Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > फलो–अप: यसरी टुंगिदैछ कञ्चन रेग्मी प्रकरण

फलो–अप: यसरी टुंगिदैछ कञ्चन रेग्मी प्रकरण

काठमाडौं, १६ माघ-कञ्चन शर्माका पूर्वपति मोहन रेग्मीले कञ्चनको बाँकी जीवनका लागि ११ लाख रुपैयाँ दिने तयारी गरेको बताएका छन् । रेग्मीले आफूहरू कानूनी रूपमा पहिलै अलग्गिएको भएतापनि शर्मालाई सहयोगस्वरूप सो रकम उपलब्ध गराउने अन्तिम तयारीमा रहेको जानकारी दिएका छन् ।

टेलिभिजन प्रस्तोता सुमन खरेलको कार्यक्रममा घरपरिवारबाट गलहत्याइएकी पात्रको रूपमा कञ्चन शर्मालाई प्रस्तुत गरेपछि उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भएको थियो । तर शर्माले टेलिभिजनमा भनेका कुराहरू गलत भएपछि रेग्मीले आफू अन्यायमा परेको बताएका थिए । कार्यक्रमका सञ्चालकले समेत उक्त अन्तर्वार्तालाई मानवीय त्रुटिको रूपमा रेग्मीसँग माफी मागेका थिए ।

‘मैले डिभोर्स हुनेबित्तिकै १० लाख रुपैयाँ दिने वाचा गरेको थिएँ, तर कसलाई दिने भन्ने विषयमा दोधार भएको थियो,’ मोहनले लोकान्तरसँग भने, ‘अब चाहिँ कञ्चनको आमालाई भएपनि सो रकम दिने अन्तिम तयारी गरेको छु ।’

कञ्चनका तर्फबाट पत्रकार मोहन चापागाईं र आफ्नो तर्फबाट कानून व्यवसायी कुमारी खरेलको बीचमा यो विषयमा कुराकानी भइरहेको उनले बताए ।

‘अब एक महिनाभित्रमा कानूनी कागजमा पक्का बनेर नै मैले ११ लाख रुपैयाँ दिन्छु,’ उनले भने, ‘कहिले दिऊँ भनेर हतार भइरहेको छ ।’ रेग्मीले पहिले १० लाख दिने वाचा भएको भएपनि अहिले ११ लाख दिने तयारीमा रहेको बताए ।

रेग्मीले कञ्चन कुलतमा लागेपछि डिभोर्स हुनेबित्तिकै उक्त रकम दिन नसकिएको बताएका छन् । दीक्षा चापागाईंको संस्था पवित्र समाज सेवामा बसिरहेकी कञ्चनलाई रेग्मीले रकम दिन नसकेका हुन् ।

‘एकपटक दीक्षा चापागाईंलाई नै सो रकम दिऊँ कि जस्तो लागेको थियो, तर उहाँले मलाई अत्यन्तै अभद्र व्यवहार गरेकोले दिइनँ,’ मोहनले भने, ‘१० लाख दिनै लागेको थिएँ, तर उहाँले १४ वर्ष राखेर १० लाख दिएर हुन्छ ? भनेर उल्टो मविरुद्ध खनिनुभएको थियो ।’

आफूले केही दिनमै कानूनी प्रक्रिया पु–याएर कञ्चनलाई रकम दिने तयारी गरेको भएपनि उनको आमाबाट अस्वाभाविक दबाब आइरहेको समेत उनले बताए । ‘दीक्षाजीले नै दबाब गराउनुभएको हुनसक्छ,’ उनले भने, ‘तर म दीक्षाजीलाई रकम दिन तयार छुइनँ ।’

दीक्षाले आफूलाई नियोजित रूपमा बेइज्जत गरेकाले उनको संस्थामा पैसा जानेगरी रकम दिन आफू तयार नभएको उनले बताए । ‘अन्य संस्थाहरूले पनि असहायहरूलाई पालनपोषण गरेकै छन्,’ उनले भने, ‘अन्य कुनै संस्थामा उक्त रकम ‘सीड मनी’को रूपमा रहने पैसा दिने मन गरेको छु ।’ आफूले दिएको रकम सदुपयोग होस् भन्ने समेत आफूले चाहेको उनले बताए ।

आफूले कञ्चनलाई पैसा दिन चाहेकोले सो रकम कञ्चनकै पालनपोषणमा खर्च होस् भन्ने चाहना रहेको उनले बताए ।

‘सुमन खरेलले माफी माग्नुभयो’

रेग्मीले उक्त विषयमा कार्यक्रम सञ्चालक सुमन खरेलले माफी मागेको र आफूले पनि माफी दिएको बताए । ‘मानवीय रूपमा सुमनजीले गल्ती गर्नुभएको हो, तर उहाँले जानीजानी यस्तो गर्नुभएको थिएन,’ मोहनले लोकान्तरसँग भने, ‘उहाँले मसँग निकै दुःखका साथ माफी समेत माग्नुभएको थियो ।’

मोहनका अनुसार खरेलले आफू चाँडै नै ‘भावनामा बगेको’ भन्दै माफी मागेका थिए । आफू नेपालमै काम गरौं भनेर विदेशबाट आएको भएपनि कञ्चनको विषयमा ‘फँसेको’ भन्दै खरेलले माफी मागेको मोहनले बताए ।

अन्तिम अस्त्रस्वरूप मिडिया

रेग्मी र शर्माको डिभोर्स २०६८ सालमै टुंगिएको थियो । तर रेग्मीले शर्माको लालनपालनका लागि दिनुपर्ने रकम दिएका थिएनन् । कारण हो — रेग्मीले शर्मालाई पैसा दिन चाहेका थिए, तर शर्मा कुलतमा थिइन् ।

त्यसपछि कञ्चनको नाममा ल्याक नामक सामाजिक संस्थाले मुद्दा लडेको थियो । तर उक्त संस्थाले मुद्दा हारेको थियो । ‘एउटा संस्थाले मुद्दा हारेको सूचना पनि दीक्षाजीले पाउनुभएको थियो,’ उनले भने, ‘कानूनी रूपमा कमजोर बनेपछि योजनाबद्ध तरिकाले मिडिया प्रयोग गर्नुभयो ।’

बाजुराका मोहन र ओखलढुंगाकी कञ्चनका बीचमा मागी विवाह भएको थियो । तर कञ्चन कुलतमा फँस्दै गएपछि उनीहरूको घरबार बिग्रिएको थियो । उनीहरू कानूनी रूपमा अलग भइसकेका थिए ।

कञ्चनबाट अलगिएकी शर्माले पवित्र समाज सेवा संस्थामा शरण लिएकी थिइन् । सोही ठाउँबाट खरेलको कार्यक्रममा पुगेकी शर्माले रेग्मी र उनका छोराहरूको बारेमा निकै गलत कुराहरू बताएर साधारण मान्छेहरूको सेन्टिमेन्ट पक्रिएकी थिइन् । तर उनले भनेका कुराहरू गलत भएपछि उनी र संस्थाकी चापागाईं आलोचित भएका थिए ।

मोहनका तीन माग

मोहनले अहिले आफ्ना तीनवटा अपेक्षा रहेको बताएका छन् । पहिले कञ्चन बसेकै संस्थाकी सञ्चालकको कारण उनले आफ्नो चरित्र हत्या भएको बताएका छन् । त्यसले उनीले आफू सो संस्थामा जानेगरी कञ्चनको नाममा पैसा दिन तयार नरहेको बताए ।

दोस्रो, अबका दिनमा मिडियामा थप मोहन रेग्मीहरू (तथ्यगत त्रुटि गरेर पीडा दिने काम) भित्रनु हुँदैन । यो विषयमा मिडियाले ख्याल गर्नुपर्छ ।

र तेस्रो, दीक्षा चापागाईंले सञ्चालन गरेको संस्थाको छानबिन हुनुपर्छ । ‘मैले उहाँसँग कुनै बदला लिन चाहिँ चाहेको होइन,’ उनले भने, ‘उहाँलाई पनि सुध्रनै मौका होस् भन्ने मेरो चाहना छ ।’

दीक्षाद्वारा पहिले नै अस्वीकार

यो विषयमा दीक्षा चापागाईंले पहिले नै स्पष्टीकरण दिएकी छन् । उनले आफ्नो काम समाजसेवा गर्ने भएको कारणले कञ्चन शर्मालाई आफूले कुनै पनि गलत कुरा भन्न नलगाएको बताएकी थिइन् ।

मोहन रेग्मीको बेइज्जत गर्नसमेत आफूले नचाहेको उनले बताइन् । उक्त कार्यक्रममा भनेका सबै कुरा कञ्चनले व्यक्तिगत रूपमा भनेको उनले बताएकी थिइन् ।

श्रोत: लोकान्तर

Comments

comments

Leave a Reply

%d bloggers like this: