आफ्ना साना बालबालिकाले बदमासी गरेपछि डराउनका लागि गर्ने गरेको मैले देख्दै आएको थिएँ ।

तराई–मधेसतिर बालबालिकाले बदमासी गरे अभिभावकहरुले तिनीहरुलाई डराउन ‘पुलिस’ वा ‘भूत’ शब्दलाई यसरी नै प्रयोग गरिने गर्दछ । त्यता ‘ए पुलिस आउ यिनलाई (बदमासी गर्ने बालबालिका) लाई समातेर लैजाउ’ भन्ने चलन छ । त्यस्तै, ‘भूत आयो’ भनेर डराईन्छ । उपत्यकामा भने अलिक फरक महसुस भइरहेको छ । सायद अरु स्थानमा पनि फरक होला । बाल बच्चाहरुलाई डर देखाउनु ठीक होइन । दुवै विधिले बालमनोविज्ञानमा नकारात्मक प्रभाव पार्छ । एउटाले सिंगो समुदाय र अर्कोले जनसेवामा लाग्ने प्रहरीप्रति नकारात्मक सोचको विकास गराउँछ । भनिन्छ, बाल्यकालमा परेको छाप अमिट हुन्छ । त्यस्तै यस्तो कार्यलाई बन्द गरिनु पर्दछ ।

दोस्रो जनआन्दोलन र मधेस विद्रोहअघि ‘मधेस’ शब्द सुनेपछि धेरैलाई झनक्क रीस उठ्थ्यो । पछि–पछि ‘मधेस’ र ‘मधेसी’ शब्द प्रयोगमा आयो । यसप्रति सामिप्यता पनि बढ्दै गयो । तर, विस्तारै प्रिय बनिसकेको ‘मधेसी’ शब्द एकाएक थाहै नपाई ‘भैय्या’ मा परिणत भइसकेछ । अब, परिचय एकाएक फेरिएको छ । ‘मधेसी’ को ठाउामा म र म जस्ताहरु ‘भैय्या’ बनिसकेको रहेछु ।

अहिले आएर ‘चाचा जी’ र ‘काका जी’ मा मलाई सम्बोधन गरिन थालेको छ । यो मेरो उमेरको कारणले हो या आन्दोलनको कारणले हो, त्यो थाहा भएन । तर, ‘भैय्या’ सम्बोधनले पनि रीस उठ्छ । अझ आफूलाई जवानै ठान्ने मैले ‘चाचाजी’ बाट कसैले सम्बोधन गर्ने कुरो कसरी स्वीकार्नु ? तराई–मधेसका धेरैलाई यी शब्दहरुबाट हुने सम्बोधन अप्रिय लाग्ने गरेकै छ । विशेष गरेर सार्वजनिक सवारी साधनमा काम गर्ने सहयोगी भाईहरुबाट भने यो सम्बोधन संधै मैले झेल्दै आएको छु । एक पटक त कलंकीबाट सीतापाइला जाने एउटा माइक्रोबसमा रहेका सहयोगी भाईले ‘दादाजी’ अर्थात् ‘हजुरबा’ भन्न समेत भ्याए ।

कुरा कीर्तिपुरकैमा फर्कौं । मैले कीर्तिपुरमा एउटी आमालाई सोधे, ‘तपाईहरु बच्चा तर्साउन किन ‘मर्सिया’ बोलाउनु हुन्छ? उनको जवाफ थियो, ‘मनु मखु मर्सिया ।’ मैले त्यसबेला अर्थ बुझिन र सोधें । यसको अर्थ ‘मरेको मधिसे पनि उठ्छ रे ।’ म अवाक भएँ । केहीबेर ती आमालाई ट्वाल्ल हेरिरहें । बोझिलो मन लिएर नयाँ बजारस्थित कोठामा फर्केको थिएँ ।

कीर्तिपुर छाडेको झण्डै १० वर्षपछि त्यस्तैखाले अनुभूतिले फेरी आफ्नै घरमा गाँज्यो । छिमेकमा भाडामा बस्ने बहिनीले आफ्नी सानी छोरी तर्साउन ‘भैय्या’ बोलाए । यो कसैको लहड वा सनकमा निस्केको बोली वा शब्द होइन । यो त हाम्रो समाज र प्रणालीले कुनै समुदायप्रति लक्षित गरेर विकास गरिदिएको धारणा हो । यो वातावरणमा हुर्कने बालबालिकाहरुमा ‘भैय्या’ भनिएका समुदायप्रतिको भावना कस्तो रहला? नेपाली भाषा बोल्दा पनि सम्बोधनमा भने अन्य भाषाका (जस्तै : भैया) को प्रयोगले अन्जानमा अर्को समुदायलाई होइच्याउने काम हुनसक्छ । नेपाली शब्दकोष या जनजिब्रोमा नभएको शब्दले कसैलाई पोल्छ र त्यही शब्दको प्रयोग कसैले गर्छ भने त्यो एक प्रकारको विभेद पनि हो । नेपालीमै दाई, दाजु, दिदी , आमा….भन्न सक्छौं । भैया, धोति, चाचाजी, दादाजी जस्ता शब्दको प्रयोगले हाम्रा बालबालिकामा अर्कौ खालको मनोविज्ञान विकास गर्दछ ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: