Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > बिचल्लीमा राजा महेन्द्रको सवारीचालक १०० वर्षीया रामदेवी श्रेष्ठ

बिचल्लीमा राजा महेन्द्रको सवारीचालक १०० वर्षीया रामदेवी श्रेष्ठ

राजा महेन्द्रले उनलाई ड्राइभर्नी भनेर बोलाउँथे । नाम रामदेवी श्रेष्ठ भए पनि महेन्द्रले उनको नाम ड्राइभर्नी राखिदिएका हुन् । राजाको गाडी चलाउने भएकाले उनको नाम ड्राइभर्नी राखिएको रहेछ ।

आउँदो माघमा १०० वर्ष पुग्दै गरेकी श्रेष्ठले राजा महेन्द्रलाई तात्कालिक नारायणहिटी दरबारदेखि टुँडिखेलसम्म गाडीमा लैजाने र ल्याउने गर्थिन् । उनले चलाएको गाडीमा महेन्द्रमात्रै होइन, राजा वीरेन्द्र/ऐश्वर्य, ज्ञानेन्द्र÷कोमल, दीपेन्द्र, नीराजन र पारससमेत चढेका थिए ।

कोही कहाँ जाने, कोही कता जाने भएकाले थुप्रै दरबारियालाई बोकेर उनी धेरै ठाउँ पुगेकी थिइन् । ‘गाडी चलाउँदा कहिल्यै दुर्घटना भएन,’ उनले अतीत सम्झिन्, ‘बिस्तारै चलाउँथें । त्यतिबेला अहिलेजस्तो बाक्लो गाडी पनि थिएन । र पनि, ध्यान दिएर चलाउँथें ।’

रामदेवी श्रेष्ठले गाडी चलाएको देखेर राजा महेन्द्र त्यत्तिकै खुसी थिए । उनले सुनाइन्, ‘खुसी भएपछि महेन्द्र सरकारले गाडी बकस दिइबक्सेको थियो ।’ दरबारमा रहँदा महेन्द्र रिसाएको कहिल्यै नदेखेको उनले सुनाइन् । श्रेष्ठको निजी गाडीसमेत थियो । ठहिँटी–नघल क्वाँडोनिवासी उनी वीरेन्द्र सरकारको दुहली खोज्न राजाको गाडी चलाएर थुप्रै ठाउँ पुगेकी थिइन् । उनले राजा महेन्द्रलगायत दरबारियालाई गाडीमा दक्षिणकाली र मनकामनासम्म पुर्याएकी थिइन् ।

संवत् १९७५ माघकी उनले राजाको गाडी चलाउने भएकाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन पाइनन् । उनले भनिन्, ‘लाइसेन्स दिने अड्डाका कर्मचारीले राजाको गाडी चलाउनेलाई लाइसेन्स किन चाहियो ? आनन्दले चलाउनूस् भनेर फर्काइदिए ।’

लाइसेन्सविना राजाको गाडी चलाउने उनले काठमाडौं लैनचौरको गल्कोपाखामा दुई महिना गाडी चलाउन सिकेकी थिइन् । उनका श्रीमान् कृष्णदास श्रेष्ठले पनि राजा महेन्द्रको गाडी चलाएका थिए ।

राजा महेन्द्रको ०२८ मा निधन भयो । राजा महेन्द्र र श्रीमान् कृष्णदासको निधनपछि उनी दरबार कहिल्यै फर्किनन् । दरबारमै रहँदा राजा वीरेन्द्रले दरबारको कुरा बाहिर कसैलाई नभन्नू है भनेका थिए । वचनका पक्का उनले त्यसै गरिन् । दरबारका कुरा कहिल्यै कसैलाई सुनाइनन् ।

रामदेवीको ठहिँटीमा पाँचतले घर थियो । भतिजोले छलकपट गरेर बेचिदिए । घर नौ लाखमा बेचे पनि उनलाई एक लाख रुपैयाँमात्रै थमाइयो । घर बेचेपछि उनको बस्ने टुंगो भएन । निःसन्तान उनी बिचल्लीमा परिन् । बिचल्लीमा परेको देखेर उनलाई कसैले दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघर पुर्याइदिएका थिए ।

 

स्रोत: रातोपाटी

 

Comments

comments

Leave a Reply

%d bloggers like this: