Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > संसारभर फैलिँदै वाइवाइ

संसारभर फैलिँदै वाइवाइ

काठमाडौंः मुलुकमा चाउचाउ भख्खर चिनिन थालेको थियो । रारा चाउचाउको पोखरामा उत्पादन सुरु भइसकेको थियो । विदेश (खासगरी थाइल्यान्ड)बाट फर्किने यात्रु चाउचाउ कोसेली बोकेर फर्किन्थे । भारतबाट पनि म्यागी चाउचाउ आउन थालेको थियो । तर, चाउचाउ खाने संस्कृति बन्न धेरै वर्ष कुर्न पर्ने थियो ।

यसैले त थाइल्यान्डको एसियन थाई फुड्सका प्रबन्ध निर्देशक किटी पोङ श्रीले विनोद चौधरीलाई भनेका थिए ‘तिमीले नेपालमा नूडल्स बेचेर पैसा कमाउने सपना नदेखे हुन्छ ।’ चौधरीले नेपालमा वाइवाइउत्पादन गर्ने प्रस्ताव गरेपछि उनी बजार बुझ्न आएका थिए । नेपालमा चाउचाउको बजार नभएको उनको निष्कर्ष थियो ।

सायद त्यही बेला चौधरीले झट्ट सम्झिए होलान्, अफ्रिकामा बाटा ब्रान्ड विस्तारको कथा । बाटा कम्पनीका मालिकले विशेषज्ञ टिमलाई आफ्नो ब्रान्ड विस्तारका लागि अनुसन्धानको जिम्मा लगाएका थिए । ‘कसैले जुत्ता चप्पल नलाउने अफ्रिकामा कम्पनी विस्तार गर्ने सोच त्यागिदिए हुन्छ’, अनुसन्धान रिपोर्टको निचोड थियो ।

बाटाका मालिकले विशेषज्ञहरुलाई धाप मार्दै भनेका थिए, ‘विद्वान महोदय, त्यसैले त त्यहाँ बाटा कम्पनीको भविष्य उज्वल छ ।’ विनोदलाई पनि लाग्यो, नेपालीले नूडल्स चाख्नै पाएका छैनन् कहाँ बजार हुन्छ अहिले ? जब वाइवाइउत्पादन हुनेछ, त्यसपछि थाहा हुन्छ कसरी फैलिनेछ वाईवाईको बजार । बिजनेसमा ठूला अनुसन्धानका निष्कर्षभन्दा पनि माथि एक चिज बाँकी रहन्छ- ‘कमनसेन्स’ । विनोद चौधरीको त्यहि ‘कमनसेन्स’का कारण आज वाइवाइ पाँचै महाद्विपमा फैलिएको छ, विश्वव्यापी नेपाली ब्रान्ड बन्दैछ ।

त्यही नेपाली ब्रान्ड अब युरोपको बजार तताउने योजनामा छ । सर्वियाबाट उत्पादन सुरु हुनै लागेको छ, यसपछि तयारी चाउचाउ खाने संस्कृति नबसेको युरोपमा पनि फरक संस्कृतिको जग बस्ने विश्वास गरिएको छ ।

वाइवाइविस्तारमा फरक खालको रणनीति छ । जब कुनै ठाउँमा वाइवाइउत्पादन सुरु हुन्छ, प्रत्येक पाँच सय किलोमिटरमा उसका नयाँनयाँ फयाक्ट्री थपिँदै जान्छन् । नेपाल र भारतमा वाइवाइयसरीनै फैलिँदै छ । युरोपमा पनि तयारी चाउचाउको संस्कृति चाँडै बन्ने, वाईवाईको विस्तारै यही लयमा हुने विश्वास चौधरी ग्रुपले लिएको छ । ‘बडा सजिलो/सस्तो खाजा हो’, निर्वाण भन्छन्, ‘युरोप पनि धनीमात्र भएको ठाउँ हैन ।’ आउने जुलाईदेखि बंगलादेशको प्लान्टबाट उत्पादन सुरु हुँदैछ ।

साउदी अरेबियामा वाइवाइप्लान्ट लगाउन सुरु भएको छ । डिसेम्बरदेखि साउदीबाट पनि वाईवाईको उत्पादन सुरु गर्ने लक्ष्य छ । थाइल्यान्डबाट वाइवाइतीन दशकअघि (२०४१) नेपाल भित्रिएको हो । नेपालमा मात्र हैन भारतीय बजारमा पनि वाईवाईको बजार द्रुत गतिमा विस्तार भइरहेको छ । एकपछि अर्को प्लान्ट स्थापना गर्ने क्रम चलिरहेको छ । भुटानमा पनि छिट्टै उत्पादन सुरु हुँदैछ । मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट खोलेर वाईवाईलाई संसारभर फैलाउने अभियान छ ।

अहिले नेपाल र भारतबाट वाइवाइउत्पादन हुन्छ । वार्षिक दुई अर्ब ५० करोड प्याकेट वाइवाइबजारमा आउँछ । यो चाउचाउ विश्वका ३० भन्दा बढी मुलुकमा पुग्छ । वाईवाईको विश्व चाउचाउ बजारमा २.५ प्रतिशत हिस्सा पुगिसकेको छ । नेपालमा ५१ प्रतिशत र भारतमा २७ प्रतिशत हिस्सा छ । आगामी चार वर्षभित्र विश्वमा वाईवाईको हिस्सा पाँच प्रतिशत पुर्‍याउने योजना छ ।

यसका लागि भिजन २०२० अगाडि सारिएको छ । चार वर्षभित्र दशवटा मुलुकमा वाइवाइउत्पादन सुरु हुनेछ । वार्षिक पाँच अर्ब प्याकेट वाइवाइउत्पादन हुनेछ । ‘पाँच अर्ब प्याकेट पुग्नु भनेकै विश्वमा पाँच प्रतिशत हिस्सा पुग्नु हो’, चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्छन्, ‘विश्वका ६० भन्दा बढी मुलुकमा वाइवाइपुगिसकेको हुनेछ ।’

वाइवाइ सुरुवात
नेपालीले थाइल्यान्ड, जापानबाट आउँदा व्यागेजमा चाउचाउ बोकेर आएको देखेपछि यहाँ चाउचाउको बिक्छ भन्ने सोच आएको थियो । चौधरीलाई चाउचाउ उत्पादनको सल्लाह दिनेचाहिँ हिमालयबहादुर पाँडे थिए । चौधरी परिवारको मैदा कारखाना थियो ।

चाउचाउ बनाउन पनि मैदा चाहिने, कच्चा पदार्थ खोज्न भौंतारिनु परेन । २०४० तिर हो, चाउचाउको बजार र प्रविधि बुझ्न चौधरी थाइल्यान्ड गएका थिए । वाईवाईसँग साझेदारीको प्रस्ताव राखे । एउटै चाउचाउ प्लान्टको क्षमता घटीमा प्रतिआठ घन्टा ३० हजार प्याकेट हुन्थ्यो । यसैले बजार अध्ययनपछि पोङ श्रीले उत्पादित चाउचाउ नबिक्ने ठहर्‍याएर चाउचाउ उत्पादनको सपना त्याग्न सुझाएका थिए । बजारको जोखिम लिन चौधरी तयार भए । सुरु भयो, वाइवाइउत्पादन ।

भैंसेपाटीमा वाईवाईको पहिलो प्लान्ट सञ्चालन भयो । चाउचाउ उत्पादन भयो, वितरण प्रणाली थिएन । दह्रो बजार प्रवद्र्धनको आवश्यकता थियो । बजार व्यवस्थापन गर्न नेस्ले इन्डियाका वरिष्ठ कर्मचारी केआर शर्मालाई ल्याइयो । मार्केटिङ अभियान चल्यो । आक्रमण बजार प्रवद्र्धनको सुरुवात भयो ।

वाइवाइ विस्तारमा फरक खालको रणनीति छ । जब कुनै ठाउँमा वाइवाइ उत्पादन सुरु हुन्छ, प्रत्येक पाँच सय किलोमिटरमा उसका नयाँ नयाँ फ्याक्ट्री थपिँदै जान्छन् । नेपाल र भारतमा वाइवाइ यसरी नै फैलिँदैछ ।

नेपालीको खाने बानीमा परिवर्तन हुँदै गयो । वाईवाईको माग पनि बढ्न थाल्यो । माग ह्वात्तै बढेपछि नवलपरासीमा दोस्रो प्लान्ट खुल्यो । अहिले नवलपरासीको चौधरी उद्योग ग्राममा चारवटा प्लान्ट सञ्चालनमा छन्, एउटा थप्न लागिएको छ ।

बर्दियामा एउटा प्लान्ट सञ्चालनमा आइसकेको छ । पूर्वको इटहरीमा पनि प्लान्ट लगाउने तयारी छ । अहिले नेपालमा दैनिक १५ लाख प्याकेट वाइवाइउत्पादन हुन्छ । नेपालीको मुखमा वाइवाइझुण्डिएको छ । उपभोक्ताबीच ‘चाउचाउ भनेकै वाईवाई’ बन्न सफल भएको छ । नेपालबाट वाइवाइविदेश पनि निर्यात हुन्छ ।

विश्वयात्रा
सुरुमा नेपालबाटै भारतमा वाइवाइनिर्यात हुन्थ्यो । बन्द, जक्काजामले उत्पादन/निर्यातमा असर पर्न थालेपछि सिक्किमको रंग्पोमा वाईवाईको उत्पादन सुरु गरिएको थियो । ‘सिक्किम वाइवाइफैलिने मेजर टर्निङ प्वाइन्ट बन्यो’, चौधरी समूहका महाप्रबन्धक मधुसूदन पौडेल बताउँछन् । भारतमा वाइवाइ२०४७ सालदेखि नै निर्यात हुन्थ्यो, २०६२ सालदेखि त्यही उत्पादन सुरु भयो ।

सिक्किममा वार्षिक १२ करोड प्याकेट क्षमताको प्लान्ट छ । सिक्किमको प्लाण्टमार्पmत वाइवाइभारतीय बजारमा द्रुत गतिमा फैलिने क्रम सुरु भएको थियो । माग बढेपछि उत्तराखण्डको रुद्रपुरमा दोस्रो प्लान्ट खुल्यो । आसाममा दुईवटा प्लान्ट सञ्चालनमा छन् । विहारको पूर्णिया र आन्द्रप्रदेशको चित्तुरमा पनि वाईवाईको उत्पादन हुन्छ । भारतकै राजस्थान र मध्यप्रदेशमा उत्पादन इकाइ विस्तार गर्न थालिएको छ ।

भारतमा वाईवाईको उत्पादन सुरु हुँदा तयारी चाउचाउको भारतीय बजार म्यागीको एकलौटीजस्तै थियो । अहिले २७ प्रतिशत बजार हिस्सासाथ उसले पहिलो नम्बरको म्यागीलाई चुनौती दिन थालेको छ । भारतमा बजार हिस्सा बढाएको मात्र छैन, चाउचाउको बजार विस्तारमै वाइवाइअग्रणी छ । ‘भारतमा चाउचाउको अझै २० गुना बजार बढाउन सकिन्छ’, निर्वाण भन्छन्, ‘वाईवाईका नयाँ प्लान्ट सञ्चालनमा आएपछि बजार विस्तार हुँदै जानेछ ।’

अहिले नेपालभन्दा भारतमा बढी वाइवाइखपत हुन्छ । उत्पादन प्लान्ट पनि भारतमै बढी छन् । भारतमा वाईवाईको आक्रमक बजार विस्तारको काम भइरहेको छ । भारतबाट विभिन्न मुलुकमा पनि वाइवाइनिर्यात हुन्छ । नेपालबाट पनि वाइवाइतेस्रो मुलुकमा निर्यात हुन्छ । खासगरी सार्क मुलुक पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकमा वाईवाईको उपस्थिति बलियो छ ।

भुटानमा वाईवाईको हिस्सा ६० प्रतिशत रहेको निर्वाण बताउँछन् । सर्बियामा तीन महिनामा उत्पादन सुरु भएपछि रसियासम्म वाइवाइपुर्‍याउने लक्ष्य छ । रसिया र किर्गीस्तानमा युरोपको अर्को उत्पादन इकाइ स्थापना गर्न अध्ययन सुरु गरिएको छ । सर्बियाको उत्पादन इकाईलाई वाईवार्ई विश्वव्यापी हुने अभियानको अर्को मेजर टर्निङ प्वाइन्टका रूपमा लिइएको छ ।

बंगलादेशमा प्लान्ट लगाउने काम पनि धमाधम भइरहेको छ । जुलाईदेखि बंगलादेशमा पनि वाइवाइउत्पादन हुने बताइएको छ । बंगलादेश पनि वाईवाईको ठूलो बजार हो ।साउदी अरेबियामा वाइवाइप्लान्ट लगाउन काम सुरु भइसकेको छ । यही डिसेम्बरसम्म साउदी अरेबियाको प्लान्ट पनि सञ्चालनमा ल्याउने तयारी छ ।

खाडीमा उत्पादन इकाइ स्थापना गर्ने गरी वाईवाईलाई विस्तार गर्न नेपाली कामदारले ब्रान्ड एम्बेस्डरको काम गरेको निर्वाण बताउँछन् । कामदारले यहाँबाट ब्यागेजमा वाइवाइबोकेर जान्छन् । तिनले खाएको देखेपछि अरु देशका कामदारले सोधीखोजी गर्न थाले । डिमान्ड देखियो, निर्यात हुन थाल्यो । ‘त्यहाँ एक किसिमको मार्केट बनिसकेको छ, यसले मध्यपूर्वमा प्लान्ट लगाउने आधार बन्यो’ निर्वाण भन्छन्, ‘साउदीको प्लान्टबाट कतार, ओमान, युएईलगायत मुलुकमा वाइवाइ पुर्‍याउन सकिन्छ ।’

चौधरी समूहले सुरुमा वाइवाइनिर्यात गर्‍यो, एक किसिमको मार्केट बनेपछि प्लान्ट खोल्दैछ । यसले बजार विस्तारमा सहयोग पुर्‍याउने विश्वास छ । भुटानमा वाईवाईको ६० प्रतिशत हिस्सा छ । त्यहाँ पनि वाइवाइप्लान्ट सञ्चालन गरिँदैछ ।

विनोद चौधरी

वाईवाईको अर्को भर्जिन मार्केट हो, अफ्रिका । अफ्रिकन मुलुकमा चाउचाउको ठूलो बजार सम्भावना रहेको निर्वाण बताउँछन् । दक्षिण अफ्रिकामा चाउचाउ प्लेयर छन् । उत्तरी र पूर्वी अफ्रिकामा अझै प्लेयर छैनन्, बजार पनि ठूलो छ । अफ्रिका प्रवेशका लागि इजिप्ट र केन्यामा रोजाइमा छन् । इजिप्टमा एक्जिस्टिङ कम्पनीसँग सहकार्य गरेर इनअर्गानिक ग्रोथ गर्न खोजिएको छ । केन्यामा प्लान्ट लगाएर पूर्वी अफ्रिकी मुलुकमा वाइवाइ पुर्‍याउने योजना छ ।

अमेरिकी मुलुकमा वाइवाइ पुर्‍याउन दक्षिण अमेरिकी मुलुकमा प्लान्ट लगाउन खोजिएको छ । मेक्सिको पहिलो रोजाइमा छ । यहाँ प्लान्ट लगाएर उत्तर अमेरिकासम्म वाइवाइनिर्यात गर्न सकिन्छ । पेरुमा अर्को प्लान्ट लगाउँदा दक्षिणी अमेरिकी मुलुक समेट्न सकिन्छ । यसका लागि साझेदार खोजी भइरहेको निर्वाणले सुनाए । पोल्यान्ड, रुस, इरान, टर्कीमा पनि काम अगाडि बढिरहेको छ ।

चाउचाउ कल्चर पूर्वी मुलुकबाट सुरु भएको हो । जापान, थाइल्यान्ड, चीन, सिंगापुर, जापान, कोरिया लगायतका मुलुकमा चाउचाउका ठूला खेलाडी छन् । युरोप, अफ्रिका र अमेरिकी मुलुकमा चाउचाउ कल्चर भर्खरै सुरु हुँदैछ । यी मुलुक बजार विस्तारका लागि भर्जिन मुलुक हुन् । त्यसैले दक्षिण पूर्वी, अफ्रिका, युरोप अमेरिकामा तार्गेट गरिरहेको निर्वाणले बताए । एसियामा म्यागीजस्ता २/३ वटा प्लेयरमात्र थिए । वाइवाइआएपछि बजार विस्तार हुँदै गयो । एसियन मुलुक वाईवाईका लागि मुख्य बजार बनेको छ ।

जापानबाट सुरुवात
चाउचाउको कन्सेप्ट जापानबाट सुरु भयो । मम फोकु आन्दोले चाउचाउ विकास गरेका थिए । चीनमा भित्रिएपछि चाउचाउको बजारको वृद्धि ठाडो भयो । लगत्तै अरु पूर्वी मुलुकमा पनि चाउचाउ फैलिँदै गयो । चीन, जापान, कोरिया, थाइल्यान्डमा बढी चाउचाउ प्रयोग हुन्छ । नेपालीको पूर्वी मुलुकमा ‘कनेक्टिभिटी’ बढ्दै जाँदा चाउचाउ खाने संस्कृति बढ्न थाल्यो ।

वाईवार्ईको कारण सडक पहुँच नपुगेका कुना/कन्दरामा पनि चाउचाउ खाने संस्कृति फैलियो । निर्वाण चाउचाउको बजार विस्तार हुनुमा सस्तो/सजिलो हुनुलाई प्रमुख कारण ठान्छन । खाद्यन्नको भाउ उकालो लागिरहेको अहिलेको अवस्थामा १५/२० रुपैयाँ खाजा पाउन गाह्रो भइसक्यो, जुन चाउचाउबाट सम्भव छ । त्यसमाथि मान्छेको व्यस्तता बढ्दै छ, चाउचाउ पकाउन समय थोरै लाग्छ । निर्वाणका अनुसार वाईवाईको विश्वव्यापी वृद्धिदर २५ प्रतिशतभन्दा माथि छ ।

वाइवाइविभिन्न १५ फ्लेवरमा पाइन्छ । भारतमा पनि पाँच फ्लेवरमा वाइवाइउपलब्ध छ । साउदीमा पनि पाँच फ्लेवरमा वाइवाइआउने निर्वाणले बताए । गएको वर्ष नेपालमा आलुतामा फ्लेवरमा ह्वाइट नुडल्स आयो । यसअघि उसले पश्चिम बंगालको लागि माछा फ्लेवरमा वाइवाइउत्पादन गरेको थियो, जुन चलेन । खानामा माछा खाइरहने बंगालीले चाउचाउमा पनि माछाकै फ्लेवर रुचाएनन् ।तर आलुतामा खाइरहने बानी भए पनि नेपाली उपभोक्तामा आलुतामा फ्लेवर एकदम हिट भयो ।

 

स्रोत: अन्नपुर्ण पोष्ट

Comments

comments

Leave a Reply

%d bloggers like this: