Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > ट्रम्पलाई कसरी हेर्ने ? घुरेर हेर्ने कि पिठ्युँ फर्काउने ?

ट्रम्पलाई कसरी हेर्ने ? घुरेर हेर्ने कि पिठ्युँ फर्काउने ?

आप्रवासीमाथिको प्रतिबन्धः पुरानै बोतलमा नयाँ रक्सी

नेपालीहरुको बानी यस्तो छ कि चन्द्रमामा कुनै देश भएको भए हामी त्यहाँको राजनीतिका बारेमा पनि केही न केही टिप्पणी गर्नेथ्यौं । हामी नेपालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा चर्चा नगर्ने कुरै भएन ।

जे छ, ट्रम्पकै चर्चा छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिने घोषणा गरे । जिम्मेवारी सम्हाल्नासाथ उनले मेक्सिकोमा पर्खाल लगाउने घोषणा गरे । त्यसपछि उनले संसारलाई नै हल्लाउने गरी सात मुस्लिम देश (इरान, इराक, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन ) का नागरिकहरुमाथि भिसा नदिने कार्यकारी आदेश फर्माए । यसलाई सहयोग नगर्ने महान्यायाधिवक्तालाई गलहत्याए ।

र, मंगलबार मात्रै ट्रम्पले भिसासम्बन्धी नीतिमा कडाइ गर्ने गरी नयाँ विधेयक अमेरिकी संसदमा पेश गरिसकेका छन्, जसको सोझो असर अमेरिका जान खुट्टा उचालेका नेपालीहरुमाथि पनि पर्ने छ । यही विधेयकका भारतमा ‘रुवाबासी’ सुरु भइसकेको छ ।

यतिबेला संसारका मिडियाको ध्यान ट्रम्पले गर्ने निर्णय र उनले गोली हानेजसरी चलाउने टि्वटतर्फ केन्द्रित भएको छ । विभिन्न विमानस्थलमा अमेरिका छिर्न नपाएकाहरुले ट्रम्पको विरोधमा प्रदर्शन गरिरहेका छन् । अमेरिकाका मिडिया त पहिल्यैदेखि ट्रम्प विरुद्ध खनिएका खनिएकै छन् । संसारका विभिन्न देशमा क्रिया प्रतिक्रिया आइरहेका छन् (नेपाल सरकार बाहेक) ।

अमेरिकाको राजनीति नेपालको भन्दा अस्थिर र होहल्लामय बनिरहेको छ । ट्रम्पको विरोधमा एप्पल, गुगल र फेसबुकका मालिकहरु पनि मैदानमा उचिएका छन् । संसारभरि एकप्रकारको होहल्ला मच्चाइदिएका छन् ट्रम्पले ।

यसमा अर्को पक्ष पनि के छ भने संसारभरि उनको विरोध भइरहेको बताइए पनि डोनाल्ड ट्रम्प चुनावमा अमेरिकी जनताको बहुमत पाएर राष्ट्रपति बनेका हुन् । र, त्यहाँका बहुमत जनताले उनलाई जे एजेन्डाका लागि भोट हालेका थिए, उनी त्यसैको कार्यान्वयनमा अर्जुनदृष्टि लगाएर अघि बढेका छन्, मेक्सिकोमा पर्खाल, मुस्लिमलाई अमेरिका प्रवेशमा रोक आदि आदि ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा आउने अमेरिकी सहयोग केही मात्रामा कटौती गरिसकेका छन् । यससँगै अमेरिका जान तम्सिएका वा देश छाडेर अमेरिकामा पुगेका नेपालीहरुको समेत निद्राहरण भइरहेको छ । उनीहरुको मन-मस्तिष्कमा डोनाल्ड ट्रम्प सुनामी बनेर आइरहेका छन् ।

आखिर अमेरिकी डोनाल्ड ट्रम्पले ठीक काम गर्दैछन् कि उपद्रो गरिरहेका छन् ? उनको यस्तो नीतिबाट नेपाल र नेपालीलाई फाइदा हुन्छ कि घाटा ? यसबारे नेपालमा जे जति विश्लेषण हुनुपर्ने हो, त्यो चाँहि हुन सकिरहेको छैन । ट्रम्प फगत त्रासदी बनेर अाइरहेका छन् नेपालीमाझ ।

नेपालबाट ट्रम्पलाई कसरी हेर्ने ?


डोनाल्ड ट्रम्प र अमेरिकी राजनीतिको भवितव्यबारे चर्चा गर्नुपूर्व नेपालीको नजरमा ट्रम्पलाई कसरी हेर्ने भन्नेबारेमै एउटा अवधारणागत निश्कर्ष जरुरी छ ।

नेपालका बुद्धिजीवीमा एउटा रोग नै छ, माओकी श्रीमतीलाई कसरी हेर्ने ? ट्राटस्कीलाई कसरी हेर्ने ? लेनिन, काउत्स्की र रोजालाई कसरी हेर्ने ? पृथ्वीनारायण शाहलाई कसरी हेर्ने ? भानुभक्तलाई कसरी हेर्ने ? आदि इत्यादि ।
ट्रम्पलाई कसरी हेर्ने भन्ने पनि यस्तै-यस्तै बहस हो । हामीले हाम्रै देश र आफ्नै जनतालाई कसरी हेर्ने भनेर टुंगो लगाउन सकेका छैनौं, सात समुद्रपारिको देशका राष्ट्रपतिलाई जसरी हेरे पनि हुन्छ । नहेरिकन पिठ्युँ फर्काए पनि केही फरक पर्दैन ।

तथापि डोनाल्ड ट्रम्प र उनले लिने नीतिसँग नेपालका दुईवटा कनेक्सन छन्ः

प्रथमतः संयुक्त राज्य अमेरिका अधिकांश सुकिला-मुकिला नेपालीहरुको ‘स्वप्न गन्तव्य’ भएका कारण यसमा अमेरिकी नीतिको प्रभाव स्वाभाविकरुपमा नेपालमाथि पनि पर्छ ।

र, दोस्रोः संसारको शक्ति राष्ट्रका रुपमा रहेको अमेरिकाले लिने विदेश नीतिको प्रभाव तेस्रो देशहरुमा पर्न सक्छ । त्यस्तो असर भारत र चीन हुँदै नेपालमा पनि चाँडै आइपुग्न सक्छ । त्यसैले यो विषय ‘माओकी श्रीमतीलाई हेर्ने’ विषय भन्दा अलिकति सामयिक एवं व्यवहारिक प्रश्न हो ।

यस आलेखमा ट्रम्पले लिने नीतिबाट नेपाल जस्तो तेस्रो देशलाई के असर पर्छ भन्नेबारेमा तथ्यांकमा टेकेर विश्लेषण गर्ने उद्देश्य राखिएको छैन । यो छोटो लेखमा यति मात्रै भन्न सकिन्छ कि ट्रम्पनीतिका कारण नेपाल र नेपालीमाथि पर्ने असरका विषयमा विश्लेषणात्मक अध्ययनको आवश्यकता छ ।

टाढाका ट्रम्प धन्यवादका पात्र

हाम्रा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी पीआर र ग्रीनकार्डवालालाई रोक्न र स्वदेशमै बसेर केही गरौं भन्नाका खातिर धेरै पापड बेले । तैपनि पण्डितको केही लागेन । हाम्रो देशको ब्रेन अमेरिकातिर ओइरिने क्रममा कमी आएन ।

पढेलेखेका मानिसहरु नेपालमा भएको सबैथोक छाडेर अमेरिकामा के के न पाइन्छ भन्दै दौडिए । अमेरिका दौडने राष्ट्रिय रोग नै लाग्यो हाम्रो देशमा । पढ्न गएका भनिएकाहरु पनि उतै बसे । उनीहरुले अमेरिकामै ‘मिनी नेपाल’ बनाए । यता आफ्नो देशचाँहि उजाड बन्ने क्रम तीब्र गतिमा अघि बढ्यो ।


अहिले ट्रम्पले जसरी आप्रवासीहरुमाथि ‘सेबोटेज’ सुरु गरेका छन् यसले नेपालको अमेरिका पलायनमा कमी ल्यायो भने नेपाललाई हराभरा बनाउन यसबाट सहयोग नै पुग्ने छ र यसमा नेपालीहरुले ट्रम्पलाई धन्यवाद दिनैपर्ने हुन्छ ।

कुनै पनि देश सम्वृद्ध बन्नका लागि युवाशक्ति स्वदेशमै र्फकनुपर्छ । भारत र चीन समृद्धितिर लम्किएको पनि यही कारणले हो । र, ट्रम्पले अत्याएपछि भारतीयहरुको अर्को पुस्ता फेरि स्वदेश फर्किने स्थिति आइपुगेको छ र यसले भारतलाई पनि फाइदा गर्छ ।

जसले जसरी हर्काए पनि विदेशमा रहेका नेपालीलाई हर्काएर स्वदेश पठाइदियो भने आशा गरौं नेपालमा केही विकास र प्रगति हुन्छ । राजनीतिदेखि हरेक क्षेत्रमा नयाँ प्रतिभाहरु पुग्न सक्छन् ।

ट्रम्पले मेक्सिकोमा लगाउने पर्खाल नेपालीहरुले उक्लन नसक्लान्, त्यसबाट नेपाललाई केही घाटा छैन । भिसा दिने मापदण्डलाई महंगो एवं कडा बनाउलान्, त्यसले काठमाडौंको अमेरिकी दूताबासको कमाइलाई घाटा लगाउला र निम्न मध्यम वर्गका मानिसहरु अमेरिका जाने क्रम रोकिएला । यसबाट नेपालीलाई केही अंकगणीतीय तलमाथि होला, तर नेपाललाई यसले डुबाउँदैन । त्यसैले यसमा हामीले कोकोहोलो गरिरहनुपर्ने खासै जरुरी छैन ।

चीन र भारतको वीचमा रहेको नेपालले उत्तर-दक्षिण फर्किने विदेश विदेश नीति लिएर पनि हामी अघि बढ्न सक्छौं । पश्चिमतिर वा अमेरिकातिर घुरेर हेर्नुको साटो पिठ्युँ फर्काएर पनि नेपालको विकास सम्भव छ । हामी नजिकको अमेरिकाको छिमेकी होइनौं । ‘टाढाको देवता भन्दा नजिकको भुत’ नै काम लाग्छ भन्ने नेपालीमा आहानै छ ।

जहाँसम्म अमेरिकी राष्ट्रपति ट्रम्पले लिने विदेशनीति वा आप्रवासी नीतिबाट तेस्रो विश्वमा पर्ने असरको कुरा छ, यसबाट मुस्लिम देशमा जति धेरै असर पर्छ, एशियाको सुरक्षित ठाउँमा रहेको नेपाललाई त्यसको बाछिटाले खासै धेरै असर गर्ने स्थिति देखिँदैन । बढी असर गर्ने डीभीवालालाई नै हो ।

यसर्थ नेपालले ट्रम्पलाई घुरेर हेर्ने नीति लिनुभन्दा अमेरिकातिर पिठ्युँ फर्काउने र आफु (नेपाल) तिरै हेर्ने नीति लिनु बढी बैज्ञानिक होला कि ? यसमा चाहिँ बहस आवश्यक छ ।

आप्रवासीमाथिको प्रतिबन्धः पुरानै बोतलमा नयाँ रक्सी

ट्रम्पले आप्रवासीमाथि कडाइ गर्दै विदेशी नागरिकलाई भिसा नदिने निर्णय गरेको अमेरिकाको इतिहासमा यो पहिलो घटना होइन । यसअघि पनि करिब आधा दर्जनचोटि यस्ता आदेशहरु हुने गरेका थिए । र, यसको तारो यहुदी र कम्युनिष्टहरु बनेका थिए ।

अमेरिकामा सबैभन्दा पहिले सन् १८८२ मे ६ मा राष्ट्रपति चेस्टर ए. अर्थरका पालामा चिनियाँ कामदारहरुमाथि रोक लागेको थियो । चिनियाँमाथिको यो प्रतिबन्ध सुरुमा १० वर्षका लागि घोषणा गरिएको थियो । सन् १८९२ मा यसको म्याद सकिए पनि पुनः १० वर्ष थप गरियो । यद्यपि यो एक्ट सन् १९४३ सम्मै लागू भयो ।

दोस्रो विश्वयुद्ध ताका राष्ट्रपति रुजवेल्टका पालामा जर्मन यहुदी शरणार्थीहरुमाथि अमेरिकाले रोक लगायो । त्यसबेला नाजीवादको शिकार बनेर दशौं लाख यहुदीहरु शरणार्थी बनेका थिए । त्यसअघि ९३७ शरणार्थी बोकेको सामुदि्रक जहाजलाई सन् १९३९ मै अमेरिकाले युरोप फर्काइदिएको थियो ।

अमेरिकाले सन् १९०१ मा पनि निरंकुशतावादीहरुलाई आश्रय नदिने नीति ल्याएर पोलिस आप्रवासीमाथि रोक लगाएको थियो । यो कानूनलाई १९०३ को इमिग्रेसन एक्टका नामले चिनिन्छ । र, कुनै समूह वा देशवासीहरुलाई नभएर यो बञ्देज राजनीतिक विचारका आधारमा व्यक्तिगत प्रकारले लगाइएको थियो ।

अमेरिकाले अहिले मुस्लिममाथि प्रतिबन्ध लगाएजस्तै एक जमानामा आफ्नो देशमा कम्युनिष्टहरुलाई समेत छिर्न नदिने नीति अंगीकार गरेको थियो । इन्टरनेशनल सेक्युरिटी एक्ट-१९५० अनुसार अमेरिकाले सोही सालको अगस्त २३ बाट कम्युनिष्टहरुलाई भीसा नदिने नीति ल्यायो । कतिपय कम्युनिष्टहरुलाई अमेरिकाले डिपोटसमेत गर्‍यो । यो नीतिलाई सन् १९९३ मा त्यहाँको सुपि्रम कोर्टले असंवैधानिक ठहर गर्‍यो । तथापि अझै पनि अमेरिकाले रेडिकल कम्युनिष्टहरुको हकमा यो नीति व्यवहारतः अपनाइरहेको गुनासो आउन छाडेको छैन ।

अहिले द्वन्द्वविदको छवि बनाएका कार्टर सेन्टरका प्रमुख राष्ट्रपति जिम्मी कार्टरका पालामा सन् १९८० मा अमेरिकाले अहिलेजस्तै इरानीहरुमाथि रोक लगाएको थियो ।

त्यसैगरी राष्ट्रपति रोनाल्ड रेगनका पालामा सन् १९८७ मा अमेरिकाले एचआइभी संक्रमितलाई आफ्नो देशमा प्रवेश नदिने नीति ल्याएको थियो । जसले विशेषतः अफि्रकन अल्पसंख्यकहरुलाई नकारात्मक असर गर्‍यो । यो प्रतिबन्धलाई पूर्वराष्ट्रपति ओबामाले पूर्णरुपमा फुकुवा गरे, जसको प्रक्रिया जर्ज बुसकै पालामा आरम्भ भएको थियो ।

विचरा अमेरिका, कठैबरा ट्रम्प !

डोनाल्ड ट्रम्पले अहिले जे जे तमासा गरिरहेका छन्, यो उनको बहादुरी होइन, बाध्यता हो । अमेरिका र डोनाल्ड अहिले चरम संकटमा छन् । अमेरिकालाई संकटबाट बचाउनका लागि र विश्वमा उसको ‘सुपि्रम्यासी’ गुम्न नदिनका लागि डोनाल्डलाई श्वेत राष्ट्रवादले ‘प्रोजेक्ट’ गरेको छ ।

तर, ट्रम्पको भवितव्य के हो भने उनले अमेरिकाको श्रेष्ठता अब जसै गरे पनि जोगाउन सक्नेवाला छैनन् । अमेरिकाको सुपि्रम्यासी फर्काउँछु र फेरि ग्रेट अमेरिका बनाउँछु भन्नु भनेको बूढो मानिसलाई युवा बनाउँछु भन्नुजस्तै अप्राकृतिक चाहना हो । विश्वमा सुपरपावरका रुपमा अमेरिकाको अवस्थिति खस्कँदो छ र ट्रम्पको यस्तो नीतिले झनै खस्कँदै जानेछ ।

मुस्लिमहरुलाई प्रतिबन्ध लगाएर के हुन्छ ? अमेरिका आफ्नै कारणले राजनीतिक अस्थिरता र अशान्तिमा रुमलिएको छ । टाउको दुखेको औषधि नाइटोमा लगाएर हुँदैन ।

अमेरिकी विद्यालयमा हप्तैपिच्छे गोली चल्छ । बालबच्चाहरु स्कुलमै मारिन्छन् । यसरी गोली चलाउनेहरु आप्रवासी हैनन्, अमेरिकी नै हुन् उनीहरु मुस्लिम होइनन्, स्वेत अमेरिकीहरु हुन् ।

चार वर्षका लागि विधिवत चुनाव जितेका ट्रम्पको विरोधमा दशौं हजारको जुलुस सडकमा निस्कन थालेको छ । नेपालमा जस्तै संसदमा हैन, सडकमै समाधान खोज्ने विकृति अमेरिकी राजनीतिमा घुसिसकेको छ । बाहना आप्रवासीको छ, तर झगडा डेमोक्रेटिक र रिपब्लिकनवीच मच्चिइरहेको छ । यी तथ्यहरुले अमेरिकालाई चाँडै नै क्षतविक्षत गराउने संकेत गर्छन् ।  यसले विश्वसमुदायबाट उसलाई झनै अलग-थलग र कमजोर बनाउने निश्चित छ ।


ट्रम्पले भनेजस्तो नगर्ने र डेमोक्रेटले भनेजसरी आप्रवासी एवं शरणर्थीहरुलाई नरोक्ने हो भने अमेरिकाको स्थिति थप नाजुक हुनेवाला छ । विश्वका सबै मानिसहरु यसैगरी अनवरत रुपमा अमेरिकामा थुपि्रन दिने हो भने त्यो देशले कसरी धान्छ ? कहिलेसम्म धान्छ ? त्यो अवस्थामा अमेरिका भन्ने देश शरणार्थी एवं आप्रवासीहरुको भीमकाय शिविरमा रुपान्तरण हुन अब धेरै समय लाग्ने छैन । कति थेग्ने अमेरिकाले आप्रवासीहरु ? यसैले हुनुपर्छ ट्रम्पले मेक्सिकोलाई पर्खालले छेक्न खोजेको ।

तर, विचरा ट्रम्पलाई के थाहा ? आफ्नो आँगनमा पर्खाल लगाएपछि धेरै कुराहरु बाहिर पर्छन् । मेक्सिकोमा पर्खाल लगाएपछि त्यहाँका देशबासीलाई आर्थिक शोषण गर्न अमेरिकी कम्पनीलाई नै अप्ठ्यारो पर्नेछ । मेक्सिकोको भूमि र प्राकृतिक स्रोत साधनमा विगतमा जसरी रजाइँ गर्न त्यही पर्खाल बाधक बन्न सक्छ ।

त्यसैगरी मुस्लिमहरुमाथि बञ्देज लगाएपछि विश्व रंगमञ्चमा अमेरिका आफैं घेराबन्दीमा पर्न सक्छ । र, ऊविरुद्ध मनोवैज्ञानिक पर्खाल लाग्न सक्छ विश्वसमुदायमा ।

त्यसर्थ, ‘ट्रेजेडी अफ सुपर पावरको’ को वियोगान्त नियति भोगिरहेको अमेरिका अहिले दुःखमा छ । अहिले डोनाल्ड ट्रम्प विश्व रंगमञ्चमा यही दुःख र ‘पराजयको व्यवस्थापन’ मा जुटेका छन् । दुःखको भवसागरमा बाँकटे हान्दैछन् ।

सगरमाथाको फेदमा, बु्द्धभूमिमा बस्ने हामी नेपालीहरुले अमेरिका र डोनाल्ड ट्रम्पको भवितव्यलाई बेलैमा पर्नेल्न सक्यौं र त्यतातिर पिठ्यौं फर्कायौं भने धेरै कुराहरु सुल्टो देखिन थाल्नेछन् । त्यसबेला आफ्नै सुन्दर मातृभूमिमा सम्भावनाका किरणहरु देखिन थाल्नेछन् ।

 

स्रोत: अनलाइनखबर

Comments

comments

Leave a Reply

%d bloggers like this: