Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समाचार > अब तक्मे बूढालाई ‘भाते’ नभन्नुस्

अब तक्मे बूढालाई ‘भाते’ नभन्नुस्

‘हाउ, कति लाखको घडी लाउँछ, कति लाखको मोबाइल बोक्छ भनेर सोध्ने होला हैन ?’

कुराकानीको थालनीमै तक्मे बुढा रौसिए । हामीले तक्मेलाई भिडियो सम्पादन गर्ने एक स्टुडियोमा भेटेका थियौं । उनी ट्राउजर र पातलो ज्याकेटमा थिए । जुँगा ज्यूँको त्यूँ थियो ।

 

टिपिकल मंगोलियन वर्णका तक्मेले दुई हात जोडेर स्वागत गरेका थिए ‘लौ, सेवारो है, सेवारो ।’

‘तपाईका नजिकका यारहरु भन्छन्, तक्मे भाते हो, भात भनेपछि मरिहत्ते गर्छ ?’ हामीले उनको अनुमान विपरीत प्रश्न सोध्यौं ।

‘आबुई, ह न कसले भन्यो ?’ उनले आफ्नै टोनमा हकारे, ‘मलाई भाते रे, अहिले त मैले टोटल्ली भात खान छाडें त । यी हेर्नुस् म कति स्लिम भएको छु ।’

वास्तवमै उनको ज्यान घटेको थियो । उनले केही छाक कटौती गरेर अनि केही पाथी पसिना चुहाएर केही दुरी पैदल छिचोलेका रहेछन् । ज्यान स्लिम भएछ । भद्दा भुँडी गायव !

‘मेरा साना दुखले आज्र्याको ज्यान होइन’ भनेजस्तै गरेर उनले केही समय हामीलाई भात छाड्दा र व्यायाम गर्दाको कहानी सुनाए ।

दिनमा पाँच छाक भात

‘हो, म भाते थिएँ ।’ हाम्रो आरोपलाई विल्सनबिक्रम राई उर्फ तक्मे बुढाले सदर गरे ।

बिहान उठ्नसाथ भुटेको भात । ९ बजेतिर पकाएको ताजा भात । सुटिङ स्पटमा भात । राति घर फर्केपछि फेरि भात । उनी एकै दिनमा चार होइन, पाँच छाकसम्म भात खान्थे । भात पकाउन अल्छी नलाग्ने । जतिबेला मन लाग्यो, पकायो खायो ।

उनलाई भातसँग नानाथरी भेराइटी पनि नचाहिने । एउटा उसिनेको अण्डा भए पुग्ने । एउटा पापडकै भरमा पनि मजाले भात रुच्ने ।

‘मलाई भेराइटी बनाउन त अल्छी लाग्दैन कि’ विल्सनले थपे, ‘तर, भात भएपछि अरु केही चाहिँदैनथ्यो । स्वादले खाइदिन्थें ।’

कथाले मागेपछि, छाडे भात

 

अचेल विल्सनले मुखमा ताल्चा लगाएका छन् । भात निकै कम खान्छन् । बितेका केही वर्ष उनले भात खाँदै खाएनन् । अचेल एक/दुई दिन बिराएर खान्छन्, त्यो पनि एक कचौरा ।

भात छाडेको रात उनलाई कम्ता छटपटी भएन । के नखाएजस्तो, के नपुगेजस्तो भयो । जति भुल्न खोजे पनि मीठो-मीठो परिकारले उनलाई तानिरह्यो ।

‘भात छाड्नु साह्रै गाह्रो’ उनले सुनाए, ‘गर्लफ्रेन्डसँग ब्रेकअप हुँदा पनि यत्ति सारो हुँदैन होला हौ ।’

भात मात्र हैन, उनले अन्य केही सेता पदार्थमा नियन्त्रण ल्याएका छन् । मैदाजन्य परिकार र अजिनोमोटो पटक्कै खाँदैनन् । चिनी र नुनको मात्रा धेरै कम गरेका छन् ।

‘यो ह्वाइट चिज चाहिँ छाडें’ विल्सन भन्छन्, ‘खानपानमा पूरै नियन्त्रण गरेको छु ।’

बिहान हल्का नास्ता गर्छन् । दिउँसो पनि हल्का खानेकुरा हुन्छ । पानी पर्याप्त पिउँछन् । फलफूल खान्छन् । किन ?

‘स्लिम हुन परेन ?’, प्रतिप्रश्न गरे, ‘कथाले मागेपछि के गर्नु त ?’

कथाले मागेपछि हो, उनले आफ्नो मेनुबाट खानेकुरा कटौती गरेको । न धेरै माछामासु खान्छन्, न भात ।

उनको उचाइ पाँच फिट ६ इञ्च छ । तौल ८३ केजी । उचाइ भन्दा तौल बढी भएपछि रोग लाग्ने त्रास । डाक्टरले जहिले पनि भन्ने, ‘तौल चाहिँ घटाउनु पर्छ है ।’

हिन्दी फिल्म ‘बोरिवली का ब्रूस ली’ मा अनुबन्धित भएपछि पनि उनीमाथि टिप्पणी भएछ, ‘ज्यान साह्रै भद्दा भो ।’ अन्ततः कथाले मागेपछि उनले आफ्नो छाकमा भारी कटौती गरेका रहेछन् । नतिजा, दुई बर्षको अन्तरालमा ८ किलो तौल घटाएछन् ।

पैदल हिँडनुको मजा !

तौल घटाउनुपर्ने भएपछि तक्मे बूढा हिँड्न थालेका हुन् । कहिलेकाहिँ बानेश्वरबाट लखर-लखर हिँड्दै दरबारमार्ग पुग्छन् । कहिले तरकारी बजारतिर चक्कर लगाउँछन् । उनलाई लागेको छ, शरीरको बोसो घटाउने यो गजबको काइदा हो ।

हिँड्नकै लागि उनले आफूसँग भएको मोटरसाइकल बेचे । ‘साग किन्न पनि मोटरसाइकल चढ्नुपर्ने, हुँदाहुँदा ट्वाइलेट जान पनि मोटरसाइकल नै चढौं जस्तो लाग्ने !’ विल्सनले आफ्नो ठट्यौलो पहिचान प्रस्तुत गर्दै भने ‘जतिबेला पनि मोटरसाइकल चढेपछि पेट नबढेर के बढ्छ त ?’

यसरी पैदल हिँडडुल गर्दा उनले फाइदै-फाइदा देखेका छन् । एक त स्वास्थ्यलाभ मिल्ने । अर्को चाहिँ हाम्रो समाजसँग नजिकबाट साक्षात्कार हुने ।

मास्क लगाएर सार्वजनिक बसमा

कार हुनेहरु पैदल हिँड्दैनन् । सार्वजनिक यातायात चढ्ने कुरै भएन । मोटरसाइकल हुनेको धाक पनि त्यस्तै ।

‘उनीहरु मख्ख नपरे पनि हुन्छ, वास्तवमा उनीहरुले धेरै ठूलो कुरा गुमाइरहेका छन्’, विल्सन भन्छन् ।

विल्सन सार्वजनिक यातायातमा चढ्छन्, मास्क र चस्माले अनुहार ढाकेर । परी आए, आवाज पनि बदल्छन् । अब तक्मेलाई कसले चिन्ने ?

त्यसरी यात्रा गर्दा कतिले आफ्नै कुरा काटेको सुन्छन् । नानाथरी कुरा हुन्छ । प्रौढ उमेरका व्यक्तिहरु विद्यार्थीको कार्ड देखाएर भाडा छुट माग्छन् । कोही ९ बर्षकी आफ्नी बच्चीको उमेर व्यापक घटाएर निःशुल्क यात्रा गराउन खोज्छन् । यस्ता अनेकन घटना, पात्र र प्रवृत्तिसँग घुलमिल हुने ठाउँ हो, सार्वजनिक बस ।

‘हाम्रो समाजको वास्तविक अनुहार कस्तो छ भनेर बुझ्नका लागि त्यो ठाउँ जति राम्रो अरु छैन’ विल्सनले भने ।

उनलाई सार्वजनिक यातायातमा कोचिनु किन पनि परेको छ भने, त्यहाँ थरीथरीका विषय पाइन्छ । कलाकार भएपछि समाजको वास्तविकता पनि थाहा पाउनुपर्छ भन्ने उनलाई लागेको छ ।

‘कसले के भन्छ, कसरी बोल्छ, कस्तो व्यवहार गर्छन् भनेर नियाल्छु’, उनले भने, ‘मेरा लागि सार्वजनिक बस खुला विश्वविद्यालय पनि हो ।’

उनले एउटा किस्सा सुनाए-

बाबु उमेरका जेन्टलमेनले बिद्यार्थी कार्ड देखाएर भाडा छुट मागे ।

‘तपाईको पनि कार्ड ? पढ्नेजस्तो त देखिँदैन’, सहचालक बम्किए ।

‘भाइ, इन्जिनियरिङमा फेल हुन पाइँदैन ?’, जेन्टलमेनले शान्त साथ जवाफ फर्काए ।

आफ्नो किस्सा सुनाइ सकेर आफै मस्त हाँसेपछि विल्सनले भने-‘यस्तो रमाइलो कन्टेन्ट कोठामा बसेर कहाँ फेला पर्छ त, होइन ?’

विल्सन रेसिपी

 

अचेल खानपानमा नियन्त्रण गरे पनि विल्सनको जिब्रो खानेकुरा सम्झनसाथ रसाइहाल्ने खालकै हो । उनी घरमै थरीथरीका परिकार बनाएर खान्छन्, खुवाउँछन् । उनका ‘जिग्री दोस्त’ छन्, संयम पुरी, गौरव पहाडी । उनीहरुलाई आफ्नो बासस्थानमा निम्त्याउँछन् र आफ्नै हातले पकाएको परिकार चखाउँछन् ।

‘खुब मीठो मान्छन्’ विल्सन फुर्किए, ‘म पकाउन पनि मीठै पकाउँछु नि ।’

उनले साँच्चै स्वादिलो बनाउने परिकार चाहिँ के हो ?

‘पोर्क’ उनले भने ।

‘कसरी बनाउनुहुन्छ ?’, हामीले जान्ने प्रयास गर्‍यौं ।

‘पोर्क चाहिँ म घरमा जस्तै नर्मल तरिकाले बनाउँछु’ उनले भने, ‘पाए त्यसमा रायोको साग मिसाउँछु, नभए चाइनिज साग ।’

सुँगुरको मासुको कुरा गर्दागर्दै उनले घुटुक्क थुक निले । अनि थपे- ‘एग करी हुन्छ नि, अण्डाको, त्यो चाहिँ म दामी बनाउँछु ।’

एग करी

एग करीको विलसन रेसीपी यस्तो छः

चार जनाका लागि हो भने, पाँचवटा अण्डा ल्याउने । आलु र अण्डा उसिन्ने । चारवटा अण्डालाई तेलमा रातो हुने गरी फ्राइ गर्ने । बाँकी रहेको एउटा अण्डालाई मसिनो गरी टुक्राउने । आलुलाई पनि टुक्रा गर्ने ।

तेलमा प्याज फुराउने । प्याज रातो भएपछि त्यसमा अदुवा र लसुनको पेस्ट हाल्ने । अब मगमग बास्ना आउन थाल्छ । त्यसपछि थोरै धनियाको धुलो, बेसार हाल्ने । आलु र टुक्रा गरेको अण्डा हालेर राम्ररी फ्राइ गर्ने । त्यसपछि ठिक्क पानी हालेर भकभक उमाल्ने । झोल उम्लिन थालेपछि चारवटा अण्डा पनि त्यसैमा मिसाइदिने ।

‘यसरी बनाइएको एग करीमा अण्डाको फ्लेबर हुन्छ, अरुमा जस्तो आलुको मात्रा बढी हुँदैन’, उनले भने ।

विल्सनलाई खानेकुरा बनाएको हेर्न खुब चाख लाग्छ । उनी यात्रा र खानासम्बन्धी च्यानल ‘टीएलसी’ हेर्छन् । देश विदेश चाहर्दा स्टि्रट फुडमा चोर आँखा दौडाउँछन् ।

विल्सनले बैंकक भ्रमणमा यसरी नै माछाको परिकार बनाउन सिके । काठमाडौं फर्केपछि त्यसलाई प्रयोग गरे । उनको भाषामा ‘भयानक मीठो’ भयो ।

फिस ब्वाइल

माछा पकाउने उनको रेसीपी यस्तो छः

अलि ठूलो माछा ल्याउने । त्यसलाई मःम पकाउने भाँडोमा बफ्याउने । बफ्याउनुअघि भाँडाको पानीमा अदुवा सहित लसुन र प्याजको पातलाई मसिनो हुनेगरी काटेर हाल्ने । त्यसमा नुन राख्ने । अनि माछा बफ्याउने । यसरी बफ्याइएको माछामा त्यससँगै तयार गरिएको रस हालेर सेवन गर्न सकिन्छ ।

‘मेरो सानो भाञ्जा छ कि, उसले त मेरो यो रेसीपी खुब मन पराएको छ’ विल्सनले भने ।

दाल चिकेन करी बनाउन पनी उनी सिपालु रहेछन् ।

‘भान्सामा नयाँ परिकार तयार गर्न मलाई कम्ता जाँगर चल्दैन’ विल्सनले थपे, ‘भाँडा माझ्न मात्र हो, अल्छी लाग्ने ।’

केदार घिमिरे (माग्ने बुढा) , रोज मोक्तान र विल्सन युरोप गएको बेला अपार्टमेन्ट लिएर बसेका थिए । त्यहाँ अस्थायी रुपमा अपार्टमेन्ट लिएर बस्न पाउने व्यवस्था रहेछ, जो सस्तो र सजिलो हुने उनको भोगाइ छ । अपार्टमेन्टमा आफै खाना पकाउनुपर्ने । हरेक छाक पकाउने जिम्मा, विल्सनकै ।

केदार घिमिरे भन्थे रे, ‘बरु म भाँडा माझ्छु, पकाउने जिम्मा चाहिँ विलसनको ।’

स्रोत: अनलाईन खबर 

Comments

comments

Leave a Reply

%d bloggers like this: