Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > यमबुद्ध सामान्य कारणले मर्ने मान्छे होइन : लाउरे

यमबुद्ध सामान्य कारणले मर्ने मान्छे होइन : लाउरे

अप्रत्याशित रूपमा नेपाली र्‍यापर यमबुद्धको मृत्युको खबर चारैतर्फ फैलियो । नेपाली –याप संगीतको क्षेत्रमा आफूलाई स्थापित बनाएर लाखौं श्रोताको मन जितेका यमबुद्ध (अनिल अधिकारी) युवापुस्तामाझ मात्र चर्चित छैनन् । उनलाई नजिकबाट चिन्ने साथी तथा र्‍यापरहरूमाझ पनि उत्तिकै प्यारा थिए ।

काठमाडौंमा र्‍यापरहरू नेपाली र्‍यापको प्रवर्द्धन गर्न ब्याटल समेत गर्न थालेका थिए । र्‍याप ब्याटल गर्ने ‘र वार्ज’ को समूहका एक सदस्य यमबुद्ध पनि थिए ।

उनले ‘साथी’ बोलको गीत रिलिज गरेपछि नेपाली र्‍याप ब्याण्डमा नयाँ प्रयोग पनि गरे । र्‍याप गीत भन्नेबित्तिकै गीतको बीचमा थोरै गीत गाउने भन्ने थियो । उनले ‘साथी’ गीतमार्फत सन्देशमूलक र पृथक् गीत गाउने प्रयास समेत गरे । उनको यो प्रयासको खुलेर प्रशंसा गर्छन् अर्का र्‍यापर लाउरेले ।

‘साथी’ गीतमा यमबुद्ध यसो भन्छन्ः

नहाैंला सँगै आज तँ र म
तर तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौ कहिले
तर साथी निकै एक्लै छु अहिले

अत्यन्तै मिलनसार, उदार, मृदुभाषी स्वभावका यमबुद्धसँग पोखराका लाउरे (आशिष राना) ले लामो संगत गरेका छन् । त्यसो त उनका प्राय सबै र्‍यापरसँग राम्रो सम्बन्ध थियो । नेपाली र्‍याप क्षेत्रको चिन्ता लिने यमबुद्धले राम्रा गीत बनाउनका लागि अरू –यापरलाई पनि हौसला दिने गर्थे । ‘ऊ धेरै सपना बोक्ने मान्छे हो ।’ लाउरे भन्छन्, ‘उसको जोश सबैका लागि प्रेरणा थियो ।’

यमबुद्ध नेपाली र्‍यापरलाई मिडियाले कम महत्व दिएकोमा पनि गुनासो पोख्थे साथीभाइसँग । विभिन्न कार्यक्रममा अरू विधामा अवार्ड छुट्याए पनि नेपाली र्‍याप क्षेत्रका लागि कुनै पनि अवार्डको विधामा स्थान नदिएको उनको गुनासो रहन्थ्यो भन्छन् लाउरे । हामी र्‍यापरहरूले राम्रो गर्न नसकेकोले हो कि भन्ने पनि उनलाई लाग्थ्यो ।

अर्का पप गायक सबिन राई यमबुद्धले नेपाली र्‍याप इतिहासमा नै एउटा नाम राख्न सफल भएको बताउँछन् । ‘ब्याटललाई नेपालमा स्थापित बनाउन उनको ठूलो हात छ,’ राई भन्छन् ।

लाउरेलाई यमबुद्धको मृत्युको समाचारले भावविह्वल मात्र बनाएको छैन, र्‍याप मन पराउने एउटा र्‍यापर पनि गुमाएको छ । यमबुद्धसँग लाउरेको भेट सन् २०१२ मा –याप ब्याटलमार्फत नै भएको थियो ।

शनिवार साँझ पोखरा महोत्सवका लागि लाउरेले प्रस्तुति दिनुपर्ने थियो । स्टेजमा गएर प्रस्तुति दिनुअगाडि नै साथीको माध्यमबाट यमबुद्धको मृत्यु भएको खबर आयो । यो समाचार झुट होस् भन्ने प्राथना गर्दै उनी स्टेज चढे । स्टेजमा कसरी गीत गाए भन्ने पनि थाहा छैन । उनी दुःखी हुँदै भन्छन्, ‘त्यसबेला कस्तो फील हुन्छ भन्ने मैले व्यक्त गर्न सक्दिनँ, त्यो समाचार फेक होस् र नेपाल आएपछि उसलाई थर्काउन पाइयोस् भनेर प्राथना गरिरहें ।’

लाउरेसँग पछिल्लो भेट नेपालगञ्जमा कन्सर्ट गर्दा भएको थियो । उनीहरू मिल्ने साथी थिए । ब्याटलका कुराबाहेक पारिवारिक कुरा पनि भइरहन्थे दुईबीच । ‘कन्सर्ट सकिएपछि हामी राति अबेरसम्म कुरा ग–यौं । समय कम भएकाले अर्को दिन ऊ काठमाडौं फर्क्यो, म पोखरा ।’ उनी थप्छन्, ‘भेट हुने योजना बनाउँदा बनाउँदै भेट्न पाइएको थिएन । अब नहुने भो ।’

यमबुद्ध र लाउरेले देश तथा विदेशका थुप्रै कार्यक्रममा सँगै काम गरे । फेसबूकका माध्यमबाट उनीहरूको कुरा भइरहन्थ्यो । केही समयदेखि लण्डनमा बस्दै आएका यमबुद्धसँग लण्डनमा भेट हुने योजना पनि थियो ।
‘ब्रो, लण्डन आएर भेट ल । म नयाँ एल्बमको लागि काम गर्दैछु । तिमीसँग मिलेर सँगै एउटा एल्बम गर्नुपर्छ,’ यमबुद्धसँगको फोनवार्तामा भएको कुराकानी सुनाउँदै लाउरे भन्छन्, ‘हामीले सँगै एल्बम गर्ने भनेका थियौं । त्यो सपना पूरा भएन ।’

कहिलेकाहीँ कलाकार आफू सधैं चर्चामा आउन नसक्दा डिप्रेसनमा गएपनि यमबुद्ध सामान्य कारणले मर्ने मान्छे नभएको बताउँछन्, लाउरे । ‘कतिपटक त म डिप्रेसनमा हुँदा उसले सम्झाउने गरेको थियो’, लाउरे भन्छन्, ‘ऊ सामान्य कारणले मर्ने मान्छे होइन ।’

अर्का र्‍यापर किरण श्रेष्ठले फेसबूकमा स्टाटस यमबुद्धको खबरले आफूलाई मर्माहत गरेको बताएका छन् । ‘दाइ, म बुद्ध,’ यमबुद्धले आफूलाई पहिलो भेटमा भनेको भन्दै भन्छन्, ‘उसले र्‍याप क्षेत्रको विकासका लागि फरक–फरक आइडियाहरू ल्याउँथ्यो । मैले उसलाई योजनासहितको मान्छे भन्न रुचाउँछु ।’

 

स्रोत: लोकान्तर

Comments

comments

Leave a Reply

%d bloggers like this: