Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > पीडाबोध गर्दै सिलवालले गरे प्रहरीबाट अलग भएको घोषणा (विज्ञप्तिको पूर्णपाठसहित)

पीडाबोध गर्दै सिलवालले गरे प्रहरीबाट अलग भएको घोषणा (विज्ञप्तिको पूर्णपाठसहित)

काठमाडौं– नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । आईजीपी नियुक्तिमा अन्याय भएको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज लगेपछि सिलवालले विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् ।

सिलवालले दुई पेज लामो विज्ञप्ति जारी गर्दै न्यायका लागि लड्दा अन्यायमा परेको भन्दै आफ्नो जस्तो नियति कसैले भोग्नु नपरोस् भन्नेसमेत कामना गरेका छन् ।
स्थापित मूल्य मान्यतामाथि धावा बोल्ने र कानूनको शासनमा विश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार आफू भएको भाव विज्ञप्तिमा ब्यक्त गरेका छन् । उनले भनेका छन्– ‘मेरो इश्वरसँग प्रार्थना छ, यस्तो नियति अरु कुनैपनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पनासम्म पनि गर्नु नपरोस् ।’

‘एक जना कर्तब्यपरायण सिपाहीमाथि बदनियत राख्दा शासक वर्गहरुको पनि निदहराम हुँदोरहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दोरहेछ ।’– सिलवालले पीडा ब्यक्त गरेका छन् । सिलवालले कानूनी शासनको उपहास भएको भन्दै सर्वोच्चको फैसलामाथि ब्यङग्य गरेका छन् भने राजनीतिक दलहरुलाई शाशक वर्गको उपमा दिँदै आलोचनात्मक विज्ञप्ति जारी गरेका छन् ।

उनले लामो न्यायिक लडाईको दौरानमा समयको वरवादी, साधन श्रोतको क्षति, न्यायालयमाथिको राजनैतिक आक्रमण भने टिप्पणी गरेका छन् । सिलवालले आगामी दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ

आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरु, नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरु !

न्याय प्रप्तिका लागि गरिएको ७ महिना लामो कानूनि लडाइको आज अन्त भएको छ । मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाको लागि थियो । असल शासन ब्यबस्थाको लागि थियो । यो लडाई प्रहरी सँगठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वैच्छाचारीतालाई दुरुत्साहन गर्नको लागि थियो । अन्याय माथि न्यायको बिजयका लागि थियो ।

यो व्यवसायिक हक हितका लागि लडिएको न्यायको लडाई थियो । यसलाइ विसुध्द व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सिमित गरिनुपर्नेमा यसलाई विष्यान्तर गर्ने कोशिसहरु भए र म मुक दर्शकको रुममा पिडा वोध गरिरहें । एउटा सिपाहीको लागि सत्तामा वस्नेले दिएको कानून वमोजिमको आदेसको पालना गर्नुको विकल्प हुदैन । त्यो उसको धर्म पनि हो । त्यो आदेश दिने जो सुकै होस उसको कानूनको अक्तियारी मात्र महत्वको हुन्छ । उ कुन दलको हो भन्ने थप खोजविन गर्नु आवश्यक हुदैन । नेपालको राजनितिक परिदृस्यमा लगभग सवैले आलोपालो गरेकै हुन । प्र्रहरीले सत्तामा रहेकाको कानून वमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनि नगरे जस्तै आज्ञापलान गर्ने प्रहरी संग कुन दलसंगको निकटत छ वा छैन भनि हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुंदैन । एउटा सिपाहिको लागि राजनितिको सर्वोकृष्ट अभिव्यक्ति भनेको कानून नै हो । राजनीतिक प्रकृयावाट वनेको कानून वमोजिम काम हुन्छ भने राजनितिक निर्णयको पालना भनेको त्यहि नै हो । सो देखी वाहेक व्यक्ति पिक्षेको अकांक्षा स्वार्थ वा दम्वको सिकार प्रहरीलाई वनाउन सकिदैन ।

प्रहरी माथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहे सम्म कानूनि राज्य स्थापित हुन सक्दैन । कानूनलाई नै वायाँ हातको खेल वनाउनेहरुवाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन । प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरु सफल भैरह्यो भने समाज सुरक्षित र मर्या्दित रहन सकदैन । प्रहरी संगठन वा प्रहरी अनुसासन माथि वलात कुनै दुस्प्रयास हुन्छ भने प्रजातन्त्रको अस्मिता प्रथम दृष्टिमा लुटिएको हुन्छ । राजनितिक दल र निर्वाचन जस्ता प्रकृयाहरु मात्र प्रजातन्त्र टिकाउने आधारहरु हुदैनन, कानून र कानूनका पहरेदार प्रहरी संगठन जस्ता राज्यका अंगहरु पनि प्रजातन्त्रका आधारभूत सर्तहरु हुन्छन । त्यसैले प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भिर चिन्ता लागेको छ । प्रहरी संगठनको विरुध्द विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्वन्धमा घटित भएको छ । जतिसुकै ठूलामान्छे वा शक्तिसालि वा लोकप्रिय किन नहुन प्रहरीको सम्वन्धमा कानून संगत व्यवसायिक र सयमित रहनु पर्ने हुन्छ । यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोशिस गर्दा गर्दे स्वयम म र मेरो प्रयास यसको सिकार हुन पुगेको महसुस गरेको छु । म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस मेरो नियति फेरि कहिल्यै कसैले भोग्न नपरोस र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस भन्ने कामना व्यक्त गर्दछु ।

मैले मेरो जीबनको लामो उर्जावान समय मुलुकको एक सच्चा सिपाहीको हैसियतमा यो सम्मानजनक सेवामा बिताएं । यस दौरान मैले अन्यायमा परेकाहरुलाई न्याय दिलाउन र पीडामा परेकाहरुलाई मलहम लगाउने जिम्मेवारी निर्वाह गरेकोे छु । प्रणालीको बिकासमा समय खर्चेको छु । कानूनको शासन लागू गर्न मेहनत गरेको छु । अन्याय र अत्याचारको बिरुद्दमा राज्यले गर्नु पर्ने जिम्मेवारीका उदाहरणहरु प्रस्तुत गर्ने प्रयास गरेकोे छु । मैले हरेक कठिन समयहरुमा स्वदेश र विदेशमा वसेर गरेका कामहरुले मानिसहरुको मन सिंचित गरेको छ र त्यो आत्मसन्तोष मलाई संधै प्राप्त छ । म नेपाल प्रहरीका अनुशासित, कर्मठ सदस्यहरु लगायत समस्त देशभक्त न्याय प्रेमीहरुलाई आग्रह गर्दछु कि नेपाल प्रहरी केवल राजनीतिक दाउपेचको विषय नबनोस् । प्रहरी सँगठन राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेमा मात्र त्यसले कानूनको पालना गराउनका साथै सामाजिक न्याय स्थापित गर्न सक्दछ । प्रहरी सगठनको साख पनि यसैसँग जोडिएको छ । हस्तक्षेप रहित ढँगले कार्य गर्न पाए मात्र कानुनी राज्य स्थापित हुन्छ र दीर्घकालीन क्षेतिवाट जोगाउन सकिन्छ । म नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानहरुलाई किन्चित पनि बिचलित नभै प्रहरीको व्यावसायिकताको सम्वर्धनमा लाग्न अनुरोध गर्दछु । प्रहरी हुनुका आधारभूत मान्यताहरूलाई जोगाएर राख्न सकिएन भने हाम्रो समाज सुरक्षित रहने छैन । झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मुल्याडकन गर्ने नै हुँदा म सबै साथीहरुलाई निरास नभई मुलुक प्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नैं छोडि दिनु उचित ठान्छु ।

भोलि म जुनसुकै भूमिकामा रहेपनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिकामा रहने छु । यस उद्दयेस्यमा म प्रहरी नेतृत्वलाई समेत सहयोग गरिरहनेछु । इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा पनि अन्यायमा परिने जोखिम हुँदो रहेछ भनेर नेपाल प्रहरीका सकल दर्जा हतोत्साहित नबनून । एक जना कर्तब्यपरायण सिपाहिमाथि बदनियत राख्दा शासक वर्गहरुको पनि निद हराम हुँदो रहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दो रहेछ । प्रजातान्त्रिक मूल्य मान्यता र कानूनको शासनको उपहास गरी शासन ब्यबस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरु दण्डित हुनु भनेको पनि म जस्तो पिडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा वुझ्दा अझ सहज हुन्छ । यो लामो न्यायिक लडाईको दौरानमा हुन गएको समयको वरवादि, साधन श्रोतको क्षेति, न्यायालय माथिको राजनैतिक आक्रमणबाट न्याय प्रेमीहरुमा पर्न गएको आघात दुःखद छन ।

स्थापित मूल्य मान्यता माथि धावा बोल्ने र कानूनको शासनमा बिश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार कोहि पनि देशभक्त नेपालीले हुनु नपरोस् । मेरो इश्वर संग प्रार्थना छ, यस्तो नियति अरु कुनैपनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पना सम्म पनि गर्नु नपरोस् । न्याय प्राप्तिका खातिर यो कठिन र लामो लडाइको दौरानमा मलाई साथ दिनु हुने न्याय प्रेमी देश भित्र र वाहिरका सम्पूर्ण दाजुभाइ दिदी वहिनीहरु, पत्रकार मित्रहरु, स्वयमसेवकको रुपमा वहसपैरवि गरि सहयोग गर्नुु हुुने कानुुन व्यवसायीहरु, राष्ट्रिय जीवनका विविध तप्काका महिला र सज्जनहरु र प्रहरी संगठन भित्रका सम्पूर्ण अधिकृत तथा जवान साथीहरु प्रति तपाईंहरुको सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मुलुकका लागि इमान्दारीता पूर्वक काम गर्नुको गौरव जीवनको सवैभन्दा मूल्यवान पदवि भएको मेरो अनुभवले मलाई सिकाएको छ । जसरी पनि पद हाँसिल गर्ने र आफ्नो स्वभिमानलाई गिराउन तयार हुने परिपाठिको अन्त गर्ने तर्फको मेरो लडाईले आउँदा दिनहरुका लागि एउटा वाटो कोरेको मैले महसुस गरेकोछु । वाँकि आन्तरिक सढयन्त्रका अपत्यारीला कडीहरुको विवरण म इतिहाँसको जिम्मामा छोड्न चाहन्छु । मैले जीवन भर पहिला आफै कानूनको परिपालना गर्न र अरुलाई कानून परिपालना गराउनमा लगाएको छु । मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढंगले कसैले मेरो कर्तव्य परायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हरतरहले लागेकाहरुले पनि जीतको अनुभूति गर्न सकेका त छैनन नै ।

अन्तमा, आज म अन्यायमा पर्दा पनि सम्यमित छु । फगत म प्रहरी संगठनको महानिरिक्षक हुन सकिन तापनि सम्पुर्ण देशवासी र समस्त प्रहरीहरुले देखाएको सदभाव र मायाले मलाई त्यो भन्दा उच्च कोटीमा राखेको महसुस गरेको छु। म निवृक्त भए पनि मेरो प्रहरी मन कहिल्यै निवृक्त हुने छैन । जनताका सवै सुखदुखका प्रहरहरुमा म संधै संगै रहने छु । नेपाली जनताको निसान्त जुन सुभेक्षा र सदभाव यो सम्पूर्ण प्रकृयामा जसरी निरन्तर प्राप्त गरिरहें त्यसको लागि नेपाली जनतालाई नमन गर्दै म आफ्नो कृतज्ञता व्यक्त गर्दछु । आउँदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने छु । अन्यायमा पर्दा जीवन कस्तो पिडादायक हुदों रहेछ भन्ने अनुभुतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरुको एउटा ससक्त आवाज वन्ने कोशिस गर्र्नेछु । आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।

 

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: