Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > अब यस्तो बन्नेछ बाग्मती !

अब यस्तो बन्नेछ बाग्मती !

नदीको किनारबाट सभ्यताको विकास भएको मानिन्छ । मिश्रको सभ्यता नाइलनदी, सिन्धुभाषीको सिन्धुनदीको किनारमा आआफ्नो सभ्यता विकास भएको जस्तै नेपालको सभ्यता पनि वाग्मती नदीको किनारबाट भएको मानिन्छ । त्यसैले वाग्मतीसँग मानव सभ्यता पनि जोडिएको छ ।

स्वयम्भू पुराणमा वाग्मतीको वर्णन गरिएको छ । वाग्मती नदीको महिमा वराह पुराणमा पनि उल्लेख गरिएको छ । वाग्मती नदीलाई गङ्गा नदीभन्दा सय गुणा पवित्र मानिन्छ । वाग्मतीलाई महानदीमा गणना गर्ने भएकोले शास्त्रअनुसार महानदीमा वर्षामा नुहाउँदा पनि दोष लाग्दैन ।

वर्षामा नदी रजस्वला हुने भएकाले अरु नदीमा नुहाउनु हुँदैन भनेर शास्त्रले भनिएको छ । त्यसकारण महानदीमा नुहाउन शास्त्रले बन्देज गरेको छैन । यहाँको जल पिउनाले पढ्न आउने, सद्बुद्धि आउने भन्ने विश्वास गरिन्छ । तर यहाँको पानी झण्डै तीन दशकअघिदेखि छुन त के नदीको गन्धले समेत जोकोही बिरामी हुने निश्चित छ । कुनै समय सफा, स्वच्छ, हराभरा र पिउनसमेत योग्य रहेको यो पानी आखिर किन यस्तो भयो त ?

कारण यस्तो छः
काठमाडौँ उपत्यकाभित्र वाग्मती र यसका सहायक नदीहरुलाई स्वच्छ, सफा तथा हराभरा बनाउने उद्देश्यले काम गरिरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकार भन्छन् :
– अप्रशोधित ढल सीधै नदीमा मिसाउनाले ।
– नदी किनारमा ठोस फोहोर थुपार्नाले ।
– मुहानमा पानी घट्दै जानाले पनि वाग्मतीमा बग्ने पानीको बहावको मात्रा कम हुँदै जानाले ।
– नदी अतिक्रमणमा परी नदीको भाग साँघुरो हुनाले ।

नदीलाई स्वच्छ, सफा, हराभरा र जीवन्त नदी प्रणाली कायम गर्न के कस्ता प्रयास गर्दै छ त ? मृततुल्य वाग्मतीलाई जीवित बनाउने विभिन्न निकायले विभिन्न अभियान चलाइराखेका पनि छन् । प्रगति कहाँ पुग्यो त ? समितिका वरिष्ठ इन्जिनियर प्रभात श्रेष्ठ भन्छन्, ‘अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समिति, जल तथा ऊर्जा आयोग र सिंचाइ विभागले सहरी विकास मन्त्रालय मातहतमा रहेर वाग्मतीलाई स्वच्छ, सफा, हराभरा र जीवन्त नदी प्रणाली कायम गराउने काम गरिरहको छ ।’

कसको काममा कति प्रगति ?

समितिका बरिष्ठ इन्जिनियर श्रेष्ठका अनुसार जल तथा ऊर्जा आयोगले नीतिगत सुधार, नदी जलाधार संस्था गठन, नदीको तटीय क्षेत्रमा बाढी पूर्वानुमान तथा सचेत सूचना प्रणालीको स्थापना, नदी तटीय विकास गुरुयोजना बनाउने लगायतका काम गर्दछ ।

ऊर्जा आयोगको काममा प्रगतिः

– नीतिगत सुधारमा सुझाव दिएको ।
– नदी जलाधार संस्था गठनका लागि गृहकार्य गरिरहेको ।
– नदीको तटीय क्षेत्रमा बाढी पूर्वानुमान तथा सचेत सूचना प्रणालीको स्थापनाका लागि सर्बे भइरहेको, सफ्टवेयर बनाइसकेको, कर्मचारीलाई तालिम भइरहेको । तयार हुन अझै १ वर्ष लाग्ने ।

त्यस्तै वाग्मती नदीमा पानीको बहावको मात्रा कम छ । सिंचाइ विभागले नदीमा पानीको बहावको मात्रालाई बढाउनका लागि ड्याम बनाउने, जसमा वर्षाको पानी जम्मा हुने र नदीलाई आवश्यक पानीको बहावको मात्रालाई बढाउन सहयोग गर्द छ । यसको मद्दतले सुख्खा याममा पनि उही बहावमा पानी बग्न पाउँछ । त्यसका लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गर्दछ ।

विभागको काममा प्रगतिः

– मुहान क्षेत्र (धाप) मा सानो (२४ मि अग्लो, सुख्खा याममा ४० लिटर प्रतिसेकेन्डका दरले बग्ने) र नागमती वाग्मती (शिवपुरी वन्य जन्तु आरक्षण) भित्र ठूलो (९०–१०० मि अग्लो, ४ सय लिटर प्रतिसेकेन्डको दरले बग्ने) गरी २ ओटा ड्यामको परिकल्पना गरेको छ ।

– अस्ट्रेलियन कन्सल्टेन्सी एन्टोरा र नेपाली कन्सल्टेन्सी टोटल म्यानेजमेन्ट सर्भिसले सम्भाव्यता अध्ययन सकेर विस्तृत अध्ययन प्रतिवेदनका लागि काम गरिरहेको छ । आगामी असार मसान्तभित्र प्रतिवेदन तयार पारिसक्नेछ ।

– धाप क्षेत्रको सानो ड्याम यही आर्थिक वर्षभित्रसम्पन्न गर्न चाइनिज कम्पनी लामा, रमण र गोन्जाउ ज्वाइन्ट भेन्चरले ठेक्का पाइसकेको छ । यसले डिजाइन र निर्माण दुवै काम गर्दछ ।

निर्माण हुन लागेका यी ड्याममार्फत ८ लाख ५० हजार घन मिटर पानी सङ्कलन गरेर सुख्खायाममा ४०० लिटर प्रतिसेकेन्ड नदीमा छोड्निेछ । ड्याम निर्माणका लागि एसियाली विकास बैङ्कले करिब ५२ करोड रुपियाँ सहयोग गरेको छ । उक्त संरचना निर्माण लागि शिवपुरी वन्यजन्तु आरक्षका करिब २८ सय रुख कटान गुर्नपर्ने भएकाले केही ढिलाइ भएको जनाएको छ ।

अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गतका वाग्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना र वाग्मती सुधार आयोजनाले भने नदी किनारको दुवै पट्टि ढल निर्माण गर्ने, दुवै किनारमा १४/१४ किमि लामो पर्खाल निर्माण, २५ सय घरधुरीलाई आकाशे पानी सङ्कलन प्रविधि जडान,नदी नियन्त्रण, धार परिवर्तन कार्य गर्ने, बाटो निर्माण कार्य गर्ने, हरियाली क्षेत्र विकास कार्य तथा नदीको वातावरणीय सुधार कार्य, ढल प्रशोधन कार्य गर्दछ । त्यस्तै समितिले वाग्मतीका सहायक नदीहरु नख्खु, काड्कु, हनुमन्ते, मनोहरा, धोवीघाट, विष्णुमती र बल्खु खोलामा पनि काम गरिरहेको छ ।

सुन्दरीजलदेखि सुन्दरीघाट चोभारसम्म वाग्मती नदीको लम्बाइ साढे २८ किमि (उपत्यका भित्र) छ । समितिले गोकर्ण–गुह्येश्वरी, सुन्दरीजल–गोकर्ण, तिलगङ्गा–मनोहरा दोभान र मनोहरा दोभान–सुन्दरीघाट चोभार गरी चार खण्डमा विभाजन गरेर वाग्मतीलाई पुनर्जीवित गर्ने काम गरिरहेको छ ।

समिति मातहत हुने यी कार्य गर्नका लागि ३६ मिलियन यूएस डलर खर्चिने अनुमान गरिएको छ । एडीबीको ४.५ मिलियन अनुदान र २५.५ मिलियन सहुलियत ऋणसहित ३० मिलियन र नेपाल सरकारले ६ मिलियन सहयोग हुनेछ । वाग्मती नदीको सम्पूर्ण कार्यप्रगति ३० प्रतिशत सम्पन्न भइसकेकोले अबको पाँचदेखि ७ वर्षको बीचमा वाग्मती नदीमा स्वच्छ नीलो पानी बग्ने सम्भावना छ ।

समिति मातहतका काममा प्रगतिः

– धार परिवर्तन गर्ने कार्यः सुन्दरीजल गोकर्णखण्ड ८.५ किमि सम्पन्न ।
– ढल बिछ्याउने कार्यः ४१.६४ कि.मि. सम्पन्न ।
– बौद्ध–मित्रपार्क–जोरपाटी क्षेत्र ढल सुधार १२ किमि सम्पन्न
– गोकर्ण–गुहेश्वरी–तिलगङ्गा–शङ्खमुल–बल्खु–सुन्दरीघाट खण्ड–वाग्मती नदीको दुवै किनारामा २०.३५ किमिसम्पन्न
– धोवीखोला करिडोर गोपीकृष्ण कुमारीस्थानसम्म बायाँतिर ९.३२ किमिसम्पन्न

नदीको सहायक खोलाहरु बल्खु खोलामा ढल विछ्यानका लागि सम्झौता भइसकेको, नख्खु र टुकुचा खोलामा ढल हाल्न अध्ययन भइरहेको समितिले जनायो । वाग्मती नदीलाई मात्रै ढलमुक्त पारेर वाग्मती सफा नहुने हुनाले वाग्मतीसँग जोडिएको सहायक खोलालाई पनि ढल मुक्त पार्न यस्तो गरिएको हो ।

हालसम्म गोकर्ण–गुह्येश्वरी– तिलगङ्गा–शङ्खमुल–मनोहरा दोभानसम्मको नदी क्षेत्रलाई पूरै ढलमुक्त बनाइसकेको छ भने वाग्मती नदीको उपत्यका क्षेत्रभित्र बाँकी रहेको भाग पूर्ण रुपमा ढलमुक्त बनाउन अझै ३ देखि ४ वर्ष समय लाग्ने आँकलन गरिएको छ ।

सडक निर्माण कार्यः ११.०५ किमि सम्पन्न

– गोकर्ण–गुह्येश्वरी ४.० किमि सम्पन्न
– तिलगङ्गा–सिनामङ्गल ३.२३ किमि सम्पन्न
– मीनभवन–मनोहरा ३.८ किमि सम्पन्न

नदी नियन्त्र कार्यः २२.९४ किमि सम्पन्न

– सुन्दरीजल–गोकर्ण खण्ड ८.५ किमि सम्पन्न
– गोकर्ण–गुह्येश्वरी खण्ड ३.८ किमि सम्पन्न
– तिलगङ्गा–सिनामंगल–मीनभवन–मनोहरा–शङ्खमुल–बल्खु–सुन्दरीघाट खण्ड १०.६४किमि सम्पन्न ।

ढल प्रशोधन कार्यः

– गुह्येश्वरी ढलप्रशोधन कार्य क्षमता १ करोड ६४ लाख लिटरप्रति दिन÷१९० प्रतिसेकेण्ड सम्पन्न
– गुह्येश्वरी–तिलगङ्गा ५७२ मि लम्बाइ तथा २ मिटर व्यासको सुरुङ सम्पन्न भइसकेको छ । यसबाट गुह्येश्वरीमा प्रशोधन भएको पानी बग्दछ ।
विभिन्न स्थानमा फोहोर प्रशोधन केन्द्रको निर्माण मार्फत नागरिकले ढलको गन्धबाट मुक्त हुन पाउने, स्वच्छ वातावरणको प्रत्याभूति गर्न पाउने, फोहोरबाट हुने रोगको प्रकोप दर कम हुनेछ ।

हरियाली क्षेत्र विकास कार्यः

– वाग्मती नदीको विभिन्न खण्डमा गरी हालसम्म २१ वटा उद्यान (पार्क) बनाउने कार्य भएको, सोमध्ये ८ वटा पार्कले पार्कको रुप लिँदै गरेको अवस्था छ ।
– २४ वटा (करिब १०१ रोपनी क्षेत्रफल) पार्क बनाउनका लागि सम्झौता भइसकेको छ ।
– ४५ वटा पार्क बनाउन विभिन्न सङ्घ संस्थाबाट माग भइआएको छ ।

परम्परागत शैलीको निकै आकर्षक पार्क निर्माण गर्ने काम कुनै स्थानमा त सुरु पनि भइसकेको छ ।

पार्क (हरित उद्यान) नदी र सडकबीचको खाली १० मिटर भागमा रहने छ । सडक भने दुई लेनको बनाइनेछ । नदीको ३ स्थानमा परम्परागत शैली भकारी आकारका संरचना निर्माण गरिनेछ ।

जसबाट मानिसले सजिलै नदीसम्म पुग्न सक्ने छन् । करिब २ अर्ब रुपियाँमा निर्माण हुन लागेको उक्त उद्यान २७ महिनाभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ । हरियालीको बीचमा साइकल लेन, फुटपाथ समेत निर्माण गरिनेछ ।

वाग्मती नदीको दुवै किनारामा भौतिक पूर्वाधार निर्माण कार्य गरी बाँकी रहेको क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने, वाग्मती नदीको सौन्दर्यता बढाउनको साथै पानीको शुद्धता र वृद्धिमा समेत सहयोग पुग्ने कार्य गर्न र भू–क्षय नियन्त्रणमा पनि सहयोग पुर्याई वातावरण स्वच्छ गर्न सहयोग पुग्ने छ ।

वाग्मती किनारमा बसोवास गर्नेहरु साथै अन्यलाई पनि स्वस्थ्य मनोरन्जनको स्थल विकास गर्न र स्वास्थ लाभ गर्ने सुन्दर स्थान बनोस् भन्ने उद्देश्यलाई मध्यनजर गरी वाग्मती नदीको दुवै किनारमा खाली भएको क्षेत्रहरुमा विभिन्न सरकारी गैर–सरकारी सङ्घरसंस्थाहरुलाई स्वत–स्फूर्त उद्यान निर्माण र वृक्षरोपण कार्यमा सहभागी हुन आह्वान गरिएको छ ।

थप यसरी भइरहेको छ कामः

आयोजना कार्यान्वयन निर्देशनालय मातहतको ढल व्यवस्थापन आयोजनाले मेलम्चीको पानी वितरण भएपछि ढलमा हुने चापलाई व्यवस्थित गर्न विभिन्न स्थानमा फोहोर पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धि, पुनः स्थापना र निर्माण कार्यको प्रकृयालाई प्राथमिकताका साथ अगाडि बढाएको हो । त्यस्तै नदी किनाराको दुवै पट्टि मुख्य ढल लाइनहरु निर्माण र सङ्कलन शाखा ढल लाइनहरु निर्माण गरिरहेको छ ।

यस आयोजनामार्फत सन् २०१८ सम्म सम्पन्न गर्ने गरी नेपाल सरकार र एसियाली विकास बङ्ैकको करिब १ सय ३६ मिलियन यूएस डलरलागत विनियोजन भइसकेको छ ।

थप ३ स्थानमा प्रशोधन केन्द्र, गुहेश्वरीलाई गुणस्तरीय बनाउने

काठमाडौँमा थप ३ स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बन्ने भएको छ । बन्न लागेका तीनवटै स्थानमा र गुहेश्यरीस्थित रहेका केन्द्रलाई थप गुण्स्तरीय बनाउँदै आधुनिक किसिमको हुनेछ ।

गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको स्तरोन्नतिका लागि निर्माण व्यवसायी छनौट गरिसकेको अवस्था छ । गुहेश्वरस्थित फोहोर प्रशोधन केन्द्रलाई थप अभिवृद्धि गर्दै भक्तपुरस्थित सल्लाघारी, ललितपुरको बालकुमारीस्थित कोड्कु र धोवीघाटमा नयाँ र आधुनिक केन्द्रको रुपमा निर्माण गरी उपत्यकालाई सफा, सुन्दर र गन्धरहित बनाउने लक्ष्य राखेको छ ।

गुहेश्वरीस्थितको केन्द्रको अभिवृद्धिका साथै पुनः स्थापनाका लागि भारतीय कम्पनी भा टेक वाब्याग लिमिटेड (VA TECH WABAG Ltd, Chennai, India) सँग सम्झौता निर्माणको कामसमेत अगाडि बढिसकेको छ । कम्पनीले २ वर्षभित्र अभिवृद्धि र पुनःनिर्माण सम्पन्न गर्ने र १० वर्षसम्म सो कम्पनीले हेर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रशोधन केन्द्रको क्षमता कति ?

गुहेश्वरीस्थित प्रशोधन केन्द्रले हाल १ करोड ६० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमता छ । निर्देशनालयले यस प्रशोधन केन्द्रको क्षमता अभिवृद्धि गरी दोब्बर अर्थात् ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जनाएको छ ।

यसैगरी, भक्तपुरस्थित सल्लाघारी, ललितपुर बालकुमारीस्थित कोड्कु र धोवीघाटमा गरी नयाँ कुल ६ करोड ८० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना लिएको छ ।

प्रशोधन केन्द्रले बिजुली पनि निकाल्ने ?

फोहोर प्रशोधन केन्द्रमा आधुनिक प्रविधि अपनाई गुहेश्वरीस्थितको केन्द्र र सुन्दरीघाटमा बन्ने केन्द्रमा ढल र पानीबाट निस्केको ग्याँसमार्फत बिजुली निकाल्ने कम्पनीसँग सम्झौता गरेको छ भने काम पनि अगाडि बढिसकेको अवस्था छ ।

एनारोविक डाइजेसनको माध्यमबाट बायोग्यास निकाल्ने र बायोग्यासबाट विद्युत निकाल्ने उद्देश्य लिइएको छ । नेपालमा यसको व्यावसायिक अभ्यास पहिलो रहेको भए पनि भारतलगायतका विकसित मुलुकमा सफल अभ्यास भइरहेको छ ।

गुह्येश्वरीस्थित ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गरेर करिब २ सय ४० किलोवाट बिजुली निकाल्न मिल्ने निर्देशनालयले जनाएको छ । त्यस्तै गरी, करिब ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने धोवीघाटको केन्द्रबाट मात्रै २ सय ४ किलोवाट बिजुली निकाल्ने जनाएको छ । दुवै गरी झण्डै ४ सय ५० किलोवाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजनासमेत लिएको छ ।

११ स्थानमा चेकड्याम बन्दै

पानीको बहाव बढाउन थप सहयता गर्न र पानीलाई छचल्किनका लागि सहयोग पुगोस् भनेर नदीको बीच–बीचमा चेकड्यामको निर्माण गर्न लागिएको छ । अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गत वाग्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजनाले गृहकार्य गररिहेको छ भने प्रस्तावित डिजाइन समेत बनाइसकेको छ । यसको मुख्य उद्देश्य भनेको मानिसले सजिलैसँग पानी छुन सकून्, नदी थप आकर्षक बनोस्, चेकड्याम बनाएर पानी छचल्किँदा हावासँग ठोक्किएर अक्सिजन कायम होस् भन्ने हो ।

वाग्मती नदी सरसफाइ महाअभियान

पूर्व मुख्य सचिव पौडेलको नेतृत्वमा २०७० जेठ ५ गतेदेखि सुरु नदी सरसफाइ महाअभियन सुरु भएको हो । सरकार तथा गैरसरकारी, अभियन्ता, स्वयम्सेवक व्यक्ति, नागरिक समाज, स्कुल, कलेज, कूटनीतिक नियोग, सेना, प्रहरीलगायत ७ सयभन्दा बढी सङ्घ संस्थाहरु यस अभियानमा निरन्तर लागिरहेका छन् । यस अभियानले १९३औँ हप्ता पार गरिसकेको छ भने करिब १० हजार टन फोहोर सङ्कलनसमेत गरिसकेको छ ।

नदीलाई सफा, स्वच्छ र हराभरा बनाई पहिलाकै अवस्थामा फर्काउनु यस अभियानले मुख्य उद्देश्यको रुपमा लिइएको छ भने नदीमा थुप्रिएको ठोस फोहोरलाई हटाउने, नदीमा फोहोर फाल्न नदिन चेतनामूलक कार्यक्रम चलाउने, फोहोर फाल्नेलाई समाउने काम गरिरहेको छ । सफाइ अभियान वाग्मती नदीमा मात्रै केन्द्रित नभई हाल आएर यसको सहायक नदी र देशभरका नदीमा सञ्चालित छ ।

मुख्य चुनौती नदी अतिक्रमण र सुकुम्बासी समस्या

उपत्यकाभित्र रहेको वाग्मती नदीको २८ किमि खण्डमा २ सय रोपनीभन्दा बढी जग्गा अतिक्रमण भएको अनुमान गरिएको छ । समितिका नापी शाखा प्रमुख केदारप्रसाद देवका अनुसार तिलगङ्गादेखि मनोहरा दोभानसम्मको ४ हजार ८ सय मिटर दूरीमा सबैभन्दा बढी अतिक्रमण गरिएको छ ।

०२१ सालको नक्सामा जहाँ वाग्मती बगेको देखिन्छ, अहिले त्यहाँ सुकुम्बासीका घर टहरा, भव्य घर, कलेज र व्यापारिक भवन बनेका छन् । यसले गर्दा वाग्मतीको काममा अवरोध पुगिरहेको छ ।

२० वर्षसम्म पनि के कति जमिन ककसले मिचेका छन् भन्ने विवरण समितिले पत्ता लगाउन सकेको छैन ।

२०२१ सालको नापीअनुसारको नदीको बहावलाई आधार मानेर नदी किनारको बासिन्दाको सहमति सहकार्यमा पुरानै धारमा वाग्मती बगाउने योजना समितिको छ ।

०२१ सालको नापी अनुसार नदीको बहाव र दायाँ–बायाँ क्षेत्र निर्धारण भइसकेकाले जतिसुकै प्रभाव देखाउन खोजे पनि अतिक्रमणकारीलाई कुनै पनि दिन हटाउन सकिने समितिको धारणा छ । त्यस्तै सर्वोच्च अदालतले वाग्मतीलाई पूर्ण रुपमा सफा बनाई वातावरणीय सुधार गर्न अतिक्रमित बस्ती हटाउन सरकारलाई परमादेश दिएको छ ।

कति छन् त नक्कली र सक्कली सुकुम्बासी ?

वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

समितिले गरेको अध्ययनानुसार सिनामङ्गल पुलमाथिको वाग्मती नदी किनारमा छ, सिनामङ्गल पुलमुनिको वाग्मती नदी किनारमा आठ, सिनामङ्गलको गुह्येश्वरी विद्यालय नजिक ४०, सिनामङ्गल गैरीगाउँमा ६०, सिनामङ्गल जागृतिनगरमा २००, नयाँ बानेश्वर शान्तिनगरमा ४००, शङ्खमूलमा १००, थापाथलीमा १०८ र बल्खुमा ३१८ परिवारले किनारको जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरेका छन् ।

यसैगरी विष्णुमती नदी किनारको महादेव खोलामा ७० र बालाजु क्षेत्रमा १५५ परिवारले नदी किनार अतिक्रमण गरेका छन् ।

वाग्मतीबाट यसरी हटाउन सकिन्छ सुकुम्बासी समस्या

सरोकार भएका निकाय, राजनीतिक दल र नागरिक समाजले सो समस्या समाधान गर्ने विषयमा समान धारणा निर्माणका लागि पहल सुरु गरिसकेको अधिकारीहरु बताउँछन् ।

समितिको अध्ययन तथ्याङ्कअनुसार अतिक्रमणकारीमध्ये ९० प्रतिशत सम्पन्न र १० प्रतिशत मात्र वास्तविक सुकुम्बासी भएको खुल्न आएको छ । विसं २०६९ मा थापाथलीका ४६ परिवारलाई रु २५ हजारका दरले दिई नदी किनार खाली गर्ने व्यवस्था मिलाइएकामा पछि फर्किएर पुरानै स्थानमा फर्की बसेका छन् ।

समस्या समाधानका लागि वास्तविक सुकुम्बासी पत्ता लगाई सहरी विकास तथा भवन निर्माण विभागले इचङ्गुनारायणमा निर्माण गरेको भवनमा सार्ने व्यवस्था गरिनुपर्छ । जहाँ २२७ परिवार अट्ने भवन निर्माण गरिसकेको छ भने ३३७ परिवार अट्ने भवन निर्माण भइरहेको छ ।

उपत्यकाको अव्यवस्थित बसोबास व्यवस्थापनका लागि छानविन गर्न शक्तिशाली आयोग गठन गरिनुपर्ने, अतिक्रमण, अव्यवस्थित बसोबास रहेको नदी किनारको जग्गा २०२१ सालको नक्साअनुसार खालि गराउनुपर्ने समितिका एक उच्च अधिकारीले बताए ।

 

स्रोत: रातोपाटी

 

 

Comments

comments

Leave a Reply

%d bloggers like this: