Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > ५५ वर्षअघि यसरी बनेको थियो शहीदगेट

५५ वर्षअघि यसरी बनेको थियो शहीदगेट

शहीदगेट ।
काठमाडौंको टुँडिखेल र सैनिक मुख्यालयबीचमा रहेको छ । पुरानो बसपार्कबाट अघि बढेकाले भद्रकाली मन्दिरलाई बायाँ र सिंहदरबारबाट भद्रकालीलाई दायाँ बनाएर अघि बढेका सवारीसाधन शहीदगेटलाई दायाँबायाँ बनाएर गुड्छन् ।
शहीदगेटलाई पहिले ‘नेपाल स्मारक’ भनिन्थ्यो । ८२ वर्षीया इन्जिनियर शंकरनाथ रिमालले भने, ‘बनाउनअघि र उद्घाटन गर्दासमेत राजा महेन्द्रले नेपाल स्मारक भने पनि जनताले त्यसलाई शहीदगेट भनिदिए । जनबोली कति शक्तिशाली हुँदोरहेछ ।’
अन्ततः ‘नेपाल स्मारक’ शहीदगेट भनेर कहलियो । राजा महेन्द्रले इन्जिनियर शंकरनाथ रिमाललाई शहीदगेट डिजाइन गर्न लगाए । जिम्मेवारी पाएपछि इं रिमालले आठ/नौवटा डिजाइन तयार पारेर राजालाई बुझाए । रिमालले सम्झे, ‘करिब चार महिना लगाएर आठ÷नौवटा तयार पारे पनि राजाले अहिलेको शहीदगेटको डिजाइन मन पराए ।’
महेन्द्रले इं रिमाललाई प्रजातन्त्र झल्कनेगरी राजा त्रिभुवन, शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको मूर्ति राख्न मिल्नेगरी शहीदगेट डिजाइन गर्न लगाएका थिए । ‘शहीदगेट मुनिबाट सवारीसाधन आवातजावत गर्न मिल्नेगरी डिजाइन गरिएको थियो,’ रिमालले प्रस्ट्याए, ‘त्यतिमात्रै होइन, पहिलेपहिले राजा हात्तीमा हिँड्थे । त्यसलाई दृष्टिगत गर्दै शहीदगेटको डिजाइन गरेको थिएँ । हात्तीमा हौदा हुन्छ । हौदामाथि राजा बस्थे । राजालाई झल्लरी छाता ओढाइन्थ्यो । शहीदगेटबाट हात्ती चढेका राजा छिर्नुपथ्र्याे । नापो लिने कसरी ? तत्काल उपाय सुझ्यो । जमलबाट महेन्द्र सालिकतिर बढ्दा देब्रेपट्टि वीरशमशेरको ‘सेतो आर्टस्’ को गेट छ । त्यही गेटको उचाइलाई आधार बनाएर २३ फिट उचाइको शहीदगेट डिजाइन गरेको हुँ ।’


त्यतिबेला कम्प्युटर सुविधा थिएन । हातैले नक्सा कोर्नुपथ्र्यो । नक्सा पास भएपछि त्यसलाई अन्तिम रूप दिँदा रिमालले शहीदगेटमाथि चढेर सफा गर्न जान मिल्नेगरी राखिएको स्टेप (सिँढी) झिकिदिए । ‘राजा महेन्द्रले सिँढी किन झिकिदियौ ? भनेर सोधे,’ उनले सुनाए, ‘सरकार, भद्रभलाद्मी नचढे पनि राति बदमासहरू माथि जालान्, फोहोर गर्लान् भनेर सिँढी झिकिदिएँ । सफा गर्न भर्याङको सहायतामा माथि जान सकिन्छ । राजाले ल ठीक गरेछौ भने ।’
उनले संवत् २०१४ अन्तिम/अन्तिम वा ०१५ साल लाग्दै शहीदगेटको नक्सा सकेको सम्झन खोजे । त्यहीबेला उनले जर्मनीका लागि छात्रावृत्ति पाए । शहीदगेटको नक्सामात्रै पास भएको थियो । निर्माणकार्य थालिएको थिएन । त्यसको जिम्मा सहोदर भाइ इं गौरीनाथ रिमाललाई लगाएर उनी जर्मनी उडे । भने, ‘म जर्मनी उडेको दिन बीपी कोइरालाको नेतृत्वमा कांग्रेस सरकार गठन भएको थियो ।’
राजा महेन्द्रले मूर्तिबाहेक २५ हजार रुपैयाँमा शहीदगेट बनाउन लगाएका थिए । शहीदगेट निर्माणका लागि तीन सदस्यीय निर्माण समिति गठन भयो । समितिमा जर्नेल अरूणशमशेर अर्थात् राजा महेन्द्रका जेठान अध्यक्ष, सदस्यसचिवमा इं गौरीनाथ रिमाल र सदस्यमा सरदार सूर्यलाल रहेका थिए ।
शहीदगेट निर्माण पूरा गर्न झन्डै वर्ष दिन लागेको इं शंकरनाथले बताए । त्यतिबेला फर्माको काम गर्न जान्ने मानिस थिएनन् । डन्डी बंग्याउन पनि इन्जिनियरले नै सिकाउनुपथ्र्यो । कंक्रिट कसरी मिक्स गर्ने ? कसरी हाल्ने ? समेत साइटमा बसेर इन्जिनियरले नै सिकाउनुपथ्र्यो । शहीदगेटको फर्मा बनाउन दार्जिलिङका एक ठेकेदारलाई काम दिइयो । उनले दार्जिलिङमा फर्माको काम गरेका थिए । त्यतिबेला हिजोआजजस्तो ‘मेसिनरी’ सामान थिएन । सबै काम हातैले गर्नुपथ्र्याे ।
शहीदगेटको माथिल्लो खोपामा राजा त्रिभुवनको पूर्व फर्केको सालिक रहेको छ । त्रिभुवनको सालिकमुनि दायाँपट्टि धर्मभक्त माथेमा र शुक्रराज शास्त्री र बायाँपट्टि गंगालाल श्रेष्ठ र दशरथ चन्दका सालिक रहेका छन् । गंगालाल र शुक्रराजको सालिक पूर्व र धर्मभक्त र दशरथका सालिक पश्चिम फर्केका छन् । सालिक बनाउँदाबनाउँदै रत्नबहादुर तुलाधारको निधन भएपछि तुलाधरका छोराहरूले पूरा गरेका थिए ।
शहीदगेट निर्माण पूरा गर्न झन्डै एक लाख रुपैयाँ लागेको इं रिमालले बताए । शहीदगेटमा छापिएको मार्बलचाहिँ लाख रुपैयाँबाहेकको हो । ती मार्बल दरबारबाट ल्याइएका थिए ।
०१८ वैशाख १ गते राजा महेन्द्रले शहीदगेट उद्घाटन गरेका थिए । उद्घाटनताका रिमाल नेपाल फर्किसकेका थिए । उनले भने, ‘शहीदगेट उद्घाटन गर्दा राजा महेन्द्रले मलाई पनि धन्यवाद दिइबक्स्यो । तर, मेरो नाम शंकरनाथ रिमाल हुनुपर्नेमा शंकरप्रसाद रिमाल उच्चारण गरिबक्स्यो । त्यसपछि काम गरेबापत भनेर मलाई दुई सय र भाइ गौरीनाथ रिमाललाई तीन सय रुपैयाँ दिइबक्स्यो । भाइको फिजिकल लेबर धेरै थियो । त्यतिबेला कन्सेप्टभन्दा लेबरको भ्यालु बढी भयो ।’
झन्डै डेढ÷दुई रोपनी जग्गामा निर्मित शहीदगेटको मध्यभागमुनि उत्तरपट्टि ००७ मा कात्तिक २५ गते राजा त्रिभुवन राजपरिवारसहित नेपाल छाडी भारत जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारीसाधनमा चढेको र पूर्वपट्टि ००७ फागुन ४ गते भारतबाट फर्कंदा विमानबाट ओर्लेको, पश्चिमपट्टि देशवासी, मन्दिर, घर र पश्चिमपट्टि सिंहदरबारको दृश्य रहेको ढलौटको तस्बिर थियो । त्यो सानो भएकाले पछि पुनः पहिलेको भन्दा दोब्बर ठूलो बनाएर टाँसिए पनि गणतन्त्र आएपछि त्यो चोरी भयो । रिमालले भने, ‘ठूलो त चोरी भयो । सानोचाहिँ कतै न कतै हुनुपर्छ । छाउनीको संग्रहालयमा पो छ कि ।’


शहीदगेटमा माथि राजा त्रिभुवनको मूर्ति भएकाले त्यो साँच्चिकै शहीदगेट भएन भन्नेहरू पनि छन् । ‘त्यतिबेला शहीदगेट नाम राखिएकै होइन । नेपाल स्मारक भनिएको छ,’ उनी सोध्छन्, ‘हेड अफ दी स्टेटको पोजिसन कहाँ हुन्छ ? राजालाई तल राख्न मिल्दैन । ००७ को क्रान्ति राजा त्रिभुवनको पनि त योगदान छ ।’
२३ वर्षको हुँदा नक्सा बनाएको उनलाई शहीदगेटको बाटो भएर गुड्दा आफू गुडेको सवारीसाधनका चालकलाई उनले शहीदगेट मैले डिजाइन गरेको हुँ भन्ने गर्छन् । उनी सुनाउँछन्, ‘सुन्नेहरू दंग पर्छन् । मुलुकका लागि गरेको काम भएकाले आनन्द लाग्ने नै भयो । आज न त्रिभुवन छन् न त चार शहीद नै ।’
शहीदगेटबाट राजा त्रिभुवनको मूर्ति हटाउनुपर्छ भन्नु गलत हो भन्ने उनको ठम्याइ छ, ‘त्यस्तो पनि सोच हुन्छ । बरु त्योभन्दा ठूलो शहीदगेट बनाऊन् न, सबैले बनाउँदै भत्काए के हालत हुन्छ । आज गरेको काम भोलि उपयुक्त हुन्छ कि हुँदैन कसलाई थाहा छ ?’

श्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: