Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > ‘सिलवाललाई थुनामुक्त गरी अदालतमा हाजिर गराउनू’

‘सिलवाललाई थुनामुक्त गरी अदालतमा हाजिर गराउनू’

काठमाडौ, ११ वैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी आजै अदालतमा हाजिर गराउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज सिलवालले गैरकानुनी रुपमा आफूलाई थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि सो आदेश गरेको हो ।

आदेशमा प्रहरी नायब महानिरीक्षक सिलवाललाई अदालतका रजिस्ट्रारको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी अदालतमा उपस्थित गराउन भनिएको छ । “सर्वोच्च अदालतको नियमावलीअनुसार यस अदालतका रजिस्ट्रारको रोहबरमा विद्वान् अधिवक्ता शम्भु थापाको हाजिर जमानीमा बन्दी बनाइएका सिलवाललाई आजै तत्काल थुनामुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, तुलसी भट्ट र अधिवक्ता हरि फुयााल, मेघराज पोखरेल, टीकाराम भट्टराई र पूर्णप्रसाद राजवंशीले बहस गर्नुभएको थियो ।

प्रहरी नायब महानिरीक्षक सिलवालका तर्फबाट आजै अधिवक्ता पूर्णप्रसाद राजवंशीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै अदालत निवेदन दायर गर्नुभएको थियो । छानबिनका लागि भन्दै प्रहरीले सिलवालका घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लगेको थियो । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: