Tuesday, August 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > परदेशमा नेपालीको पीडाः आफ्नै नाम बिर्सने बेला भो’ म्यानपावर कसरी सम्झनु?

परदेशमा नेपालीको पीडाः आफ्नै नाम बिर्सने बेला भो’ म्यानपावर कसरी सम्झनु?

‘तपाईं कुन म्यानपावरमार्फत् जानुभएको थियो?’

हत्या अभियोगमा साउदी अरबको जेलमा पाँच वर्ष सजाय भोगेर निर्दोष सावित भएर फर्किएका विराटनगरका भीमप्रसाद चिमौरीयालाई प्रश्न गर्दा उनले जवाफ दिए, ‘हिरासतमा मैले पाएको चरम यातनाको श्रृंखलाले आफ्नै नाम बिर्सिने बेला भएको छ, कसरी म्यानपावरको नाम सम्झनु!’

सन् २०१० मा साउदीको जेद्दाहमा एक ‘ग्याङफाइट’ को क्रममा एक भारतीय नागरिकको हत्या भएको थियो। उक्त हत्याको अभियोगमा ११ जना नेपालीलाई साउदी प्रहरीले हिरासतमा लिएको थियो।

पक्राउ परेको साढे पाँच वर्षपछि उनीहरु सबै निर्दोष सावित भए।

जेद्दाह सेन्ट्रल जेलमा सात वर्ष बसेर निर्दोष सावित भएर एक महिनाअघि नेपाल फर्किएका १० जना नेपालीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा आफूहरुलाई क्षतिपूर्ति तथा राहतको व्यवस्था गरिदिन आग्रह गरे।

११ जनामध्ये एकको भने हिरासतमै भएकाबेला प्रहरीको यातनाका कारण मृत्यु भइसकेको छ। निर्दोष सावित हुनुअघि झापा घर भएका उमेश श्रेष्ठको निधन भएको हो।

आफूहरु निर्दोष हुँदाहुँदै पनि त्यहाँको प्रशासनले हिरासतमा राखेर चरमयातना दिएको र निर्दोष सावित हुँदा पनि कुनै क्षतिपूर्ति नदिएको भन्दै उनीहरुले प्रधानमन्त्रीसमक्ष गुनासो पोखेका थिए। हिरासतमै मृत्य भएका श्रेष्ठको शव पनि आजसम्म नपाइएको चिमौरिया बताउँछन्।

उनीहरु १० जनाः नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहूँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका वीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

हिरासतमा लिएर अमानवीय तरिकाले यातना दिइएको र त्रासैत्रासमा बाँचेर आएको उनीहरुको दुखेसो छ। ‘प्रत्येक दिन करेन्ट लगाएर पैतलामा हानेर बेहोस बनाइन्थ्यो’ पीडित चिमौरियाले भने,‘बिउँझदा हिरासतमा हुन्थ्यौं।’ त्यसरी बेहोस भएको समयमा उनीहरुको हातबाट जे पनि लेखाएर राख्ने गरेको उनको भनाइ छ।

परिवारको दुःख टार्न भनेर करिब लाख रुपैयाँ नेपालमै तिरेर उनीहरु साउदी पुगेका हुन्। गएको ऋण तिरिनसक्दै आफूहरु फन्दामा परेकोले जीवन नै बर्बाद भएको रुपन्देहीका भक्तबहादुर दर्जी बताउँछन्।
तत्कालिन समयमा दूतावासमा रहेका नेपाली अधिकारीले पनि असहयोग गरेको पीडितहरुको आरोप छ।

त्यतिबेलाका दूतावास अधिकारीहरु हरिशचन्द्र घिमिरे र मानबहादुर थापाले आफूहरुलाई सहयोग गर्नुको साटो उल्टै अपमान गरेको दर्जीले आरोप लगाए। ‘जेद्दाहमा हाम्रो केस हेर्न उनीहरुलाई खटाइएको थियो। सुरुका केही महिना आउनु पनि भयो’ दर्जीले भने,‘भोलिपल्ट अदालतमा हाम्रो पेसी छ भनेर राति फोन गर्दा उहाँहरुले हामीलाई उल्टै अपशब्द प्रयोग गर्नुभयो।’

यदि नेपाली नियोगका अधिकारीहरु इमान्दार भएमा, यस्तो अवस्थामा पनि कोही निर्दोष नेपाली दुई महिनाभन्दा बढी जेलमा बस्नु नपर्ने उनीहरु बताउँछन्। दूतावासका हालका कर्मचारीहरुकै सहयोगमा नेपाल आउन पाएको भन्दै पहिले आफूहरुमाथि अपमान गर्नेमाथि कारबाही गर्नुपर्ने भन्दै प्रधानमन्त्री समक्ष पीडितले आग्रह गरेका छन्।

हालका कर्मचारीको प्रशंसा गर्दै नियोगमा राम्रा कर्मचारी खटाउन उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा प्रचण्डले आफूले विदेशमा रहेका नेपालीहरुको दुःखपीडा कसरी कम गर्न सकिन्छ भनेर नीतिगत निर्णय गर्दै आएको र अझै पनि सहयोग गर्न लागिपरेको बताए।

‘तपार्इंहरुको कुरा सुन्दा निकै दुःख लाग्यो। बिदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपाली छन्। मेरो नेतृत्वमा सरकार बनेपछि मैले बिदेशमा रहेका नेपालीलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु’ प्रधानमन्त्रीले भने, ‘बिदेशी जेलमा रहेका नेपालीको तथ्याङ्क संकलन, सीड मनीको व्यवस्था, कम्पनी टाट पल्टिएर बेरोजगार भएकाको उद्दार, विदेशमा काम गर्नेका लागि म्यादी जीवन बीमाजस्ता व्यवस्था त्यसैका लागि गरिएको हो। तपाईंहरुलाई राहत उपलब्ध गराउन सरकार सकारात्मक छ, यसबारे म आवश्यक कुरा गर्छु।’

अधिकांश कामदार कम्पनी छोडेका
साउदीको जेलमा यातना भोगेर फर्किएका उनीहरु अधिकांश आफूले काम गर्ने कम्पनी छोडेर आएका छन्। यहाँबाट जाँदा भनिएको तलब तथा काम नपाएकोले अर्कै कम्पनी र काम गरिरहेको समयमा उनीहरु हत्या अभियोगमा परेको पाइएको छ।

यहाँबाट कामदार पठाउने कम्पनीहरुको बदमासीको कारण धेरै नेपालीहरुले काम, कम्पनी छाड्ने प्रवृत्ति बढेको छ। यसले कामदारमाथि झनै संकट आइपर्ने गरेका मुद्दाहरु सार्वजनिक भइरहेका छन्। यो सबैको आरोप म्यानपावरमाथि लाग्दै आएको छ। काम र सुविधाबारे झुटो कुरा बताएर पठाउने प्रवृत्तिका कारण हजारौं नेपाली कामदारले विदेशमा गएर दुःख भोग्नु परेको छ।

 

स्रोत: सेतोपाटी

 

Comments

comments

Leave a Reply

%d bloggers like this: